‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक – हरि अधिकारीको ‘कवितासँग पाँच दशक’, अमृतनाथ तिमल्सिनाको ‘समृद्धि सरोकार’, डा. चन्द्र केसीको ‘मैले नदेखेकाे सपना’ र मधुसुदन घिमिरेकोको ‘मायाको आयतन’ ।
—
१. कवितासँग पाँच दशक – हरि अधिकारी
‘हरि अधिकारी कुनै नाम होइन,
ऊ अखवारहरुको छातीमा गलैंचा
ओछ्याएर घाम ताप्न सक्दैन
चिनाउनु परे भने हुन्छ ऊ कविता पनि लेख्छ
के कहिले काहीँ छापिएको छ आलोचनाका पुस्तकहरुमा ?
हो, छापिएको छ फोटोबाहेक
नखुल्ने गरी वतन र शैक्षिक योग्यता’
(पृ. २९, हरि अधिकारी कुनै नाम होइन)
समीक्षक तथा कवि हरि अधिकारीको कवितासङ्ग्रह हो ‘कवितासँग पाँच दशक’ । यस सङ्ग्रहमा ‘कविता यात्रा प्रारम्भ’, ‘कविता यात्राको एउटा विसौनी’ र ‘कविताको संसारमा निरन्तरता’ गरी तीन खण्डमा अधिकारीले विभिन्न समयमा लेखेका १०३ कविताहरु सङ्ग्रहित छन् ।
‘धेरै जसो पढिसकेएका र केही पढ्न बाँकी भाव–संवेदनापूर्ण कविताहरु लिएर मेरा सहयात्री कवि हरि अधिकारी प्रस्तुत सङ्ग्रहमा देखिएका छन् ।’, पुस्तकमा साहित्यकार शैलेन्द्र साकार लेख्छन्, ‘उनका कविता मलाई जहिले पनि अर्थपूर्ण र धारिला लाग्ने गर्दछन् । स्पष्ट छ, उनी यसमा सङ्ग्रहित धेरै कविताहरुमा त्यो संवेदना र बिम्बका आविष्कारक एवं उच्चकोटीको शिल्पीका रुपमा उपस्थित भएका छन् ।’
त्यस्तै, समीक्षक राजकुमार बानियाँ कृतिका बारेमा लेख्छन्, ‘प्रेम, प्रकृति, मानवीय सम्बन्ध, समाज र राजनीति जस्ता जटिल विषयहरुमाथि हरि अधिकारीले रचेका विष्मयकारी कविताहरुले उनलाई उत्कृष्ट कविको विशिष्ठ चिनारी दिलाएका छन् । उनका कविता सरल, छोटा र छरितो बान्कीका छन् । उनी फगत शब्दशिल्पी होइनन्, भावको गजुर उठाउने कवि पनि हुन् । उनका कवितालाई समसामयिक नेपाली चेतनाको प्रतिनिधि स्वर पनि भन्न सकिन्छ ।’
पुस्तकलाई अच्युत वाग्ले र आशुतोष अधिकारीले प्रकाशनमा ल्याएका हुन् । २ सय ३५ पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य ५ सय रुपियाँ रहेको छ ।
===
२. समृद्धि सरोकार – अमृतनाथ तिमल्सिना
पत्रकार अमृतनाथ तिमल्सिनाको वैचारिक निबन्धहरुको सङ्ग्रह हो ‘समृद्धि सरोकार’ । शिक्षा, सामाजिक विकास, सहकारी र राजनीतिलाई केन्द्रमा राखेर ‘विकास बहस’माथि लेखिएका आलेखहरु सङ्ग्रहमा सङ्ग्रहित छन् ।
‘०५८ सालतिरबाट पत्रकारितामा संलग्न भई विभिन्न सञ्चारमाध्यममा संलग्न भई पत्रकारिताका विविध आयाममा ओडिएका पत्रकार तिमल्सिनालगायतको समूहले ६०–६१ सालतिर आफ्नै पहलमा पत्रिका प्रकाशन सुरु गरेको देखिन्छ ।’, पुस्तकमा प्रकाशकको तर्फबाट लेखिएको छ, ‘ललितपुरका विशेष गरी विकासमा पछाडि परेका क्षेत्रका विकासे सवालहरुलाई प्रधान विषयवस्तु बनाएर सुरु भएको पत्रकारिताले विकासको बहस, वैचारिक अभियान र विकासको सन्तुलनका मुद्धाहरुमा प्रशस्तै कलम चलाएको देखिन्छ । … शिक्षा, सामाजिक विकास, सहकारी र राजनीतिका केही प्रतिनिधिमूलक आलेख, जनकेन्द्रित पहल र विकासका बहसलाई पुस्तकमार्फत उठाउने यो प्रयास समृद्धिको महामार्गमा एउटा थप इँट्टा हुनेछ ।’
पुस्तकको अन्तिम कभरपृष्ठमा लेखिएको छ, ‘ब्रह्माण्डमा ७५ प्रतिशतभन्दा बढी योगदान रहेको हाइड्रोजन अणुको रुपमा पर्याप्त भए पनि प्रशोधनको हिसाबले कठिन भएको पाइन्छ । विभिन्न रुपमा हाइड्रोजनलाई प्रयोगमा ल्याउन भने सकिन्छ । प्राकृतिक ग्यासको रुपमा भन्दा बढी हाइड्रोजनलाई शक्ति राष्ट्रहरुले सामरिक स्वार्थ र आणविक शक्तिको रुपमा प्रयोग गरिरहेका छन् । प्रशोधन, संकलन, भण्डारण र आणविक सन्धी आदिका हिसाबले कानुनी चुनौतिहरु भए पनि हिम्मत गरेर अघि बढ्ने हो भने नेपाल जस्तो देशका लागि उर्जामा दीर्घकालीन विकल्प र अक्षुण्ण स्रोतको रुपमा हाइड्रोजनलाई लिन सकिन्छ ।’
पुस्तकलाई अर्थ मिडिया ग्रुपले प्रकाशनमा ल्याएको हो । १ सय ५० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
३. मैले नदेखेको सपना – डा. चन्द्र केसी
डा. चन्द्र गिरीको आत्मकथा हो ‘मैले नदेखेको सपना’ । नेपालको दुर्गम पहाडी जिल्ला खोटाङका जन्मिएर थाइल्याण्ड हुँदै अमेरिकालाई कर्मथलो बनाएका गिरी अन्तर्राष्ट्रिय स्तरका वातावरण वैज्ञानिक हुन् । उनी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार तथा ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसर छन् ।
पुस्तकका बारेमा युनिभर्सिटी अफ न्यु हेवेन, अमेरिकाका प्रोफेसर डा. कमलप्रसाद उपाध्याय लेख्छन्, ‘यस पुस्तकमा लेखकले आफ्नो जीवनको उतार–चढावको बारेमा बडो राम्रो ढङ्गबाट चित्रण गर्नुभएको छ । यो पुस्तक पढेपछि लाग्छ कि लगनशीलताका साथ मिहिनेत गर्ने र हरेश नखाने हो भने जीवनमा आफ्नो उदेश्य प्राप्त गर्न जरुर सकिन्छ । युवाहरुको लागि यो प्रेरणादायी पुस्तक हो ।’
त्यस्तै, साहित्यकार नीलम कार्की निहारिक लेख्छिन्, ‘नदेखेको सपनामा– गामवेसी छ । शहरको रहरसँगै कहर छ । देश–परदेश सबै छ । त्यहाँभित्रका रुढी, अज्ञानता, अशिक्षाको सजीव प्रस्तुति छ नै । वर्तमान भौगोलिक, भौतिक संरचना, भौगोलिक अवस्था, बद्लिँदो वातावरण अनि प्रभाव छ । विज्ञानले मारेको ठुलो फड्को पनि छ ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ४ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
४. मायाको आयतन – मधुसुदन घिमिरे
‘तिम्रो हत्केलामा मेरो नाम खोपिएको थियो
अनि, मेरो हत्केलामा तिम्रो
वर–पीपल साक्षी राखेर लाएको माया
थाहा छैन, खै आज कहाँ गयो
अनि आफूलाई जोगी बने भनौँ कि ज्योतिष ?
आज त्यही रुखमुनि बसेर
म आफ्नै हात हेर्दै दिन काटिरहेछु ।’ (पृ. २५, हत्केला)
फरक क्षमता भएका कवि मधुसुदन घिमिरेको कवितासङ्ग्रह हो ‘मायाको आयतन’ । यस सङ्ग्रहमा छोटा आयातनका १ सय २५ प्रेमिल भावका कविताहरु सङ्ग्रहित छन् ।
‘कवितालाई मन्त्र भन्छि । तर, सत्य यो पनि हो कि सबै कविता मन्त्र हुँदैनन् । त्यसैले काव्य लेखन यौटा यात्रा हो, अभ्यास हो कवितालाई मन्त्र बनाउने ।’, भूमिकामा कवि विप्लव प्रतीक लेख्छन्, ‘मधुसुदन त्यही यात्राका एक बटुवा हुन् । बडो सम्भावना बोकेका बटुवा । उनका कविताले नेपाली काव्याकाशमा पृथक् र मौलिक तस्बिर कोरेको छ, यो मेरो धारणा हो । र, उनका काव्यले कालान्तरमा काव्यअनुरागीहरुको मन–नयनमा स्थान लिनेछ, यो मेरो विश्वास हो । उनी काव्यपथबाट विचलित नहोऊन्, उनको साधना, अभ्यास र अध्ययन सँगसँगै चलिरहोस् – मेरो थुप्रै शुभेक्षा उनलाई ।’
०५७ सालमा बाग्लुङमा जन्मिएका घिमिरे जन्मजात दृष्टिबिहीन हुन् । मनोविज्ञान विषय लिएर स्नातक अध्ययन गरिरहेका घिमिरे मनोसामाजिक विमर्शकर्ताका रुपमा कार्यरत छन् ।
पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । १ सय ५७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।