कथा अर्थात आख्यानको प्रवाह पनि नेपाली समाजको मुटु स्पन्दनले सोसेको एउटा विधा हो भन्न सकिन्छ । संस्कारगत परम्पराले लिपपोत गरेको अनुरागको झंकार प्रतिध्वनि कालगत स्वरुपमा माझ्दै तिर्खादै यसले आफ्नो अस्तित्व अद्यावधिक गरिरहेको छ । बाँच्ने र बाँच्नुका आवश्यकता उभिनु र उभ्याइका गुणात्मक परिचयात्मकताको रंग संयोजनका प्रशिक्षणका सांकेतिक स्वरुपको निर्देशात्मक कलात्मक यथार्थ दिग्दर्शन नेपाली कथ्य इतिहास दृष्टिगोचर हुन पुग्दछ । धर्म, नैतिकता र सांसारिक आचार व्यवहारमा सीमित कथ्य आज आएर आवश्यकताको पहुंच सँगसँगैको तथ्यसँग आत्मासाथ रहेर कथ्य विधामा सत्य सन्निकट विशाल विश्वको एकछत्र खुम्च्याइएको ओतसम्ममा अनुकूलताको आवहवामा अजम्मरी –पहिचान दिन सक्षम भइरहेछ ।

अवतारका आसय पनि वादकै बादलाकाशमा छाइएका थिए । व्यवहारका निफननाफन, छान–घोलन पनि बादलाकाशमा छाइएकै कुरा अवलोकनबाट थाहा लाग्दछ । आगतको अवलोकन कथ्यमा तथ्य मिसाएर वा नमिसाएर पनि तथ्य त अनन्त आकाश जतिसुकै चहारेर पनि धरतीझैँ यथार्थ धरामा पाइला टेक्नुको प्रयोजन र यथार्थको पहिचान काव्यमा भन्दा आख्यानमा बढी प्रयुक्त हुन पुग्ने गरेको बेग्लैको आस्वादलाई चाहिँ बेग्लै नै भन्न नचाहे पनि यथार्थको टेकाइ अलि बोझिलो मान्नु पर्ने हुन्छ ।

आजको विश्वको कुनै छेउ अपवाद विहीनतामा समेटिएका छैनन् किनकि मान्छेको विवेकका पिपासाहरुले ज्ञान लम्बेतान भएर फैलिसकेका छन् यसैले आख्यानका पहिचान झनझनै लम्बेतान र विस्तृतीकरणका पहिचान बनिसकेका छन् । तर्कको मूल फुटेको मात्र नभई बहावको धार पनि दिशै खुट्टाउन नसकिने गरी जताततै बग्दा छन् । यही बहावका कारण मानवीय उत्पादन समेत व्याख्यात्मक परिधि अनन्त आकाशमा प्वाँख फैलाउँदा छन् ।

आख्यान अर्थात कथाको कथा भन्दै जाँदा महामा महकिनबेर छैन र सन्तुष्टि मात्रमा गह्रौँ दुई चार शब्दमा आख्यान धार कलात्मक एवं जीवन्त सम्पूर्णतामा समेटिने पनि हुदाँ नाक खुम्च्याइ रहने ठाँउ दिँदैन । तर पनि काल खण्डको अवलोकन जरुरी नै छ । यस आवश्यकताका पूर्तिहरुले आधुनिकतालाई अझ सम्पूर्तिमा पुर्याउँदै सर्वाङ्गताको सादृष्य पहिचान उपस्थित गराउँदछ । मंगलाचरणदेखि रस रसको रस्वादन पुराण कथाका कुरै छोडौँ जीवन्त एकादेशमा देखि सुन्नेलाई सुनको मालालाई त्यत्ति पुरातन मान्न नहुने देखिन्छ । त्यस शिल्प र शैलीलाई अत्याधुनिक पारामा लैजाँदै प्रयुक्तताका क्षेत्रमा विधागत लिङ्ग परिवर्तन नभई छाड्ने काम स्वीकार्य नहुन पनि सक्दछ । तर, देशकाल परिस्थितिको सेरोफेरोलाई समेट्दै जाँदा कथा कथ्ने कलाको प्रारुप मात्र होइन विषयवस्तु नै नवीन एवं शैली नै फरक स्वरुपमा प्रस्तुत हुन पुगेको छ ।

गुरुप्रसाद मैनाली, पुष्कर समशेर, बालकृष्ण सम, विशेश्वरप्रसाद कोइराला, रुपनारायण सिंह, भवानी भिक्षुका, मल्ल बन्धु शङ्कर लामिछाने, रमेश विकल, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम हुँदै पोषण पाण्डे, परशु प्रधान, देवकुमारी थापा, सनत रेग्मी, नारायण ढकाल, बिजय चालिसे आदिसम्म आइपुग्दा कथाले फेरेको रुप र भएको प्रयोगको फाँटले नवीनिकरणको राम्रो परिदृष्य देखाँउदछ । सामाजिक विकृति र विसंगति आदिमा बगेको धार देशका यावत कुरामा अनि संसारको हावापानी अनि स्वचिन्तन दर्शन समेत कथ्य रुपमा आउने गरेको छ ।

यहाँ भने माथि उल्लेखित सम्पूर्णका बारेमा भन्दा यौटा बेग्लै स्रष्टाका सृजनात्मक प्रवृत्तिको चियो गर्न लागिएको छ जसले भने —

भेडाबाख्रा किनेझैँ, तिनलाई घाँस बाँडेझैँ

पुरस्कार बाँडेर कुन ठूलो काम हुन्छ र ?

नयाँकाम पनि त गर्न सकिन्छ

लेख्न र लेखाउन सकिन्छ ।

यस्तै गर्जन काव्यका स्रष्टा जो अनवरत नेपाली भाषाको सेवामा लागिपरे र जो कर्मयोगी बनेर साहित्य भण्डार भर्न जुटिरहे अनवरत अथक रुपमा । हो, तिनै कृष्णप्रसाद पराजुलीको चियो गर्न बस्दा लाग्दछ त्यो त्यही हो त्यो अरु हुन सक्दैन अरु के के होलान् तर त्यो जस्तो हुन सक्दैनन् । मीठो नेपालीको लागि उनले साँचो बनाए जब्बर भोटे ताल्चा सहज खोल्ने । राम्रो रचना मिठो नेपाली मात्रले पनि उनले आफूलाई नेपालीमाझ चिनाए । यसका अतिरिक्त उनका सृजनाका सूचीमा कविता काव्य ७, कथा एकांकी ३, निबन्ध प्रबन्ध ९, भाषा व्याकरण ४, लोक साहित्य २, बाल साहित्य १६ अनि सम्पादन डेढ दर्जन भन्दा बढीको योगदानबाट पनि उनले प्रतिभा परिचय दिएको पाइन्छ ।

कृष्णप्रसाद पराजुली

यति मात्र होइन मार्मिक गीतमा पनि सरस र सुबोध रुपमा उनको पकड रहेको देखिन्छ । सन् १९८३ मा युनेस्कोबाट प्रकाशित कथा संग्रहमा नेपाली कथाकारकारको प्रतिनिधित्व गर्न समेत पाएका गौरवान्वित व्यक्तित्व कृष्णप्रसाद पराजुलीका काव्यमा माटो प्रेमदेखि लिएर स्वसँग सम्बन्धित स्नेहका सम्पूर्ण स्नेहउद्वेलन छरपष्टिन्छ । भाषाकै कुरा गर्ने हो भने पराजुलीका अविस्मरणीय योगदान रहेको छ । क्लिष्टताबाट सरलताको सोपानमा सरोवरी गर्ने उद्यतकामीहरुमध्ये अग्रगामी परिचायक व्यक्ति नै संस्थागत चिनारीका रुपमा उनी रहन्छन् जसको ज्वलन्त उदाहरण राम्रो रचनाः मीठो नेपाली हो । यस कृतिबाटै पर्यायका परिचय बन्न पुगेका छन् उनी । यसैलाई निरन्तरताको क्रममा लैजाने हो भने आफ्नै गामघरदेखि नै शैक्षिक, साहियित्क सर्मपिताको आकार बुझ्न उनको शैक्षिक साहित्यिक सम्लग्नताबाट अझ उजेलिन्छ । यही संलग्नताका कारण प्रज्ञा साहित्य विभागसम्म अनि साझामा बालसाहित्यको सल्लाहकारसम्ममा उनी पुगे ।

माथि उल्लेखित उनको काव्यधारपट्टि अलिक अरु जाने नै हो भने–

पानी पानी भयौ होला जिन्दगानी बिदाउँदा

अग्निज्वाला भयौ होला पीडाले छट्पटाँउदा

सारा कष्ट पचाएर पाखा पर्वतझैँ अड्यौ

सृष्टि यो हरियो पार्न खोलोजस्तै हिड्यौ ।

यौटा स्रष्टाको सम्मान यौटा स्रष्टाको पहिचान बोल हो, सृर्जना यात्रीबाट सरल सरस अनि मर्मस्पर्शी ढङ्गबाट प्रकट गरेका छन् । लगत्तै कवि भरतराज पन्तलाई लक्षित गर्दै स्रष्टा र समाजको वातावरणीय अवहवामाथि कावा खाँदै उनको काव्य यसरी बहेको छः

कोही कर्सी भए पुग्ने कोही घुर्की दिने अति

डाडुपन्यौ लिई आफैं हिड्दछन् दक्ष प्रजापति

आर्शीवाद उनी दिन्थे स्वस्तिका हात जोडिँदा

भर्न सक्थ्यौ तिमी झोली उसैको द्वारमा हुदाँ

यहाँ अगुवा भनाउँदाहरुका मात्र होइन, स्रष्टाप्रतिको व्यवहार अनि स्रष्टाले समातेका द्वारले च्यापेको चोट समेत उतारेका छन् पराजुलीले । व्यङ्गयात्मक दक्षता पनि देखाएका छन् । माया प्रीति, माटोको मायाको छाप मात्र होइन, उनका काव्य प्रवृत्तिमा यावत मानवीय चोला चुलिएका भेटिन्छन् । सजगतापूर्वक अवलोकन प्रतिबिम्वित रहेका हुन्छन् कवि पराजुलीका काव्यमा ।

यथार्थका धरती नै प्यारो लाग्ने पराजुलीका सृजनामा उनको कथा संग्रह नौबेली– २०२८ का नवै कथामा पनि उडानका दूर गगन छाएको भेटिँदैन । यथार्थतलीय स्रष्टामा यस प्रकारको उडान नहुनु स्वाभाविक पनि हो । समय प्रवाहले उनलाई उभ्याइदिएको पनि यथार्थवादी युगभित्रै हो । यस उसले धरर्तीय पृष्ठभूमिमा आफूले दृष्टिबोध गरेका सामाजिक कथाहरु कथ्न पुगेका छन् । उनका कथाहरु यही परिवेशमा विकृति विसंगतिका अँध्यारा पक्षहरुलाई उजागर गर्न पुगेका कारण पनि यही हो । तत्कालीन समाजको स्वरुप र समयले मागेको अवस्था बोधका बान्की नै उनको पनि चाह रहेको कारणवस दशको दशकभर उनबाट कथा सृजना भइरहे ।

आफ्नो कथा लेखन प्रकृयाबारे नौबेलीको भूमिकामा उनले लेखेका छन् — आफूले देखेको र भोगेकै संसारका सामाजिक कथा लेख्न खोजेँ … पहिलो कथा दानवताको अन्याय छापियो परोपकार मासिकमा २०१२ सालमा … यसबीच कथा लेखनमा म विशेषतः बाल जगतमा रमाउन पुगेछु । सुनौला तीन कुरा सुनाउँदै घारचंगेरी लिँदै लुकामारी खेल्दै सुनकेस्रा खोज्दै हिमाली डाँफेको नौरंगी रुप हेरेर मेरो मुरली बजेको हेर्न भूमिकामै पराजुलीले कथागत परिचय पनि लेखेका छन् ।

यी सबबाट के थाहा हुन्छ भने कथा लेखनमा उनी आफूलाई पारङ्गत मान्दैनन् तर बाल कथामा चाहिँ लेखन तृप्तता रहेको बताउँदछन् । हो, उनी काव्य गीत निबन्ध प्रबन्धमा जति बगेका छन् कथामा सो गति दिन सकेका छैनन् । १९९० पश्चात आधुनिक नेपाली कथाको आरम्भ सामाजिक यथार्थ प्रवृत्तिको अभ्युदय गुरुप्रसाद मैनालीको नासो र रुपनारायण सिंहको अन्नपूर्णाबाट पहिलो आर्दश फाँटमा याथर्थका वाला लहलहाउन थालेको र दास्रोले रोमान्टिक यथार्थवादीको कथालम्बन भएबाट तत्पश्चात २००७ नाघेपछि यही मार्ग अवलम्बन हुन पुगेको देखा पर्दछ । यी दुई कथाको पथ अवलम्बन गर्दै कृष्णप्रसाद पराजुलीको कथा मार्ग खोज्दै जाँदा मूल सामाजिक याथार्थताको आकलन हो तर पनि गुणात्मक लय चाहिँ रोमान्टिक यथार्थमा नै रसिएको देखिन्छ ।

यस उसले नौबेलीमा रोमान्टिक प्रगतिवादी रंगहरुबाट रंगिएका देखिन्छन् उनी । सामाजिक एवं मनोवैज्ञानिक दुई धारको प्रवाह यसमा पाइन्छ । बहुविवाह, बालविवाह, अनमेल विवाह, छुवाछुत, जातीयता, समाजिक समस्याको पन्तरो खोल्नेकाम एकातिर भएको छ जसमा रेलमा एक रात, बेचेन, स्नेहहिला, कटमेरो प्रेम, हृदय र आँसुको थोपा देखा पर्दछ । रेलमा एकरात पत्रात्मक शैलीमा लेखिएको कथा हो । यस, कथामा मनोविज्ञानको टुसा पनि पलाएको छ । एउटी नारीको अन्तर गुम्स्याइ सानो मानवोचित व्यवहारले कसरी पग्लन पुग्दछ र बिल्कुलै अपरिचित मान्छे निकै नजिकको मान्छे कसरी बन्न पुग्छ भन्ने कुरा देखाइएको छ । मानिसको फुत्किने र फुत्किएर कतै पुगेपछि बस्न पेटको आगो निभाउन गरिने बठ्याइँलाई व्यङ्गयात्मक पारामा कथिएको छ ।

यहाँनेर आएर कथाले प्रेमचन्दको भनाई “संसार एउटा अदृष्य जालोको घेरामा रहेको छ, मानिस फुत्किन दौडिन्छ र त्यसैको जालोमा ठोकिएर जहाँको त्यहीँ पुग्छ” भन्ने भनाइलाई पुष्टयाउँदछ । जीवन एक यात्रा नै हो । यात्रा कथाकारको सायद सोखको परिधिभित्र पर्दछ । यसैले कथाहरु केही यात्राकै सेरोफेरोमा संगालिएका छन् र घटनाका स्वप्निल तानावाना स्नेहिला मा पनि बुनिएको छ । आकर्षणका रेखाङ्कन राम्रोछटा यस कथामा पइन्छ । कट्मेरो प्रेम आर्थिक असमानताको सेरोफेरोमा बहकिएको कथा हो । ग्रामीण परिधिको चित्रण सत्यले विजयोत्सव मनाउन नपाँउदै प्रेम कट्मेरो बन्न पुगेको कुरा कथामा रहेको छ । कथा यथार्थपरक रुपमा बुनिएको छ । हृदय प्रेम माग्दछ । प्रेम कतै वासनाबाट बाफिन्छ । कतै मौनताभित्र पलाएर झांगिन्छ ।

हृदय कथामा कमला र किरण अनि प्यारु त्रिकोणात्मक प्रेमबृत्तमा आबद्ध पात्र रहेका छन् । किरण र कमला जातीयता मात्र होइन, किरणको भोकबाट अनविज्ञ रहेकै कारण कमला प्रसवित भई प्यारु कहाँ पुग्छिन्, आखिरमा प्यारुप्रति उनी समर्पित बन्न पुग्छिन् । यस कथालाई कथाकारले प्रगतिशील धारमा बगाएका छन्, आँसुको थोपा निर्धनतालाई बोकेकी यौटी नारी पात्रको कथा हो ।

सम्पूर्ण प्रगतिशीलतातर्फ नुहेको छ यो कथा । समाजका टेढामेढा बान्कीहरुका अल्झाई फुकाउने सुरसार पराजुलीका यस पक्षका कथाहरुमा भेटिन्छ । पराजुलीका कथामा प्रगतिशीलताका चर्का नाराहरु भेटिँदैन । सापेक्ष रुपमा बरु व्यङ्गयात्मक घोचाइले आहात पार्न उद्येत देखिन्छन् । पराजुलीको नैबेलीमा विविध स्वरुपको छायांकन राम्ररी भएको छ, विवश लाचार मात्र होइन स्वाभिमान एवं संघर्षशील पात्रहरु पनि रहेका छन् । पात्रहरु शोसित, अपहेलित मात्र होइन, संर्घषशील सवल रुपमा पनि रहेका छन् । समग्रमा नौबेली कथा संग्रहका कथाकार सामाजिक स्वरुप उजागर गर्न, समाजको बेथिति र बेरीति निमिट्यान्न पारेर समतामूलक समाजको सन्देस उद्घोषण गर्न चाहन्छन् र मुक्तिको मार्ग देखाउन चाहन्छन् । सरल भाषा र गेयता पराजुलीको क्षेत्रगत दख्खलको पूर्णताको फाइदा कथाले प्राप्त गरेको छ नै ।

नौबेलीका सम्पूर्ण कथा ग्रामीण परिवेशमा रहेका छन् । प्रगतिशील लेखनको नाममा अनावश्यक फूलबुट्टा भर्ने काम नवै कथामा पाइँदैन । यसैले कथाहरुमा कतै पनि कृतिमता भेटिँदैन । अरु कुरा सङ्ग्रहभित्रै पनि समाविष्ट रहेकोले भन्नै परेन । यतिचाँहि भन्न मन लाग्छ सधैँ नौली नौबेली ।