गजल मुशायराले साहित्यपोस्टसँग मिलेर गजल प्रतियोगिता गर्ने भएको छ । गजल विधालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलाएको गजल मुुशायरा र साहित्यलाई नै केन्द्रविन्दु बनाएर दैनिक अनलाइन पत्रिका चलाइरहेको साहित्यपोस्टबीचको यो सहकार्य कम्तिमा एक वर्ष हुने जनाइएको छ । यो प्रतियोगितामा गजल विधामा रमाउने सयौँ पाठकहरुले भाग लिने अपेक्षा गरिएको छ ।

प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बसेका डिला खरेल र उनको कम्पनी इनोभेटिभ एसोसिएट्सले प्रायोजन गर्ने भएको छ । पेशाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र वैँकिङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिएका हुन् ।

प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । प्रतियोगितामा  तीन वटा उत्कृष्ट गजलहरुलाई हरेक साता नगद पुरस्कारले सम्मान गरिने इनोभेटिभ एसोसिएट्सका डिला खरेलले जनाएका छन् । त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुसायराको आधिकारिक च्यानलमार्फत प्रशारण गरिने निर्णायक मध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाएका छन् ।

वर्षको अन्त्यमा छानिएका एक सय ५० गजलहरुमध्ये उत्कृष्ट तीन पनि छानिने गजल मुसायराका मल्लले बताएका छन् । सर्वोत्कृष्ट तीनवटा छान्दा ५० प्रतिशत निर्यायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । यसरी छानिएका तीन गजलहरूलाइ ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं  गजलका सिद्धान्तमा आधारित  पुस्तकहरूतथा केही मानक गजल संग्रहहरू पनि उपहारले सम्मान गरिने जनाइएकाे छ ।

गजलका अन्य निर्णयकहरुमा गजलकार करुण थापा, गजलकार रवि प्राञ्जल र गजलकार जय गौडेल रहेका छन् ।

निर्णायक करुण थापा नेपाली साहित्यमा गजलकार, चलचित्रमा सम्पादक, कम्प्युटरका क्षेत्रमा एनिमेटर र सफ्टवेयर डेभलपर हुन् । करुणलाई नेपालमा थ्रिडी एनिमेसन र डिजिटल प्रविधि भित्राएको श्रेय पनि जान्छ । यसले नेपाली श्रव्य–दृश्यको पुरानो धारलाई पूरै परिवर्तन गरेको थियो । उनले नेपालका सबै जसो टेलिभिजन च्यानलमा डिजिटल सम्पादन एवं प्रशिक्षक भएर काम गरिसकेका छन् । करुण थापा हाल सिल्भरगेट सफ्टवेयर, सिंक्लेयर एकेडेमीका सिइओ, एभरेष्ट फिल्म एकेडेमीका प्रशिक्षक तथा बुकवर्ड नेपालका उपाध्यक्षका रुपमा कार्यरत छन् ।

साहित्यपोस्टले सञ्चालन गरिरहेको यो गजल प्रतियोगिताका निर्णयक हुनुअघि नै उनले नेपाल प्रहरी, नेपाली सेना, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल विज्ञापन संघ, कृति अवार्ड, इमेज अवार्ड, राष्ट्रिय चलचित्र अवार्ड, चलचित्र कलाकार संघ अवार्ड, निफ तथा अन्य दर्जनौँ गीत गजल प्रतियोगितामा निर्णायकको भूमिका निभाइसकेका छन् ।

अर्का निर्णायक रवि प्राञ्जलका ७ वटा कृति प्रकाशित छन् । उनले मधुमास, सोपान र अतुलनीय अतुल पत्रिकाहरु पनि सम्पादन गरेका छन् । गीत तथा गजलका साथै कवितामा पनि उत्तिकै कलम चलाउने गजलश्री सम्मान प्राप्त गरेका प्राञ्जल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट पनि सम्मानित भएका छन् ।

त्यसैगरी अर्का निर्णायक जय गौडेल नेपाली साहित्यमा आफ्नो फरक पहिचान बनाउन सफल गजलकार मध्येका एक हुन् । उनका कविता र गजल युवा पुस्ताका ढुकढुकी मानिन्छन् । रेडियोका स्रोताबीच पनि उत्तिकै लोकप्रिय छन् । गौडेल तरन्नूम शैलीमा गजल वाचन गरी श्रोता दर्शकलाई मन्त्रमुग्ध पार्न सक्छन् । ‘रचना वाचन’ नामक युट्युब च्यानलका उनी संयोजक हुन् । कुनैबेला उनले लोकप्रिय गजल समूह अनाममण्डलीको सचिवको कार्यभार सम्हालेका थिए । हाल उनी ग्लोबल कलेजमा कार्यरत छन् ।

अर्का निर्णायक जितेन्द्र मल्ल गजल मुशायराका प्रमुख हुनुका साथै चर्चित गजलकार पनि हुन् । अस्ट्रेलियामा बसोबास गरेर पनि नेपाली गजलमा रातोदिन खटिरहेका उनी समय निकालेर गजल मुशायरा कार्यक्रम चलाउँछन् । मल्लकै संयोजनमा यो प्रतियोगिता सञ्चालन हुने भएको हो । उनका चार प्रहर – संयुक्त गजल संग्रह, अञ्जुलीमा अभियन्ता संयुक्त कविता संग्रह, अञ्जुलीमा अभियन्ता 2 संयुक्त गजल संग्रह प्रकाशित छन् ।

सन् २०१४ देखि अस्ट्रेलियाको सिड्नीमा आयोजना हुँदै आएको ‘गजल मुशायरा’ गजलको प्रचारप्रसारका लागि स्थापित संस्था हो । यसले जुलाई २०१७ देखी गजल मुशायराको फेसबुक पेज(www.facebook.com/ghazalmushayara) मा शुरु गरिएको ‘गजल मुशायरा लाइभ’ले विश्वभरि छरिएर रहेका नेपाली गजल सर्जकहरुलाई लाइभ प्रस्तुत गर्ने गरेको छ ।

नेपाली गजलको विकासमा लागि परेका अन्य संस्थाहरु र व्यक्तिहरुसित सहकार्य गरेर ‘गजल मुशायरा परिवार’ अघि बढ्ने गरेको छ ।

साहित्यपोस्टले हरेक दोस्रो दिन एउटा साहित्यिक प्रतियोगिता गर्ने योजनाअनुरुप गजल प्रतियोगितालाई पनि समावेश गरेको हो ।

गजल प्रतियोगिता अघि साहित्यपोस्टको व्यवस्थापनमा फोटो कविता प्रतियोगिता, मुक्तक प्रतियोगिता र लघुकथा प्रतियोगिताहरू पनि सञ्चालन भइरहेका छन् ।

‘हामीले सबै विधालाई महत्त्व दिन हरेक दोस्रो दिन एउटा प्रतियोगिता गरिरहेका छाैँ,’ साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्, ‘हरेक साता भिन्न भिन्न प्रतियोगिता हुँदा पाठकले आफूले मनपरेको विधाका प्रतियाेगितामा भाग लिइरहनु भएकाे छ । यसले सबै विधा परिस्कृत भइरहेकाे छ ।’

गजल प्रतियोगिता यसै साता सुरु हुने जनाइएको छ ।