सन् १९७६ मै सोभियत संघको पतनको भविष्यवाणी गर्ने फ्रान्सेली मानवशास्त्री इम्मानुएल टोडको नयाँ पुस्तक ‘ला दिफेट द लोक्सिदोँ’ (द डिफीट अफ द वेस्ट – पश्चिमको पराजय) ले पश्चिम पतनको संघारमा पुगेको तर्क गरेको छ ।
फ्रान्सेली भाषामा प्रकाशित यस पुस्तकको अंग्रेजी अनुवाद बजारमा आइसकेको छैन तर समीक्षकले यसको मशिन ट्रान्सलेशन पढेको हो । त्यो अनुवाद सटीक नभए पनि त्यसले पुस्तकको मर्म बुझ्न सहयोग गरेको छ ।
मानवशास्त्रका विचारधारालाई भूराजनीतिक विश्लेषणमा प्रयुक्त गरी टडले पश्चिम बढ्दो धर्मविमुखताका कारण भित्रभित्रै विस्फोट हुन थालेको र रुस–युक्रेन युद्ध पश्चिमको पराजयको कारक बन्न लागेको निष्कर्ष निकालेका छन् । रुसले आफ्नो युद्धलक्ष्य सफलतापूर्वक हासिल गर्ने र पश्चिमको लज्जास्पद पराजय हुने उनको ठोकुवाले पश्चिमाहरूमाझ तरंग ल्याउने देखिन्छ ।

एम्मानुएल टड

पुस्तकको आरम्भमा टडले युक्रेन युद्धका क्रममा देखिएका आश्चर्यहरूको चर्चा गरेका छन् । सन् २०२२ को फेब्रुअरी महीनामा रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही शुरू गरेपछि अमेरिका नेतृत्वको पश्चिमले रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धले रुसी अर्थतन्त्रको ढाड भाँच्ने अपेक्षा पश्चिमाहरूले गरेको भए पनि त्यसले कुनै असर पारेन ।
उल्टो, रुस अहिले युरोपको सबभन्दा बलियो र वर्धमान अर्थतन्त्र बनेको छ । रुसले सन् २०१४ मा क्राइमियामाथि नियन्त्रण कायम गरेसँगै आफ्नो अर्थतन्त्रलाई सुरक्षित बनाउनका लागि प्रयास गरिसकेको थियो तर यसलाई पश्चिमले राम्रो अन्दाज गर्न सकेन ।
अर्को आश्चर्य भनेका युक्रेनले रुसी आक्रमणको दह्रो सामना गर्नु हो । रुसले बढीमा दुई दिनभित्र युक्रेनको राजधानी किएभ कब्जा गरी युद्ध जित्नेछ भन्ने पश्चिमा गुप्तचर निकायले आकलन गरेको भए पनि मिलेन । दुई वर्षभन्दा बढी लामो समयसम्म युद्ध चलिरहेको भए पनि कुनै पक्षको सम्पूर्ण विजय भएको छैन तर रुसले युक्रेनको २० प्रतिशत भूमिमा नियन्त्रण कायम गरेको छ । पश्चिमी युक्रेनीहरूको रुसप्रतिको वैमनस्यता र उक्त क्षेत्रमा युक्रेनी राष्ट्रवादको प्रबलता यसको कारण रहेको टडको भनाइ छ ।
त्यसका साथै रुस सरकारले आफ्ना सैनिकहरूको सकेसम्म कम हताहती होस् भन्ने उद्देश्य राखेर थोरै संख्याका सैनिक मात्र परिचालन गरेकाले पनि युद्ध लम्बिएको टड लेख्छन् । रुसको जनसंख्या दर घट्दो अवस्थामा रहेकाले व्यापक सैनिकहरू परिचालन गर्न ऊ हिचकिचाएको र हतियारहरूमा बढी भर परेको टडको आकलन छ ।
तर रुसले युक्रेनी भूमिमा युक्रेनविरुद्ध मात्र नभई सम्पूर्ण पश्चिमविरुद्ध युद्ध लड्नुपरेकाले पनि द्रुत गतिमा विजय हासिल गर्न नसकेको हो । त्यसो हुँदाहुँदै पनि रुसले पर्याप्त मात्रामा हातहतियार युद्धभूमिमा पुर्‍याउन सकेको छ भने पश्चिमले युक्रेनलाई पर्याप्त संख्यामा हतियार उपलब्ध गराउन सकेको छैन । रुसको भन्दा ३० गुणा ठूलो अर्थतन्त्र भएको पश्चिम यसरी हतियार उत्पादनको मामिलामा कमजोर ठहरिनु आश्चर्यको कुरा भएको टडको भनाइ छ ।
उनले यसका पछाडि पश्चिमको शिक्षा व्यवस्था दोषी रहेको औंल्याएका छन् । अमेरिकामा इन्जिनीयर तथा उद्योगमा काम गर्ने कामदारहरू भन्दा बढी वकिल र वित्तीय संस्थामा काम गर्ने मानिसको संख्या बढी छ । नवउदारवाद हावी भएसँगै वकालत र शेयर बजार लगायतका वित्तीय निकायमा टन्न पैसा कमाउने अवसर जुटेकाले मानिस त्यता आकर्षित हुँदा अमेरिकाको हतियार उत्पादन क्षमता घटेको हो । त्यही कुरा अन्य पश्चिमी मुलुकहरूमा पनि लागू हुन्छ । तर रुसमा इन्जिनीयर र प्राविधिक क्षेत्रका विज्ञहरूको संख्या ठूलो छ र उनीहरू हतियार सहित अन्य नयाँ प्रविधि निर्माणमा अब्बल छन् ।
अनि पश्चिम आफ्नो सानो घेरामा मस्त भएर बाँकी विश्वबाट एक्लिएको कुरा यस युद्धले उजागर गर्नु अर्को आश्चर्यको कुरा हो । युक्रेन युद्ध शुरू गरेको भन्दै पश्चिमले रुसको निन्दा गरेको भए पनि बाँकी विश्वले यसमा रुसको भन्दा पनि पश्चिमको दोष देखेको छ । रुसलाई अनावश्यक रूपमा चिढ्याउनका लागि नेटोको विस्तार गरेकाले यो युद्ध भड्किएको हो भन्ने धारणा गैरपश्चिमीहरूमा दह्रो गरी बनेको छ । त्यसैले भारत र चीन जस्ता मुलुकले रुससँग सस्तोमा तेल किन्न हिचकिचाहट देखाएनन् भने अन्य गैरपश्चिम मुलुकले पनि रुसप्रति कठोर दृष्टिकोण अपनाएनन् ।
रुस–युक्रेन युद्धले गराएको भूराजनीतिक विस्फोटबाट पश्चिमको समस्या छताछुल्ल भएको मात्र हो, नत्र पश्चिमले आफ्नो पतनको बाटो गलत विचारधारा अपनाएर पहिल्यै खनिसकेको टडको धारणा छ । उनका अनुसार, पश्चिमले आफूलाई विश्वव्यापी नैतिकताको ठेकेदारका रूपमा प्रस्तुत गरेको भए पनि बाँकी विश्वले उसको नैतिकताको धरातललाई अंगीकार गरेको छैन । पश्चिमले व्यक्तिवाद, लैंगिकताको राजनीति, वर्ग भन्दा पनि पहिचानलाई दिएको महत्त्वलाई गैरपश्चिमले मन पराएको छैन । रुसले कन्जर्भेटिजमलाई गरेको प्रोत्साहनका कारण बाँकी विश्व उसप्रति सहानुभूतिशील भएको र पश्चिमको विकृत लैंगिक राजनीतिलाई दुत्कारेको टडको कथन छ ।
टडले बेलायत, जर्मनी र अमेरिकाको विश्लेषण गर्ने क्रममा प्रोटेस्टेन्ट धर्मका आदर्शहरूको परित्यागलाई पतनको कारणका रूपमा प्रस्तुत गरेका छन् । अमेरिकाको कुरा गर्नुपर्दा प्रोटेस्टेन्ट धर्मले अमेरिकी समाजलाई आकार दिएको उनको भनाइ छ । महान् राजनीतिशास्त्री म्याक्स वेबरको अनुसरण गर्दै टडले राज्यको आर्थिक उन्नति गराउने पूँजीवाद मौलाउनुमा पनि प्रोटेस्टेन्ट विचारधाराको हात रहेको बताएका छन् । उत्पादनमा आधारित पूँजीवादमाथि वित्तीय प्रणालीमा आधारित नवउदारवाद हावी भएपछि अमेरिकी अर्थतन्त्र डलरको विश्वव्यापी मान्यताका आधारमा मात्र टिकिरहेको हो, नत्र उहिल्यै धराशायी भइसक्थ्यो । अहिले पनि कुल गार्हस्थ्य उत्पादनको मिथ्यांकलाई आधार बनाएर अमेरिकाले आफूलाई विश्वको पहिलो अर्थतन्त्रका रूपमा प्रस्तुत गरेको छ तर सही सूचकांकहरू हेर्ने हो भने ऊ युरोपेली मुलुकहरूभन्दा पनि सानो दर्जाको अर्थतन्त्र भएको टड लेख्छन् ।
त्यसका साथै अमेरिकी शासकहरूमा समावेशिताको भूत सवार भएर प्रोटेस्टेन्टहरूलाई किनारामा पारिएको र ती समावेशी कोटाका अधिकारीहरूलाई अमेरिकी जनताप्रति कुनै लगाव नरहेको टडको भनाइ विवादास्पद देखिन्छ । समीक्षकको धारणामा उपल्लो १ प्रतिशत अभिजात वर्गको हितका लागि काम गर्ने अधिकारीहरू जुनसुकै जाति, धर्म वा रंगका भए पनि जनमुखी हुन सक्दैनन् ।
अमेरिका अब राष्ट्र–राज्य नभई शून्यवादी साम्राज्य बन्न पुगेको र आफ्नै विगतका विरुद्ध विद्रोह गरिरहेको टड लेख्छन् । यसरी देशको परम्परालाई अभिजात वर्गले तुच्छीकरण गर्दा विपत निम्तिने उनको भनाइ छ । पश्चिमका अन्य मुलुकले यही अमेरिकी सोचको अनुसरण गर्ने हो भने उनीहरू पनि खाल्डोमा जाकिने टड निष्कर्ष निकाल्छन् ।
पश्चिमी मुलुकहरूमध्ये जर्मनीसँग मात्र केही आशा गर्न सकिने टडको धारणा छ । जर्मन अर्थतन्त्र सेवा (सर्भिस) मा भन्दा पनि उत्पादनमा आधारित भएकाले जर्मनहरूको पूँजी दीर्घकालीन जाने देखिन्छ यद्यपि अमेरिकाले जर्मनीको औद्योगिकीकरणलाई ध्वस्त पार्न भरमग्दूर प्रयास गरिरहेको छ । अमेरिकाको पिछलग्गू हुन छोडेर रुससँग पुनः सम्बन्ध कायम गरेको खण्डमा युरोपमा नेटोको पकडलाई कमजोर बनाउँदै युरोपको पुनरुदय गराउन सकिने टडले आशा गरेका छन् ।
रुस र जर्मनीको मिलन हुनु अमेरिकाको हितमा छैन भनी सन् १९९७ मा अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जिबिग्न्यू ब्रजजेन्स्कीले आफ्नो पुस्तक द ग्रान्ड चेसबोर्डमा उल्लेख गरेका थिए । युक्रेन युद्धपछि अमेरिकाले नर्डस्ट्रीम पाइपलाइन विस्फोट गराएर रुस र जर्मनीको आर्थिक साझेदारीलाई भत्काउन सफलता पाएको थियो । तर त्यस सम्बन्धलाई ब्युँताएमा युरोपलाई बचाउन सकिने टडको धारणा छ ।
युक्रेन युद्धको परिणाम जस्तो आओस्, अमेरिकाले इजरायललाई गाजामा प्यालेस्टाइनीहरूको नरसंहारका लागि गरिरहेको सहयोग चाहिँ पश्चिमको पतनको कारक बन्ने पक्का देखिन्छ । पुस्तकको अन्त्यमा टडले इजरायल–प्यालेस्टाइन संघर्षको संक्षिप्त चर्चा गरेका छन् । त्यसमा उनले अमेरिकी अभिजात वर्ग हिंसालाई समर्थन गर्ने मनोरोगी हुन् भनी चित्रण गरेका छन् । गाजामा ४० हजारभन्दा बढी सर्वसाधारणको हत्या गर्ने इजरायलीहरूलाई हातहतियार उपलब्ध गराउने अमेरिकाको कदम र त्यसमा युरोपेलीहरूको सहयोगले पश्चिममा दानवीयता हावी भएको र यो पतनको कारक बनेको टडको निष्कर्षमा सहमत हुन सकिन्छ ।
भूराजनीतिलाई मानवशास्त्रको आँखाबाट हेरी सर्वांगीण विश्लेषण गर्न सक्ने इम्मानुएल टडको क्षमता लोभलाग्दो छ । पश्चिमको दोहोरो चरित्र र युद्धपरस्त मानसिकताका कारण बाँकी विश्व उसबाट विरक्त भइरहेको वर्तमान सन्दर्भमा टडको यो पुस्तकले पश्चिमको पतनका कारकहरूको मिहिन विश्लेषण गरेको छ । यस पुस्तकको अध्ययनले पश्चिमलाई बुझ्न गहन अन्तर्दृष्टि प्रदान गर्दछ ।