चुनाउ नजिकै आउँदैछ । आज मेरो मूड पनि केही राम्रो छ । सदा जस्तो व्यस्तताबाट अलिकता भागेको छु । मन प्रफुल्ल त्यसैत्यसै छ । सबैसित बोल्ने मूडमा छु । निकै दिनको दर्कने पानी बन्द भएर आज घाम लागी दिन उज्यालो भएको कारणले पनि हुनसक्छ, फेरि भएन, विपक्षी दलका केही बाहुबली नेताहरू हिजो मात्र म अघि आत्मसमर्पण गर्न पुगेको । यस्तै थुप्रै कारणले होला मेरो मन आज प्रफुल्ल छ ।
आज म मेरो कपडा छेक्न नजिकैको टेलर दोकानमा पुग्छु । ड्राइभरले “सर, गाडीमा जानु हुने ?” के भन्दै थियो, मैले तुरुन्त “पर्दैन” भनें ।
“दुई पाइला परको दोकानमा पुग्नु के को गाडी ?” मैले उसलाई जवाफ फर्काएँ । तर मेरो व्यक्तिगत सचिव जस्तो मसित जोडिएर हिंड्ने लालकुमार भने मेरो पछि लुरुलुरु आउँदै थियो ।
म टेलर दोकान पुग्नुअघि बाटोमा मैले थुप्रै मानिसहरूलाई भेट्नपुग्छु । यस पालिको चुनाउमा टिकट पाउने आशामा बसेको एक रिटार्यर्ड डाइरेक्टर बीबी लकान्द्रि मलाई देख्ने बित्तिकै टाउको-साउको रेलको सिग्नल जस्तो ९० डिग्रीबाट खन्द्रंग गरेर १८० डिग्रीमा तल झारी हत्त न पत्त शाश्वत दण्डवत् गर्नपुग्छ मलाई । म पनि उसलाई हात मिलाउन पुग्छु ।
“के छ हौ डाइरेक्टर साब ?” मैले उसको हालचाल सोध्छु ।
“सर, एकदमै ठीकठाक छ । तपाईं जस्तो नेताको नेतृत्वमा हामीलाई निको आनन्द छ । यस पालिको चुनाउमा त झन् मैले तपाईंको आशीर्वाद लिनु छ ।” – उसले एकै स्वरमा सिद्धै पठाउँछ ।
“हा.. हा.. लकान्द्रि सरको सटायर पनि गजबको छ ।” निकै ठूलो स्वरमा भनिपठाएछु । चारैतिर मानिसको भीड लागेछ ।
“सर” लालकुमारले उसको हात तेर्सो पारेर बाटोतर्फ मलाई अघि जाऔं भन्ने संकेत गर्छ । झसङ्ग हुन्छु । ए, म त टेलरको दोकानमा पो गएको त । कता यतातिर गफगाफमा भुलिंदै छु । अनि हतारसाथ टेलर दोकानतिर लम्किन्छु ।
टेलर दोकान पुग्न नपुग्दै, फेरि अर्को एक भलाद्मी जम्का भेट हुन्छ । ऊ यस इलाकाको निकै नाम चलेको एक जमीनको किनबेच गर्ने धनाढ्य व्यापारी हो । उसको रियल स्टेटको ठूलो कम्पनी पनि छ । साथै चुनाउमा हाम्रो पार्टीमा उसको निकै झुकाउ छ ।
मेरो अघि दुई हात जोडेर उसको टाउको मेरो छातीमा नै टँसाउन पुग्छ । मैले मेरो दुई हातले उसको टाउको अलिक पर ठेल्छु र भन्छु- “हौ, गजेन्द्र बाबु । के छ हौ हालचाल ।“
“हजुर, सबै कुशल मगंल । तपाईंको सरकारमा हामी सबै खुशी छौं ।”
“हा.. हा.. !” मैले ठूलो गर्जनसाथ हाँसोको फोहोरो फ्याँक्छु ।
“हजुर कता पाल्नु भो ?” उसले सोध्छ ।
मेरो जवाफ भन्दा अघि नै लालकुमारले यसको सफाइ दिन्छ ।
“हैन कि सर, सरले कपडा छेक्नुहुने अरे । अनि आफै आउनुभयो । यो प्रिन्स टेलरको गएको नि”– लालकुमारले हामी सामु अघि रहेको पुरानो टेलर दोकानलाई चोर औंलाले देखाउँछ ।
गजेन्द्र बाबु तीन छक्क पर्छ र भन्छ- “अरे ! हजुर किन यस्तो टेलर दोकानमा जानुभएको ? मलाई भनेको भए राजधानीको सबैभन्दा राम्रो दोकान रेमण्ड सुटिङमा नै यो सब हुने हो । लालकुमार तिमीलाई यो कुरा थाहा थिएन ?” उसले लालकुमारलाई हकार्छ ।
लालकुमार अक्क न बक्क हुन्छ । अनि मैले हत्त न पत्त यसको सफाइ दिन्छु ।
“छ्या । गजेन्द्र बाबु, छोड्दिनुहोस् । हामी भुँइमान्छेहरू हौं । जनतासित घुलमेल हुनुपर्छ नि त ।”
“हा…हा…!” मेरो हाँसोसितै गजेन्द्रको हाँसो पनि जोडिन्छ ।
त्यतिञ्जेलसम्म हामी हलाल मियाको टेलर दोकानभित्र पुगिसक्छौं ।
मसित यो शहरमा नै नामी पैसावाल व्यापारी गजेन्द्र बाबु र लालकुमार मसित छ । म ठिङ्ग उभिन्छु । हलाल मियाको दोकानभित्र । उसको पुरानो सिलाउने मेसिन एउटा, अनि एउटा सायद भर्खरै ल्याएको केही आधुनिक सिलाउने मेशिन देख्छु ।
गजेन्द्रले मलाई रुँगेको देखेर मलाई निकै अस्पट लाग्छ । त्यसैले गर्दा मैले उसलाई “तपाईं जानुहोस्, गजेन्द्रबाबु” भन्दै बिदाबारी दिन्छु ।
शायद यही ताकमा थियो कि मेरो आदेशको साथसाथ ऊ पनि लुसुलुसु अघि बढ्छ ।
अब दोकानमा म र लालकुमार मात्र हुन्छौं । दोकानसितै हलाल मियाको भित्र कोठामा बस्ने कोठा पनि रहेछ । ऊ भित्र कोठामा के गर्दैथियो मलाई थाहा भएन । तर मैले हतारसाथ हलाल मियालाई बोलाइपठाउँछु ।
“चाचाजी किधर है ?”
उसको सटिएको कोठा भित्रबाट नै हलाल मियाले “एकछिन” भनिपठाउँछ ।
मेरो आज मूड त्यसो त एकदमै प्रफुल्ल छ । उभिएर नै पर्खें । लालकुमारले “सर, यहाँ बस्नु नि” भन्दैथियो । तर म छेउको चौकीमा पनि बसिनँ । केवल हलाल मियाको टेलर दोकानको वातावरणलाई मनमनै नियाल्दै थिएँ ।
मेरो आवाजले हलाल मियालाई अलिकता पनि प्रभाव शायद पारेन । यस शहरको यति चर्चित अनि लोकप्रिय मानिस उसको दोकानअघि आउँदा पनि हलाल मिया टस न मस देख्दा मलाई केही विचलित त भयो । तर मेरो प्रफुल्ल मनले मलाई जित्यो ।
“चाचाजी !” मैले फेरि बोलाइपठाएँ ।
“हँ… आउँदैछु ।”– हलाल मियाको जवाफ आउँछ । उसमा कुनै उत्सुकता छैन, जिज्ञासा छैन ।
ऊ अहिले ठिङ्ग दोकानको दैलोमा उभिइसकेको छ ।
“भन्नुहोस् ।” एक सामान्य ग्राहकलाई जस्तै उसले मलाई पनि सोध्छ । उसको अनुहारमा मलाई देखे पछिको केही परिवर्तन आएको छ कि भनेर उसलाई नियाल्छु ।
अहँ । केही परिवर्तन देख्दिनँ । अरे ! म अचम्मित हुन्छु ।
यस शहरको सबभैन्दा ठूलो व्यापारी मेरो अघि नतमस्तक हुन्छ । यस शहरको एक रिटार्यर्ड नोकरशाह मलाई देख्नै बित्तिकै मेरो अघि झुक्छ । तर यो जाबो एक गरीब टेलरको अनुहारमा किन केही परिवर्तन देख्दिनँ । म आफैलाई मनमनै भन्छु । तर पनि उसलाई तर्साउन र चिनाउन म ठूलो स्वरमा भन्छु ।
“चाचाजी ! केही असुविधा त छैन नि, हैन ? केही भयो भने हामीलाई भन्नू ।”
“… ना, केही छैन ।”
अरे.. म छक्कै पर्छु । यस्तो लाग्यो । म उसको अघि एक मुसा भन्दा पनि सानो चीज हुँ । मैले दिएको अफर त उसको लागि एकदमै तुच्छ छ ।
उसको अनुहार मसित जुझेको छैन । उसले आफ्नो इन्चि टेप लिन्छ र हतारसाथ मेरो शरीर नाप्न थाल्छ । एक सामान्य ग्राहकलाई जस्तो । अनि त्यसरी नै खाताको पन्नामा उसले मेरो नाप लेख्छ ।
मेरो अघि सम्मको पूरा भरेको दम्भको हावा एकाएक फूसूसू.. जान्छ । एउटा पन्चर ट्युब जस्तो । तर फेरि पनि मेरो दम्भलाई फुलाउने कोशिश गर्छु ।
“चाचाजी ! कति पैसा ?”
अब त यो चाचाजी लाइनमा आउँछ, पैसाभन्दा । मैले मनमनै भन्छु ।
“दुई सय ।”
अरे, रेमण्ड सुटिङमा मेरो सर्ट सिलाउँदा दश हजार परेको । किन यति कम्ती ।
तर केही भन्दिनँ । २०० को नोट नदिएर जानीजानी उसलाई मैले ५०० को कटकटी ताजा नोट हातमा थमाउँछु ताकि यो नोट देख्ने बित्तिकै उसको आँखा धप्धपी बलोस् अनि मैलाई मुस्कुराउँदै भनोस्, “सर, धन्यवाद ।”
उसले यो नोट पक्डिन्छ अनि हतारसाथ अर्को सुत्ने कोठामा पसी मलाई फेरि ३०० सय फर्काउँछ । कति बेला उसले ३०० रुपियाँ मेरो हातमा थमाइदिएछ मलाई थाहै भएन । म अरकच्च परेछु । मैले केही भन्नुअघि उसले मेरो कपडा अघि थन्काएर पर्सि आउने तारिख पनि दियो ।
एक सामान्य ग्राहक जस्तै म पनि त्यस पुरानो सानो टेलर दोकानबाट बाहिर निस्किएँ ।
आज दिनभरिको प्रफुल्ल मूड अहिले भने मूडअफ् भएर गयो । यो बूढो टेलर जसको महीनामा तीनचार हजारको आम्दानी मात्र होला, यसले मेरो महत्त्व नबुझेको या मलाई अण्डरस्टिमेट गरेको, मैले केही बुझिनँ । मैले त सोचेको थिएँ, बाटोमा भेट्ने त्यो रिटार्यड डाइरेक्टर जस्तो भलाद्मीले, गेजन्द्र गुरुङ जस्तो नामी धनाढ्य व्यापारी जस्तोले मेरो अघि शाश्वत दण्डवत् गर्छ भन्ने । तर फुटेको कौडी यो हलाल मियालाई के अलिकता पनि चासो भएन म जस्तो यस शहरको चल्तिफिर्ती नेताप्रति । न त उसले बात गर्ने चेष्टा गऱ्यो, न त मसित चाप्लुसी नै ।
मलाई थाहा छ, यो हलाल मिया बिहारको कुनै गाउँबाट तीस-चालीस वर्ष अघि नै यहाँ आएको हो । अहिले पनि यो भाडाको यो कोठामै यसले जीवन धानिरहेको छ । तर के यसलाई रत्तीभर पनि चासो छैन कि उसको शहरको एक नामी नेता उसको दोकानमा आएको छ अनि उसको खातिरदारी गर्ने ?
हलाल मियालाई अलिकता पनि लोभ भएन, उसको कपडा सिलाउने रेट भन्दा पनि दोबर मैले पैसा दिंदा त्यो डल्लै पैसा आफूसित राख्ने ।
“परिश्रमको फललाई मात्र आफ्नो भाग्य मान्ने यस्ता मानिसहरूले गर्दा नै हामी जस्ता नेताहरूको भविष्य भोलिको दिनमा जोखिममा पर्दछ,” मैले मनमनै भनें ।
यो हलाल मियालाई अलिकता पनि लोभ भएको भए आज पक्का पनि मेरो अघि चापलुसि गर्नेथियो । मेरो गुणगाण गर्नेथियो । तर यो सोझो हलाल मियाले आफूले दिनभरि सिलाएबापत पाउने मजदूरी नै उसको भाग्य सम्झेपछि जाबो म जस्तो नेताको मोल उसको अघि के पो हुन्छ र !
दिनभरि भोकै भारी बोकेर लखतरान भई घरको दैलोमा नै लमतन्न भएर भारी बिसाएको जस्तो शरीर हुन्छ मेरो । खल्खल्ति पसिना शरीरभरी नै हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।