पहेंला पातहरू देख्छु, बाको अनुहार सम्झन्छु । डाँडामाथिको घाम हेर्छु, बाका आँखाहरू कल्पिन्छु । कहिलेकसो, पुराना मक्किएका रूखको नजिक पुगेर बोक्रा छाम्छु, बाका हातहरू अनुभूत गर्छु । मैले बुझेको छु, सबै कुरा सधैँभरि आफ्ना रहँदैनन् । जब मानिसमा यस्तो अनुभूत हुन्छ तब ‘मोहोर’ जस्तो कृतिको जन्म हुन्छ ।

उपन्यासकार सागर गैरे जो जीवनको कुनै मोडमा बा बने र बाका उल्झनहरूलाई लिपिबद्ध गरे । त्यही लिपि मोहोर बनेर पाठक सामु आएको छ । सबै कुरा सधैँभरि आफ्ना नरहने ठानेरै सागर गैरेले बालाई मोहोर मार्फत लय दिएका छन् । अर्थात् मोहोर उपन्यासले पूर्णता पाएको छ ।

मौसमसँगै रूखका पातहरू बदलिन्छन् । पात जस्तै बदलिएर झरेका मान्छेहरूको सम्झनामा बाँच्ने मान्छेहरूले बोटको सुन्दरतालाई जोगाएर राख्नुपर्छ । सुन्दरतालाई जोगाइराख्न उपन्यासकार सागर गैरेले मोहोर लेखेका होलान् ।

मान्छेको जिन्दगी माटोको घैंटो । प्याट्ट फुट्यो, सकियो । बाले दोहोर्‍याइरहने यो वाक्यांशले जीवनको समग्रता बोकेर उपन्यासलाई अघि बढाएको छ । ढल्कँदै गएको उमेरको खुड्किलोमा इच्छाका पत्रहरू शेष रहन्छन् । कति सन्ततिले पूरा गरिदिन्छन् त कति उमेर फुटे सँगै बिलाउँछन् । इच्छा हुँदाहुँदै पनि सन्ततिले के भन्ने हुन् भनेर बूढो उमेरको गर्तमा कतिपय आकांक्षाहरू दबिएर रहन्छन् होला । तर मोहोरमा बाले इच्छा खुलेर बताएका छन् र सन्ततिले पूरा गरिदिएका छन् । के सबैको जीवनमा यस्तो हुन्छ होला त ? पक्कै हुँदैन । अचेल बाआमाहर छोराछोरीकोमा बस्छन् । छोराछोरीहरू बाआमासँग बस्दैनन् । यो नै यो युगको निर्मम यथार्थ हो ।

आस्था जसले हृदयलाई शीतलता प्रदान गर्छ भन्ने मान्यताबाट उठेको नेपाली समाजलाई सागर गैरेले मोहोर उपन्यास मार्फत चित्रित गर्न खोजेका छन् ।

अरूका आँगनमा बच्चाबच्ची खेलेको देख्दा सन्तानको भोक झनै बढेर जान्थ्यो । आफूसँग जे हुँदैन त्यही कुराको बढी मोह हुँदोरहेछ । सन्तान प्राप्तिमा चुकेका गैरे दम्पतीलाई निकै वर्ष अपूतो शब्दले निचोरिरह्यो ।  सप्ताह, रुद्रि पूजा, सत्यनारायणको पूजा, ब्रह्म भोज, स्वस्थानी व्रत आदि कर्मकाण्ड सकेका गैरे दम्पतीलाई निकै वर्ष पछि पुत्रीलाभ भयो । उ बेलाको समाज छोरा नै चाहिने परम्पराबाट ग्रसित थियो । पुनः छोरा प्राप्तिका लागि सत्यवती माईको दर्शन गरे । एक युगको नेपाली समाजको चरित्र चित्रण हु–बहु रूपमा उपन्यासकारले चित्रित गरेका छन् ।

बसाइँ सर्नु भनेको गाउँ छोड्नु, घर छोड्नु, इष्टमित्र छोड्नु, छिमेकी छोड्नु मात्र होइन रहेछ, आफ्नो पहिचान पनि छोड्नु रहेछ । आफ्नो नाम पनि छोड्नु रहेछ । घनश्याम गैरे जसले गरनडाँडा मात्रै छोडेनन् । आफ्नो नामै छोडे र गैरे मामा बने । मोहोर पहिचान छोडेको कथाको सिङ्गो रूप हो । नाम मेटिएको यथार्थ रूप हो । जीवनको एक अध्यायलाई मेटेर नयाँ पहिचानको शुरूवातको कथा हो । मान्छेको स्वभाव पनि पानीको जस्तै हुने रहेछ । जहाँ जहाँ सजिलो छ, त्यतै बग्न मन पराउने । सायद घनश्याम गैरेलाई यस्तै केही लाग्यो र गरनडाँडा छोडे ।

घरको महत्त्व थाहा पाउन घर छोड्नुपर्छ । घर छोडेर देशदुनियाँ हिंडेपछि संसार कति फराकिलो छ भन्ने थाहा हुन्छ । गरनडाँडा छोडेपछि गैरे मामाले फराकिलो संसार देखे र भोगे । जीवनको अर्को अध्याय शुर गर्नु गैरे मामाको बाध्यता हो । माटो मात्र आफ्नो भएर के गर्नु मान्छे आफ्नो नभएपछि । आफ्नै आँगनमा आफ्नोपन नभेटेपछि गैरे मामाले पहाड छोडे र मैदान रोजे । तोरे ज्योतिष जसले घनश्याम गैरेको हात हेराएका थिए र गैरे मामा बन्नमा भूमिका खेलेका थिए । आफन्तबाट अपहेलित भएको बेला तोरे ज्योतिषको भविष्यवाणीले उनलाई गरनडाँडा छोड्न थप हौसाएको थियो । उनलाई मानिस जहाँ बस्छ त्यो नै उसको घर हो, आँगन हो, समाज र देश हो भन्ने लाग्यो । आफ्नाबाट भएको दुर्व्यवहार मनमा खिल बनेर गढे पछि गैरे मामालाई स्वर्ग जस्तो लाग्ने गरनडाँडा उपेक्षित लाग्न थाल्यो तब उनी २२ दिनकी सुत्केरी श्रीमती, पाँच भाइ छोरा र एक छोरी सहित मधेश ककौरा झरे ।

बूढापाकासँग उपदेश लिनु नेपाली समाजको संस्कार हो । तिनै संस्कारका अनेक वाक्यांशहरू मोहोरमा पाइन्छ । जस्तो – जिन्दगीमा कहिल्यै नआत्तिनु, नमात्तिनु, नहस्किनु र नझस्किनु ।  आदि

उपन्यास पढ्दै गर्दा अनेक आञ्चलिक शब्दहरू आएको पाइन्छ । जस्तो – तोडा, ओलक, रिरिबाजा, धुरिया पूजा, हरेरी, भैँसीलाई बाली लगाउने आदि ।

उखान टुक्काहरूको प्रयोग, स्थानीय भाका र गीतका मार्फत तत्कालीन नेपाली समाजको रूप उपन्यासले बोकेको पाइन्छ –

राम्दी पुल तरने बित्तिकै

बाँचे भेट मरे त यत्तिकै

……

असारेमासको दबदबे हिलो छिः मलाई घिन लाग्यो

मायालु ज्यानलाई फरिया किन्दा छ बीस रिन लाग्यो

……

सानो सानो र्याउँके जाँतो कोदो, मकै पिस्ने

गुवाँ जाँदा रुके मुखिया, दर्लाम जाँदा किस्ने

…… 

आँधी है खोला, गुहेली पाक्यो, चरीले चाखेको

गाउन र नाच्न सिप, ढङ्ग छैन, वचनै राखेको

…… 

जान्न आँधिखोला

कुहिरो लाग्छ डराउँछु

म त त्यतै हराउँछु

०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको विकृति, हास्यास्पद यथार्थ  पनि उपन्यासमा देखिन्छ । जस्तो – कम्युनिस्टका छोरालाई काँग्रेसले छोरी नदिने, काँग्रेसले कम्युनिस्टका छोरी नल्याउने त्यस्तै घरमा पार्टीका झन्डा टाँगिएका आधारमा कम्युनिष्ट ठानेर श्राद्ध गर्न पण्डितले नमान्ने स्थिति ।

जीवन पनि त रोटेपिङ जस्तै त रहेछ नि ! कहिले माथि जान्छ । कहिले तल आउँछ । चढ्छन्, रमाउँछन्, डराउँछन् र उत्रिएर जान्छन् । गैरे मामाको जीवन साँच्चिकै रोटेपिङ जस्तो छ । उनले भोगेको जीवन नेपाली समाजले ब्योहोरेको यथार्थ जीवन हो भन्न सकिन्छ ।

गैरे मामाका पुर्खाहरूले आफू पुल बनेर उनीहरूलाई अनकन्टार पहाडबाट न्याना पखेरामा रोपे । गैरे मामा जो आफू पुल बनेर सन्तानलाई बिकट पहाडबाट सुगम तराईमा झारे । त्यति मात्रै नभएर मोहोर उपन्यासले पुरानो पुस्तालाई नयाँ पुस्तासँग जोड्ने आस्थाको, विश्वासको, सपनाको र भावनाको पुलको काम पनि गरेको छ ।

८४ वर्षको लामो उमेर भोगिसकेका गैरे मामाको अनुभवले जीवनलाई अनेक आयामबाट हेरेको देखिन्छ । उनी भन्छन् – हुन त जीवन नै एक प्रकारले अम्मल हो । हामीभित्र जीवन जिउनुको कठोर नशा छ । यही कठोरताले मान्छेलाई अरू थुप्रै अम्मलको भँगालोमा लगेर डुबाउँदो रहेछ । जीवन जस्तो यो मोहोर कहिले मूर्तिमा चढ्छ, मन्दिरमा चढ्छ, पूजामा चढ्छ । कहिले लाशमा चढ्छ, चितामा पुग्छ । एउटै मोहोरको भाग्यमा पनि कहिले मन्दिर पर्छ, कहिले घाट पर्छ । जहाँ जे जस्तो पर्छ, त्यस्तै बाँच्ने त हो मान्छेले । मान्छेको असली मूल्य त एक मोहोर हो । एक मोहोरको सिक्का जस्तो हो । जो कहिल्यै एक रुपैयाँमा पुग्न सक्दैन र पनि यो आफैँमा एक पूर्ण स्तरको मूल्य हो ।

उपन्यासकारलाई लागेको छ बा हुनु भनेको कर्तव्यवान् हुनु रहेछ । बा हुनु भनेको आत्मानुशासन रहेछ । बा भन्ने अस्तित्व नै दुःख र कठोरताले निर्माण गरेको हुने रहेछ ।

घनश्याम गैरे बाट गैरे मामा बनेको ऐतिहासिक दस्तावेजको सार मोहोर उपन्यास हो भन्न सकिन्छ । घनश्याम गैरेले बाचेको ४०।४२ वर्ष र गैरे मामाले बाचेको ४०।४२ वर्षको तत्कालीन नेपाली समाजको चित्रण मोहोर उपन्यास हो ।

एउटा सज्जन छोरा जसले आफ्नै बा को कथा लेखेर सबै बाहरू प्रति देखाएको सुन्दर सहानुभूति मोहोर उपन्यास हो । पाठकले मोहोर पढ्दै गर्दा आफ्ना बा सम्झन्छ, आमा सम्झन्छ । त्यही परिवेश र समाज सम्झन्छ । त्यही लवज र बोली सम्झन्छ । त्यही गाउँ र गौडाहरू सम्झन्छ । त्यही बन र पिरती सम्झन्छ । सम्झनाको लामो इतिहास मोहोरको लोभलाग्दो विशेषता हो ।

अचेल सम्झनाका लागि पनि सम्झन हामीलाई फुर्सद छैन । त्यही सम्झनाको सुन्दर थैली मोहोर हो । बसाइ सराइको कथा मोहोर हो । बाध्यता र पेचको कथा मोहोर हो । मोहोर जीवन अस्तित्वको सुन्दर लिपि हो ।

घनश्याम गैरे उर्फ गैरे मामा उर्फ बा जे जे बोले त्यो मोहोर हो । बाका सुन्दर अनुभूतिहरूलाई मिहिन ढङ्गले टिपेर सिङ्गो उपन्यास निर्माण गर्नु उपन्यासकार सागर गैरेको सुन्दर सोचको परिणाम हो ।

उपन्यासमा केही भाषिक र प्राविधिक त्रुटिहरु छन् दोस्रो संस्करणमा सुधार भई आउनेछन् भन्ने विश्वासका साथ लेखक सागर गैरेलाई आगामी लेखन यात्राको सतत् शुभकामना !