जर्मनी/फ्रान्स । अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) जर्मनी र फ्रान्स च्याप्टरको संयुक्त आयोजनामा भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द–दुई’ कार्यक्रमले प्रवासमा रहेका नेपाली भाषाप्रेमीहरूलाई गहिरो भावनात्मक र सिर्जनात्मक अनुभव प्रदान गरेको छ।
कार्यक्रममा कवि नवराज पराजुलीको विशेष उपस्थिति र अन्तरक्रियाले माहोललाई आत्मीय, अनौपचारिक र विचारोत्तेजक बनाएकाे थियाे ।
कार्यक्रमको सुरुवात अनेसास जर्मनीकी अध्यक्ष सुजाता घिमिरे राउतको स्वागत मन्तव्यबाट भएकाे थियाे । उहाँले मातृभाषाप्रतिको मोह, सांस्कृतिक उत्तरदायित्व र साहित्यको भूमिकाबारे प्रकाश पार्दै कार्यक्रममा ‘शब्दको गहिराइमा डुबुल्की मार्न’ सहभागीहरूलाई आग्रह गर्नुभयाे ।
अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार लाल गोपाल सुवेदीले सर्जकहरूलाई शब्दको चेतनास्तर, लय र छनोटमा विशेष ध्यान दिन सुझाव दिनुभयाे। त्यसैगरी, अनेसास पोर्चुगलकी निबर्तमान अध्यक्ष सबी श्रेष्ठले भाषाले मातृभूमिसँग भावनात्मक सम्बन्ध कायम राख्ने बताउनुभयाे । अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवाको सशक्त मुक्तक वाचनले कार्यक्रमलाई भावुक बनाएको थियो।
सामान्य कविता वाचनभन्दा फरक, ‘शब्दानन्द–दुई’ कार्यक्रम चेतनाको गहिराइमा पुग्ने संवादका रूपमा अघि बढाइएको थियो। कवि नवराज पराजुलीले सहभागीहरूलाई केवल श्रोता नभई अनुभूति गर्ने र सिर्जना गर्ने यात्रामा सहभागी हुन प्रेरित गर्नुभयाे । उहाँले सहभागीहरूलाई “सय वर्षअघिको जीवन कल्पना गर्न” र “शब्दभित्र लुकेका भावनालाई महसुस गर्न” आह्वान गर्नुभयाे ।
पराजुलीले मातृभाषा र त्यससँग मिसिएका भावनाको सन्देश विश्वभर फैलिनु आवश्यक रहेको धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे, “भाषा केवल सञ्चारको माध्यम होइन, यो संस्कार, सम्झना र अस्तित्वको हिस्सा हो।”
कार्यक्रममा जर्मनी, फ्रान्स, पोर्चुगल र पोल्याण्डमा बसोबास गर्ने करिब २० जना नेपाली भाषा–साहित्यप्रेमीहरू अनलाइनमार्फत सहभागी हुनुभएकाे थियाे । सहभागीहरूले नेपाली भाषाको वर्तमान अवस्था, नयाँ पुस्तासँग बढ्दो दूरी, र मौलिक शब्दहरूको हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयाे।
कार्यक्रमको समापन प्रशान्त उप्रेतीको धन्यवाद मन्तव्यसँगै भएकाे थियाे । उहाँले अतिथि र सहभागीहरूलाई आभार व्यक्त गर्दै भन्नुभयाे, “भाषाको सेवा गर्नु भनेको आमाको सेवा गर्नु हो—र आमाको सेवा गर्न त सोच्नै पर्दैन।” उहाँले नेपाली भाषाको जगेर्नाका लागि अझ सजग, सिर्जनशील र रचनात्मक हुनुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
‘शब्दानन्द–दुई’ केवल साहित्यिक कार्यक्रम मात्र नभई प्रवासमा नेपाली भाषा र भावनाको संरक्षणप्रति समर्पित साहित्यिक चेतनाको एउटा अभियानका रूपमा अविस्मरणीय रह्यो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 




