मेरो पाठशाला चराको गुँडजस्तो लाग्न थालेको छ आजभोलि । यस गुँडबाट हरेक साल एक हुल चराहरू भुरुरु उडेर जान्छन् । अर्का हुल नयाँ चराहरू नव–बसेराको खोजमा यस पाठशालाको आँगनलाई आफ्नो गन्तव्य बनाई आउँछन् । त्यसैले हरेक पाठशाला नव बचेरा उत्पादनको गुँड बनिरहेका हुन्छन् । त्यहाँ पढाउने अध्यापक बचेरा हुर्काउने माउ बनिरहेका हुन्छन् । उड्ने पङ्ख उमार्न आएका बचेराको आङमा प्वाँख जडिदिनु, उनीहरूलाई आकाशको विराट क्षितिज देखाइदिनु र एक निश्चित समयपछि उड्नका लागि उत्प्रेरणा भरिदिनु हामी अध्यापकका लागि पुनित दायित्व बनिआएको छ ।
उनीहरूको उन्मुक्त उडान देखेर हृदयमा एकैचोटि हर्ष र विषादका अलग–अलग भाव मडारिन्छन् । हर्ष यसर्थ कि एउटा अध्यापकलाई आफूले पठाएको बच्चा भुँइ छोडेर व्योमको विशाल छातीमा उडान भर्ने बन्नु त्यो भन्दा आह्लादकारी क्षण के हुनसक्छ ? विषाद यसर्थ कि आफ्नो कोख र काखको शिशु अब आफूबाट छुट्टिएर अर्कै संसारको यात्री बन्दा आमाबाबुको छातीमा सन्तान वियोगको पीडा ! त्योभन्दा दुख्ने पीडा अर्को के हुन सक्छ र ?
चेलाचेलीहरूको लोभ लाग्दो उडानमा कोही देश चाहर्छन् । कोही विदेश चाहर्छन् । उपकरण र प्रविधिको व्यापक विकासले विश्व भूगोल एउटै ग्रामको सुविधा सञ्जालमा बेरिँदो छ, घेरिँदो छ । अब संसारभरिका देश चाहर्नु भनेको ओल्लो गाउँका मान्छे पल्लो गाउँ चाहर्नु जस्तो भैसक्यो । पल्लो गाउँका मानिस ओल्लो गाउँ आउनु जस्तो भैसक्यो ।
फेरि चराहरू विना काममा सित्तै दूर देशका आकाश चहारिरहेका छैनन् । विना उद्देश्य दूर देशका भूगोल छिचोलिरहेका छैनन् । उनीहरू त एउटा एउटा उद्देश्य छातीमा बोकेर उडान भरिरहेका छन् । एउटा एउटा अभिप्राय आत्मामा जडेर आफ्नो आलय छोड़न विवश छन् । कोही अध्ययन, अवलोकन र ज्ञानको खोजीमा गुँड छोडेका छन् । कोही रोजी–रोटी र धनको खोजीमा निस्किएका छन् । कोही विलास र मनोरञ्जनको खोजीमा आकाश ताकिरहेका छन् ।
हो प्वाँख पलाएपछि चराहरू एकैठाउँ थेगिन सक्तैनन् । उड्ने प्रेरणा र पङ्ख मिलेपछि पुरानो गुँडमा उनीहरू रोकिन सक्तैनन् । किनभने त्यतिखेरसम्म आफ्नै गुँड खेलखोरका निम्ति साँगुरो भैसकेको हुन्छ । चौतारी झाँगिने पिपलको बिरुवालाई आँगनको तुलसी–मठ साँगुरो भैसकेको हुन्छ । अब उनीहरूले आफ्नो नूतन जीवनको निम्ति साँगुरो गुँडबाट निस्केर नयाँ क्षितिज च्याउनै पर्छ । नव पखेँटा आकाशमा ख्याउनैपर्छ । हामीहरूलाई उडान भर्नकै निम्ति सिउरी दिएका हुन्छौँ रङ्गिन पखेँटा । स्वायत्त उडानमा प्रयोग भएनन् भने तिनको कुनै अर्थ हुन्न । तिनको कुनै प्रयोजन रहन्न ।
खुल्ला आकाशमा निर्बन्ध विचरण गर्नु यिनीहरूको स्वभाव हो । हर साल चराका नयाँ–नयाँ हुल तयार गर्नु, उडानका निम्ति तालिम दिनु र दिक्षीत गर्नु एउटा सनातन कर्म भएको छ मेरा लागि । यसरी पाठशालाबाट सालन्य नानीहरू चरा बनेर उडेको दृश्य हेरेपछि आफू दिनदिनै जरा भएको अनुभूति हुन्छ मलाई । उनीहरू चरा भए, म चैँ जरा भएँ भन्ने भाव बलशाली बनेर आँउछ । नानीहरूले चरा स्वरुपमा अवतार लिइरहँदा आफू जरा स्वरुपमा एउटै थलोमा टाक्सिएको अनुभूति हुन्छ मलाई ।
जरा एउटै थलोमा चोसो गाडेर जमिबस्छ । रुख र जरालाई कत्तै हिँड्नु डुल्नुको सुविधा पनि छैन, त्यस्को अवकाश पनि छैन । रुख त प्रारब्धले जुन थलोमा उम्य्रो, त्यही थलोमा रमी बस्छ, त्यही ठाउँमा तपी बस्छ । जराका अनन्त दुःखलाई ‘जराको दुःख‘ कवितामा उहिल्यै प्रकाश पारेको छु । जराले भोगेको कष्ट–कसला र कालो तमिस्रालाई ‘जराको शक्ति‘ निबन्धमा मनग्यै बखान गाएको छु । त्यहाँ जराको पीडामात्र छैन, यसको अजस्र शक्ति, सामथ्र्य र ओजको आरती–अर्चना पनि उतारेको छु ।
चरा निर्बन्ध आकाशमा कावा खाई उड्Þने अति भाग्यमानी पन्छी । स्वाधिनता र स्वतन्त्रताको पर्याय हो चरा । तनाव विमुक्तिको नाम हो चरा । मुक्तिको नाम पनि चरा हो, भुक्तिको नाम पनि चरा । चरा हुन नसकेर म विचरा भएको छु । चरा हुन नसकेर म जरा भएको छु र कालकोठरीको अभिशप्त कैदी जस्तो चट्टानको चेपमा कुच्रुक्क चेपिएर मुस्किलले सास फेरिरहको छु । लयहीन र बेढङ्गसित गुप्तवासमा छोपिएको छु । आफू अध्याँरोमा छु तर, उज्यालो फूलकै पोषण–अभ्यर्थनामा चुपचाप कर्म गरिरहेको छु ।
मेरै उज्यालो गानले चराको पँखेटामा प्वाँख पलाउँछन् । त्यही पङ्ख–प्रतापले ऊ निर्वाध उडान भर्दछ । अनि अप्रतीम सुख र आनन्दको रहमा पौडी खेल्दछ । म विचरा स्वरुपमा रहेको जरा– माटो र चट्टानको अँध्यारो दलदलमा अनादि कालदेखि भास्सिरहेको छु । चराले अनन्त आकाश छिचोली रहेको वेला म त भीरमा, कुइनेटोमा, अक्करे पहराहरूमा बँधेरिएको छु । कष्टका कहालिलाग्दा कन्दराहरूमा कुँजिएको छु । कहिल्यै स्वाधिनता नमिल्ने कैदीखानामा थुनिएको छु । तर, जहाँ छु त्यहाँदेखि आकाशको विराट स्वरुप चियाउँन सक्छु, आफ्नै गुँडका चराहरू उडेको दृश्यले असीम आनन्द दिन्छ मलाई ।
हुन त मान्छे र चरा दुवै यायावरीय जीव हुन् । दुवै फिरन्ते प्राणी हुन् । खालि फरक पखेँटा हुनु र नहुनुमा छ । एउटाका पङ्ख छन् आकाशमा उडेर दूरी छिचोल्छ । अर्कोका एकजोर खुट्टा छन्, धरामा पाइला टेकेरै यात्रा अघि बढाउँछ । एकदिन दुईखुट्टे मान्छेले आफ्नो खुट्टाको सामथ्र्य अत्यन्त सीमित रहेको दृश्य देख्यो । अनि रच्यो चरालाई जित्ने सुपरसोनिक जेट विमान र बुलेट ट्रेनहरू ।
यसरी मानव बुद्धिले जेजे रचे पनि म भने जरा बनेर भुँइतिर गाडिँदो छु । दिनदिनै रुखमा अनुदित भएर हँसिया–खुकुरीको चोटले फाँडिदो छु । चराले पृथ्वीको कुनाकाप्चा सबै छिचोलिसके । अण्टार्टिकादेखि आलस्कासम्मका हिउँका छाती टेकिसके । सागरको गहिराइ नाप्नेदेखि सगरमाथाका चुली टेक्ने काममा महारथ हासिल गरिसके । चन्द्रमाको छातीमा पहिलो पाइला राखेर दोस्रो पाइलो मङ्गलमा टेक्न टाङ्ग उठाइसके । तर, म एकै थलोमा वर्षौंवर्ष जरा गाडी आलिकति पनि हिँडडुल गर्न नसक्ने भएको छु । अलकति पनि हलन–चलन गर्न नसक्ने भएको छु ।
मेरो पाटठशालाको आँगनबाट उडेका चराहरू कहाँ–कहाँ पुगेपनि पनि आफू एकै थलोमा उभिएको उभियैछु । मान्छेका नजरले हेर्दा रुखलाई एकैठाउँ उभिरहनु कति सकस छ । एउटा किलोमा बाँधेको जनावरलाई पनि दाम्लोको दूरीले भ्याएसम्म वरिपरि घुम्ने स्वतन्त्रता हुन्छ । रुखलाई त त्यति हलचल गर्ने स्वतन्त्रता पनि रहन्न । रुखलाई जराले बाँध्छ । जरालाई माटोले बाँध्छ, चट्टानले बाँध्छ । यसरी बँधेरिनुमा कम्ति निस्सास लाग्दो अवस्था सिर्जना हुन्छ ! यसरी बाँधिनुमा कम्ति अत्यास लाग्दो अवस्था आइलाग्छ ! त्यसको जीवन्त पीडा मेरो छातीमा पत्रपत्र तह लागेर बसेका छन् । रुख र जराको त्यो अन्तस् चेतना मभित्र आरोहित भैरहेछ । घामपानीको तपन, असिनापानीको चड्कन र चुटाई, हावाहुरीका अनन्त तडप र थप्पडहरू सहेर उभ्भिएको छु । एउटै अक्करमा अनादि युगदेखि गजधम्म खडा छु ।
मेरै शरीरबाट मान्छेले हलो काट्यो । अनौ, दाँदे, हरिस बनायो । फ्याउरी, पलङ, दराज ताछ्यो । लोक्ताबाट जोतारो कस्यो । मेरै जरा उधिनेर औषधी पियो मान्छेले । बोक्रा, सिक्रा र झिक्राधरि छोडेन । अनेक ठाउँमा सोइला ठेँडी ठोक्यो । ठेकी, मदानी र हर्पे कुँद्यो । मनचिन्त्य घिउ पियो । जराबाटै आफ्नो आयुवृद्धिको राज झिक्यो । यसकै फूलबाट अत्तरे साबुनको गाज झिक्यो । शरीरभरि सुगन्धको परफ्यूम छिट्यो । यसकै फल खाएर भोक मेटायो । यसकै हाँगाबिँगाको दाउरा जलायो । अनन्त युगको जाडो र ठण्डी भगायो ।
लाखौं वर्षको मानव इतिहास काठबाटै आगो झिकेर मान्छे यहाँसम्मको यात्रामा आयो । सभ्यताको आरम्भिक युगमा जाडो र भोकबाट मनुष्यलाई जोगाउन दाउराको आगोले जति योगदान दियो, त्यति योगदान सायदै अन्य चिजले दियो होला । अहिले पो मानव शरीरमा कपडाका अनेक पत्र प्रतिपत्रहरू छन् । लुगाको आविष्कार हुनुअघि कति हज्जार वर्षसम्म मान्छेले दाउरा र आगोमा जीवन सेकायो ? मानवशास्त्रीहरूले ठीकठीक हिसाब निकाल्न सकेका छैनन् । अहिले यो न्यानो वस्त्रका अनेकौं तरेली कारखानामा उत्पादन भैरहेछन् । जिउ तताउन ऊर्जाका अनेकौं उपकरणहरू आविष्कृत भएका छन् । तर, आदिम समयमा मान्छेलाई दाउरा र आगोले ठण्डीको प्रकोपबाट जोगाएको थियो । क्रुर जंगली जीवात्लाई आगोले के परपर भगाएको थियो ।
जङ्गली युगमा हिंस्रक जनावर र शत्रुबाट सुरक्षित रहन मानव–चरीलाई दाउराले ठुलो बल दियो । नजाने कति युगसम्म पातले लाज ढाक्यो । पातमा भात थापेर खायो । धातु उत्खनन र थालको आविष्कार भएको समय त्यति लामो छैन । मानव सभ्यताको लामो कालखण्ड दुनाटपरीको युगबाट गुज्रेको छ । अहिले पनि मानव समाजले दुना–टपरी र बोहोंता–बोहोतीलाई समातिरहेका छौँ । पात र टपरी हाम्रो काँसे थालका आद्यविम्बहरू हुन् । तर, यतिखेर पात र दाउराका निम्ति जरा नै गिँड्ने संहारे मनुवा वृत्तिबाट म पीडित छु ।
तरुवरकै तारतम्यमा सकल जीवजन्तुलाई जलसिञ्चन र अक्सिजनको पोषण मिलिरहेको हुन्छ । समष्टिगत पर्यावरणीय सन्तुलन जराकै आडमा उभिएको हुन्छ । रुखलाई झटारो हान्दा पनि यसले फूलै बर्साउछ । यसलाई ढुङ्गाले गोख्र्याउँदा पनि बदलामा गुलियो मीठो फल झारिदिन्छ । अफ्रिकाको घनघोर जङ्गलमा पहिलोचोटि रुखको जराकै आड भरोसामा ठिङ्ग उभिएको थियो– होमोसेपियन्स जातको मानव प्राणी । अफ्रिकाको आटव्य जङ्गल छिचोलेर विकास र सभ्यताका नवनव कीर्तिमान कायम गर्दै मान्छे यस अवस्थामा आइपुग्यो ।
यसो विचार गर्दा मान्छे र चरा उस्तउस्तै स्वभावका उडन्ते पन्छी रहेछन् । कतै न कतै घुमिरहनु पर्ने घुमन्ता प्राणी रहेछन् । दुवै आकाश लोक या मनोलोक हर्दम उडिरहनु पर्ने उडन्ता पन्छी रहेछन् । यिनीहरू एकै थलोमा न अडिरहन सक्छन् । न एउटै आँगनमा बसिरहन सक्छन् । हर्दम चुलबुल भैराख्नु यिनको जातिगत विशेषता हो ।
भौतिकरुपमा चराजस्तो पखेँटा फड्फडाएर आकाश माथि माथि उड्न नसके पनि म, अथाह चैतन्य शक्तिको बलमा असीम आकाश तर्फ उडान भरिरहन सक्छु । मेरा जरा धर्तीको निश्चित भुखण्डमा अचल, अविचल गाडिए तापनि मेरो शिरोभाग अर्थात् मेरो वृक्ष–टुप्पो निरन्तर आकाश छुने आकाँक्षामा उँचोतलतिरै हलहल्ती बढिरहेको दृश्य देख्नसक्नु हुन्छ तँपाईं । माँ धरणिको कोख र काखमा मेरा जरा जतिजति गाडिँदै जान्छन् त्यतित्यति मेरा हाँगाबिँगा र पातहरू ब्रह्माण्डको सीमाहीन क्षितिज छुन पल्लवित भैरहन्छन् ।
एउटै थलामा जरा गाडी बस्नुको पनि मीठो स्वाद सँगालेको छु मैले । एउटा ध्यानस्थ योगीले अकम्प चैतन्यको स्वाद कुन प्रेरणाले कहाँबाट भेट्यो होला ! यही अटल अविचल उभिएको रुखबाट भेट्यो होला । अर्को प्रश्न आफैँलाई सोध्छु– तँलाई बिना हलचलको निस्तरङ्ग शान्ति कहाँबाट मिल्यो ? भित्रबाट जवाफ पाउँछु– तँ भित्रको तपस्वी जराबाट । हो मभित्रको जरालाई बाहिरी संसार हेर्नुमा कुनै रुचि र रस छैन । मभित्रको जरालाई बाहिरी जगत् शयर गर्नु, यसको चमकदमक पछि दौडनुको कुनै रहर छैन । म त भित्रभित्रै ध्यानस्थ स्थितिमा सृजन–मस्तीमा डुब्न चाहन्छु, जुन कारणबाट होइन, अकारण घटित होस्, जुन विचारबाट होइन, अनिर्विचार स्थितिबाट जागृत होस्, जसमा जराको ध्यान र चरा गान अनि उडान साथसाथै सम्मीलन होस् । जरा र चरा दुवैको जय होस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










