रहेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् ।
हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्
‘प्रिय पाठकहरू,
तपाईंहरूले एउटा सैनिकलाई
मेरो कवितामा घुम्दै गरेको देख्नुभयो भने
विश्वास गर्नु कि
मैले उसलाई उसकै भाग्यमा छोडिदिएको छु ।
जसरी मैले एउटा अपराधीलाई छोडिदिएको छु
उसका बाँकी रहेका थुप्रै वर्षहरूका साथ
तिनले नै उसलाई मृत्युदण्ड दिनेछन् ।
(पृ. १४, हत्यारा सैनिकहरूलाई, अहलाम बशारत)
चुनिएका प्यालेस्टाइनी कविताहरूको नेपाली सङ्ग्रह हो, ‘आमाहरू कहिल्यै निदाउँदैनन्’ । यसको अनुवाद चन्द्र गुरुङले गरेका हुन् । गुरुङ विभिन्न समयमा लेखिएका फरक फरक कविका ४९ थान कवितालाई नेपालीमा अनुवाद गरी सङ्ग्रहको रूप दिइएका हुन् ।
‘प्यालेस्टाइनी जनताले भोगेको पीडा र अनुभूत गरेको आशा–निराशा सबै त्यहाँका कवि लेखकका सिर्जनामा स्पष्ट आइरहेका छन् ।’, पुस्तकमा गुरुङ लेख्छन्, ‘उनीहरूले ती भयावह अनुभवहरूलाई कविता, कथा र उपन्यासमा उतारी विश्व समुदायसम्म पस्किइरहेका छन् । आफूहरूले झेल्नुपरेको अपमान, छलकपट, उत्पीडन र अन्याय सबैलाई उनीहरूले सिर्जनात्मक रूपमा प्रस्तुत गरेका छन् । त्यस भूमिमा सिर्जित साहित्यमा उनीहरूको व्यथा प्रस्फुटित छ । साहित्यमा उनिएका पीडा, मन छुने अभिव्यक्ति एवम् मार्मिक रचनाहरूमा त्यहाँको समाज र दुःखको स्पष्ट अभिव्यक्ति छ । आशा र आत्मविश्वासको नयाँ पहाड उभ्याइएको छ, प्यालेस्टाइनी साहित्यमा । विश्व साहित्यमा आजको प्यालेस्टाइनी साहित्यको छुट्टै स्थान छ ।’
इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहको मूल्य ३ सय ९९ रुपियाँ रहेको छ ।
===
२. आन्छनका कथाहरू – चन्द्र मादेन आन्छन
साहित्यकार चन्द्र मादेन आन्छनका कथाहरूको सङ्ग्रह हो ‘आन्छनका कथाहरू’ । यस पुस्तकमा आन्छनले विभिन्न समयमा लेखेका मझौला आकारका १० कथाहरू सङ्ग्रहित छन् ।
‘समय र संयोगको बीचमा केही दूरी भएर होला, शारदीय घामले मौसममा थपेको न्यानोपनले निस्क्रिय बस्न लागेको घुमन्ते मान्छेलाई झकझक्याएर ब्यूँझाउँदो रहेछ ।’, पुस्तकमा समालोचक दीपक सुवेदी लेख्छन्, ‘मानिस जहाँ पुगे पनि आफू जन्मेको भूमि, हुर्केको आँगन, त्यस भूमि र परिवेशको संस्कृति, संस्कार अनि भाषा भने बिर्सन सक्तैन रहेछ । सायद यसै होला कथाका पात्रले यी कुरा बोकेर आएका छन् । चन्द्रका कथा पढ्दा पाठकलाई साँच्चै लाग्छ – कथा फगत कल्पना मात्र होइन, यथार्थ पनि पोखिन्छ कथामा ।’
त्यस्तै, भूमिकामा मनिष हेल्लोक लेख्छन्, ‘आन्छनका कथाहरूमा हरेक कथाका विषयवस्तुहरू आफ्नै विशेषतामा उतारिएका छन् । संवेग–आवेग, देश–विदेश, तीता–मीठा, राष्ट्र–राष्ट्रियता, तक्मा र गणतन्त्र, जनमुक्ति सेनासम्मको विषयदेखि विकृति, विसङ्गति, बेथितिको विरुद्ध अति नै मार्मिक र मर्मस्पर्शी साथै जीवनका गोरेटाहरूमा सामना गरेका व्यथाहरू समेत उल्लेख गरिएको कथासङ्ग्रहमा कथाकारकै मौलिक प्रेमको कुरा छन् ।’
पुस्तकलाई मञ्जरी पब्लकेसनले प्रकाशनमा ल्याएको हो । १० थान कथा सङग्रहित पुस्तकको मूल्य ३ सय ६५ रुपियाँ रहेको छ ।
===
३. रोयल घारघरे – राजकुमार श्रेष्ठ
साहित्यकार राजकुमार श्रेष्ठको पहिलो कृतिका रूपमा प्रकाशनमा आएको उपन्यास हो, ‘रोयल चारघरे’ । उपन्यासले नेपाली समाजको सुदूरपश्चिम र कर्णालीको रोदन, रोग, शोक र विभेदका साथै नेपाली युवाले भविष्य खोज्न विदेश जानुपर्ने भयावह अवस्थाको चित्रण गरेको छ ।
‘समग्रमा उपन्यास पढ्दा उनका बुबाप्रति घृणा उत्पन्न हुन्छ । उनी आफ्नो कर्तव्यदेखि विमुख भएको देखिन्छ ।’, भूमिकामा डा. रामकृष्ण आचार्य लेख्छन्, ‘छोराछोरीमाथि अन्याय गरेका छन् । उनको मूर्खताले घर ध्वस्त र परिवार तहसनहस भएको छ । बुबाले ध्वस्त बनाएको घर सम्हालेर बस्ने आमाप्रति सहानुभूति जाग्छ । माया लाग्छ । कठीन परिस्थितिमा पनि बालबच्चालाई पालनपोषण गरी कुशल अभिभावकको भूमिका निर्वाह गरेको देख्दा उच्च सम्मान गर्न मन लाग्छ ।’
त्यस्तै, जमुना कुँवर लेख्छिन्, ‘उपन्यासमा नेपाली समाजमा हुने वर्गीय विभेद, जातीय विभेद, आर्थिक असमानताका कुरा मात्रै देखिंदैन, बेरोजगारीको समस्या र वैदेशिक रोजगारिमा गएका परिवारको पीडालाई पनि पढ्न पाइन्छ । अभिभावकले अभिभावकत्व ग्रहण नगरिदिंदा एउटा परिवारको अन्य सदस्यलाई कति धेरै पीडा र संघर्षले घेर्छ भन्ने कुरा देखाएको छ ।’
पुस्तकलाई जन विहानी राष्ट्रिय मासिकले प्रकाशनमा ल्याएको हो । २ सय १२ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ५ सय रुपियाँ रहेको छ ।
===
४. विवेकको फिल्टर – डा. विष्णुप्रसाद गौतम
सिभिल इन्जिनिय डा. विष्णुप्रसाद गौतमको गैरआख्यान विधाको पुस्तक हो ‘विवेकको फिल्टर’ । पुस्तकलाई ‘केही आधारभूत चरित्र’, ‘मूल्यमान्यता’, ‘शिक्षा’, ‘पेशागत क्षेत्र’, ‘आर्थिक क्षेत्र’, शासन व्यवस्था’ र ‘राष्ट्रिय सोच र दृष्टिकोण’ गरी सात भागमा विभाजन गरिएको छ । आफ्ना अनुभव र अध्ययनलाई आधार बनाएर लेखकले पुस्तकमा व्यक्ति, समाज र राष्ट्रको समग्र विकास विकासका विविध पक्षहरू केलाएका छन् ।
‘विवेकको प्रयोग गरियो भने विचार र प्रवृत्ति छान्ने फिल्टर बनाउन सकिंदो रहेछ भन्ने यो किताब पढेपछि लाग्यो ।’, भूमिकामा कमल ढकाल लेख्छन्, ‘एउटा विशेष किसिमको फिल्टर परिकल्पना गरौं, जसले उपयोगी विचार छिर्न दिने तर कुविचार वा गलत प्रवृत्तिको असर पर्न नदिने काम गरोस् । हामी सबैले त्यस्तो विवेकजडित फिल्टर प्रयोग गर्नु आजको आवश्यकता भएको छ । यसो गर्न सके कति जाती हुन्थ्यो भन्ने पढिरहँदा लाग्यो ।’
पुस्तकको प्रारम्भमा लेखक गौतम लेख्छन्, ‘आजको युवा पुस्ताका लागि विवेकको फिल्टर आवश्यक छ । युगौंयुगदेखि प्रसारण हुँदै आएका र नयाँ नयाँ विकास हुँदै गरेका सबै खाले गलत प्रवृत्तिबाट मुक्ति विवेकको फिल्टर प्रयोगबाट मात्र सम्भव छ ।’
पुस्तकलाई सिमल बुक पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो । ४ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय रुपियाँ रहेको छ ।
===
५. विशृङ्खलित सपना – गोपी मैनाली
साहित्यकार गोपी मैनालीको नवीनतम कथासङ्ग्रह हो ‘विशृङ्खलित सपना’ । सङग्रहमा सङ्ग्रहित सत्रवटा कथामा नियतिबाट लघारिएका, समयले लेखेटेका, मीठो सपना सँगालेका तर असुरक्षित यात्रा भोगेका मानिसका अनुभूति भेटिन्छन् ।
हामी सबै उस्तै उस्तै कथा हौं भन्ने गोपी मैनाली मानवीय संवेग, आवेग र उद्वेगलाई शिल्पपूर्ण प्रस्तुुति गरेपछि कथा हुन्छ भन्दछन् । उनको कथासङ्ग्रह ‘विश्रृङ्खलित सपना’ अहिलेको पुस्ताको जीवनका भोगाइहरुको मिठो प्रस्तुति हो । संवेदना भएका सबै मानिस कथा भए पनि प्रत्येकका कथा फरक हुन्छन्, किनकी संवेदनावोध, अनुभूति र कथा फरक हुन्छन् ।
‘विश्रृङ्खलित सपना’ अहिलेको समय, अहिलेको समाज, र अहिलेको पुस्ताको कथा हो । जतिखेर पनि मीठो सपना र जीवनको स्वतन्त्रता खोज्ने हामीरू कसरी विश्रृङ्खलित हुन्छौं भन्ने सामाजिक चित्रण मैनालीका कथाले दिएका छन् । उनी आफैं भन्छन् ‘अरुको कथा पढेर, सुनेर, हेरेर, देखेर रमाउने मन कहिलेकाहीं आफ्नै कथामा आइपुग्छ ।’
मैनालीका कथा समाजका तिनै वास्तविकता हुन् जो भोगिए तर लेखिएनन, जो देखिए तर वास्ता गरिएनन्, जो मनभरि छन् तर सतहमा ल्याइएनन् । निबन्ध र समालोचना विधामा अलग्गै छाप छाडेका सर्जक मैनाली पहिलो कथाङ्ग्रहबाट आफ्नो उपस्थितिको दर्बिलो सूचना दिन सफल भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।