कतिपय मान्छेले आफूलाई चिन्ने प्रयासमा सारा जिन्दगी लगाएका हुन्छन् । म को हुँ ? के हुँ ? उत्तरको खोजीमा हरपल भौतारिरहने कहानीको पात्र हुँ म ! तन, मन, वचन र कर्मको कुनै ठेगान छैन, कहिले केमा रमाउँछु त कहिले केमा अलमलिरहेको हुन्छु । बेचैनीको तलाउमा कतै हराइरहेको बेला किताब यस्तो साथी बनिदिन्छ नि त्यसको आनन्द शब्दातीत भइदिन्छ । कहिले पुराना कृति दोहोर्याउने मन हुन्छ त कहिले नयाँ कृतिको सुगन्धले लठ्याइदिन्छ । आख्यानमा बढ्ता रुचि भएपनि हिजोआज म गैरआख्यान कृतिहरूभित्र डुबुल्की मार्दैछु ।
मानिस जिज्ञासु प्राणी त हुँदै हो ऊ अत्यन्तै मिहिनेती र जाँगरिलो पनि छ । मानव विकासको लामो इतिहासको पहेली खोतल्दा थाहा हुन्छ, अहिलेको मानिस त्यत्तिकै बनेको होइन । हजारौँ लाखौँ वर्षको अथक श्रम र लगनशीलताले ऊ सर्वश्रेष्ठ कहलिएको हो । बानर जस्तै देखिने पुर्खा जसको भाषा थिएन, निश्चित वास थिएन, खानेकुरा खोज्दै दिन बितिजान्थ्यो । मानसिक, बौद्धिक, भौतिक र सर्वाङ्गीण विकासको वर्तमान अवस्थाको कल्पना गर्दा पनि चमत्कार लाग्दछ । तथापि मानिसमा खुशी र सन्तुष्टिको सदैव अभाव महसूस किन भइरहन्छ ? यस यक्ष सवालको उत्तर खोज्न चित्तलाई चिन्तनमा बदल्ने कृति हो ‘आत्मबोध’ र यसका शब्दशिल्पी हुन् भागवत खनाल ।
मानिसमा नव प्रवर्तन र आविष्कार गर्ने अद्भुत क्षमता छ भने उसमा ध्वंस गर्ने सामर्थ्य पनि त छ । ऊभित्रै देवता र दैत्यको वास छ । उसैमा रिसराग र अहङ्कार छ भने दया र करूणाको महासागर पनि त उसैमा छ । उसलाई उसले जति कसैले चिन्न सकेको हुँदैन । तीस थान निबन्धमध्येको पहिलो ‘मेरो प्यारो म’ मा उच्च शिक्षा आर्जन गर्न गृहत्याग गर्न लागेको पुत्रलाई आमाले भन्छिन्, ‘आफूभित्रको हरिलाई कहिल्यै नबिर्सनू ।’ अनपढ आमाको यो भनाइ समस्त मानव जगतको लागि दिव्य वाणी हो ।
पौराणिक ग्रन्थहरू महाभारत र रामायण चिरकालदेखि पढिँदै आएका छन् र धेरै पुस्ताले अझै पढ्नेछन् । ती महाख्यानलाई पढ्ने अनि पर्गेल्ने सबैका चक्षु एवम् चिन्तन शैली एकै छैन । ‘जिउन बहुतै कठिन छ वत्स’ मा खनालले महाभारतका प्रख्यात पात्रहरूको चरित्र, व्यवहार र मनोदशा खोतलेर आफ्नै तरिकाले सर्लक्क पाठकसामु पस्किदिएका छन् । त्यसलाई कसरी सेवन गर्ने ! त्यसको पनि भिन्दाभिन्दै शैली पक्कै हुनेछ ।
सागरभित्र डुबुल्की मारेर टपक्क मोती टिपे झैँ अन्तस्करणको गहिराइमा पुगेर हृदयमा झङ्कृत भावलाई सर्लक्क उतार्ने खुबी भागवत खनालमा देखिन्छ । ‘मित्रताको मन्थन’मा उनले यो नश्वर जिन्दगीको चौतारीमा भेटिएका अनि भेटिने यात्री र बटुवाहरूको उपादेयता, सम्बन्ध एवम् रीतबारे गहन चिन्तन गरेका छन् । निबन्धभित्र सुटुक्क आख्यान छिराउँदै र फेरि वैचारिक विमर्शमा सहभागी गराउँदै उनका निबन्ध अगाडि बढ्दछन् । आफ्नो नाभि गाडिएको थातथलो र हुर्केबढेको, पढेको, खेलेको र घुमेको गाउँ, बजारतिरको यात्रा गराउँछन् । विभिन्न रसिला, कसिला प्रसङ्ग र मिथक सुनाउँदै उनको मुन्त्रमग्ध पार्ने कलम चलिरहन्छ ।
शब्दशक्तिको जादू पढ्नेहरूलाई जति अरुलाई कहाँ थाहा हुन्छ र ! भागवतका शब्दहरू कहिले संस्मरणको स्वाद चखाउँदै जीवनको कटु सत्यको लोकमा विचरण गराउँछन् भने कहिले जीवनको मूल्य बोध गराउँछन् । पशुपतिनाथ, स्वयम्भू, बुढानीलकण्ठ र अनेक अमुक देवीदेवताको स्मरण गर्दै तिनका बन्द ओठ र खुला आँखाले दिएका गहन सन्देश खोतलेर मानव जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भनेर व्यावहारिक मार्ग पहिल्याउन खोजेका छन् ।
‘जुन पलमा जीवित छौ, त्यो मात्र तिम्रो हो । तिमी जीवित रहेको हरेक क्षण कर्मको अवसर हो । हरपल वरदान र पलपल सौभाग्य हो …..’ (हरपल कर्म पलपल जीवन) कति सरलता र सहजताको साथ प्रस्तुत गरेका छन् सर्जकले । निरन्तर अध्ययनशील, साधनारत सर्जक हुनुको शक्ति र कल्पनाशीलताको जादू सम्मिश्रण भएर होला यस्ता हृदयस्पर्शी मार्मिक लेखनीले मन्त्रमुग्ध बनाउँदै पाठकलाई आफूसँगै यात्रा गराएका छन् भागवत खनालले ।
अधिकांश निबन्धमा महाभारत, रामायण र गीताको प्रसङ्ग एवम् सन्दर्भलाई स्मरण गरिएको छ भने असल लेखकसँग शब्द भन्ने प्रीति गाँस्छ भन्ने उनको विचार उनकै निबन्धमा सार्थक भएको देखिन्छ ।
मानव विकासको क्रम निकै जटिल छ । ‘त्यो मानव, यो मानव’ शीर्षकको निबन्धमा यसका प्रयाप्त प्रहेलिकाहरू पर्गेल्ने कोशिश गरिएको छ । मानिसले विकासको विभिन्न चरण पार गर्दै आफूलाई बन्ध्याकरण मात्रै गरेन गोरु र बोकालाई समेत नपुङ्सक बनायो । प्रकृतिमा रमाउने पशुपंक्षीलाई घरपालुवा बनायो । बाली लगायो, कलमी गरेर झनै उपयोगी बनायो । अन्य प्राणीभन्दा आफूलाई श्रेष्ठ बनाउने क्रममा मानवले धेरै परिश्रम गरेको छ, मष्तिष्कको अधिकतम प्रयोग गर्ने चेष्टा गरेको छ । खनालका यी बौद्धिक विचारहरू पढ्दै गर्दा मलाई मि. इल्यिन र ये सेगालको ‘मानिस यसरी महाबली भयो’ नामक कृतिमा उल्लेखित कुराहरू स्मृतिमा झलझली आए । रसियन लेखहरूको त्यस कृतिमा यसको बारेमा यथेष्ट प्रमाण र उदाहरणहरू दिइएको छ । मानिसले कसरी सोच्न र विचार गर्न सुरू गर्यो ? आगो र फलामलाई कसरी आफ्नो वशमा ल्याउन सफल भयो ? प्रकृतिमाथि आफ्नो प्रभुत्व कसरी स्थापित गर्न सक्यो ? जस्ता यावत जिज्ञासाहरूको बारेमा सुस्पष्ट पारिएको छ ।
मानव समाजको प्रगति र जीवन्तताको एउटा लक्षण विनोदप्रियता पनि हो । समाजमा हास्य रस, प्रत्युतपन्न मति, वाक्वैचित्र्य जस्ता गुणहरूको अभाव भयो भने बौद्धिकता र आध्याक्मिकता मुर्झाउन थाल्छ । शास्त्रमा उल्लेखित धर्म, अर्थ, काम, क्रोध, मोक्ष आदि स्वस्थ व्यक्ति र समाजका लक्षणहरू हुन् । धरती, प्रकृति र समस्त प्राणीजगतको भलाइ हेतु मानवले चिन्तन, मनन र सिर्जन कर्ममा लीन हुनु पर्दछ । अरुको बारेमा चियोचर्चो गर्नुभन्दा आफैँलाई चिन्न समय, शक्ति र दत्तचित्त भएर तनमन लगाउनुपर्छ । प्राचीन पात्र सिसिफसले गह्रुङ्गो चट्टान टाकुरामा पुर्याउने बखत खसेर पुन: उही कर्म पटकपटक दोहोर्याइरहनुपर्ने नियति (श्राप) बुझेर पनि हिम्मत हार्दैन । परिणाम ननिस्किने कर्म भन्ने बुझेर पनि ऊ आफ्नो कर्मबाट विमुख हुँदैन । उसलाई स्वतन्त्रता प्रिय छ र बाँचुञ्जेल त्यसको उपभोग गर्न चाहन्छ । पूर्वीय सभ्यता र पौराणिक ग्रन्थलाई उद्धृत गर्ने खनालले ग्रीक मिथकको यो प्रसङ्ग त पक्कै उल्लेख गरेका छैनन् होला लागेको थियो । तथापि विषय र प्रसङ्ले भने मागिरहेको थियो । नभन्दै ‘सानीकाफ्लीबाट जीवनलाई नियाल्दा’ शीर्षकको निबन्धमा यो जीवन एक सिसिफस हो भन्दै मेरो अनुमानलाई सत्य साबित गरिदिन्छन् ।
‘आत्मबोध’ मा भागवत खनालले पनि आफ्नो जीवन खुशीखुशी जिएको अनुभूत हुन्छ । बालापनमा आमासँग मावला जाँदा, शिक्षा आर्जन गर्ने क्रममा र कामको सिलसिलामा भेटिएका अनि विभिन्न बहानामा जोडिएका गुरु, साथीसङ्गी र साक्षात्कार गर्ने मौका मिलेका तमाम व्यक्तिहरूसँगको स्मृति सँगालेर राखेको देखिन्छ । निबन्ध पढ्दा कतै पनि दिक्क लाग्दैन । कहिले त्यहाँ आफैँलाई भेटिन्छ त कहिले हाम्रै वरिपरिका इष्टमित्र, आफन्त र सहकर्मीसँग भेटिए झैँ लाग्छ । सिपालु मिस्त्रीले विभिन्न आकारप्रकारका ढुङ्गाहरू जोडेर हेरिहुँ, बसिरहुँ लाग्ने कलात्मक भवन बनाए झैँ, थरिथरिका रङहरूको प्रयोग गरेर खाली पृष्ठमा मनमोहक तस्वीर कोरे झैँ गरेर पूर्वीय सभ्यता, पौराणिक ग्रन्थ र संस्कृतिको अध्येता र जानकार उनको रचनामा त्यसको सुन्दर प्रयोग भएको पाइन्छ जसले गर्दा ‘आत्मबोध’ मुस्कुराउँदै, गम्दै, मनन गर्दै पढिरहन मन लाग्छ । लगातारको हिँडाइपछिको थकान मेट्ने र भारी बिसाएर सुस्ताउने चौतारी जस्तै छ ‘आत्मबोध’ ।
महान् स्रष्टा दोस्तोयेभ्स्कीले कतै भनेका थिए, “मान्छे एक उत्ताउलो र विसङ्गतिपूर्ण जन्तु हो । सतरञ्जको खेलाडी जस्तै ऊ खेलको प्रक्रिया त मन पराउँछ, तर खेलको अन्त्य मन पराउँदैन ।”
भागवत खनालकृत ‘आत्मबोध’ मा जन्मभूमि, ज्ञानभूमि र कर्मभूमिलाई हृदयमा राखेर त्यहाँको भूगोल, प्रकृति र संस्कृतिको मनमोहक चित्रण गरिएका निबन्धहरू पठनीय छन् । कहीँकतै एउटै भूगोललाई बढी महत्त्व दिएजस्तो चाहिँ लाग्छ । विषयमा विविधता, गहनता र गाम्भीर्यता यी निबन्धका वैशिष्ट्य हुन् । अध्ययनशील, चिन्तनशील र आत्मवोलकन गर्ने सुन्दर मन र हृदययुक्त सर्जकले मात्रै यस्ता निबन्ध रचना गर्न सक्छन् । समस्त मानवलाई आत्मबोध गर्ने सद्बुद्धि प्राप्त होस्, भवतु सब्ब मङ्गलम् !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










