सनातन वैदिक सभ्यताले विश्वका विभिन्न मुलुकमा सदियौंदेखि ज्ञानको प्रकाश छरिरहेको छ । पवित्र वेद/पुराण तथा ओंकार परिवारका दार्शनिक ग्रन्थहरूले विश्वज्ञानका साथै आत्मज्ञान पनि प्रदान गरिरहेको तथ्यलाई सारा संसारले स्वीकार गरेको छ ।
यसै सन्दर्भमा सुप्रसिद्ध अंग्रेजी लेखक विलियम ड्यालरिम्पलको नयाँ पुस्तक “द गोल्डन रोडः हाउ एन्सिएन्ट इन्डिया ट्रान्सफर्म्ड द वर्ल्ड” ले विश्वमा भारतवर्षीय संस्कृति, धर्म तथा ज्ञानप्रणालीले पारेको गहन प्रभावको विशद चर्चा गरेको छ । ऐतिहासिक स्रोतसामग्री, पुरातात्त्विक प्रमाण तथा साहित्यिक ग्रन्थहरूलाई सन्दर्भ बनाएर ड्यालरिम्पलले वैश्विक ज्ञानमा भारतवर्षीय योगदानलाई अवमूल्यन गर्न खोज्ने युरोपकेन्द्रित भाष्यलाई चुनौती दिएका छन् ।
इतिहासको लामो कालखण्डमा भारतवर्षले विविध सांस्कृतिक धरोहरहरूको निर्यात गरेको ड्यालरिम्पलको तर्क छ । ईसापूर्व तेस्रो शताब्दीदेखि नै भारतीय विचारधारा सुनौलो मार्ग अर्थात् गोल्डन रोड हुँदै मध्य एसियाको बाटो भएर चीन, कोरिया र जापान पुगेको उनी लेख्छन् । उता, पश्चिमतर्फ रोमन साम्राज्य र त्यसभन्दा पनि परका स्थानमा भारतीय संस्कृति पुगेको थियो । रोमका एक सम्भ्रान्त व्यक्तिको चिहानमा भारतीय मदिरा बोकेको ऊँटको कलाकृति कुँदिएको होस् वा बेलायतमा रहेको ह्याड्रियनको पर्खालमा तैनाथ रोमन सैनिकले आफ्नो खानेकुरालाई स्वादिष्ट बनाउनका लागि भारतीय मरमसला उपयोग गरेको कथा होस्, भारतीय संस्कृतिको प्रभावको प्रमाण पेश गर्ने अनेकौं उदाहरणहरू ड्यालरिम्पलले प्रस्तुत गरेका छन् ।
भारतीय संस्कृतिको विस्तारमा बौद्ध धर्मको महत्त्वपूर्ण भूमिका रहेको ड्यालरिम्पलको भनाइ छ । उदाहरणका लागि, उनले मौर्य सम्राट् अशोकका बौद्ध दूतहरूले वर्तमान समयको अफगानिस्तान क्षेत्रदेखि लिएर दक्षिणपूर्वी एसियासम्म बौद्धदर्शन फैलाएका थिए भनी वर्णन गरेका छन् । यही विस्तारका कारण बौद्ध कला, भाषा र धर्मग्रन्थहरू तत्तत् क्षेत्रमा फैलिए र यिनले त्यहाँका सांस्कृतिक विकासहरूमा योगदान गरे । अहिले पनि इन्डोनेसियाको बोरोबुदुर र कम्बोडियोको अंकोर वाटमा बौद्ध कलाकृतिहरू संरक्षण गरेर राखिएका छन् ।
त्यसका साथै ड्यालरिम्पलले सातौं शताब्दीका चिनियाँ बौद्ध भिक्षु श्वान चाङले भारतवर्षीय धर्मग्रन्थ प्राप्तिका लागि गरेको भारतयात्राको मसिनो वर्णन गरेका छन् । श्वान चाङको नियात्रा पुस्तक “द ग्रेट ताङ डाइनास्टी रेकर्ड अफ द वेस्टर्न रिजन्स”ले भारतवर्षमा अवस्थित बौद्ध केन्द्रहरूका विषयमा पाठकलाई बहुमूल्य सूचना उपलब्ध गराउँछ । विशेषगरी श्वान चाङले वर्षौंसम्म अध्ययन गरेको नालन्दा विश्वविद्यालयको वर्णन ज्ञानमूलक छ । उनीबाहेक कुमारजीव र यिचिङ जस्ता बौद्ध भिक्षुहरूले कठिन यात्रा गरेर बौद्ध धर्मग्रन्थलाई चीन पु-याएको र चिनियाँ भाषामा अनुवाद गरेर बौद्ध धर्म फैलाउन योगदान गरेको वर्णन ड्यालरिम्पलले गरेका छन् । यसक्रममा नेपाली भिक्षु बुद्धभद्रको योगदानलाई पनि इतिहासले सम्झिरहेको छ यद्यपि ड्यालरिम्पलको पुस्तकमा उनलाई अटाइएको छैन ।
बौद्ध धर्मबाहेक पनि भारतवर्षीय गणितविज्ञान, ज्योतिषशास्त्र र साहित्यको प्रभावका बारेमा ड्यालरिम्पलले विस्तृत वर्णन गरेका छन् । भारतवर्षीय अंकप्रणाली अरबको बाटो हुँदै पश्चिमको ज्ञानप्रणालीमा प्रवेश गरेको ऐतिहासिक तथ्यलाई उनले बेलीविस्तार लगाएका छन् । आठौं शताब्दीमा इराकी राजा अब्बासिद खलिफ अल–मन्सुरलाई भारतीय ज्योतिषशास्त्रीहरूले गणितको ग्रन्थ उपहारमा दिएको र खलिफले त्यसको अरबीमा अनुवाद गराएको ड्यालरिम्पलको पुस्तकमा उल्लेख गरिएको छ । त्यस समयमा बग्दाद ज्ञानको केन्द्रका रूपमा रहेको थियो र भारतवर्षका विभिन्न ग्रन्थहरू त्यसैताका अरबीमा अनुवाद गरिएका थिए । त्यतैबाट भारतीय ज्ञानप्रणाली युरोपतर्फ पनि फैलियो र पश्चिमी गणितशास्त्र तथा विज्ञानमा आमूल परिवर्तन ल्याइदियो । विशेषगरी शून्यको अवधारणाले पश्चिमी गणितशास्त्रको अपूरो ज्ञानलाई पूर्ण बनाइदिएको थियो ।
ड्यालरिम्पलले भारतबाट अरब हुँदै युरोप पुगेको ज्ञानको प्रवाहलाई युरोपेली पुनर्जागरणसँग जोडेका छन् । उनका अनुसार, १५औं शताब्दीमा युरोपका क्रिस्चियन शासकहरूले आइबेरियाली प्रायद्वीपलाई मुस्लिम शासनबाट मुक्त गरेपछि मुस्लिमहरूसँग रहेका भारतवर्षीय धर्मग्रन्थहरू युरोप पुगेर पुनर्जागरण अभियानलाई सघाएका थिए ।
ड्यालरिम्पलले दक्षिणपूर्वी एसियामा भारतीय साहित्यको प्रभावका बारेमा पनि सविस्तार वर्णन गरेका छन् । विशेषगरी सातौं शताब्दीका दक्षिण भारतीय कवि दण्डीको “दशकुमारचरित” ले पारेको प्रभावको उनले चर्चा गरेका छन् । दण्डीका अतिरिक्त अन्य भारतवर्षीय महाकाव्य तथा साहित्यिक ग्रन्थहरूले दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकका साथै चीनका लेखकहरूलाई प्रभावित गरेको उनी लेख्छन् । ईशाको २५०औं वर्षताका भियतनामको भो कान्ह भन्ने स्थानमा भेटिएको अक्षर भारतको आन्ध्र प्रदेशमा उपयोग हुने गरेको ब्राह्मी लिपिसँग साम्य राख्ने तथ्यले पनि भारतीय संस्कृतिको प्रभावको बलियो प्रमाण प्रस्तुत गर्दछ ।

पुरातन स्रोतसामग्रीको अध्ययन गर्दा दक्षिणपूर्वी एसियामा हिन्दू ब्राह्मणहरूको आगमन तथा संस्कृत भाषाको अध्यापनअघि आदिवासीहरूमाझ लेखन प्रणाली विद्यमान नरहेको देखिन्छ । उक्त रिक्ततालाई पूरा गर्न दक्षिणपूर्वी एसियाली शासकहरूले संस्कृत भाषालाई प्रशासन, साहित्य र धार्मिक संस्कारहरूमा उपयोग गर्न थालेका थिए । दक्षिणपूर्व एसियामा इस्लामको आगमनअघि संस्कृतको उपयोग सर्वव्यापक थियो र त्यसले उक्त क्षेत्रको भाषा संस्कृतिमा गहन प्रभाव पारेको प्राचीन ग्रन्थहरूको अध्ययनबाट थाहा हुने ड्यालरिम्पल लेख्छन् । अझ, इस्लाम लगायतका सेमिटिक धर्महरूभन्दा विपरीत हिन्दू धर्मका अनुयायी ब्राह्मणहरूले युद्धको बलमा नभई तर्कको बलमा दक्षिणपूर्वी एसियालीहरूमाझ प्रभाव पार्न सफल भएको तथ्य आफैंमा गौरवशाली छ ।
पुस्तकमा भारतवर्षको महान् सांस्कृतिक तथा बौद्धिक स्वर्णकाल टर्की र अफगान लडाकूहरूको भारत आक्रमणको सिलसिलापछि क्षीण बन्दै गएको उल्लेख छ । ती आततायी आक्रमणकारीहरूले मूर्तिभञ्जन लगायत हिन्दू संस्कृतिलाई विनाश गर्नका लागि अनेकौं प्रयत्न गरे अनि भारतमा इस्लामी प्रभाव बढाउनका लागि पनि योगदान गरे । उनीहरूको अत्याचारका बावजूद भारतीय संस्कृति प्रफुल्लित त भइरह्यो तर विगतमा जस्तो गरी भारतीय संस्कृतिको निर्यात हुन चाहिँ छोड्यो । पर्सियाली र इस्लामी प्रभावका कारण भारतीय पहिचान सनातनपरक भन्दा पनि बृहत्तर इस्लामी दुनियाँसँग जोडिन पुग्यो । हिन्दू प्रभाव क्षीण भएर इस्लामी प्रभाव बढ्न थालेको यो संक्रमणकाललाई ड्यालरिम्पलले निष्पक्ष एवं सन्तुलित ढंगमा प्रस्तुत गरेका छन् ।
ड्यालरिम्पल आफ्नो काव्यिक तथा वर्णनात्मक गद्यभाषाका लागि प्रख्यात छन् र यस पुस्तकमा पनि उनले ऐतिहासिक घटनाक्रमलाई सुललित तरिकाले मसिनो गरी वर्णन गरेका छन् । उनले हिन्द महासागरको व्यापारमार्गमा मौसमको प्रभाव तथा उक्त मार्गबाट हुने लत्ताकपडा, मरमसलाका साथै दार्शनिक विचार र धार्मिक आस्थाको विनिमयलाई निकै रोचक पारामा प्रस्तुत गरेका छन् । अन्य प्राचीन साम्राज्यहरूसँग भारतवर्षीय सांस्कृतिक साम्राज्यको तुलना गर्दै उनले भारतीय उपमहाद्वीपभन्दा निकै परको क्षेत्रमा यहाँको संस्कृति अन्तरघुलित हुनुको महत्त्वलाई उजागर गरेका छन् ।
मिहिन अन्वेषणका कारण गहन तथा सुमधुर गद्यका कारण आकर्षक बनेको यो पुस्तकमा ड्यालरिम्पलले सुनौलो मार्ग भएर प्रवाहित हुने व्यक्ति, विचार र सांस्कृतिक धारहरूलाई जीवन्त तुल्याएका छन् । चिनियाँ रेशममार्ग भन्दा भारतवर्षीय सुनौलो मार्ग निकै बढी प्रभावशाली रहेको ठोकुवा गर्दै उनले आधुनिक विश्वलाई आकार दिनका लागि भारतवर्षीय ज्ञानप्रणालीको भूमिका अद्वितीय रहेको उद्घोष गरेका छन् । सनातन संस्कृतिको महत्त्वलाई आधुनिक पुस्ताले बिर्संदै गएको अवस्थामा ड्यालरिम्पको यो पुस्तक प्राचीन गौरवको स्मरण गराउन सफल छ ।