विषयप्रवेश

काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएकी र हाल कमलविनायक भक्तपुरमा बसोबास गर्ने स्रष्टा अम्बिका धिताल पेशाले शिक्षक हुन् । धितालको यसअघि बाछिटासङ्ग्रह ‘अक्षय’ (२०७८) प्रकाशित भइसकेको छ ।

उनको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ सिर्जना अभियान समाज भक्तपुरको एक साहित्यिक कार्यक्रममा प्राप्त भयो । पहाडकी रानी इलाममा बसेर ‘जूनको जात्रा’ पढ्दा अम्बिका धितालको साहित्यिक व्यक्तित्व र कृतिबारे बुझ्ने मौका मिल्यो । हुन त मानव जीवन बुझेर बुझिसकिन्न । मानिस आफ्नै बलबुतामा शक्ति, सामर्थ्य र प्रतिभाका कारण आफ्नो जिन्दगीमा केही मौलिक र नवीनता ल्याउन समर्थ भएको सम्झेर केही समय सन्तुष्ट हुन्छ । र, फेरि नयाँ सिर्जना र खोजीमा लागिहाल्छ । यही कारण यो धरतीमा आत्माको आकाशबाट हामफालेदेखि मान्छे यताउता भौंतारिरहन्छ । नेपालीमा स्नात्तकोत्तर गरेकी, ‘नेपाली व्याकरण रचना, बोध र अभिव्यक्ति’, ‘लघुकथाको सुगन्ध’ लयायतका पुस्तक सहलेखन गरेकी स्रष्टा अम्बिका धितालको लघुकथाकारिताबारे केही लेख्ने जमर्को गरेको छु ।

‘जूनको जात्रा’ नियाल्दा

सुन्दर आवरण/सज्जा र शीर्षक अनुसारका सामान्य स्केचले ‘जूनको जात्रा’ लघुकथासङ्ग्रह निकै आकर्षक देखिन्छ । व्यस्तताका बाबजुद छोटो समयमा पढ्न सकिने र आख्यानको भरपूर स्वाद प्राप्त हुने भएकाले लघुकथाको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । सङ्ग्रहको पहिलो लघुकथा ‘नाटक’मा जहाँ खेतीयोग्य जग्गा छैन त्यहाँ रोपाइँ जात्राको नाटक गरिन्छ । असार १५ (धान दिवस) को परिवेशमा रचित यो लघुकथाले देखावटीपनको धज्जी उडाएको छ । भ्रष्टाचारको मुद्दामा जेल परेको व्यक्ति भोलिपल्टै खुलेआम बाहिर हिँड्न थालेको परिवेशमा बेथितिप्रति प्रहार छ ‘बिर्को’ शीर्षकको कथामा । शिक्षामा मौलाएको व्यापार, अनावश्यक रहरले समस्याग्रत परिवार र जिन्दगीतर्फ सङ्केत गरेको छ ‘व्यापार’, ‘हतार’ र ‘रहर’ शीर्षकमा रचिएका लघुकथामा ।

विषयगत विविधता र सामाजिक विकृति, विसङ्गतिप्रति शालीन प्रहार उनको लेखनको विशिष्टता हो । साहित्यमा काव्य हेतुको महत्त्व निकै हुन्छ । यसले काव्य निर्माणको प्रेरक तत्त्वलाई बुझाउँछ (पूर्वीय साहित्यशास्त्रमा काव्य शब्दको प्रयोग साहित्यको पर्यायवाचीका रूपमा लिइएको छ) । साहित्य सिर्जनाका प्रमुख कारक तत्त्व प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई लिइएको पाइन्छ । सर्जक अम्बिका धिताललाई प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनवटै तत्त्वले साथ दिएको देखिन्छ । शिक्षण कर्ममा निरन्तर नवीन विषयवस्तु, व्यक्ति, चुनौती र अवसरसँग साक्षात्कार गर्नुपर्ने भएकाले उनको रचनामा विविधता पाइन्छ । तथापि पेशाले शिक्षक भएर हुनसक्छ शिक्षा, शिक्षक र विद्यार्थीलाई समेटेर निकै लघुकथा रचिएका देखिन्छन् ।

खराब राजनीति र त्यसले पारेको नकारात्मक प्रभावलाई विषय बनाएर लेखिएका लघुकथा हुन्, ‘तीतो यथार्थ’, ‘घोषणापत्र’, ‘अर्को गाईजात्रा’, ‘टिकट’ र ‘हेराइ’ । राजनीतिको कुनै विचारविशेष वा दलविशेषको पक्षपोषक नभई वर्तमान राजनीतिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्न माहिर छिन् अम्बिका धिताल ।

बाल मनोविज्ञान र दमित इच्छा, चाहना उजागर गर्ने हिसाबले पनि निकै वटा लघुकथा सिर्जना गरेको भेटिन्छ । ‘किन ?’, ‘जन्मोपहार’, ‘रहस्योद्घाटन’, ‘असर’ र ‘खुशी’ लगायतका कथा यस्तै बालमनोविज्ञानमा आधारित छन् । आमाको तस्बीर बनाउन लगाउँदा मिसको तस्बीर बनाएको मार्मिक कथाले मातृत्वको अभाव, प्रभाव र शक्ति देखाएको छ, ‘आमाको तस्बीर’मा । आशामाथि कुठाराघात, पालिका प्रमुखको भ्रष्टाचार जस्ता जल्दाबल्दा, स्थानीय स्तरका समस्याहरूलाई सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ ‘आशा’मा ।

‘हत्या’ शीर्षकको लघुकथामा पाठक अलमलिएर अपाङ्ग सोचलाई द्वैध अर्थ लगाउन सक्छन् । अपाङ्ग सोच हुनुभनेको नराम्रो हो तथापि अपाङ्ग हुनु पनि नराम्रै हो भन्ने हुँदैन । लगत्तै ‘सफलता’मा अपाङ्ग छोरीले आयोग पास गरेर सफलता पाएको देखिन्छ । उनका लघुकथामा कहीँ नभएको जात्रा हाँडीगाउँमा, नेपालको कानून दैवले जानून् जस्ता उखानको प्रयोग गरिएको छ भने अधिकांश पात्रहरू सचेत र विद्रोही स्वभावका छन् ।

परिश्रम बिनाको सफलता दीगो नहुने कुरा एक स्वनामधन्य साहित्यकारलाई प्रहार गर्दै प्रस्तुत गरिएको छ, ‘तुक’ शीर्षकको लघुकथामा । संस्कार र संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर लेखिएका लघुकथा हुन्, ‘भाइटीका’ र ‘साक्षात लक्ष्मी’ । संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन् । यिनलाई जोगाउँदै समृद्धिको मार्गमा अग्रसर हुन उत्प्रेरित गर्छन् उनका लघुकथाले । सन्तानले निरन्तर बेवास्ता गरेपछि आमा स्वयंले वृद्धाश्रम जाने चाहना राख्नुले अहिलेको व्यस्त समयमा सन्तानले आफ्ना आमाबालाई उचित व्यवहार र समय दिन नसकेको सत्य कुरालाई हृदयङ्गम गर्न झक्झक्याएको छ । साहित्य सिर्जनाको मुख्य उद्देश्य कल्याणमुखी हुनुपर्छ । धर्म, अर्थ, काम र मोक्षजस्ता चतुर्वर्ग फल प्राप्ति नै काव्यप्रयोजन  हो । तसर्थ काव्यप्रयोजनका दृष्टिमा समेत उनका लघुकथा अब्बल रहेका छन् ।

उपसंहार
आख्यान विधाको कान्छो प्रविधाको रूपमा विकसित भएको लघुकथाले पछिल्लो समयमा निकै व्यापकता पाएको छ । अहिले लघुकथा लेखन तथा प्रकाशन गर्ने सर्जकहरूको बाक्लो उपस्थिति छ । साहित्य सिर्जना र पठनको सम्बन्ध जीवन्त हुँदोरहेछ । सिर्जना बासी नहुनु, नित्यनूतन बनिरहनु लेखनको जीवन्तता रहेछ । यही मेसोमा मैले ‘जूनको जात्रा’ अद्योपान्त पढें, त्यसभित्रका संवेदनाले पाठकको हृदय स्पर्श गर्छ ।  लघुकथाको संरचनागत विशेषता र विवशता दुवैलाई कुशलतापूर्वक निर्वाह गर्दै लघुकथालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्षम छिन् अम्बिका धिताल । आख्यानको सानो प्राङ्गणमा बृहत् मानवीय आकाङ्क्षा र तिनको क्षयीकरण, विघटन र मानवीय सम्बन्धमा आइपरेका तिक्तता र भिन्नताहरूलाई उजागर गर्न सफल छन् उनका कथा । वर्णनको बोझभन्दा संवादको सटीक प्रयोगले कथ्यलाई जीवन्तता प्रदान गर्दै धितालले नेपाली लघुकथा साहित्यमा दरिलो पाइला टेकेकी छिन् ।