मुस्तफा हुसेनको साइकल केही छिनअघि पंचर भएको थियो । पंचर भएको केहीबेरसम्म त उसले त्यो साइकल घिच्याइरह्यो । जब ऊ साह्रै थाक्यो, रिसले चार वर्षको आफ्नो प्रिय छोरालाई साइकलबाट ओराल्यो । निकै पर पछिपछि आइरहेकी स्वास्नीलाई “अलि छिटो हिँडेर यो साइकल घचेट्न सक्तिनस् ?” भनेर हकार्यो । छोरालाई साइकलबाट ओराल्दा पनि उसले गाली गरेको थियो, “के म गधा हुँ, तिमीहरू सबैलाई बोक्न सक्ने ?”

साँच्चै त्यो साइकलमा के मात्र थिएन जसोतसो तीन जनालाई सुत्न पुग्ने ओछयान, खाना पकाउने एकसरा भाँडाहरू, लगाउनका निम्ति केही लुगाफाटाहरू, पानी राख्ने दुई ओटा भाँडा- एउटा गाग्री र एउटा बाल्टी, केही दिन खान पुग्ने खाद्यान्न, एउटा ठूलो जर्किनमा पिउनका निम्ति पानी, एउटा स्टोभ मट्टीतेल भरिएको … अर्थात् एउटा जिन्दगी थियो त्यो साइकलमा । साइकल स्वयम्‌मा एउटा जिन्दगीको रफ्तारको पर्याय, जसले बोकिरहेथ्यो एउटा परिवारको आधारभूत आवश्यकता सम्पूर्ण, बस एउटा कुरा थिएन त्यसमा महत्त्वाकांक्षा ।

कुनैबेला त्यो साइकलले महत्त्वाकांक्षा पनि बोक्थ्यो पिउन मुस्तफा हुसेनको । घरबाट साइकल चढेर अफिस जाँदा मुस्तफा मनभरि सुन्दर भविष्यको तानाबाना बुन्दै जान्थ्यो । साइकलको पाङ्ग्राजस्तै उसका जीवनका उज्याला र अँध्यारा पाटाहरू परिवर्तित भइरहन्थे-घुमिरहन्थे । जीवनको स्थापना ऊ साइकल चढेर खोज्थ्यो । तर यतिखेर ऊ त्यही साइकलको साथमा विस्थापित जीवनलाई कहीं लगेर थपक्क राख्न एकोहोरो हिँडिरहेछ । ऊ किन विस्थापित भइरहेछ, उसलाई थाहा छैन ।

मुस्तफा एउटा सोझो मुसलमान । साहूको घरमा काम गर्दागर्दा बल्लतल्ल त्यही साहूले आफ्नो अफिसमा पिउनको जागीर मिलाइदिएको थियो । अक्षर के हो उसलाई थाहा थिएन । अफिसमा अरूका कुरा सुन्थ्यो ऊ । अमेरिका सुन्थ्यो, बुस सुन्थ्यो, विन लादेन सुन्थ्यो, आतंक, आक्रमण, गोली, मृत्यु यस्तैयस्तै सुन्थ्यो । तर केही बुझ्‌दैनथ्यो । नबुझ्दानबुझ्‌दै उसको साहूले अफिस बन्द गरेर अन्तै गएको सुन्यो उसले । पछि त्यो अफिस पनि बम आक्रमणबाट नष्ट भएको सुन्यो उसले । र, सुन्यो आफ्नै वरिपरिको बस्तीमा बम र बन्दुकका आवाजहरू, हवाईजहाजका अटुट झर्कोलाग्दा आवाजहरू । उसले हवाईजहाज त्यतिखेरै देख्न पाएको थियो नजिकबाट । केही दिन त उसले हवाईजहाजको आवाज सुन्नासाथ बाहिर आएर नियालेर त्यो बस्तुलाई हेरेको थियो । तर पछि उसलाई ती हवाईजहाजहरू आफ्ना वस्तीवरिपरि आएको पटक्कै मन परेको थिएन । हवाईजहाज आउँदै गरेको केही समयपछि उसको बस्तीवरपरका सम्पूर्णलाई त्यो ठाउँ छोड्नू भन्ने सूचना आयो । मुस्तफा रनभुल्लमा पर्यो, कहाँ जाने ? बस्तीका अन्य मान्छेहरू सबैले घर छाडिसकेपछि मात्रै मुस्तफाले त्यो घर छोड्यो । उसलाई आफ्नो घर छोड्न अत्यन्तै गाह्रो परेको थियो । जीवनको ठूलो लगानी थियो त्यो घरमा उसको । बाह्रै महिना फुल्ने फूलहरूको बगैँचा लगाएको थियो उसले घरअगाडि । ऊ फूल असाध्यै मन पराउँथ्यो । उसले घर छोड्ने बेलासम्म फूलहरू बारुदका धूवाँ र गन्धले केही काला भइसकेका थिए । शायद ती फूलहरू आफ्नै आफ्नै रङ्गमा रहिदिएका भए उसले त्यो घर छोड्न अझै सक्ने थिएन । उसले सोच्यो फूलको पनि स्वीकृति छ घर छोड्ने कुरामा ।

० ० ० ०

महत्त्वाकांक्षा बोक्ने एउटा अर्को वार्षिक बेला थियो जुनबेला साइकल चढेरै मस्जिद जान्थ्यो मुस्तफा । मस्जिदबाहिर साइकल ठड्याउँथ्यो र हरेक वर्ष ‘सवेवरात’ मनाउँथ्यो । रातभर जाग्राम बस्थ्यो अन्यले जस्तै र भोलिपल्ट बिहानीको मिर्मिरेमा सवेबरातको क्रम सिद्धिएपछि ऊ निर्धक्कसँग अल्लाहसँग बरदान माग्थ्यो सुन्दर भविष्यको ।

यसपल्टको सबेबरात ऊ पंचर भएको साइकल रातभर घिच्याउँदै मनाउँदै थियो, मनभरि ‘रमजान’ को आगमनलाई सम्झिरहन्थ्यो । गएको साल रमजानमा उसले एक दिन झुक्किएर दुवै छाक खानेकुरा खाएको थियो । त्यसको पश्चात्ताप गर्दै उसले भोलिपल्ट दुवै छाक केही नखाई निर्जल बसेको थियो । अल्लाहलाई जसरी हुन्छ धेरै खुशी पार्नुपर्छ भन्ने मत राख्दथ्यो मुस्तफा । रमजानभरि ऊ स्वास्नीको अनुहार पनि हेर्दैनथ्यो । बुर्का राम्ररी लगाउन सम्झाइरहन्थ्यो ।

उसकी स्वास्नीले बुर्का त यतिखेर पनि छोडेकी थिइन । वातावरणको उष्णता र हिँडाइको तापले ऊ लफ्रक्कै भिजिसकेकी थिई तर पनि बुर्काले सारा शरीर ढाक्ने क्रम यथावतै थियो । मुस्तफा बेलाबेलामा आज सबेबरात हो भनेर बुर्का राम्रोसँग लगाउन स्वास्नीलाई भनिरहन्थ्यो । अरू मुसलमानका स्वास्नीहरूले कुन्नि के गर्छन् मुस्तफालाई मतलब थिएन । ऊ आफ्नै किसिमले अल्लाहलाई पुज्न चाहन्थ्यो । अल्लाहप्रति उसको विश्वास शायद यथार्थभन्दा निकै धेरै थियो । ‘यसपल्टको रमजानको महिना कसरी कटाउने होला… कहाँ पुगिने हो… उपयुक्त ठाउँ भएन भने त जथाभावी खानेकुरा खानुपर्ने हुन्छ… ।’ मुस्तफाले एकछिन सुस्ताएर बच्चालाई खानेकुरा खुवाउँदै स्वास्नीतर्फ इङ्गित गर्दै भन्यो । स्वास्नी चूप थिई । बतासले उडाउँदै गरेको अनुहारको बुर्कोलाई सम्हाल्दै कहिले पतितर्फ त कहिले बच्चातर्फ र कहिले पंचर भएको साइकलतर्फ हेर्दै थिई । यतिखेर मुस्तफालाई साइकलको पंचर भएको ट्युब टाल्ने कुराले सताइरहेथ्यो । यति साइकल बनाउन पाए त सम्म मिलेको ठाउँमा त स्वास्नीलाई समेत राखेर कुदाउँथें भनी पटक पटक ऊ सोचिरहेथ्यो । तर साइकल मर्मतका निम्ति त्यो मानवहीन प्रदेशमा कहाँ सम्भव थियो र । मानवबस्तीको संकेत मिल्ने ठाउँहरूमा पनि मान्छे नै थिएनन्, साइकल पसलको कुरा त सोच्नु पनि व्यर्थ थियो त्यहाँ ।

थोत्रो घडीलाई नियाल्यो मुस्तफाले रातको बाह्र बजेको थियो । ऊ अल्लाहसँग एउटा बास मिलाइदिने अनुरोध गर्दै थियो त्यतिखेर । यदि बास मिल्यो भने त्यहीँ सबेवरात मान्ने उसले कसम पनि खायो । बच्चा मस्त निदाइरहेथ्यो साइकलमा । पञ्चर भएको साइकल ऊ घिच्याइरहेथ्यो, स्वास्नीचाहिँ साइकल पछाडिबाट धकेल्दै थिई । विशाल मैदान हरियालीहीन थियो, खुट्टा धूलोमा पूरै गाडिन्थ्यो । साइकलको चक्का गाडिएर तान्न निकै गाह्रो भइरहेथ्यो उसलाई । स्वास्नीचाहिँले घचेटिदिएकीले कुनैकुनै बेला अलि हलुका पनि हुन्थ्यो । घरका भग्नावशेष कहींकहीं नभएका होइनन् । तर सिंगो घर एउटै पनि थिएन त्यहाँ, जहाँ बस्न सकियोस्, चार भित्ता र छानो होस् अनि टाउको लुकाउन सकियोस् । घरका इँटाहरू, झ्याल बनेका काठहरू यत्रतत्र मिल्किएका थिए, हृदयविदारक दृश्य, त्यो रातमा मुस्तफा पीडाको सागरभित्र पौडिरहेथ्यो ।

बारुदका गन्ध र परपर पड्किरहेका बन्दुकका आवाजहरूको कोलाहलले मुस्तफा कहालिन्थ्यो, स्वास्नीचाहिँ डरले काँप्थी र रुन थाल्थी, उनीहरूको छोरो निद्राबाट बिउँझन्थ्यो र आमाचाहिँ सँगै कहालिएर रुन्थ्यो । मुस्तफा यतिखेर भने आफूलाई समाल्नै सक्तैनथ्यो र विपरीत दिशातिर फर्किएर आँसु खसाल्थ्यो अनि सराप्थ्यो तिनलाई जसले यो स्थिति ल्यायो ।

ऊ कुनैकुनै बेला चिच्याउँथ्यो पनि ‘अल्लाह अल्लाह … यो रात तिमीले आफ्ना बन्धुहरूलाई विभिन्न दुःख-यातनाबाट मुक्त गरिदिने रात हो … तर मलाई यो यातना किन अल्लाह । कयौं वर्ष सबेवरातमा मैले तिमीसँग प्रार्थना गरेको छु, किन तिमीले मेरो प्रार्थना कबुल गरेनौ ? के तिमीले म जन्मिएको बेलामा मैले भोग्नुपर्ने दुःख यस्तै देखेका थियौ अल्लाह ? मेरो भाग्य के यस्तै हो अल्लाह ? ‘

० ० ० ०

मुस्तफा एकछिन भुइँमा घोप्टो पर्यो । साइकल स्वास्नीचाहिँले समातिराखेकी थिई । केहीबेरमा उठेर मुस्तफा सकीनसकी फेरि साइकल डोऱ्याउन थाल्यो । साइकल त हिँडिदिन्थ्यो हिंडाइदिँदा किनकि प्राण छैन साइकलमा । तर मुस्तफा एउटा मान्छे । मान्छेलाई हिँडाउने इच्छा या महत्त्वाकांक्षा अथवा प्रोत्साहन यस्तै केहीको आवश्यकता रहन्छ । यी केही पनि थिएनन् यतिखेर मुस्तफासँग । वातावरणमा अँध्यारो त छ नै, उसको मनको भित्र पनि एउटा डरलाग्दो अँध्यारो छाएको छ यतिखेर । भोलि सम्झेर हुने पीडाले जन्माएको अँध्यारो एउटा भयानक अँध्यारो । थाहा छैन यो अँध्यारोले उसलाई कुन मोडमा लगेर गलत बाटोतर्फ डोऱ्याइदिने हो । कति गहिरो खाल्डोमा उसलाई जाकिदिने हो । यतिखेर यी कुनै प्रश्नजस्ता लाग्ने आश्चर्यका उत्तरहरू छैनन् मुस्तफासँग । यदि मुस्तफाले कुनै जानिफकारलाई यी प्रश्नहरू सोध्यो भने तिनीहरू मुस्तफाका पर्याय हुनेछन् अर्थात् निरुत्तर अनि अँध्यारोमा रुमल्लिन विवश ।

मुस्तफा मुश्किलैले एक घण्टा निदायो होला त्यो धूले मरुभूमिमा । उसकी स्वास्नी अझै निदाएकी नै छ । छोरो घुर्दै छ । शायद सुत्न नमिलेर होला, उसले यस्तै सोच्यो र छोरालाई आफ्नो काखमा लियो । नभन्दै घुराइको त्यो आवाज बन्द भयो ।

० ० ० ०

बिहानको चार मात्र बजेको थियो । बेजोडले चलेको बतासले बिहानको प्रथम उज्यालो पनि त्यति मीठो प्रतीत छैन त्यहाँ । बिस्तारै उदाउन खोजेको सूर्यलाई धुलाम्मे बनाएको छ हुरीले । मुस्तफा एकटकले सूर्यतिर हेरिरहेछ । नझिम्क्याइएका उसका आँखालाई धूलोले अवरोध गरिरहेछ । ऊ स्वयम्लाई थाहा छैन हातहरू अचेतनमै धूलो पन्छाइरहेछन् । मुस्तफाले यस पटक उज्यालोमा राम्ररी आफ्नी स्वास्नीको अनुहार हेर्यो । बुर्का हावाले उडाएर अनुहार खोलिएको थियो । आफ्नो हातले स्वास्नीको अनुहारमा परेको धूलो हटाइदियो उसले । मुस्तफाका समकालीन मित्रहरूले घटीमा पनि तीन ओटी स्वास्नी भित्र्याएका छन् । तर मुस्तफाले यही स्वास्नीबाहेक अन्य स्त्रीहरूतिर राम्ररी आँखा पनि लगाएन । थुप्रै अवसरहरू उसले पाएको थियो थप विवाह गर्ने । ऊ पहिल्यैदेखि सोच्थ्यो एक विवाह, एक सन्तानका विषयमा । उसको सोचाइलाई ऊ स्वयम्ले साकार रूप दिएको थियो । उसका अन्य साथीहरू उसलाई व्यङ्ग्य गर्थे, नामर्द भन्थे । तर उसलाई आफ्नो सोचाइमुताविक चल्न पाएकोमा गर्व थियो । यद्यपि ऊ साथीहरूसँग प्रतिवाद गर्दैनथ्यो, आफैँ भित्र भित्र सन्तुष्ट हुन्थ्यो आफू सफल भएकोमा ।

स्वास्नीचाहिँ बिउँझी, हत्तपत्त बुर्का मिलाई । छोरो पनि उठ्ने सुरसारमा चलमलाउँदै थियो । मुस्तफाले छोरालाई ‘अब उठ’ भन्यो । बाँकी यात्राका निम्ति उसले पाइला चाल्ने निधो गर्यो बिहानको पाँच बजे ।

उज्यालो पूरै भइसकेको थियो । यो उज्यालोले मुस्तफालाई कुनै बाटो देखाउन सकेन । मनभित्रको अँध्यारो जताततै व्याप्त भइसकेको थियो ।

यसरी नै थुप्रै दिनका उज्यालाहरू उसले पार गर्यो । एकाबिहानै आफ्नो यात्रा शुरू गर्यो । पुग्नुपर्ने कुनै ठाउँ छैन । पुगेर गर्नुपर्ने कुनै काम छैन । कहीं पुगेर कसैलाई भेट्नु छैन । निर्वासनको पीडा सुनाउनु छैन किनकि त्यहाँ ठाउँ भन्नलायक कुनै ठाउँ नै छैन । गर्नका निम्ति न त कुनै काम छन्, न त मान्छे नामका कोही नै छन् । खालि हिंड्नु छ । यात्राभरि मुस्तफा आफैंसँग बोल्दै रह्यो, पीडा साट्‌दै रह्यो । छोरो… एउटा अबोध बालक । स्वास्नी… ऊजस्तै अर्थात् अनपढ छे, लोग्नेले केही सोध्दा आवाजमा हैन, टाउको हल्लाएर सहमति जनाउँछे- हरेक कुरामा सहमति । ठीक-बेठीक, राम्रो-नराम्रो सबैमा सहमति ।

मध्याह्नमा पानी अलिअलि पर्न थाल्यो । केहीछिन त गर्मी भगाउन अल्लाहले ‘मेहरबानी’ गरेको सोच्यो मुस्तफाले । घनघोर हुँदै गयो पानी, जब मुस्तफा आफ्ना आँखाहरूलाई ओत खोज्नतिर दगुराउन थाल्यो । ओत…। असम्भव थियो ओत पाउनु त्यहाँ । मुस्तफाले एउटा सानो प्लास्टिक साइकलमा भएको सम्झ्‌यो । त्यसलाई निकाल्यो अनि प्रिय छोरालाई त्यो ओढाइदियो । मुस्तफा र उसकी स्वास्नी पानीमा निथ्रुक्क भिजे । हरेक पटक बिजुली चम्कँदा उसकी स्वास्नी तर्सन्थी र छोरो बिउँझेर कहाली हालेर रुन्थ्यो । यो क्रम करिब चार घण्टासम्म रह्यो । यो चार घण्टाको अवधिमा मुस्तफाले घटीमा पनि चालीस पटक अल्लाहलाई पानी रोकिदिने अनुरोध गर्यो, प्रार्थना गर्यो । शायद अल्लाह निकै दूर थिए र मुस्तफाको पुकार सुन्न सकेनन्, तर पनि मुस्तफा चिच्याइरह्यो । जब पानी रोकियो, मुस्तफा अल्लाहप्रति नतमस्तक भयो । पानी रोकिदिएकोमा कृतज्ञ भयो अल्लाहसँग । अलिक पर गएर मुस्तफाले भिजेको कपडा फेर्यो । भिजेको कपडा फेर्ने चाहना उसकी स्वास्नीलाई पनि थियो । तर उसले फेर्न पाइन । अल्लाहको लाज राख्ने त्यहाँ कुनै गोप्य ठाउँ थिएन जहाँ ऊ आफ्ना भिजेका कपडा फेर्न सकोस् ।

फेरि रात पर्यो । रात पर्नुअघि त्यस दिनको गोधूलीमा एक पटक मुस्तफा रमाएको थियो । टाढाटाढा एउटा सिंगो घर देख्दा विश्वास गर्न नसकी उसले आँखा मिचेर पुनः हेरेको थियो । सिंगो घर नै थियो त्यो, तर घर उसकै चिनजानको मित्रले ओगटिसकेको थियो । मुस्तफा निरास भयो । आफ्नो साथीबाट त्यस घरमा एउटा कोठा पनि उसले प्राप्त गर्न सकेन । त्यहाँबाट दुई-तीन घण्टा अगाडि बढिसकेको थियो ऊ । त्यो रात पनि मुस्तफा पूर्ववत् हिंडी नै रह्यो । परबाट मिर्मिरेको संकेत मिल्यो । तर मिर्मिरेले मुस्तफामा कुनै उमङ्ग ल्याउन सकेन । जब मिर्मिरे देखियो, मुस्तफाले स्वास्नीलाई अब यहीं बास बसूँ भनेर संकेत गर्यो । स्वास्नीचाहिँ हरेक मिर्मिरेमा उत्साही हुने आफ्नो पतिको थकाइप्रति बेचैन भई तर केही बोलिन, चूपचाप त्यहीं धूलोमा थुचुक्क बसी । उनीहरूको छोरो निदाइरहेको थियो ।

० ० ० ०

मुस्तफाले एक पटक मिर्मिरेमा देखिन आँटेको सूर्यलाई हेर्यो, आफ्नो बाँकी सीमान्त बाटोलाई हेर्यो, छोरालाई हेर्यो, स्वास्नीलाई हेर्यो र अन्तमा साइकललाई हेर्यो अनि आँखालाई आफू बसेको भुइँतर्फ हेरायो । भुइँमा प्याच्च थुक्यो, दुई थोपा आँसु चुहायो, पसिना त आफैं बगिरहेकै थियो ।

(राजेन्द्र पराजुलीको कथासंग्रह ‘जाडोमा भोक’बाट)