‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक – ओम रिजालको ‘हटारु’, द्रोण पराजुलीको ‘सफल व्यक्तित्वका वैज्ञानिक’, नारद थपलियाको ‘प्रेमको मन्दिर’, लक्ष्मण नेवटियाको ‘व्यङ्ग्यधाम’ ।

० ० ० ०

१. हटारु — ओम रिजाल

लोकसंस्कृतिको अध्ययनमा विशेष चासो राख्ने, विभिन्न विधामा कलम चलाउने ओम रिजालको पहिलो उपन्यास हो – “हरारु” ।

१७ परिच्छेदमा विभाजित यस उपन्यासमा ‘अब कथा सुरु हुन्छ’, ‘सन्नाटा’, ‘ठालु बाँच्न दिँदैनन्’, ‘रित्तोगोठ’, ‘फेरि कथा सुरु हुन्छ’ आदि शीर्षकहरू समावेश छन् । साथै उपन्यासमा प्रयोग भएका दैलेखी भाषाका शब्दहरूको अर्थसमेत प्रस्तुत गरिएको  छ ।

२ सय ६३ पृष्ठमा आबद्ध यस उपन्यास दैलेखी माटोका अलिखित नारी हृदयका तथ्यपरक जीवन भोगाइको वास्तविक कथा हो । जातीय, वर्गीय तथा लैङ्गिक, अहङ्कार, अज्ञान, अन्धविश्वास, अभाव, अनिकाल र अन्यायमा परेकाहरूको वृत्तान्त हो । यसरी पात्रहरू जीवन्त छन् । परिवेश जस्ताको त्यस्तै उतारिएको पाइन्छ ।”

अनुभूति र आभारमा लेखक उल्लेख गर्छन्, “‘राजनीति फुटाउँछ, संस्कृतिले जुटाउँछ बाब !’ दैलेखी लोकसाहित्य र संस्कृतिका मर्मज्ञहरूले माथिको वाक्य नसुनाएको भए भलाई दैलेखी लोकसाहित्य र संस्कृतिले मोहनी लगाउने थिएन । दैलेखी लोकसाहित्य र संस्कृतिको मायाजालमा नपरेको भए मबाट ‘हटारु’ लेखिन सम्भव थिएन ।”

पुस्तकको पछिल्लो कभरपृष्ठमा लेखिएको छ, “हटारु उपन्यास पश्चिम नेपाली मूलतः दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुति छ । नेपाली भाषा र नेपाली थरहरूको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुँदो गएको संस्कृति र सभ्यतालाई यसमा मीठो–मसिनोसँग आख्यानीकरण गरिएको छ । ऐतिहासिक, सामाजिकता, नारीकेन्द्री प्रगतिशीलताको चास्नीमा डुबाइएको हटारुले हरेक पाठकको जिब्रोदेखि मन–मस्तिष्कमा स्थायी बास गर्नेछ ।”

पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले बजारमा ल्याएको हो ।

० ० ० ०

२. सफल व्यक्तित्वका वैज्ञानिक सूत्र — द्रोण पराजुली 

भुँडीपुराण प्रकाशनको “सफल व्यक्तित्वका वैज्ञानिक सूत्र” नेपोलियन हिलको बेस्टसेलरको नेपाली अनुवाद हो । यसको अनुवादक हुनुहुन्छ द्रोण पराजुली ।

१ सय ९७ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘संवाद सीप र बातचितको कला’, ‘मानिसप्रति हेर्ने दृष्टिकोणमा सुधार’, ‘सन्तुष्ट हुने बानीको विकास’, ‘एकता र कार्यक्षमताको विकास’, ‘सहयोगी व्यक्तिलाई ईश्वरले सहयोग गर्छन्’, ‘आफ्नो विशेष स्वभावलाई ध्यान दिनुहोस्’, ‘जीवनको लक्ष्य मात्र खुसी हो’, ‘लक्ष्य प्राप्तिलाई जीवनको लक्ष्य मान्नुहोस्’, ‘के सबै मानिसहरू धनी बन्न सम्भव छ ?’लगायत ५९ शीर्षकबाट जीवनोपयोगी सूत्रहरू प्रस्तुत गरिएको छ ।

उल्लेख गरिएको छ —

“काममा दत्तचित्त भएर लागेकाले नकारात्मक सोचाइ बदलियो त्यसकारण सिर्जनात्मक सोचले मान्छेको मनस्थितिलाई कार्यमा बदल्न सक्छ । यदि तपाईँ कार्य गर्दा सफलताका सूचकहरू देखा पर्दै जान्छन् भने सफलताले तपाईंलाई पछ्याइरहन्छ ।”

“हीन भावनाका धेरै ने नकारात्मक प्रभावले हाम्रो शरीरलाई असहज बनाउँछ, मांसपेशी कमजोर, रक्तचापमा वृद्धि इत्यादि शरीरका भित्री अङ्गले देखाएको प्रभावले हामीलाई मानसिक रोगी बनाउँछ । यस्तो अवस्थाबाट छुटकारा पाउनाको लागि केही सकारात्मक कुराको खोजी गरी पूर्ण रूपमा व्याख्या गर्ने कोसिस गर्नुहोस् ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “म, तपाईं, हामी, समाज, देश, विश्व र ब्रह्माण्डको त्यो शक्तिशाली तत्त्व हौँ जसले ब्रह्माण्ड जस्तै अर्को ब्रह्माण्ड निर्माण गरी प्रस्तुत गर्न सक्छौँ तर मात्र आफूभित्रको अपार क्षमता र सम्भावनालाई पहिचान गरी निरन्तर अभ्यास, अनुशासन र आत्मबलले समयभित्र लक्ष्य हासिल गर्ने गरी निरन्तर यात्रामा आफूलाई समाहित गर्नुपर्छ एक अविचलित र दृढ संकल्पित यात्री भएर । आउनुहोस् यात्रा गरौँ त्यही महान् लक्ष्यको पदचापलाई पहिचान गरी सफलताको शिखर चुम्न ।”

पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।

० ० ० ०

३. प्रेमको मन्दिर — नारद थपलिया 

बालकथाकार तथा विभिन्न विधामा कलम चलाउने नारद थपलियाको आख्यानात्मक पुस्तक हो – “प्रेमको मन्दिर” ।

७८ पृष्ठमा आधारित यस पुस्तकमा ‘घर–वृद्धाश्रम’, ‘रूपान्तरण’, ‘त्यो टोलको अन्तिम कच्ची घर’, ‘जिन्दगी सुरु हुन्छ, साठी वर्षपछि’, ‘पटक–पटक सति’, ‘बाजी’, ‘प्यारको बन्धन’, ‘प्रेमको मन्दिर’, ‘मोइ द्रुग भालोद्या’, ‘बिग्रेको स्वरको जादू’, ‘नाटक’, ‘जिन्दगी चलिरहन्छ’, ‘चड्कनको चुम्बन’ गरी १३ थान कथा सङ्ग्रहित छन् ।

मीठो र सरल भाषाशैलीमा लेखिएका सङ्ग्रहित कथाहरूमा लेखकको अनुभव, बुझाइ फरक तरिकाले अगाडि बढेको पाइन्छ । सामाजिक यथार्थको परिवेशले गर्दा यस कथाका पात्रहरू जीवन्त छन् ।

प्रेमको मन्दिरमा उल्लेख छ, “पहिलो पटक काठमाडौँ जाँदा मैले वीर अस्पताल देख्ने मौका नै पाइनँ । जब म एस.एल.सी. दिएपछि काडमाडौ गए तब भने नेपालको जेठो अस्पतालको विशालताले गर्दा हायलकायल भएको थिएँ । त्यसपछि पनि समय–समयमा वीर अस्पताल गइरहें । कहिले बिरामी आफन्तलाई भेट्न त कहिले त्यसै काठमाडौँ घुम्ने क्रममा । पछि हेल्थ असिस्टेन्ट पढ्दा भने त्यो अस्पताल निकै पटक धाइयो । देशको सबभन्दा ठुलो अस्पताल भन्ने कुनै समय उपमा पाएको त्यो अस्पताल पुग्दा जहिले पनि मन्दिरमा पुगेजस्तो लाग्दथ्यो ।

कताकता त्यो अस्पतालले मेरा कानहरूमा केही भनेजस्तो पनि लाग्थ्यो । कहिले मेरो सपनामा पनि कुनै परी आएर केही भन्न खोजेजस्तो समेत लाग्थ्यो । तैपनि ती इशाराहरूलाई मैले त्यति वास्ता नै गरिनँ । त्यस्तैमा केही वर्ष पहिले त्यो अस्पतालको स्थापनाको कथा थोरै भने पनि थाहा पाएदेखि भने म सधैं नै त्यो अस्पताललाई प्रेमको मन्दिर मान्ने गर्छु । हो, त्यो मिठो कथा एकादेशको कथाजस्तै भएकाले मैले पनि आफ्नो मनको कुनै कुरामा लुकाएर राखेको थिएँ ।”

मेरो भन्नुमा लेखक लेख्छन्, “मैले देखेका, सुनेका अनि भोगेका घटनाहरूलाई थोरै काल्पनिकतामा रङ्ग्याएर आफ्ना अनुभूतिहरू गर्ने जमर्को गरेको छु । थाहा छैन यी अनुभूतिहरू समयको कसीमा कसरी प्रस्टिन्छन् । यी कथाहरूका पात्रहरूले मेरो दिललाई थोरै भए पनि छोएकै थिए, त्यसैले नै लेखिएका पनि हुन् ।”

पुस्तकलाई  लेखक स्वयम्ले प्रकाशनमा ल्याएका हुन् ।

० ० ० ०

४. व्यङ्ग्यधाम — लक्ष्मण नेवटिया 

गत पाँच दशकदेखि निरन्तर नेपाली, हिन्दी, मारवाडी भाषाका कवि, कथाकार तथा व्यङ्ग्यकार लक्ष्मण नेवटियाको कवितासङ्ग्रह हो – “व्यङ्ग्यधाम” ।

२ सय ५९ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘आफ्नो आङको भैँसी नहेर’, ‘वाह कवाली ! क्या कवाली !’, ‘जगाउने प्राण त दिनुस्’, ‘दूधमा पानी कि पानीमा दूध’, ‘घोषणापत्र’, ‘घडी र चोर’, ‘बिजुली उवाच’, ‘मानिसबाट सावधान’, ‘ढुकढुकी कविता’, ‘बल्ल समय भेटाएँ’, ‘उडाउने नै उडाउने’, ‘रनभुल्ल’, ‘नरिसाउनु भानु’, ‘अक्षरको डर’, ‘जँड्याहा… सच्चा राष्ट्रवादी’लगायत १ सय ८५ थान हास्यव्यङ्ग्य कविता समावेश छन् ।

बालकृष्ण पोखरेल  लेख्छन्, “श्री लक्ष्मण नेवटिया छोटा कवितामा चित्रात्मक गेयता निकै पाइन्छ । आफ्ना कवितालाई जीवन्तता प्रदान गर्न उनले प्रयोग गरेको हास्यव्यङ्ग्य ज्यादै उपयुक्त हुन पुगेको छ ।”

रामकुमार पाँडे लेख्छन्, “नेवटियाका कविता सुनका जस्ता मूल्यवान् मात्र हैन गहनाका सुन्दर डिजाइन जस्ता कल्पनाशील पनि छन् । भनाइमा टुक्काको हनाइ जस्तै छ भने पात्र र परिवेश पनि ट्वाक्कटुक्क पारेर पाक्कपुक्क हानेके हुन्छन् । प्रत्येक कविताको सन्दर्भ र कथावस्तु आफ्नै र सटीक छन् । उनको कविता एकनासे नभएर केही प्रयोग पनि देखिन्छ ।”

चट्याङ मास्टर लेख्छन्, “४० वर्ष लामो लगातारको अभ्यास पछि पानीले त ढुङ्गामा प्वाल पर्छ भने लक्ष्मण नेवटियाको हास्यव्यङ्ग्यले कतिको मुटु प्वाल पार्यो र कतिको मुटुमा मलम दल्यो होला ? हाम्रो समाजमा भइरहेका गतिविधिको सूक्ष्म अध्ययन गरी समाजलाई सुझाव दिनु हास्यव्यङ्ग्य रचनाकारको धर्म हो जो उहाँले व्यङ्ग्यधाममा राम्रोसँग निर्वाह गर्नु भएको छ । त्यसैले म यो व्यङ्ग्यधामलाई हातमा उचाल्दै ‘जिन्दावाद’को नारा लगाउँछु । व्यङ्ग्यधामको – जय जय जय ।”

मञ्जरी पब्लिकेशन प्रा.लि. बाट प्रकाशित पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।