“जिन्दगी सोचे जस्तो कसैको हुदैनँ, तर जिन्दगीमा सोच्नै छाड्नु चाहिँ कसैले हुन्न ।’’ यो वाक्यांश सुबिन भट्टराईको कृति प्रिय सुफीको हो । सुबिनको प्रिय सुफीसँगै कथाकी पात्र, समर लभ, साया, मनसुन तथा इजोरिया पाठकहरूको मन जित्न सफल भएका छन् ।

सुबिन प्रेमरसले भरीपूर्ण उपन्यास लेख्ने लेखकका रूपमा ख्याती कमाएका लेखक हुन् । प्रिय सुफीले भने उनलाई बहुआयामिक लेखकका रूपमा स्थापित गर्नमा खोजेको छ । सुबिनले प्रिय सुफीमा पनि प्रेमका रङहरू छताछुल्ल पारेका छन्, तर यो उपन्यासमा पहिल्यैका कृतिहरूमा जस्तो युवायुवती बीचको प्रेम मात्र छैन । यसमा दिदीबहिनी, बाबुछोरी, साथीसाथी बीचको प्रेमका बहुआयामिक पाटाहरूले उजागर गरेका छन् । यो पुस्तकमा सिर्फ मनोरञ्जन छैन । यसले पाठकमा सकारात्मक सोचको विकास गराउने,  बाँच्ने उत्प्रेरणा दिने, जीवनमा आशाका किरणहरू थपिदिने तथा जीवन जिउनका लागी ऊर्जा दिने काम गर्छ । यस अर्थमा, जुन उदेश्य राखेर भट्टराईले यो उपन्यास लेखे त्यसमा उनी पूर्ण सफल भएका छन् ।

जीवनलाई सकारात्मक बाटोतर्फ उग्रसर गराउने, नयाँ ऊर्जा र उमङ्ग थप्ने यो उपन्यासको उदेश्य रहेको देखिन्छ । अझ आफ्नो जीवन नै समाप्त पार्न लागेका व्यक्तिले एकपटक यो उपन्यास अध्ययन गर्यो भने उसले आफ्नो धारणा नै बदल्ने छ । जीवनदेखि विरक्त लागेर, निराशा भएर, जीवनप्रतिको मोह नै भङ्ग भएर नैराश्यपूर्ण जीवन बाँचिरहेका व्यक्तिहरूका लागि यो उपन्यासले  औषधीको काम गर्नसक्छ । झमक घिमिरेको ’जीवन काँडा कि फूल’, जोन उडको ’माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’, जगदीश घिमिरेको ’अन्तर्मनको यात्रा’, कर्ण शाक्यको ‘सोच’ जस्तै यो पुस्तकलाई पनि त्यही वर्गमा राख्न सकिन्छ । जन्मजात या जीवनको कुनै कालखण्डमा बिरामी वा दुर्घटनामा परेर फरक जीवन बिताउन विवश भएका, शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूको सोचाइ र उनीहरूले भोग्नु परेको पीरव्यथालाई लेखकले जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

“जसका हात खुट्टाहरू धेरै चल्न सक्दैन, अक्सर उनीहरूकै मनमा धेरै कुराहरू चल्दारहेछन् ।“ उपन्यासभित्रको यो एक वाक्यांशबाटै बुझ्न सकिन्छ, शारीरिक रूपमा असक्त भएका व्यक्तिहरूको सोचाइ कस्तो हुन्छ । उनीहरूलाई धेरै माया र प्रेमको आवश्यकता पर्दछ । उत्प्रेणा जगाउने र सकारात्मक सोचाइ आउने क्रियाकलापहरू गराइरहनु पर्छ । उनीहरूलाई कुनै काममा व्यस्त बनाइराख्नु पर्दछ । ताकि नैराश्यले मनमा डेरा जमाउन नपाओस् । धृणा, अपहेलना र तिरस्कारले हिनताबोध र नैरश्यता उत्पन्न हुने, डिप्रेसनको रोगी भई जीवनलीला नै समाप्त गर्नेसम्मको अवस्था उत्पन्न हुन सक्छ । यसरी लेखकले समाजमा भइरहेको वास्तविक यथार्थलाई उजागार गर्नुका साथै समाधानका उपाय पनि देखाएका छन् ।

आमा नभएको घरको अवस्था, दिदीबहिनी बीचको प्रेम र परिवारका सदस्यहरूको जीवन भोगाइलाई उपन्यासकारले निकै मार्मिक ढंगबाट प्रस्तुत गरेका छन् । मान्छेको जीवनमा आउने समवेदनाहरू; आँशु, हाँसो, रोदन, मायाप्रिती, तिरस्कार, धोका, पीडा, कुन्ठा, व्यथा, विरह, निरासा, प्रेरणा, अन्धविश्वास, आत्मविश्वास, उदासी, खुशी, वैरागी, निस्ठुरीपना, बलिदान, समर्पण आदि; सबैलाई निकै सावधानीपूर्वक उपन्यासकारले प्रस्तुत गरेका छन् ।

प्रिय सुफीमा सुबिनले प्रेमको दायरालाई फराकिलो बनाएका छन् । प्रेम पाउन मान्छेले के के गर्न सक्छ भन्ने थुप्रै उदाहरणहरू प्रस्तुत गरेका छन् । प्रेम प्राप्तिका लागि आफ्नो नानीदेखि लागेको बानीहरू समेत परिवर्तन गर्न सक्छ मान्छे । त्यही प्रेममा बिछोड हुँदा आफैँलाई सिध्याउनेसम्मको दुस्साहस गर्न सक्छ । लेखकले उपन्यासमा यो कुरा दर्शाएका छन् । मौलिक तथा बोलीचालीको भाषामा प्रयोग हुने शब्दहरूको प्रयोगले उपन्यास जीवन्त बनेको छ ।  पढ्दै गर्दा कताकता सामाजिक सन्जाल फेसबुक र टुइटरमा भेटिने स्टाटस र टुइट जस्ता वाक्यंशहरू भेटिरहन्छन् । टुइटर र फेसबुकमा सर्च गरेर हेर्दा धेरै स्टाटस र टुइटहरू ह्यासट्याग प्रिय सुफी गरी थुप्रै वाक्यांशहरू उपन्यासबाट सभार गरिएको पाइन्छ । हरेक जस्तो पेजमा जीवनलाई उत्प्रेरित गर्ने सुन्दर हरफ र आर्दश वाक्यांशहरू लेखिएको भेटिन्छ ।

जस्तैः

मनका बगैँचाहरू सुकेपछि रहरका पुतलीहरू पनि बसाइसर्दा रहेछन्, भाग्यमा ठूलो भ्वाङ परेपछि सपनाहरू पनि चुहिएरै सकिँदा रहेछन्

संसारमा कोही मान्छे गलत हुँदैन किनकि सत्यको परिभाषा हरेक मान्छेसित फरक हुन्छ ।

प्रेम पाएको मान्छेले प्रेम दर्साउन सक्छ, प्रेम नै नपाएको मान्छेले प्रेमको बद्लामा प्रेम नै कहाँ फर्काउँछ !

मन यस्तो धागो हो जहाँ सपनाकै मालाहरू ज्यादा उनिन्छन्

अरुको जीवन बुझ्नमा समय खेर नफाल तुलनाले मानिसलाई कहिल्यै खुशी दिन सक्दैन

प्रिय सुफीमा मानसिक अवस्थाहरूको बारेमा समेत चित्रण गरिएको छ । प्रेममा पर्दाको मानसिक अवस्था, प्रेममा धोका पाउँदाको मानसिक अवस्था र शारीरिक रूपले अशक्त हुँदाको मानसिक अवस्था । उपन्यासमा दुइटा फरक फरक घटनाहरूलाई प्रस्तुत गरिएको छ । जसलाई उपकथा पनि मान्न सकिन्छ । यद्यपि दुइटा कथाको उदेश्य भने एउटै रहेको छ — सकारात्मक सोच ।

प्रिय सुफीमा भाषाको प्रयोग साह्रै उत्कृष्ट रहेको छ । उपन्यासमै घोत्लिरहँदा कतै हाँसोको फोहरा छुट्छ भने कतै चालै नपाई परेली भिजिसकेको कुरा किताबको पनामा परेको आँशुले बताउँछ । अर्कोतिर भर्खर प्रेममा परेका जोडीहरू र क्याम्पस पढ्दै गरेका युवायुवतीहरूले प्रिय सुफीमा आफैंलाई पाउनेछन् । क्याम्पसको पढाइ सकेर बसेकाहरूले क्याम्पसमा बिताएका सुन्दर पलहरू याद गर्नेछन् । बाबु र छोरीको प्रेम तथा दिदीबहिनी बीच प्रेमलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ । प्रेमको शुरुवात, अकुरण, प्रेममा रोमान्स, प्रेम प्राप्तिको चाहना, आकर्षण, प्रेममा परीक्षा, प्रेममा विछोड आदि कुरालाई निकै रोचक ढंगबाट उपन्यासमा समेटिएको छ ।

यो पुस्तकको सबैभन्दा मजबुत पक्ष भनेको सकारात्मक सोच र जीवनलाई नयाँ ऊर्जा प्रदान गर्न तथा उत्प्रेरित गराउन सक्ने लेखकीय कला नै हो । जुन उनले एक हाड तथा जोर्नीको रोगीका माध्यमबाट उसका जीवन भोगाइका परिदृश्यहरूमार्फत पाठक समक्ष प्रस्तुत गरेका छन् । लेखक स्वयंले यो उपन्यास एक सत्य घटनामा आधारित हो भनेका छन् । उपन्यासमा प्रयोग भएका मेडिकल टर्मिनोलोजीहरू र्ह्युमाटिक फेभर, सेरोनेगेटिभ स्पण्ड्याल आर्थोप्याथी, स्टेरोइड लगायत रोग, औषधीका नामहरू तथा सेवन गर्ने तौरतरिकाहरूको उल्लेख गरिएको हुँदा लेखकले हाड तथा जोर्नी विषशज्ञसँग परामर्श लिएको अनुमान गर्न सकिन्छ ।  कहिलेकाहीँ डाक्टरबाट रोगको गलत पहिचान हुँदा बिरामीले धेरै दुःख पाउँछ भन्ने कुरा पनि प्रिय सुफीमा देख्न सकिन्छ । यद्यपि लेखकको उदेश्य डाक्टरी पेशालाई नकरात्मक देखाउनु चाहिँ होइन भन्ने प्रस्ट देखिन्छ ।

अन्त्यमा, “प्रिय सुफी“ पढेपछि जीवनलाई बुझ्न, जीवनमा ऊर्जा थप्न र दृष्टिकोणमा परिवर्तन गर्न मद्दत मिल्नुको साथै हामीले एकअर्काप्रति गर्ने गरेको व्यवहारमा पनि परिवर्तन गर्न सजक गराउनेछ ।