लिस्बन । लोकप्रिय नेपाली ब्यान्ड नेपथ्य ले आफ्नो युरोप यात्रा अन्तर्गत पोर्चुगलमा आयोजना गरिएको कन्सर्ट भव्यरूपमा सम्पन्न गरेको छ। राजधानी लिस्बनस्थित लिस्बोआ अओ भिभो हलमा भएको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रह्यो।

कन्सर्टमा कोशीको पानी यो जिन्दगानी, भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, आँगनैभरि, जोगले हुन्छ भेट, यो जिन्दगानी लगायतका चर्चित गीत प्रस्तुत गरिएकाे थियाे। गीतसँगै दर्शकहरूले कोरसमा साथ दिँदा हलमा उत्साहपूर्ण वातावरण बनेको थियो।

कन्सर्टका बीचमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले नेपाली भाषा, संस्कृति र संगीतलाई प्रवासी जीवनमै संरक्षण गर्दै भविष्यताका पुस्तासम्म पुर्‍याउन सबैलाई आह्वान गरे। उनले विशेष गरी शिक्षा नपाएका बालबालिकाको लागि योगदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै दर्शकलाई सामाजिक उत्तरदायित्वप्रति संवेदनशील रहन आग्रह गर्नुभएकाे थियाे ।

यसपटकको कार्यक्रममा पोर्चुगलका साथै बेल्जियम, स्पेन र अन्य युरोपेली मुलुकबाट आएका नेपालीहरूको उल्लेखनीय सहभागिता रह्यो। कतिपय दर्शक भावुक हुँदै आँसु झारिरहनुभएकाे देखिनुहुन्थ्याे । आयोजक समितिले यसलाई कार्यक्रमको प्रमुख सफलता मानेको छ।

नेपथ्यसँगै ड्रममा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुभएकाे थियाे ।

पोर्चुगलको कन्सर्टपछि नेपथ्य टोली बेल्जियम पुगेको छ। आउँदो सेप्टेम्बर ३ बुधबार बेलुकी एन्थ्रोपेनस्थित एइडी स्टुडियोजको स्टुडियो सेभेन मा अर्को प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ। यससँगै लन्डनको वेम्बली एरिनाबाट सुरु भएको एक महिनाको नेपथ्य युरोप यात्रा सम्पन्न हुनेछ।