गजल मुशायरा परिवारले हरेक वर्ष मोति जयन्तीको अवसर पारेर आयोजना गर्दै आएको विशेष गजल मुशयरा कार्यक्रम यस वर्ष विभिन्न देशमा छरिएर रहेका नेपाली भाषी ५१ जना गजलकारहरुका चोटिला, ओजिला र रमाइला गजलहरुको वाचनसहित सम्पन्न भएको छ।
१५५ औं मोति जयन्तीको अवसरमा आयोजना गरिएको विशेष गजल वाचन कार्यक्रम विद्यमान परिस्थितिका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। विश्वभर छरिएर रहेका गजलप्रेमी दर्शक, श्रोता र सहभागी गजलकारहरुको सुविधालाई मध्यनजर गरेर कार्यक्रम ३ वटा अलग अलग सत्रमा सम्पन्न भएको थियो।
कार्यक्रमको पहिलो सत्रमा गजल मुशायरा परिवारका सदस्य गजलकारहरूसहित ओसेनिया क्षेत्रमा बसोबास गर्ने २१ जना गजलकारहरूलाई समेटिएको थियो।
करिब २ घण्टा १० मिनेटसम्म चलेको कार्यक्रमको पहिलो सत्रको संचालन गजलकार लक्ष्मण संज्यालले गरेका थिए । त्यस्तै करिब १ घण्टा ४० मिनेटसम्म चलेको गजल वाचनको दोस्रो सत्रमा नेपाल र भारतमा हाल बसोबास गरिरहेका १५ गजलकारहरूका रचना प्रस्तुत गरिएका थिए । कार्यक्रमको सो सत्रको गजलकार ईश्वर पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा युरोप, अमेरिका र एसियाका अन्य देशहरुबाटबाट १५ जना प्रतिनिधि गजलकारलाई प्रस्तुत गरिएको थियो ।
करिब १ घण्टा १५ मिनेटसम्म चलेको सो सत्रको संयोजन र सञ्चालन गजल मुशायरा परिवारका अनलाइन शृंखलाका नियमित प्रस्तोता कवि, तथा गजलकार केशव शर्माले गरेका थिए । कार्यक्रम जुममार्फत फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, फ्रान्स, पोर्तुगल, पपुवा न्युगिनी, कतार, मलेसिया लगायतका देशका नेपाली भाषी गजलकारहरुको उपस्थिति थियो ।
यति धेरै संख्यामा एउटै कार्यक्रममा गजलकार समावेश भएको सम्भवतः यो पहिलो कार्यक्रम रहेको आयोजकको भनाइ छ । कार्यक्रममा प्रस्तुत सबै गजलहरु गजल मुशायराको फेसबुक पेजमा राखिएको छ भने भिडियोहरु चाँडै नै युट्युबमा समेत राखिने गजल मुशायरा परिवारका संयोजक जीतेन्द्र मल्लले जानकारी दिए ।
गजल परिवारले कोरोना माहामारी फैलिएसँगै शुरु भएको लकडाउनको समयमा गजल तथा कविता विशेष वाचन कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै आएको छ । लकडाउन अवधिभर गजल विशेष कार्यक्रमका २७ श्रृङखला (१०८ जना गजलकारहरु) ,कविता विशेष कार्यक्रमका १० श्रृङ्खला (३८ कविहरु), मुक्तक विशेष कार्यक्रमको १ श्रृङ्खला (४ मुक्तककार), गायन विशेष कार्यक्रमको १ श्रृङ्खला (८ जना गायक तथा संगीतकार), र रूबाई विशेष कार्यक्रमको १ श्रृङ्खला (४ जना स्रष्टा) गरी जम्मा ४० श्रृङ्खलामा १६२ स्रष्टालाई प्रस्तुत गरिसकिएको गजल मुशायरा परिवारका सदस्य केशव शर्माले जानकारी दिए ।
गजल मुशायराले मोती जयन्तीको अवसर परेर अष्ट्रेलियाको सिड्नीबाट सन् २०१४ मा सुरु गरिएको यो शृंखला, पछिल्लो कार्यक्रमसहित हालसम्म अष्ट्रेलियाको विभिन्न शहर र अष्ट्रेलियाबाहिर मलेसिया र नेपाल गरी १२ ओटा संस्करणमा सम्पन्न गरिसकिएको छ । अनलाइन सिर्जना वाचनको यस शृंखलालाई भविष्यमा पनि निरन्तरता दिइने आयोजक संस्थाले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 









