
भारतीय नेपाली समालोचना सन्दर्भिका सम्बन्धी केही कुरा
डा इन्द्रबहादुर छेत्री
निर्माणात्मक कार्यमा खुरुन्धार रुपमा लागिपरेका जोशिला भरपर्दा समालोचक हुनुहुन्छ श्री नवीन पौड्याल। यस पुस्तकसम्बन्धि डा. कृष्णराज घतानीले यस्तो मन्तव्य पोखेका छन्। भारतीय नेपाली साहित्यमा विधागत रुपमा देख्न पाइने समालोचना क्षेत्रको यस सन्दर्भिका कृतिले विगतदेखि वर्तमानसम्मको तथ्यहरु खोजेर एउटा ठुलो अन्तराल नै परिपूर्ति गरेको मान्न सकिन्छ। सुरुदेखि अद्यतन भारतीय नेपाली समालोचना र समालोचकहरुको आवश्यक उपस्थिति बुझ्न पाउनु यस कृतिको थप महत्व हो। कृतिकार नवीनले निकै लामो परिश्रम पछि यस प्रकारको कार्य सम्पन्न गरेका छन्।
समालोचना परजीवी विधा हो र यो एक प्रकारले निर्माणात्मक कला पनि हो भन्ने विद्वानहरुको विचार पाइन्छ भने समालोचना जस्तो बौद्धिक विद्याका सर्जकहरुलाई वर्णानुक्रमअनुसार सजाएर समालोचक सन्दर्भिका जस्तो कोश तयार गर्नु भारतीय नेपाली समालोचनाको इतिहासमा एउटा ठुलो अभाव पूर्ति हो। उक्त सन्दर्भिकाको सन्दर्भमा आफनो विचार पोख्दै डा. परसुराम पौड्यालद्वारा यस्तो मन्तव्य पोखिएको पाइन्छ – “भारतीय नेपाली साहित्य संसारमा नवीन पौड्याल कुनै अपरिचित व्यक्ति होइनन्। बाह्रौं श्रेणीमा अध्ययनरत हुँदा नब्बेकै दशकमा ष्सुमार्ग नामक हस्तलिखित पत्रिका सम्पादन गरिसकेका नवीनले हुने बिरुवाको चिल्लो पात भन्ने लक्षण सानै उमेरमा देखाएका थिए।”
यस पुस्तकका लेखक प्रा. श्री नवीन पौड्याल पुस्तक लेखिनुको कारण प्रष्ट पार्दै यसो भन्नुहुन्छ – “सन् २०२० को कोरोना महामारीको कारणले देशव्यापी लकडाउन भयो अनि घरमा त्यसै बस्दा यो सन्दर्भिका तयार गर्ने जॉंगर चलेको हो। उहॉंको यस उक्तिलाई अघि सार्दै यसो भन्न सकिन्छ य उहाँले जॉंगरलाई कार्यान्वित गर्नुभएको हुनाले नै आज भारतीय नेपाली साहित्यको क्षेत्रमा समालोचनाको सन्दर्भिका जस्तो कोश तयार भएर नेपाली साहित्य भण्डारमा अनुसन्धानात्मक कृति थपिन पुग्यो।
भविष्यमा अरु सन्दर्भिका लेखिएलान् तर समालोचना सन्दर्भिकाको इतिहासमा भने श्री नवीन पौड्यालकृत यस समालोचना सन्दर्भिका कृतिले भारतीय नेपाली समालोचना सन्दर्भिकाको इतिहासमा साहित्यमा माइल खुट्टी भएर दीप जलाइरहने छ। यसर्थ, यो जॉंगर चलाउने कार्यले ठुलो उपलब्धि हासिल गरेको मान्न पर्दछ। प्रथम त यस समालोचना सन्दर्भिकाले भावी अनुसन्धान कर्ता वा अन्वेषकहरुलाई कार्य गर्नको निम्ति सजिलो खुड्किलो निर्माण गर्ने कार्य गरेको छ। यसै सिलसिलामा यस पुस्तक लेखनको मूल प्रेरणा स्रोत भने साहित्यकार कुमारप्रसाद कोइरालाद्वारा प्राप्त भएको हो भन्ने कुरा लेखकबाटै बुझिन्छ।
यस पुस्तक तयार गर्नुको मुख्य उद्देश्य पहिल्याउने क्रममा सृजनात्मक रचना कृतिहरुको अन्वेषण अनुसन्धान र व्याख्या, विश्लेषण आदि गर्ने कार्य समीक्षक, समालोचक र टिप्पणीकार आदिले गर्ने गर्दछन् र साहित्य जगतमा यी सृजनाहरुको मूल्याड्कन हुने गर्दछ अनि ती रचनाहरुको संरक्षण तथा गुणस्तरीयता आदिको लेखाजोखा पनि समालोचनात्मक कार्यद्वारा नै हुने गर्दछ। यद्यपि यस्ता सृजनाकारका कृतिहरुका अध्ययन मनन गरेर लेखाजोखा गर्ने समालोचकहरुको चाहिॅं कसले संरक्षण गर्ने ? भन्ने प्रश्नको उत्तरमा प्रस्तुत पुस्तक समालोचना सन्दर्भिका उभिएको पाइन्छ।
प्रस्तुत पुस्तकमा मूल रुपमा समालोचनाको परिभाषा स्वरुप र प्रकारहरुको विस्तृत जानकारी दिइएको पाइन्छ। साथै भारतीय नेपाली साहित्यमा समालाचनाको विकास र परम्पराको इतिहास पनि विस्तृत रुपमा चर्चा परिचर्चासँगै प्रकाश पार्ने कार्य गरिएको छ। सन् १९२२ मा सूर्यविक्रम ज्ञवालीको नैवेद्य समालोचना भारतीय भूमिमा सृजना भएकोले यसै समालोचना कृतिसँगै भारतीय नेपाली समालोचना लेखन कार्यको शंखनाद् भएको विषयलाई सन्दर्भिकाका कोशकारले उल्लेख गरेको पाइन्छ।
त्यसपछि यस पुस्तकमा सन्दर्भिका कोशकारले नेपाली समालोचनाको सैद्धान्तिक पक्षको इतिवृत्त केलाएर प्रकाश पार्दै भारतीय नेपाली समालोचनाको विकास परम्परालाई चार चरणमा विभाजन गरेर विभिन्न चरणहरुका समालोचनात्मक धारालाई खुटयाउने कार्य गरेको पाइन्छ।
पहिलो चरण वा प्रारम्भिक काल- सन् १९२२ देखि सन् १९४१
दोस्रो चरण- सन् १९४२ देखि सन् १९६५
तेस्रो चरण – १९६६ देखि १९९९
चौथो चरण – सन् २००० देखि हालसम्म।
यसरी चरण विभाजनको स्वरुपलाई अध्ययन गर्दा लेखकले प्रत्येक चरण विभाजन कार्य गर्दा युक्तिसंगत ढॉंचाले उल्लेख्य र महत्व विषयलाई उठान गरेर प्रत्येक चरणको समय सीमाड्कन गरेको पाइन्छ। पहिलो चरणमा सूर्यविक्रम ज्ञवालीद्वारा शुरुवात् गरिएको समालोचना लेखन परम्परालाई अघि बढाएर पारसमणि प्रधान आदिले भारतीय नेपाली समालोचनाको घड़ेरीलाई बलियो बनाएको प्रसंगलाई विस्तृत रुपमा चर्चा परिचर्चा गरिएको पाइन्छ।
दोस्रो चरणको प्रारम्भ विन्दुको रुपमा रामकृष्ण षर्माको समालोचनाको क्षेत्रमा प्रादुर्भाव भएपछि मानिएको छ र यस दोस्रो चरणमा धेरै समालोचकहरुले समालोचनाको क्षेत्रमा योगदान दिए तापनि उल्लेखनीय रुपमा रामकृष्ण षर्मा र गणेषलाल सुब्बा जस्ता यस चरणका प्रतिनिधि समालोचकहरु रहेका विषयलाई लेखकले उल्लेख गरेका पाइन्छन्।
तेस्रो चरण सन् १९६६ देखि सन् १९९९
यस चरणमा इन्द्रबहादुर राईका टिपेका टिप्पणीहरु सन् १९६६ मा प्रकाशित भएपछिको समयदेखि सन् १९९९ सम्मको समयलाई तेस्रो चरण मानिएको छ। यस तेस्रो चरणमा प्रा. पौड्यालले इन्द्रबहादुर राई बाहेक समालोचनाको क्षेत्रमा योगदान दिने अन्य समालोचकहरुका योगदानसम्बन्धि पनि विस्तृत परिचय दिएर विश्लेषण गर्ने कार्य गर्नु भएको छ।
जसमा यस चरणका केही उल्लेखनीय समालोचकहरु यस प्रकार रहेका पाइन्छन्- भाइचन्द प्रधान, अगमसिॅह गिरी, महानन्द पौड्याल, कुमार प्रधान, राजनारायण प्रधान, लक्खीदेवी सुन्दास, कमला सास्कृत्यायन, रामलाल अधिकारी, नरबहादुर दाहाल, जगत छेत्री, गुमानसिॅह चामलिङ, भीमकान्त उपाध्याय, रत्न बान्तवाए, शरद् छेत्री, प्रेम प्रधान, सूर्यकुमार सुब्बा, जीवन नामदुंग, प्रतापचन्द्र प्रधान, नरेशचन्द्र खाती, मोहन पी दाहाल, घनश्याम नेपाल, शान्तिराज शर्मा, हस्त नेचाली, अर्जुन प्रधान, बी योन्जन, कृष्ण प्रधान, युवाराज काफ्ले, गोकुल सिन्हा, रुद्रराज मास्के, हरेन आले, एम. पथिक, कुमार छेत्री, ललिता राई अहमद, जस योन्जन प्यासी, असीत राई, डी. कुमार परियार, मोहन ठकुरी, मनप्रसाद सुब्बा, शान्ति छेत्री र शोभाकान्ति थेगिमहरुले भारतीय नेपाली समालोचनाको क्षेत्रमा योगदान दिएर यस विधालाई फाँटिलो र मलिलो बनाएका विषयलाई विस्तृत रुपमा व्याख्या विवेचना गरिएको पाइन्छ।
चौथो चरण सन् २००० देखि हालसम्म
लेखक प्रा. श्री नवीन पौडे्लले सन् २००० देखि यताको चरणलाई समालोचनाको विस्तारवादी चरणको रुपमा लिएको देखिन्छ। यस चरणमा नयॉं नयॉं समालाचकहरुले नेपाली समालोचना लेखन कार्यको क्षेत्रमा प्रवेश गर्नका साथै यी समालोचकहरुबाट बविभिन्न सैद्धान्तिक, व्यवहारिक, प्रायोगिक र वस्तुवादी पक्षहरुलाई आत्मसात गर्दै समालोचनाको विकासमा योगदान दिने कार्य यी समालोचकहरुबाट भएको छ र ती समालोचकहरुको कार्य कृतिलाई गहन अध्ययन गरेर तिनीहरुको सैद्धान्तिक पक्षलाई केलाइएर प्रवृति र धारालाई प्रकाश पार्ने कार्य पनि गरिएको पाइन्छ।
प्रस्तुत पुस्तकमा श्री पौड्यालले समालोचनाको पद्धति र सैद्धान्तिक पक्षहरुको आधारमा भारतीय नेपाली समालोचनालाई नियाल्ने प्रयास गरेको पाइन्छ। यस सिलसिलामा उहॉंले समालोचनाको वर्गीकरण वा भेद प्रस्तुत गरेर देखाउनु भएको छ। प्रस्तुत पुस्तकमा उल्लेख गरिएका समालोचनाका भेदहरु निम्न प्रकारका रहेका पाइन्छन्- १. सैद्धान्तिक, २. व्याख्यात्मक, ३. निर्णायात्मक, ४. तुलनात्मक, ५. प्रगतिवादी, ६.इतिहासपरक, ७.मनोविष्लेसनात्मक, ८. षैली विज्ञानपरक, ९. विधागत, १०. परिरवेश पर्यावरणमूलक, ११. व्यक्ति केन्द्रीपरक, १२. कृति केन्द्रीपरक, १३. शैक्षणिक, १४. प्राज्ञिक, १५. नारीवादी, १६. भाषा केन्द्रीपरक जस्ता समालोचनाका प्रकारहरु रहेका विषयलाई प्रकाश पार्दै तत् सम्बन्धी व्याख्या विश्लेषण पनि गरिएको पाइन्छ।
प्रस्तुत कृतिका स्रष्टा प्रा. श्री नवीन पौड्यालज्यूले यस कृतिका निम्ति अथक परिश्रम गर्नु भएको अनुभव हुन्छ। सम्पूर्ण समालोचनात्मक कृतिहरुको गहन अध्ययन गरीकन प्रत्येक कृतिलाई वर्गीकरण गरेर विश्लेषण गरिएको पाइन्छ जुन विषय अत्यन्त सह्रानीय रहेको छ।
यस समालोचना सन्दर्भिका कृतिले समालोचनाको इतिहासमा पूर्ण रुपमा सन्दर्भिकाको विशेषण बोकेर उभिएको छ भन्दा अत्युक्ति नहोला। किनभने यस ग्रन्थमा लेखकद्वारा समालोचनाका प्रमुख ग्रन्थसहित भारतबाट प्रकाशित नेपाली समालोचनाका पुस्तकहरुका सूची समेत दिने सुक्ष्मातिसुक्ष्म कार्य गरिएको छ।
यस क्रममा समालोचनात्मक लेख संकलित र सम्पादित पुस्तकहरुका सूची, त्यस्तै अभिनन्दन स्मृति ग्रन्थ र विशेषाङ्क पुस्तकहरुका सूची तथा अनुदित समालोचना पुस्तकहरुका सूची, साहित्य अकादमी नयॉं दिल्लीबाट प्रकाशित जीवनीमूलक पुस्तकहरुका सूची, स्वतन्त्र रुपमा लेखिएका साहित्यिक जीवनीमूलक पुस्तकहरुका सूची अनि एकल सर्जक केन्द्रित समीक्षात्मक लेख संकलन भएका पुस्तकहरुका सूची, समालोचना प्रधान पत्रिका जर्नलहरुको सूची, समालोचना विशेषाङ्क भएका पत्रिकाहरुको सूची, यस्तै एकल सर्जक समीक्षाकेन्द्रित विशेषाङ्क पत्रिकाहरुको सूची र अन्तमा विभिन्न विषयमा संगोष्ठी सम्पन्न पत्रहरुका संकलन पुस्तक सूची दिएर लेखक पौड्याल महोदयले सन्दर्भिकाको आत्मामा प्राण संचार गर्ने कार्य गरेको पाइन्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










