अहिले संसारभर एआईले धेरैको जागीर खोस्न थालेको छ । पहिलो मर्कामा भने डबिङ कलाकारहरू पर्न थालेका छन् । संसारभर सिनेमा डबिङ गर्दा कलाकार तथा प्राविधिकले चार खर्ब डलर नेपाली रूपैयाँ कमाउने गर्छन् । अब भने कलाकारहरूले यो पैसा गुमाउने क्रम बढ्न थालेको छ ।
सन् १९९० को चलचित्र प्रेटी वुमनमा जब जुलिया रोबर्ट्सले रिचार्ड गेरेसँग रोमान्स गर्छिन्, जर्मन दर्शकहरूले डेनिएला हफम्यानको आवाज सुन्ने गर्थे, जुलिया रोबर्ट्सको होइन। स्पेनमा यो आवाज मेर्से मोन्टालाले दिन्थे भने फ्रान्सेली दर्शकहरूले सेलिन मोन्साराटको आवाज सुन्थे। हलिउडकी यी प्रिय अभिनेत्रीको आवाज विश्वभर फरक थियो, तर स्थानीय दर्शकहरूका लागि त ती आवाज जुलिया रोबर्ट्सकै लाग्थे।
यी आवाज कलाकार (डबिङ आर्टिस्ट)हरूले आफ्नो देशमा केही ख्याति कमाए, तर आज उनीहरूको काम कृत्रिम बुद्धिमत्ता (एआई) ले खतरामा पारिदिएको छ। सन् २०२३ मा हलिउड अभिनेताहरूले गरेको हड्तालमा एआईको प्रयोग प्रमुख विवादको विषय बनेको थियो । एआईले लेखक र अभिनेताहरूको जागीर खतरामा पारेको र आफ्नो कामलाई सुरक्षित गर्न संघीय कानूनको चाहियो भन्दै माग गरेका थिए। यसको केही समयपछि, २० भन्दा बढी डबिङ आर्टिस्टका गिल्ड, सङ्घहरू र यूनियनहरूले “युनाइटेड भ्वाइस आर्टिस्ट्स” गठबन्धन बनाए र “हाम्रो आवाज नचोर” नारा घन्काउँदै अभियान नै सञ्चालन गरेका थिए ।
जर्मनीमा त “डबिङको अस्कर” नै प्रदान गरिन्छ । त्यहाँका कलाकारहरूले चेतावनी दिँदै आफ्नो आवाज फिल्मको डबिङका लागि एआईलाई उपयोग गर्ने रणनीति अख्तियार गरिए आन्दोलनको धम्की दिएका छन् । हुन पनि एआईले डब गरिएका चलचित्रहरूको उदयसँगै डबिङ कलाकारको काम जोखिममा परेको छ । उनीहरूको आवाजलाई कलाकारलाई थाहै नदिई एआईलाई प्रशिक्षित गरिएको आरोप कलाकारहरूले लगाउने गरेका छन् ।
“यो हाम्रो लागि युद्ध हो,” भन्छन् प्याट्रिक कुबान । उनी डबिङ कलाकार हुन् । उनी डबिङ यूनियन भ्वाइस अफका आयोजक पनि हुन् । उसले फ्रान्सेली परफर्मिंग आर्टिस्ट्स यूनियनसँग मिलेर #TouchePasMaVF (“मेरो फ्रान्सेली संस्करणमा हात नहाल”) अभियान शुरू गरेका छन् । उनीहरूले डबिङलाई फ्रान्सको सांस्कृतिक अपवादमा समावेश गर्न चाहन्छन् । यो एउटा सरकारी नीति पनि हो । यो नीतिले सांस्कृतिक सामग्रीहरूलाई राष्ट्रिय पहिचानको अंशका रूपमा परिभाषित गरेको छ ।
कुबानका अनुसार, डबिङ केवल चलचित्रलाई स्थानीय भाषामा अनुवाद गर्ने काम मात्र होइन । यो त “फ्रान्सेली हास्य, सन्दर्भ, संस्कृति र भावनाहरूमा अनुकूलित” हुन्छ। यसको परिणामस्वरूप, एआईले फ्रान्समा अनुमानित १२,५०० जागीरहरू जोखिममा पार्न सक्छ । सन् २०२३ मा एउडिएन्स समूहले एआईका कारण यति धेरै जागीर जाने भनी अध्ययनको निष्कर्ष निकालेको थियो ।
“कलाकारले यी भूमिकाहरूमा अनुभव, आघात, भावना, प्रसङ्ग, पृष्ठभूमि र सम्बन्धहरू ल्याउन सक्छन्,” एक अमेरिकी आवाज कलाकार र नेशनल एसोसिएशन अफ भ्वाइस एक्टर्सका अध्यक्ष टिम फ्रिडल्यान्डर भन्छन् ।
सन् १९२० को दशकको अन्त्य र १९३० को दशकमा ध्वनि सिनेमाको सुरुवातदेखि नै डबिङ विश्वभर चार बिलियन डलरभन्दा बढीको उद्योग बनेको छ। यसलाई युरोपमा सर्वप्रथम अधिनायकवादी नेताहरूले आफ्नो सरकारको नकारात्मक उल्लेखहरू हटाउन र आफ्नो भाषाहरू प्रवर्धन गर्न अपनाएका थिए। मुसोलिनीले चलचित्रहरूमा विदेशी भाषाहरू प्रतिबन्ध लगाए । यो नीतिले इटालीमा उपशीर्षक (सबटाइटलिङ) भन्दा डबिङ गरिएका चलचित्रहरूको प्राथमिकता बढाए । आज, ६१% जर्मन दर्शक र ५४% फ्रान्सेली दर्शकहरूले डब गरिएका चलचित्रहरू नै रोज्ने गर्छन् भने डिज्नीले आफ्ना चलचित्रहरू ४६ भन्दा बढी भाषाहरूमा डब गर्छ।
यस वर्षको शुरूमा, यूके-आधारित स्टार्टअप इलेवनल्याब्सले अमेजनमा प्रदर्शन हुने नयाँ थ्रिलर आर्मरमा सिल्भेस्टर स्टालोनको आवाज दिने अलेन डोरभाल (“भ्वा डे स्टालोन”) को आवाज क्लोन गर्ने योजना घोषणा गर्यो। त्यस समयमा, सम्झौताहरूमा कलाकारको आवाज कसरी पुन: प्रयोग गर्न सकिन्छ भन्ने उल्लेख थिएन । एआई सफ्टवेयरलाई प्रशिक्षण दिने र कृत्रिम आवाजहरू सिर्जना गर्ने भन्ने नियम सम्झौतामा उल्लेख थियो । जसले डबिङ कलाकारको आवाज प्रयोग गर्नुको साटो एआईलाई प्रयोग गर्न सकिने थियो ।
“एआईको प्रयोग एक प्रकारको राक्षस हो,” भन्छन् कुबान। “यदि हामीसँग सुरक्षा छैन भने, सबै प्रकारका जागीरहरू विलुप्त हुनेछन् । यो चलचित्र उद्योगबाट शुरू हुनेछ र पछि मिडिया उद्योग, संगीत उद्योग र सबै सांस्कृतिक उद्योगहरू धराशायी हुनेछन्।”
“जब सन् २०२२ को सुरुमा च्याटजीपीटी र इलेवनल्याब्स बजारमा आए, त्यो बेला यो एउटा सैद्धान्तिक खतरा थियो । तत्कालको खतराका रूपमा कसैले पनि यसलाई लिएका थिएनन्,” फ्रिडल्यान्डरको भनाइ छ । तर बजार बढ्दै जाँदा, इजरायली स्टार्टअप डिपडबले त खतराको घन्टी नै बजाइदियो । डिपडबको रिलिजले चलचित्रहरूका लागि डबिङ र आवाज सेवाहरू प्रदान गर्छ । यो एउटा एआई-शक्ति प्राप्त प्लेटफर्म हो । यहाँ कृत्रिम आवाज यति प्रखर तरिकाले उपलब्ध गराउँछ कि अब त कयौँ कुराहरू एकै क्लिकमा सम्भव तुल्याएको छ ।
“तपाईंले मेरो आवाज चोर्नुभयो भने, तपाईंले मेरो पहिचान चोर्नुभयो,” गेम अफ थ्रोन्समा जन स्नोको आवाज दिएका डेनिएल गिउलियानीको दुखेसो छ । उनी इटालियन डबर्स एसोसिएशन, एएनएडीका अध्यक्ष पनि हुन् ।
भारतमा ७२% दर्शकहरूले फरक भाषामा सामग्री हेर्न मन पराउँछन् । सन्केत म्हात्रेले सन् २०११ को सुपरहीरो चलचित्र ग्रिन ल्यान्टर्नमा रायन रेनोल्ड्सको आवाज दिएका थिए । उनले प्रत्येक वर्ष ७० देखि १०० वटासम्म हलिउड चलचित्रहरूलाई हिन्दी भाषामा डब गर्छन् । उनले कयौँ चिनियाँ, स्पेनिस र फ्रान्सेली चलचित्रहरूमा पनि आवाज दिएका छन् ।
एआईले आवाज कलाकारहरू र अन्य मानिसहरूबाट धेरै कुरा सिक्दै जाँदा आउँदा दिनमा कम्पनीहरूका लागि डबिङ कलाकारहरू, अनुवादकहरू र ध्वनि इन्जिनियरहरू भर्ती गर्नु भन्दा यो प्रविधि प्रयोग गर्नु निकै सस्तो हुनेमा म्हात्रे सचेत छन् । भोलिका दिनमा आफ्नो आवाज नचाहिने दिन पनि आउँछन् । तर अहिलेदेखि नै त्यसका लागि आफूलाई अभ्यस्त तुल्याइएन भने बाँच्न कठिन हुने उनको धारणा छ ।
तर कुबानी भन्छन्, “तिम्रो एआईलाई संसारका अन्य धेरै समस्या समाधानका लागि लगाऊ, यहाँ चाहिँ कलाकारहरूलाई छाडिदिनु पर्छ । तिमी संसारका गम्भीर समस्याहरू जस्तो कि, पर्यावरणीय समस्या लगायत अन्य समाधान गर्न यो प्रविधि प्रयोग गर तर जब डबिङ कलाकारको कुरा आउँछ, यो पाटोलाई तिमीले छुँदै नछोऊ । मेरो यही बिन्ती छ ।”
एम्मा रसेलको रिपोर्ट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










