तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा। कहिले अघाउँदिनँ म आफ्नो मुहार हेरेर। किनकि त्यहाँ तिम्रो बिम्ब मसँग मुस्कुराइरहेको हुन्छ । तिमी छौ तिम्रो कलम छ र म कविताको प्यासी छु । आँसु त जीवन गीत हो राजा ! बग्न रोकियो भने कालीगण्डकीको शालिग्राम फेरि कसरी बन्ला र है ? आऊ, पुछ भन्दिनँ म गालाको भिर भएर बगेका मेरा आँसुहरु किनकि शालिग्रामभित्रको मेरो देवता तिमी त थियौ नि राजा..!

धेरै वर्ष अगाडिको यो हाम्रो एउटा प्रेम कथा हो । म सानै थिएँ । मभन्दा ऊ अलिक जान्ने बुझ्ने थियो । म राजा भनेर सम्बोधन गर्थेँ । हामी दुवै एकै स्कुलमा अध्ययन गर्थ्यौं । शिद्धकाली बोर्डिङ स्कुलमा ऊ सधैँ प्रथम हुन्थ्यो । म दोस्रो हुन्थेँ । त्यतिबेला भोजपुरमा भर्खरै मोटर पुगेको थियो । गाडी देख्दा पनि रमाइलो लाग्थो । ऊ ठकुरीको छोरा । म राईको छोरी । ऊ मलाई पारु भन्थ्यो । म राजा भन्थेँ । पाँच कक्षादेखि सुरु भयो हाम्रो प्रेम ।

म माथि काफ्लेदेखि पैंतालीस मिनेट हिँडेर स्कुल आउथेँ । ऊ तल पाँचधारादेखि एक घन्टा उकालो चढेर स्कुल आउँथ्यो । मेरा आफन्तका नाउँमा फूपू थिइन् तारा राई र सानैदेखि म फुपूको घरमा बसेर अध्ययन गर्थें । फुपू त्यहीँ स्कुलमा शिक्षिका थिइन् । फुपूसँगै स्कुल आउने जाने गर्थें म । हामी बिच प्रेम छ भनेर फुपूलाई पनि थाहा थियो । उसको मलाई असाध्य माया लाग्थ्यो । उसले हिँडेको बोलेको खेलेको पढेको म हेर्थेँ, कस्तो मीठो लाग्थ्यो ।

आठ कक्षा पुगेपछि थाहा भो कि हामी प्रेममा पो रहेछौ भन्ने कुरा ।

मेरो घर दिङ्ला बजार हो । माओवादी युद्धमा सरकारका तर्फबाट मेरा बाबा र आमा दुवै मारिए । आर्मीले अँध्यारोमा घर घेरेर लगेर गयो । द्वन्द्वकालमा म सानो थिएँ । पछि माओवादीले उहाँहरु दुवैलाई सहिद घोषणा गर्यो । मलाई एसएलसिसम्म पढाइदिने व्यवस्थापन गर्यो । म एक्लो भएपछि सदरमुकामबाट फुपू लिन जानुभो । र म सदाका लागि दिङ्ला छोडेर भोजपुर सदरमुकाम आएँ । र सिद्धकाली बोर्डिङमा भर्ना भएँ । अब आमा बाबा जो भने पनि मेरी एक्ली फुपू नै थिइन् ।

फुपाजु पनि बितेको धेरै वर्ष भएको थियो । फुपूका सन्तान कोही थिएनन् । आमा बाबा बितेपछि उता म एक्ली थिएँ । फुपा बितेपछि फुपू यता एक्ली थिइन् ।

सिद्धकालीमा चार कक्षामा भर्ना भएपछि नयाँ ठाउँ, नयाँ साथी, नयाँ परिवेश घुलमिल हुन मलाई धेरै गाह्रो परिरहेको थियो । उसो त आमा बाबा गुमाएकी म टुहुरी जति बेला पनि एकोहोरिनु मेरो आदत भैसकेको थियो । स्कुलमा मलाई सबैले हेप्थे। बुलिङ्ग गर्थे। माओवादीकी छोरी भन्थे । त्यतिबेलाको परिवेशमा माओवादी पार्टीलाई साह्रै घृणाको दृष्टिले हेर्थे। भोजपुर सदरमुकामको टावर हान्न मेरै बाबाले सुराकीको काम गरेको रे !

त्यो कुरा पनि स्कुलमा बिस्तारै थाहा भयो । मेरो सङ्गतमा कोही पनि साथी थिएनन् । परिवर्तन त सबैलाई चाहिएको रहेछ नि तर दोष चाहिँ सबै माओवादी नेताकार्यकर्तालाई मात्रै किन ? मैले बुझेकी थिइनँ ।

चार कक्षामा भर्ना भएपछि सधैं त म फुपूको साथमा हुँदैनथेँ । मलाई ज्यानमाराको छोरी भनेर केही शिक्षक अनि प्रायः सबै विद्यार्थीले घृणाको पात्र बनाएका थिए । सबैको दृष्टिकोण मप्रति यति नराम्रो थियो कि मानौँ म एउटा गुलाफ फूलबिच तिखो काँडा हुँ । क्रमशः म ज्यानमाराको छोरी भनी चिनिएँ ।

मसँग कोही बोल्नु त परै जाओस् कक्षा कोठामै पनि एउटा नमीठो भेदभावको कालो रेखी थियो । त्यही रेखीबाहिर बसेर म अध्ययन गर्नुपर्थ्यो । मेरो कारणले फुपूलाई समेत असर पर्यो।

यसको भाइ बुहारी माओवादी भएपछि यो पनि माओवादी हो भनेर छिः छि दूरदूर गर्थे । यसरी माओवादीको छाया बोकेर हामी फुपू भदै सिद्धकालीको शिक्षाको मन्दिरमा हरेक दिन रुँदै सहँदै जीवनको नरमाइला पलहरु व्यतित गर्न थाल्यौँ।

मानिलिऊँ म एउटी अछुत जातकी थिएँ । मलाई कुनै गम्भीर सरुवा रोग लागेको छ र मानिसहरू मबाट परपर भाग्छन्, रोग सर्ने त्रासले । म एउटी त्रासको पोका थिएँ । राईहरुकै बिचमा म अराई बाचेँ । विद्यार्थीकै समूहमा म कुपात्र बाचेँ । फूलहरुकै संसारमा म एउटा काँडा बाँचें । ताराहरुकै आकाशमा म प्रकाशहीन बाचेँ । खोइ किन पो मलाई हरेक मान्छेका आँखाका सुइराहरुले घोचिरहेका हुन्थे र प्रत्येक पलको घोचाइले मभित्रको एउटा मान्छे स्वतन्त्रता मर्दै गएको थियो ।

मेरै कारणले फुपूको दलगाउँ प्रा.विमा सरुवा भयो । दलगाउँ सदर मुकामदेखि पारि थियो । करिब डेढ घन्टाभन्दा बढी लाग्थ्यो हिँड्न । फुपूको कुनै गल्ती थिएन । स्कुलमा धेरै राजनीति चल्थ्यो। फुपूको सरुवा भएपछि अब म एक्लो भएँ ।
चार कक्षाको फाइनल परीक्षा नजिक आयो । मसँग केवल आमा बाबाको स्मृतिमा बगिरहेने आँसु र स्कुलका साथीहरू र शिक्षकले लगातार दिइरहेको पीडा अनि फुपूसँगको बिछोडको आँसु थियो । मसँग मेरो मन थिएन । मसँग मेरो विचार थिएन। मसँग मेरो खुसी थिएन। मसँग मेरो उद्देश्य पनि थिएन । मसँग मेरो सपना थिएन । केवल एउटा मासुको थुप्रो थियो र यो हिँड्थ्यो काफ्लेदेखि सिद्धकाली र सिद्धकालीदेखि काफ्लेसम्म ।

पढ्न अलिक ढिलो भएको थियो । मेरो उमेरमा पुगेकाहरु सात कक्षामा थिए । राईकी छोरीहरु कमै स्कुल जान्थे । दिङ्ला भएर मात्रै पो नत्र केटीहरुलाई पढ्न पर्छ भनेर कसैले भन्दैनथे । बाहुनका छोरीहरु पढ्थे प्रायः । दिङ्लाबाट लखेटिएकाहरु कोही चतरा झरे कोही विराटनगर बसाइँ गए, कोही झापा मोरङ भागे । माओवादीमा आस्था भएकाहरुलाई पनि बाँच्न गाह्रो थियो र माओवादी विचारधारा विरुद्धमा लागेकालाई पनि टिक्न गाह्रो थियो । र सबै तितरवितर हुँदै गए । एउटा बस्ती कसरी राजनीतिको चपेटामा उजाड भयो, यसको अर्को दर्दनाक कथा छ ।

फुपूको सरुवापछि म एक्लो भएँ । कहिलेकाहीँ त यो आतङ्ककारीकी छोरीको बिल्ला भिरी बाँच्नुभन्दा त मर्न पाए पनि शान्ति मिल्थ्योजस्तो लाथ्यो ।

घरमुनि आर्मीको ब्यारेक थियो । त्यही आर्मी ब्यारेक हुँदै म स्कुल जान्थेँ । खोइ किन हो आर्मी देखेपछि मलाई भित्रदेखि यति घृणा लाग्थ्यो कि राती बास बसेका मेरा आमा बाबालाई थुतेर यिनैले मारेका थिए, सेउतीको जङ्गलमा । भिडन्तमा परे भनेपछि कुनै कानुन नै लाग्दैनथ्यो । सधैँ आर्मी देख्थेँ, मुल गेटमा । त्यही गेट हुँदै भोजपुर बजार सुरु हुन्थ्यो । सँगै थियो सिद्धकाली मन्दिर । बजार हुँदै तल डाँडागाउँमुनि थियो सिद्धकाली बोर्डिङ स्कुल ।

सबैको छिः छि दूरदूरमा एउटा ठकुरीको छोराे थियो मेरो पक्षमा । राजीव शाही । उसको बाबा र मेरी फुपू मिल्ने साथी थिए रे । फुपूले राजीवलाइ जिम्मा लगाएका थिए । राजीव धेरै जिम्मेवार केटाे थियो । परीक्षा सकियो । ऊ प्रथम भयो । म दोस्रो भएँ । राईकी छोरी कसरी दोस्रो भई भन्थे सबले । राजीव मेरो सबै थोक थियो । अभिभावक, साथी, सहपाठी, मित्र वा प्रेमी ।

वास्तवमा ऊ एउटा साथी मात्रै थिएन । सुरुमा आफ्नै मिसले दिएको जिम्मेवारी बहन गर्यो उसले । मलाई सुरक्षा दियो । ठकुरीको छोरासँग अरु विद्यार्थीहरु डराउँथे र मलाई एक्लो बनाए पनि घृणा गर्ने शैलीमा परिवर्तन आएको थियो । अहिले मलाई सम्झना छ त्यो बेला ऊ मेरो लागि सहाराको सतिसाल भएर उभिएको थियो । ऊ मेरो पक्षमा उभिएको देखेपछि सबै टिचर र विद्यार्थीको मप्रति हेर्ने दृष्टिकोणमै बदलाव आएको थियो । ठुलो मान्छेप्रतिको सम्मान थियो वा डर थियो त्यो मैले आजसम्म पनि बुझेकी छैन । राजिवको बाबा ठुलो राजनीतिज्ञ हुनाको कारण यता मलाई बाँच्न सहज भयो किनकि म राजिवसँग गाँसिएको थिएँ ।

फुपू तीन चार दिनमा घर आउनुहुन्थ्यो । प्रायः म एक्लै हुन्थेँ ।आफैँ खाना बनाउँथेँ । आफैँ लुगा धुन्थेँ । फुपूको घर काफ्ले गाउँ मध्यकै ठुलो थियो । फुपूको कोही थिएन । म र फुपू मात्रै यो घरसँग सम्बन्धित थियौँ । फुपूले भाइ पाएकी थिइन् । तर एउटा सामान्य ज्वरोको कारण भाइ सानैमा बितेको थियो ।

भाइ बितेपछि फूपू कयौँ दिन बेचैन थिइन् । फुपाजु बृटिस लाहुरे थिए । बेलायतमै दोस्रो घरजम गरी बसेका ।  फूपूलाई करिब छोडेजस्तै थियो । मेरो बाबा आमाको म अन्तिम निशानी थिएँ । फुपू मलाई असाध्य माया गर्थिन् । मेरो बाबाको परिवारमा म र फुपू मात्रै जीवित थियौँ ।

नवौँ कक्षा पुगेपछि हाम्रो माया झाँगियो । राजिव कविता लेख्थ्यो । हाम्रो साथित्वको नाताले मायाको रुप कति खेर लियो भन्न सकिनँ । उसले कक्षा दसमा पुग्दा एउटा कविता लेखेथ्यो, “फूलको कौमार्य” मेरो डायरीमा । त्यही कविता स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएको थियो । आज यतिका वर्षपछि एउटा पुरानो स्मृतिको आगो सल्कियो हृदयमा । उसको कविता मेरो लागि थियो ।

स्कुलको क्यान्टिनमा चिया पिउँदै लेखेको थियो, उसले यो कविता –

अलिकति छोएँ तिम्रो अपलकता
रुमानी आँखाको उज्यालो
त्यो जुनकीरीलाई ।

तिमीलाई मायाको सुइराले घोचे
खोइ कुन्नी कति दुख्यौ तिमी ?

म भने दुखेँ एउटा मीठो छुवाइले
नछुँदै खस्छ शीत
नफुल्दै झर्छ पारिजात
नबोल्दै बुझिन्छ माया
नरुँदै भिज्छ परेली
फूलको कौमार्य जस्तै
पारु ! तिमीसँगै छौ
तर किन पो हो मलाई
तिम्रो न्यास्रो लागिरहन्छ !!

एउटा अज्ञात खुसीले घाइते हुन्थेँ म । मेरो सर्वोच्च मुटुभित्र विराजमान थियो राजिव । दस कक्षा पढ्न थालेपछि म विगतले दिएको पीडाले गर्दा पूर्णकालीन माओवादी राजनीतिमा लागेँ र क्रियाशीत सदस्यता लिएँ । ऊ नेपाली काङ्ग्रेसको विचारधाराबाट प्रभावित थियो । ऊ बिपि विचारको अनुयायी थियो । स्कुलमा हुने कतिपय कार्यक्रममा हामी दुवै बोल्थ्यौँ । वक्तृत्वकला प्रतियोगितामा पनि कहिले ऊ प्रथम हुन्थ्यो, म द्वितीय हुन्थेँ । कहिले म प्रथम हुन्थेँ, ऊ द्वितीय हुन्थ्यो । हामी करिब ६ वर्षदेखि एक अर्काको खुसीका लागि पूर्ण समर्पित थियौँ ।

वयस्कताले पनि छोएन हाम्रो निर्मल प्रेमको सतिसाललाई । प्रेममा यौन उपस्थिति थिएन । कहिले पनि छोएन राजिवले मेरो कोमल ओठलाई।

ऊ भन्ने गर्थ्यो, “छोएपछि बिटोलिन्छ प्रेमको आबरु, भ्रमर चुम्बनमा जसरी झर्छे पारिजात ।”

उमेर बढदै गएपछि बरु म नै अलिक उत्ताउलिन्थेँ तर ऊ सम्हालिन्थ्यो र भन्थ्यो, “यो त पछिको लागि जोगाउने सम्पत्ति हो, अहिले नै खर्च गर्यो भने सकिन्छ यसको पुलकता !”

ऊ विचारमा कहिले विचलित भएन । म कहिलेकाहीँ बरु आफैँ सोच्थेँ –

अलिकति मलाई छोइदिए हुन्थ्यो नि बरु ।

कति मीठो हुन्थ्यो होला तिम्रो स्पर्शले भिज्यो भने माया पनि !

तिमी किन मलाई छुँदैनौ हँ ! के म अछुत हुँ र ?

राजा ! तिम्रो तातोमा अलिकति न्यानिन चाहन्छु म ।

तिम्रो जुनेलीमा अलिकति चिसिन चाहन्छु म ।

तिम्रो पखेटाले अलिकति उड्नु चाहन्छु म ।

मलाई छोइदेऊ न बिन्ती…

दस कक्षाको सेन्टअप परीक्षामा म प्रथम भएँ । ऊ दुई नम्बरको फरकमा दोस्रो भयो । उसले मलाई बधाई दियो । स्कुलले हामी सबैलाई बिदाइ कार्यक्रम राख्यो । राजनीति विचारधारा अलग भएपछि म विगत केही महिनादेखि प्रशिक्षण कार्यक्रममा भाग लिन जान्थेँ । राजनीति र प्रेम दुई अलग चिज थिए नि तर खै मलाई हेर्ने दृष्टिकोणमा बदलाव आयो ।

र एकदिन मैले भनेकी थिएँ, ” राजा मेरो सबै कुरा हजुरको शीतल प्रेम हो । म सबै चिज छोड्न सक्छु तर हजुरलाई कुनै पनि हालतमा गुमाउनु चाहन्न ।”

तर खोइ उहाँले बुझ्नुपर्ने थियो बुझे जस्तो लागेन । म सोच्थेँ-

– प्रेम र राजनीति अलग होइन र ?

– प्रेम राजनीतिबाट प्रभावित हुन्छ र ?

– प्रेमलाई के थाहा राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ ?

– प्रेम हुनलाई राजनीति धार पनि मिल्नु जरुरत छ र ?

– प्रेम दिल हो राजनीति दिमाग हो ।

– प्रेम जुन हो राजनीति घाम हो ।

– प्रेम बाटो हो राजनीति गन्तव्य हो ।

– प्रेम लय हो राजनीति आलय हो ।

– प्रेम अप्राप्ति हो राजनीति प्राप्ति हो।

– बाटो बिराउँछ राजनीतिले तर प्रेम त हिमाल हो ।

हामी व्यस्त हुन थाल्यौँ । स्कुलले बिदाइ दिएको पन्ध्रौं वर्षपछि विद्दोदय स्कुलको पुननिर्माण कार्यक्रममा ऊ जिल्ला प्रमुख अधिकारीको रूपमा उपस्थित थियो । म गृह मन्त्रीको रूपमा उपस्तिथित थिएँ । ऊ पढ्न सक्थ्यो । लोकसेवा पास गरेर सि डि यो भएछ । म आर्थिक अवस्थाले र अरु कारणले राजनीतिमा होमिएँ, मन्त्री भएँ । मेरो पद त दुई दिनको हो । उसले मलाई बधाई दियो । मैले बधाई दिएँ । बधाईको पल्ला उतै भारी थ्यो ।

म झुकेँ उसको अगाडि र भनेँ- “राजा ! फूलको कौमार्य आज पनि चोखै छ । कसैले नि छुने साहस गरेनन् ।”

उसले सुटुक्क कानमा भन्यो – “चोखै रहनु पारु ! जूनलाई छोयो भने त्यसको शितलता निभ्छ ।”