केलाई कविता भन्ने, किन कविता लेख्ने र कवितामा कस्ता कुराहरू समावेश गर्ने भन्ने विषय जति तन्कायो अनन्त बहस बन्न पुग्छ । वर्डस्वर्थले शान्त समयमा स्मरण गरिएका उत्कट भावनाहरूको सहजोद्रेक कविता माने । उसो भए कविता फुर्न शान्त समय चाहिने भयो, मानसपट पनि त्यै खालको हुनुपर्यो र भावनाहरू पनि सामान्य होइन उत्कट नै हुनुपर्यो र सहजोद्रेक प्रभावमा रहनुपर्यो ।

के कविताजस्तो महान् कुरा, जीवन र भावनासँग गाँसिएको कुरालाई परिसीमामा राखेर बताउन सकिन्छ ? त्यसो गर्न हुन्छ ? हो, कविहरू शान्त समयमा उत्कट भावनाहरू अक्षरले अनुभूति र भावना उठाएन भने उपमा–उपमेयहरूको सहारा लिन्छन् । पूर्वेलीहरू पहाड र प्रकृतिलाई र पश्चिमेहरू समुद्र र आकाशका सहारा खोज्छन् । भनौं त्यसैमा रमाएर भाषा र पृष्ठभूमि बनाउँछन् ।

उनीहरू के लेख्छन्, पाठकहरू के बुझ्छन्, त्यो खाडल कहिल्यै पुरिंदैन । लेख्दा कविले कस्ता भावनामा बहेको थियो, कल्पनामा डुबेको थियो स्वयम् कवि नै पाठक भएर समय अन्तरालमा स्मृति विचरण गर्न सक्दैन । तर यति चाहिं भन्न सकिन्छ कवि कल्पना र भावनामार्फत नयाँ संसार रचिरहेको हुन्छ, जीवनको विवेचना गरिरहेको हुन्छ, प्रकृतिको विचरण गरिरहेको हुन्छ । गमेको हुन्छ, तैरिएको हुन्छ र आफैबाट हराएर टाढा पुगेको हुन्छ । स्वच्छन्दतावादी, प्रयोगवादीहरू त यसमा झनै फराकिएका हुन्छन् ।

तर हामी पाठक आग्रह राख्न सक्छौं महाकवि देवकोटाले भने झैं – कवि बोलोस् जसरी चराहरू बोल्छन्, न कि उस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई । सोझो सच्चा नाङ्गा पहाडहरूको महत्त्व होस् कवितामा नालाहरू आफसेआफ मूल फुटाउँदै उठ्छन् । त्यसैले कविता निश्छल र स्वच्छन्द हुनुपर्छ, प्राकृतिक हुनुपर्छ, स्वाभाविक हुनुपर्छ, र भावको पोखाइ तरङ्गित–छल्लित हुनुपर्छ । कवि पारसमणि प्रधानले आग्रह नै गरेका थिए–

‘कवि कविता होस्, कविता कवि होस्

कविता तब पो हुन्छ

शब्द थुपारिकन के हुन्छ ?

भाव भए पो हुन्छ ।’

हो, ठीकै त भने कवि पारसमणिले । कवि हरिभक्त सिग्देल ‘महेश’ भावनाका कवि हुन् –  कवितामा आफै ओर्लिन सकेका छन् कि अक्षर मात्र छन् । भाव र कल्पना, जीवन र प्रकृतिको अनुुभूति एकत्वीकरण भयो कि भएन ? उनको गद्य कवितासंग्रह ‘एकमात्र’ हेरौं ।

हरिभक्त सिग्देल ‘महेश’ को विचार र लेखनीमा एउटा सिलसिला र सार छ । ‘एकमात्र’ उनले यसअघि लेखेको आध्यात्मिक विचारको सङ्ग्रह हो । फेरि कवितामा पनि ‘एकमात्र’ आएको छ । अघिल्लो कृति ईश्वर एक हो, अल्लाह, भगवान्, क्राइस्ट वा बुद्ध जे भनौं । ईश्वरले भन्ने कुरा पनि एकै छ, बुझाइमा मात्र विविधता भएको हो, विचारमा एकै छ भन्ने दृष्टि–दर्शनमा छ ।

दोस्रो ‘एकमात्र’ मा विचारको ‘एकमात्र’ छ । त्यो जैवनिक खुसी हो, सन्तुष्टि हो, सन्तृप्ति हो । असन्तोष, तृष्णा, लालसा, ईर्ष्या आरिस, कुण्ठा, प्रतिस्पर्धा मात्र अनेकन् छन् । आत्मिक मन मस्तिष्क एकै छ, गन्तव्य–गवाइ एकै, चाहना एकै छ । अघिल्लोको आध्यात्मिक चेत र यसको आत्मिक चेत सारमा एकै हो । उसो भए यो ‘एकमात्र’ विचारको निरन्तरता हो, विचारको शृङ्खला हो । पहिलोमा आध्यात्मिक आस्था उजागर छ, यसमा कल्पना र भावनाबाट त्यसैलाई पुष्टि गर्न खोजिएको छ । दुवैको अन्तिम बिन्दु एकै हो –त्यो हो अन्तिम सत्य वा एकमात्र । पहिलोमा प्रभु परमात्मालाई उतारिएको छ, उनैको कथनी छ । दोस्रोमा भने ‘मन’ को बहाव छ । आखिर मन र आत्माका अन्तर छैन, परिपूरक छन् । मन नभए के को आत्मा ? आत्मा नभए के को मन ? त्यसैले अभिव्यक्ति फरक भएपनि दुवै ‘एकमात्र’ हुन् । आत्मा र मनको एकत्वीकरण दुवैको सार हो । र त्यो सार उनको ‘म अमर छु’ मा पनि समान छ ः

‘उनीबाट हावा बग्छ तर छैनन् उनी त्यता

जल झर्छ उनैबाट तर छैनन् उनी त्यता १

आगो बल्छ उनैबाट तर छैनन् उनी त्यता

नदेखे देखिने जम्मै उनी नै छन् जताता ।।’ (‘एकमात्र १, म अमर छु, पृ ३९) ।

‘एकमात्र’ विचारसंग्रह, ‘एकमात्र’ गद्य कवितासंग्रह र ‘एकमात्र’ पद्य कविता । म यो निष्कर्षमा छु कि कवि हरिभक्त विचारको निरन्तरतामा छन् । जीवनको गहिराइ खोज्न निरन्तर छन् । विचारको निरन्तरता, बोधको निरन्तरता, विवेकको निरन्तरता तर अभिव्यक्तिको विविधता छ ।

‘एकमात्र’ गद्य कविता हो । पश्चिमी साहित्यमा ब्ल्याङ भर्स पनि भनिएको छ । छन्दात्मक–लयात्मक विधानबाट अलि अव्यवस्थित व्यवस्थापनमा तर ताल–पेन्टामिटरहर समाएर लेखिन्छ । पश्चिमी साहित्यमा लेखिएका कवितामा दुईतिहाइजसो गद्यमा नै छन् । पद्यमा लालित्य, लय, छुुट्टै रस हुन्छ तर भाव र उत्तेजनालाई रोक्न सक्छ । भरतमुनिले नाट्यशास्त्रमा भनेका थिए कुनै पनि शब्द छन्दहीन छैन, न कुनै यस्तो छन्द शब्दहीन छ । आखिर काव्य भन्नु नै छन्द हो, गद्य र पद्य, छन्द र बेछन्द भनेर भनिरहनु नै आवश्यक छैन ।

गद्य कविता सामान्य जीवनको सामान्य प्रस्तुतिको सामान्य भाषा हो, जसले असामान्य भावहरूलाई छताछुल्ल पार्ने गर्दछ । तर यो दुरूह होइन सरल हुनैपर्छ, शब्द होइन भाव हुनैपर्छ । भाव नभए केको कविता ? कवि हरिभक्त सिग्देल ‘महेश’ले भाव पस्केका छन्, भावमै दौडिएका छन् । कल्पनाको अतिरञ्जना पनि छ, अस्वाभाविकता पनि छ, कवितामा ती सबै स्वीकार्य छन्, स्वीकृत छन् । किनभने ती आत्माभिव्यञ्जना हुन् ।

इन्द्रबहादुर राईले भने जस्तै कवितामा कविको व्यक्तित्व, विचार र विश्वास, संक्षिप्तमा कवि स्वयम् पसेपछि कविता बन्छ । कविको व्यक्ति, विचार र विश्वासबाट उसको सिर्जना कहिल्यै निरपेक्ष रहँदैन । अक्षरहरूमा कवि कति पस्न सक्छ, भिज्न सक्छ, त्यसैको सापेक्षमा कविताले जीवनलाई बोक्छ । यस अर्थमा ‘एकमात्र’ मा कवि हरिभक्त कवितामा पसेका छन्, भनौं पोखिएका छन् । त्यसैले ती अब्बल कविता बने । पद्यको ‘म अमर छु’ जस्तै गद्यको ‘एकमात्र’ साँच्चै कविता बनेको छ ।

जहाँ बसेर लेखे पनि जे विषयमा विचरण गरेपनि ती स्वाभाविक छन्, प्राकृतिक छन्, भावमय छन्, उर्लिएका छन्, छचल्किएका छन् । किनभने कवितामा मन र मस्तिष्क दुवै मिसिएको छ, विवेक र बौद्धिकता उत्तिकै छ । कविताले कविलाई विश्वास गरेको छ । कवि नै कविता बनेका छन् ।

कविता कुन मनले, कुन मस्तिष्कले कुन परिवेशमा लेखियो, त्यो स्रष्टालाई नै थाहा हुन्छ । द्रष्टाले विचरण मात्र गर्छ । विचरण बिस्तारियो, गहिरियो भने अर्कै सिर्जना हुन जान्छ र स्रष्टाप्रति अन्याय पनि हुनसक्छ । म त्यो धृष्टता गर्दिन । तर यत्ति चाहिँ भन्न सक्छु कि कवि मनले नग्नतालाई पनि सुन्दर देख्छन्, कलाको नजरियाले हेर्छन्, नग्नतामा भाव भित्र्याउँछन् र मस्तिष्कमा मथेर छुट्टै सिर्जना गर्छन् । म कहिले हुन्न ल, जिउँदो लाश, मेरो देश, न्याय मूर्मितहरूमा व्यङ्ग्य छेड्छन्, चित्कार छाड्छन्, आक्रोश पोख्छन्, तर ती कला लालित्यले लेपित छन्, शिष्ट छन्, मधुर छन् । जिन्दगी खोज्छन्, मेरी साक्षात् महादेवी खोज्छन् ।

अझ साँच्चै भन्दा जतासुकै एकामात्र खोज्छन् । व्यङ्ग्य, विरोध, आक्रोश, उत्तेजना, तृष्णा, प्रकृति, जीवन, सिकाइ, तालीम, दृष्टि सबै ‘एकमात्र’ हो । न्यायमूर्ति, लाश, कहाँ छन्, निरर्थक मानिस बाँचिरहेका छौ, मैले ठगिन सबैमा आत्मा बोल्छ, सबैमा एकामात्रको खोजी छ । तर त्यो रहस्यको खोजी होइन, शाश्वत खुसीको खोजी हो, सत्यको खोजी हो । सुन्दरताको खोजी हो जो हामीभित्रै छ तर बोध गरिएको छैन ।

समय र समाज नबोक्ने स्रष्टा के को स्रष्टा ? दार्शनिक प्लेटोले काव्यकारहरूलाई आलोचना मात्र गरेनन् काव्यका निर्वासनको ऐलान नै गर्न पुगे । उनले आफ्नो सर्वाधिक प्रिय कृति रिपव्लिकामा अलौकिक उद्गार वा काव्यको खुलेर विरोध गरे । उनको ममोसिस सिद्धान्त अनुसार भौतिक पदार्थ स्वयम् सत्यको अनुकृति हो, र यो मिथ्या हो, अझ त्यसमाथि पनि कविता यो मिथ्या जगतको मिथ्या पदार्थहरूको पनि मिथ्या आकृति मात्र भएकाले महामिथ्या हो । उनले कवितालाई महामिथ्या र कवि निर्वासन गर्ने अभिव्यक्तिको पछि कविताले अलौकिक उद्गार नगरोस्, कल्पनाको सागरमा मात्र डुवावस र कविताले असम्भव तिलस्मी कुरा नगरोस् भन्ने हो । याने कि उनले कविताको सामाजिक प्रयोजनशीलता खोजेको थिए । कविता स्वयम् दर्शन हो, काव्यात्मक दर्शन । दार्शनिकले दर्शनको विरोध किन गर्थे ? दर्शन नभएको कविता, जीवन नभएको कविता (साहित्य) नहोस्, समाज बिम्बन नभएको सिर्जना नहोस्, समयको गतिशीलता नदेख्ने साहित्य नहोस् भन्ने उनको आग्रह थियो । त्यो आग्रहको पूर्ति आनन्दमा, पनसिर्जनामा, सामाजिक प्रजननशीलतामा, निर्माण–विनिर्माणको शिक्षामा पाइनु पर्छ । सुरचित कविताले त्यसै गर्छ ।

‘एकमात्र’ का कवितामा देखिएको जिन्दगी, देश, लाश, न्याय, मान्छे, म्याराथुन, आवाज सबै नै व्यङ्ग्यमा छन्, विसङ्गतिको विरोधमा छन्, चेतना, कल्पना, भाव–विभाव सबैले समाज खोजिरहेका छन् । समृद्धि, संस्कार र सभ्यता खोजिरहेका छन् । ‘मलाई एउटा यस्तो दाइ देऊ’ मा त लक्ष्मणको सुरता, रामको पवित्रता, कृष्णको दृष्टि, बलरामको साहस र विभीषणको विवेक भएको दाजु खोजिरहेका छन् । त्यो दाजु बिम्बका दाजु हो, कविले आफ्नो दाजुमा मात्र यो कुरा खोजिरहेका छैनन् सबैका दाइ याने कि सबै पुरुषमा यो गुण खोजिरहेका छन् । कविको त्यो चाहविम्बमा सभ्य, सुसंस्कृत मानव समाजको कल्पना छ । किनकि कवि बाँचेको समाज र समयमा त्यसैको अनिकाल छ ।

पूर्वीय काव्य दर्शन दृष्टिमा ‘एकमात्र’ हेरौं । पूर्वीय काव्य सम्प्रदाय कलावादी, रसवादी, रीतिवादी, अलङ्कारवादी र प्रयोजनवादी विचारमा छ । रसवादीहरू कविताको आत्मा रसलाई मान्दछन् । रसको निष्पत्ति विभाव, अनुभाव  र सञ्चारी भावबाट हुन्छ । अर्को शब्दमा भावोत्पादिनी-शक्तिमा कविता हुन्छ । काव्यानुभूति वा आनन्दानुभूति काव्यको उद्देश्य हो, आनन्दानुभूति पाठकमा भावनाहरूको उद्वेलनमा नै सम्भव हुन्छ । पूर्वीय रस सिद्धान्त जस्तै पश्चिमी रोमान्टिसिज्मले पनि रस वा प्रभावलाई नै काव्यको प्रयोजन मान्दछ । यसले वैयक्तिक भावोद्वेलन, आवेग र कल्पना काव्यका चरित्र मान्छ । निजत्वको स्वायत्ततालाई पारख गर्दछ ।

‘एकमात्र’ का छोटा कविताहरू भाव उत्पादन गर्न सक्षम र स्वच्छन्द छन् । अलङ्कारका दृष्टिमा कविताहरू संरचना मात्र छोटा होइन भाव पनि सौन्दर्य शिल्पबाट लेपित छन् । कल्पनाको बिम्बले, प्रकृतिको प्रयोगले उपमाको उपयोगले कवितालाई अलङ्कारयुक्त बनाएको छ । रीति परम्परामा एकमात्र विशेष संरचनायुक्त रीतिमा छन् । वक्रोक्तिका अर्थमा कविताका अभिव्यक्ति लाक्षणिक छन्, प्रतीकमय छन् । भनिएको कुराहरू चामात्कारिक पनि छन् । ध्वनिवादीहरू अभिव्यञ्जनालाई काव्यको आत्मा मान्दछन् । कविले आत्माभिव्यञ्जना गरेका छन् । अक्षरहरू आत्मिक छन्, परिवेश र प्रयोगहरू आत्मिक छन् । त्यसले छुट्टै असभव्यञ्जना शक्ति पाएको छ । औचित्य सम्प्रदायका आधारमा विचरण गर्दा कवितामा दुुर्ई प्रकारको औचित्य देखिन्छ । कवि कहिले जिउँदो लाशसँग छन्, कहिले अष्ट्रेलिया–अमेरिकातिर भौँतारिएका छन्, कोरोनाका महामारी छ, प्रेम छ र प्रकृति छ । सबैमा त्यहीको औचित्य छ । अर्को औचित्य पाठक वा समाजलाई दिने उपयोगिता हो । त्यो उपयोगिता कवि प्रेम, आदर्श, सत्कर्म, निष्ठा, निश्चलताको आग्रहमा छन् । त्यसैले ‘एकमात्र’ पूर्वीय र पश्चात्य काव्यकलामा दह्रो उभिएको छ । खरो उत्रिएको छ ।

कविको सामाजिक प्रयोजनशीलतामा आग्रही छन् । रुखलाई प्रतीक बनाएर पनि आग्रह गरिरहेका छन्, जिन्दगी, मेरो देश, न्यायमूर्ति, खुला बन्धनभित्रको आवाज, कसरी हुन्छ उत्थान, होशियार, भर्याङहरू आग्रहमा छन् । उनका कवितामा सत्यको आग्रह, समुन्नतिको आग्रह र राष्ट्रप्रेमको आग्रह छ । भोलि कठघरामा पुग्नेगरी आजको पुस्ताले काम नगरोस् । कर्तव्य पूरा नगर्दा भोलिले आजलाई नैतिक अपराधी घोषित गर्न सक्छ । त्यसैले आआफ्नै बोधभ्रममा संसार नबुझ्न, सुख नबुझ्न, न्याय नबुझ्न र देश नबुझ्न चेतावनीको आग्रह छ । किनकि आर्यघाट सत्य हो, ‘एकमात्र’ सत्य भुलेर संसार कोलाहल, उछिनापछिन र स्वार्थमा छ ।

‘एकमात्र’ मा कविको प्रयोगतर्फ विश्लेषण गरौं । प्रयोगवादीहरू परम्परागत संरचना अभिव्यक्ति शब्दसन्धान, वाक्यविन्यासबाट पर छ र भाव निष्पत्तिको आफ्नै तरिकाले कार्यव्यापार गर्दछन् । परम्परामाथिको विद्रोह, नयाँ परम्पराको थालनी गर्दछन् । तर काव्यका आधार मूल्यलाई बचाइ राख्दछन् । अझ भनौं बढोत्तरी गर्दछन् । परम्परागत संरचना र विधानले अभिव्यञ्जनामा अवरोध गर्ला कि भनी प्रयोग गर्दछन् । मोहन कोइराला, भूपी शेरचन, ईश्वर वल्लभहरूले प्रयोग गरे । अगमसिंह, वानिराहरूले प्रयोग गरे । भारतमा प्रगतिवाद भनिएको मार्क्सवादी साहित्यको प्रतिक्रियामा प्रयोगवाद आयो । नेपालमा नयाँ जीवनदृष्टि खोज्न, अस्तित्व खोज्न, विसङ्गति हटाउन, भावको पौल उत्पादन गर्न प्रयोगवाद विकास भयो । यसले पुराना मूल्यमान भत्कायो, प्रेम प्रणयको नयाँ भाषा खोज्यो, बुद्धि–बौद्धिकता होइन, प्रज्ञाको नयाँ संक्षेत्र उघार्यो, निराशा र लघुताभासलाई निःसङ्कोच प्रस्तुत ग¥यो, फ्रायडीय मनोचेतसँग खुल्यो, मुक्त छन्दको प्रयोग गर्यो । र कहिले काहीँ त आफैप्रति पनि व्यङ्ग्य गर्न पछि परेन, आफू बाँचेको समाज र समयलाई सधैँभरि आक्रमण गरिरह्यो ।

‘एकमात्र’ प्रयोगमा पुनसंरचना खोज्छ । प्रस्तुति संरचनामा पनसंरचना खोज्छ । यसका प्रयोगहरू अनौठा छन् । एकाक्षरी वाक्य छन्, एक शब्दीय वाक्य छन्, उक्ति–सूक्तिका सूत्रहरू पनि छन् । वाक्यहरू भाँच्चिएका छन् । कहिले पिरामिडजस्ता, कहिले पहाड जस्ता, कहिले घण्टीजस्ता त कहिले घाँटी छिनेका, कहिले सापेक्षिक रूपमा फुकेका, सेकेका, अग्ले–पुड्के वाक्य संरचना, यी नवप्रयोग नभएर के हुन ? संरचना कतै उरुङ–भुरुङ त कतै चिनेका चिल्ला सिँढीजस्ता सग्ला । तर ती प्रयोगले भाव, अलङ्कार, प्रभाव, सम्प्रेषण छेकेका छैनन्, झनै बढाएका छन् ।

भूपीले ‘निर्झर’ मा प्रयोग गरे, बल्लभले ‘आगोका फूलरु.. ’ ‘मेरी आमाले आत्महत्या गरेको देश’ मा प्रयोग गरेका थिए । ‘फर्सीको जरो’ का असजिला कविताहरूमा मोहन कोइराला विशेष प्रयोग भए । पारिजातले सरल प्रयोग गरिन, हरिभक्त कटुवाल पनि पारिजातकै सरलतामा रहे तर जगदशी शमशेरले असजिला प्रयोग गरे, मोहन कोइरालाकै बिँडो थामे । अहिले त धेरै प्रयोगवादीहरू आएका छन्, कोही जबरजस्त छन् त कोही स्वाभाविक ।

संरचनामा हरिभक्त सिग्देलको प्रयोग बेग्लै छ, नवोन्मेषता छ, बान्की मिले–नमिलेका तर रस उत्पादन गर्ने, बेग्लै छन्दका तर लय उत्पादन गर्ने, बोल्न नसकिएजस्तो तर धरै बोलिएका प्रयोगमा एकमात्र छुट्टै ‘एकमात्र’ देखिएको छ । दृश्यबिम्बमा पनि कवि नौला छन् । ‘एकामात्र’ को प्रयोगले सौन्दर्य मूल्य घटाएको छैन, चेतना घटाएको छैन, भाव घटाएको छैन । त्यसैले अमूर्त झैँ मूर्त छ । लाग्छ कवि अक्षरमा बेस्सरी लडीबुडी गरेर कवितामा पोखिएका छन् । तर मलाई यो पनि लाग्छ उनको मन सबै कविताका अक्षरले उठाएको छैन । यतिखेर पनि कवि इमानदार छन् । अक्षरहरूलाई त्यत्तिकै छोडिदिएर जे गर्छस् गर भनेर अक्षरलाई आफ्नो अख्तियारी दिइएका छन् ।

स्रष्टाले के भनेर, सोचेर लेख्छ, पाठकले के बुझेर पढ्छ, अध्येताले के भनेर लिन्छ र समालोचकले कसरी मूल्य विवेचना गर्छ । यो समस्या साहित्यमा सधैँ परिनै रहन्छ । ‘एकमात्र’ यसको अपवाद होइन । समालोचक र स्रष्टा दुई कोणमा उभिए भने समालोचना नै (नव) सिर्जना बन्छ । यतिसम्म ठीकै हो तर उसले स्रष्टालाई अन्याय चाहिँ गर्न हुँदैन । तर सधैंभरि सिर्जना, स्रष्टा पाठक र समालोचक चार कुनामा नै उभिएको पाइन्छ । सोच, बोध, चेतना, तर्कना, परिवेश आदिले त्यसो हुनु स्वाभाविक पनि हो । सोक्रेटसलाई प्लेटोले, भानुभक्तलाई मोतीरामले गरेको व्याख्या यसका उदाहरण हुन् । समसोच, समवोध र समचेत मानवीय मनले गर्दैन, युल्याजस्ता रोबोटिकले गरे बेग्लै कुरा । स्रष्टामा कारयित्री प्रतिभा छ, कला सामर्थ्य छ, पाठकमा भावयित्री प्रतिभा छ–काव्यको रसमा चुर्लुम्म डुब्छ र आनन्दित हुन्छ । तर समालोचकमा सम्यक् चिन्तन, कला विवेचना र आस्वादन–अन्वेषण सामर्थ्य रहनु पर्छ । ‘एकमात्र’ मा म कति रहन सके थाहा छैन । तर ‘एकामात्र’ मा भएको सत्य, कला, आनन्द, अभिव्यञ्जनालाई आफ्नै दृष्टिबोधमा कलाका मानकबाट परिगेलेँ ।

‘एकमात्र’ मा शब्द, सङ्गति, शिल्प, भाव–विभाव, वस्तु–परिवेश सबैमा अब्बल देखेँ । नवप्रयोग त यो हुँदै हो ।