जसै, क्रूर शासकले
राज्य–शक्तिको
स्तम्भका रूपमा
नौजवान युवाहरू
अनिवार्य सेनामा भर्ती
हुनुपर्ने उर्दी ग-यो–
आमाहरू निदाउन छोडेका छन्
बाहरूको हृदयमा
अशान्तिको राँको बलिरहेको छ
हरेक मनहरू
नजरबन्द हुँदै गर्दा
युद्धको कोलाहल सँगै
हवाई आक्रमणले
मेरो देश खरानी बन्दै छ
परिस्थितिले आतंकको
विजारोपण गर्दा
हाम्रा सप्तरङ्गी
सपनाका सिसाहरू
एकाएक चौटिएको छ
आमाको काख
र, बुवाको साथ
दिदीको ममता
र, दाजुको स्नेह
भाइ–बैनीको सद्भाव
सबै उतै राखेर
साथी र दौंतरीहरूसँग
लुकामारी खेलेको पाखो
भकुण्डो उफारेको चउर
लडेर, ठोक्किएर, घिस्रिएर
रगताम्य हुँदाका क्षण
घर–आँगन, टोल र चोक
स्मृतितिर सर्दै गर्दा
हाम्रो समाज भत्किँदै छ
भाषा साहित्यबाट
वञ्चित
परिवार टुक्रिंदै छ,
घरबाट टाढिँदै
सिमानाबाट ओझेल परेर
अन्ततः गाउँ नै विरानो हुँदै छ
नागरिक हुनुको दायित्व
युवा हुनुको कर्तव्य
मानव हुनुको धर्म
निर्वाह गर्नबाट पन्छिएर
चोक–चोकका भित्ताहरूमा
स्वाभिमानको लिलामपत्र टाँस्दै
आफ्नै पादचाप मेटेर
पतन वा जतनको बाटो ताकेर
विलय भइरहेका छन्
हाम्रा विपनाहरू
तैपनि, प्रार्थनाले परिपूर्ण
खुला मस्तिष्कमा
सम्भावनाका आकृति बोकेर
निश्चल मन, कोमल हृदय
कर्मशील लक्ष्मण–रेखा कोर्दै
जीवन–यात्राका अनेक परीक्षा दिँदै
उत्तीर्ण हुन सिक्नु छ
मूलबाटो छुटे पनि
भत्किँदो देशसँगै
वर्तमान र भविष्य हराए पनि
मुटुभरि अतीतका वेदना
भोक, तृष्णाले विह्वल
अपेक्षा र आकांक्षा त्यागेर
चट्टाने भीरको यात्रा छिचोल्दै
अझैसम्म जीवित रहेका
केही अधुरा सपनाहरू
पूरा गर्न बाँच्नु छ
सृष्टिको अनुपम उपहार
यो अनमोल जीवन ।
म्यान्मा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 







