काठमाडौं। संस्कृतिविद्, लोकवार्ताकार तथा स्रष्टा पदयात्री डा. शशि थापा पण्डितकाे तीन कृति — “नेपाली कलामा कामकला”, “मल्लकालिक नेपालका नारीहरू” र “नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन” — एकैपटक लोकार्पण गरिएको छ।
नेपाल आदर्श महिला संघ, बालाजु, काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा डा. विणा पौड्यालको सभापतित्वमा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा. पेशल दाहाल, र संस्कृतिविद् डा. जगमान गुरुङले संयुक्त रूपमा तीनै कृतिको लोकार्पण गर्नुभएकाे हाे ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै कृतिकार डा. थापा पण्डितले आफ्नाे कृति प्रकाशनका क्रममा सहयोग पुर्याउने परिवार, गुरु, साथीभाइ तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयाे । उहाँले तीनै कृतिको रचनागर्भबारे चर्चा गर्दै नेपालका कला, संस्कृति र इतिहासका विविध पक्षमा प्रकाश पार्ने उद्देश्यले अनुसन्धान कार्य अघि बढाएको बताउनुभयाे ।
कृति “मल्लकालिक नेपालका नारीहरू” सम्बन्धी चर्चा गर्दै इतिहासविद् दिनेशराज पन्तले डा. थापाको यो कृति नेपालको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक पाटोको सशक्त अभिलेख भएको बताउनुभयाे । उहाँकाे अनुसार मल्लकालका नारीहरूको भूमिकामाथि गरिएको यो अनुसन्धानले इतिहासप्रतिको न्याय र यथार्थतालाई कुशलतापूर्वक प्रस्तुत गरेको छ। उहाँले भन्नुभयाे, “यस्ता विषयमा सरकारले गर्नुपर्ने कामलाई एक व्यक्तिले आफ्नै स्रोतसाधन प्रयोग गरी उपलब्धिमूलक बनाउन सक्नु गर्वको कुरा हो।”
त्यसैगरी “नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन” र “नेपाली कलामा कामकला” कृतिमाथि चर्चा गर्दै प्रा.डा. पेशल दाहालले भन्नुभयाे, “कामकलाजस्तो संवेदनशील विषयमा पीएचडी अनुसन्धान गर्नु एक नारी स्रष्टाका लागि साहसिक कदम हो।” उहाँले कृतिमा प्रयुक्त तस्बिरहरू साना र अस्पष्ट रहेको भए पनि पुस्तकले काठमाडौँ उपत्यकाको ऐतिहासिक विकासक्रममा नागार्जुन क्षेत्रको सांस्कृतिक र धार्मिक महत्त्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयाे ।
संस्कृतिविद् डा. जगमान गुरुङले भन्नुभयाे, “कामकला शास्त्रमा आधारित पुस्तक लेख्ने साहस देखाउने शशि थापा पण्डित नेपाली भूमिबाट निस्किएकी पहिलो महिला हुन्।” उहाँले यो कृति रथी धन शमशेर जबराको ‘कामकला रहस्य’ पछि नेपालमा लेखिएको पहिलो मौलिक ग्रन्थ भएको बताउनुभयाे। गुरुङले डा. थापाको यो योगदानले नेपाली सांस्कृतिक अध्ययनको क्षेत्रमा नयाँ दिशा दिएको उल्लेख गर्दै कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभयाे ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष डा. विणा पौड्यालले भन्नुभयाेे, “नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनजस्ता उच्च संस्थाबाट यी कृति निस्किनु नै गौरवको विषय हो।” उहाँले डा. थापाको अनुसन्धानात्मक र सिर्जनात्मक कार्यप्रति उच्च सम्मान व्यक्त गर्दै भन्नुभयाे, “अब डा. शशि थापा पण्डित केवल सन्तानकी आमा मात्र होइनन्, उनी आफ्नो कृतित्वका कारण जुगौंजुग स्मरणीय हुने स्रष्टा हुन्।”
कार्यक्रमको प्रारम्भमा राष्ट्रिय गानसहित पानसमा दीप प्रज्वलन गरिएको थियो। नेपाल आदर्श महिला संघले डा. थापा पण्डितलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रमको सञ्चालन मुक्तककार तथा कवि यादव भट्टराईले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




