सिकागो । नेपालकै प्रसिद्ध लोक–रक ब्यान्ड नेपथ्यले अमेरिकाको सांगीतिक यात्रा अन्तर्गत सिकागोमा दिएको पाँचौँ प्रस्तुति अत्यन्तै उत्साहजनक रह्यो। सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेको ऐतिहासिक Vic Theater को हलभित्र दर्शकको बाक्लो उपस्थितिबीच नेपथ्यले आफ्नो सांगीतिक जादू फैलाएकाे थियाे ।
कार्यक्रमको सुरुआत ‘कोशीको पानी यो जिन्दगानी’ बाट भएको थियो, जसले दिवङ्गत सर्जक डिल्ले दमाईंको स्मृति झल्काएकाे थियाे । ब्यान्डले सर्वकालीक हिट गीतहरू देखि लिएर नयाँ सार्वजनिक गीत ‘कर्नालीका छाइला’ समेत प्रस्तुत गरेकाे थियाे ।
मे १७ मा टेक्सासको अस्टिन बाट सुरू भएको अमेरिका यात्रा अन्तर्गत नेपथ्यले यसअघि सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै सिकागो आइपुगेको हो। अब ब्यान्डले जुन ११ मा बोस्टन र जुन १४ मा नर्थ क्यारोलिनाको ग्रिन्सबोरो मा प्रस्तुति दिनेछ।
संगीतप्रेमी मात्र नभई अन्तर्राष्ट्रिय दर्शकहरू पनि आकर्षित भएकाे छ । आयरल्यान्ड मूलका डेनिस काभनाग, जसले ब्राजिलियन गर्लफ्रेन्डसहित कन्सर्ट हेर्नुभयाे र भन्नुभयाे: “यस ब्यान्डले नेपाली लोक रकको मिठो संगम दिएको छ, गायक अमृत गुरुङमा बब डिलनको झल्को देखेँ।” त्यस्तै, भियतनामी–अमेरिकी सिड्नी फान ले भाषाभन्दा पर पनि “शान्ति र प्रेमको संगीत” महसुस गरेको बताउनुभयाे ।
मिनेसोटाबाट छ घण्टा मोटर हाँकेर रामकुमार राई, र कोलोराडोबाट विमानमार्फत राजेन गुरुङ सिकागो कन्सर्ट हेर्न आउनुभएकाे थियाे । रामकुमारले भन्नुभयाे “घरमा क्यासेट सुन्दै हुर्किएका हौँ। नेपथ्य हाम्रो भाषा र पहिचानको गर्व हो।”