आमुख –

विश्व साहित्यमा केही चिन्तक र सिद्धान्तकारहरूले प्रभाव जमेका छन्। हाम्रा निम्ति विश्व साहित्य भनेको पूर्वीय र पाश्चात्य गरी दुईवटा मूल वर्गीकरण गरिएको पाइन्छ। पूर्वीय भन्नाले संस्कृत र यसबाट विकसित भएका आधुनिक आर्यभाषाहरूको समग्र सिद्धान्त, अवधारणा र चिन्तन परम्परालाई बुझिन्छ भने पाश्चात्य भनेको युरोपेली र अमेरिकी साहित्यलाई समग्रमा बुझिन्छ। विश्वमा वैज्ञानिक उन्नतिसँगसँगै बौद्धिक विकास पनि भयो। नयाँ नयाँ विचार, सिद्धान्त, अवधारणा विकसित भए। साहित्यमा पनि नयाँ नयाँ चेतना, सिद्धान्तको विकास भयो।

समालोचनाको अर्थ र पद्धति –

साहित्यका मूल दुईवटा अङ्गका रूपमा सृष्टि र दृष्टि हुन्छन्। कथा, कविता नाटक, निबन्ध, उपन्यास आदि साहित्यिक विधाहरू सृष्टि हुन भने यी सृष्टिहरूको अध्ययन गरी तिनको गुण दोष केलाउऩु दृष्टि हो। सृष्टिका निम्ति सृजना, सिर्जना, रचना जस्ता शब्द पनि प्रयुक्त हुन्छन्। दृष्टिका निम्ति मूल रूपमा आलोचना शब्द प्रयुक्त हुन्छ। रचनाको आलोचना हुनु आवश्यक हुन्छ। यी दुवै एकै सिक्काका दुईवटा पाटा हुन। ‘सम र आलोचनाको योगबाट समालोचना शब्द निर्मित भएको हो। लोच धातुमा आ उपसर्ग र ल्युट् प्रत्यय लागेपछि स्त्रीलिङ टाप् प्रत्यय जोडिँदा आलोचना शब्द निर्मित हुन्छ। संस्कृत व्युत्पत्तिअनुसार आलोचनाको अर्थ आ समन्तात् लोचनम् अवलोकनम् भन्ने हुन्छ र यसै शब्दभित्र नै सन्तुलित एवम् नियन्त्रित रूपमा साहित्यिक कृतिलाई जाँच्नु, हेर्नु भन्ने अर्थ निहित भएको पाइन्छ।’ (२०५५ : कँडेल)। आलोचना, समालोचना, समीक्षा, विवेचना, चर्चा, परिचर्चा, अनुशीलन, परिशीलन, दृष्टि, परख आदि शब्दका आ-आफ्ना अर्थका परिसीमा भए तापनि समग्रमा पर्यायवाची शब्दकै रूपमा प्रचलित छन्। यद्यपि समग्रमा समालोचना भन्ने शब्द नै अधिक प्रचलित छ।

मनोविश्लेषणात्मक समालोचना –

विशेषगरी सिग्मण्ड फ्रायडद्वारा प्रतिपादित मनका विभिन्न सिद्धान्त र अवस्थाको विश्लेषण गरेर लेखिएको यस्तो समालोचना भारतबाट लेख्ने थोरै छन्। मानवीय मनका अचेतन अवस्थाका विभिन्न तह, स्वप्न सिद्धान्त, प्रतीकात्मक अध्ययन, यौनमनोविश्लेषण ईदम् अवस्था र लिबिडोको बारेमा लेखिएका समालोचना मनोविश्लेषणत्मक समालोचना हो। यद्यपि सिगमाण्ड फ्रायडबाहेक उनको परवर्ती मनोविद्हरू जस्तै अल्फ्रेड एडलर, कार्ल गुस्ताफ जुङ, एरिक फ्राम, लकाँ आदिका नयाँ नयाँ मनोविश्लेषात्मक सिद्धान्तका आधारमा भने लेखिएका त्यति पाइन्न।

नवीन पौड्याल (कालिम्पोङ)

लकाँ – परिचय र संक्षिप्त जीवनवृत्त –

मनोविश्लेषणात्मक समालोचनाको क्षेत्रमा ज्याँ लकाँको स्थान महत्वपूर्ण छ। उनलाई नेपालीमा लकान, लाकन, ल्याकन, लाक आदि उच्चारित गरिन्छ तर मूल रूपमा लकाँ नै लेखिने गरिन्छ। उनको जन्म १९०१ मा फ्रान्सको पेरिसमा क्याथोलिक धर्मावलम्बी र मध्यवर्गीय परिवारमा भएको थियो। उनी औपचारिक रूपमा एक चिकित्सक थिए। उनको जीवनका अधिकांश समय फ्रायडेली मनोविश्लेषणका प्रचार र विस्तारमा बितेको थियो। भिन्से विश्वविद्यालयको champ Freudian विभागको अध्यक्ष रहेका थिए। उनको मृत्यु १९८१ मा भयो। उनले नवफ्रायडवादलाई अघि बढाएर यसको फाँट अझ विस्तार गरेका हुन्। उनको नवफ्रायडवादले साहित्यिक कृति वा पाठकका शब्दका खेलमा विशेष ध्यान दिई साहित्य समालोचनामा मनोविश्लेषणात्मक नयाँ आयाम उद्घाटित गरेको छ। उनले अवचेतन सांकेतिक र संकेतकका साथै अरू नयाँ परिभाषित जटीलता थपी तिमीहरूले अझ एक अर्को अवचेतन तन्तुसँग अन्तरक्रिया गर्ने अनि सम्बन्धका स्तरमा यिनको अर्थ हुने कुरालाई औंल्याइँ भाषिक प्रतीक संरचना र मनोविश्लेषणवाद बीच नयाँ साँघु खडा गरेको ठानिन्छ। (बासुदेव त्रिपाठी, पा. स. सै. परम्परा, पृष्ठ १७७)। उनले आफ्ना सिद्धान्तहरूका शृङ्खलाबद्ध रूपमा संगोष्ठीमा प्रस्तुत गरेका थिए। ती संगोष्ठी पत्रहरूको संकलन Ecripts भन्ने ग्रन्थमा प्रकाशित भएका थिए।

लकाँ र फ्रायड –

लकाँ मूल रूपमा सिग्मण्ड फ्रायडको मनोविश्लेषणको सिद्धान्त प्रचारक थिए। फ्रायडकै सिद्धान्तलाई नै आफ्नो मूल आधार बनाएका थिए । दुवै जनाको अध्ययनको केन्द्र मानव मनोविज्ञान हो । उनी फ्रायडलाई नै आफ्ना आदर्श गुरू मानी विस्तार गर्न चाहन्थे । फ्रायडकै सैद्धान्तिक आधार लिएर आफुले व्याख्या गर्न थालेका भए पनि पछि भने आफ्नै मौलिक चिन्तन र सिद्धान्तको निर्णाण भएको हो। समग्रमा भने उनले फ्रायडलाई न पूरा स्वीकार गरे न पूर्ण अस्वीकार। उनले फ्रायडीय समस्यात्मक विचारका जटिलतालाई ज्ञानको नयाँ परिप्रेक्ष्यको कुँजीले खोल्ने प्रयत्न गरे। फ्रायडले मनको विभाजन  दुईवटा विषयका आधारमा गरेका छन्- गत्यात्मक र आकारात्मक। गत्यात्मक मनका तीन तीन अवस्था हुन्छ- इदम, अहम र पराहम। आकारात्मकका पनि तीनवटै अवस्था छन्- चेतन, अर्धचेतन र अचेतन। यता लकाँले पनि मनलाई यीनै माथिका तीन तहमा हेरे यद्यपि व्याख्या भने आफ्नै मौलिक किसिमको भएको छ। उनले अचेतनको अवस्थालाई भाषासित जोडेर नयाँ अध्ययनको ढोका खोलेका हुन्। लकाँको संरचनात्मक भौतिक छ। फ्रायडको सहजवृत्यात्मक र लिबिडोमूलक छ अनि लकाँली कल्पनामूलक छ। कल्पनाको काम हो भावना र भावनालाई उत्तेजित पार्नु। फ्रायडेली अचेतन ठिक र बेठिकको र असल र खराबको ज्ञान राख्दैन, सुख सिद्धान्तले परिचालित छ। त्यो भाषाको ज्ञानसित अनभिज्ञ छ। यता लकाँले संरचनात्मक भाषाविज्ञानको सहारा लिएर भने कि अचेतन भाषा झैं संरचनात्मक हुन्छ। अचेतन भाषा , वाक्‌को मूल रूप हो जो वक्ताका बोलीमा प्रतिफलित हुन्छ, जो वाक्‌कलाका विभिन्न रूपमा प्रकटित हुन्छ- अलङ्कृत हुनु, एषणाले उत्तेजित हुनु विशेषता हो। लकाँले अचेतनलाई फाटो (रप्चर) भनेका छन्। फ्रायडीय अचेतन भने चेतन होसमा नभएको बेला, त्रुटीका क्षणमा, सपना ठट्टा आदि अभिव्यक्ति दिन्छ। लकाँले पनि चेतन रडकनु अचेतनको बिगबिगी बढ्नु हो, कामविकृति मानवीय इच्छाको संरचनात्मक फरकपन हो

लकाँ र जुङ्ग –

सिग्मण्ड फ्रायडका चेला र एक महान मनोविश्लेषक कार्ल गुस्ताफ जुङ्गको सिद्धान्तसित पनि लकाँको मनोभाषाविज्ञानको सम्बन्ध रहेको छ। जुङ्गले अचेतनलाई साइकीको शब्दका रपमा लिए भने लकाँले पनि साइकी नै प्रयोग गरेका छन्। लकाँको इगो जुङ्गको साइकीसँग मिल्दो छ। उनले इगोको स्वायत्ततालाई तहसनहस पार्न कुनै कसर बाँकी राखेनन्। उनको भनाइमा मानवीय चित्त (साइकी) को बारेमा फ्रायडको अन्वेषण यस्तो स्तब्धकारी थियो कि पछिबाट अप्रीतिकर ठानेर दमन गरिय। उनले इडको विक्षुब्ध संवेगहरूलाई विशेष ध्यान दिएका छन्। जुङ्गले प्रतिपादन गरेको आद्यबिम्ब लकाँको बालकको ऐना प्रकरणसित तुलनीय छ। जुङ्गले अचेतनको व्याख्या गर्ने क्रममा मानिसमा पुराना स्मृति, छाप पूर्वज अनुभव, स्वभावको प्रभाव आदिको भूमिका देख्छन्।

लकाँ र सस्युर –

लकाँको क्षेत्र मनोविज्ञान र भाषा दुवै हुनाले उनी मनोविज्ञानमा फ्रायडका व्याख्यता थिए भने भाषा क्षेत्रा उनी सस्युरबाट प्रभावित थिए। उनले सस्युरको संरचनात्मक भाषाविज्ञानलाई नै लकाँले भाषिक सैद्धान्तिक आधार लिएर मनोविज्ञानसित मिश्रण गरी आफ्नोमौलिक मनोभाषाविज्ञानको सिद्धान्तको प्रिपादन गरेका हुन्।

लकाँको मनोभाषावैज्ञानिक समालोचना सिद्धान्त –

भाषाविज्ञानको एक शाखा मनोभाषाविज्ञान हो। यसमा भाषिक व्यवहारको आन्तरिकतामा रहेका मनोवैज्ञानिक प्रक्रियाहरूका बीचको सम्बन्धको अध्ययन गरिन्छ। मनोविज्ञानका आधारपमा भाषाविज्ञानको अध्ययनको दुईवटा शाखा छन्- बालकमा भाषाको विकासको आनुभाविक अध्ययन र ख) मनोवैज्ञानिक प्रक्रियाहरूको प्रायोगिक प्रयोगशालीय अध्ययन। प्रयोगशालीय अध्ययनमा बोली उत्पादन र बोधमा पर्ने प्रभावका साथै बोलीको योजनाकरण, श्रवण प्रत्यक्षीकरण आदिमा रहेका मनोवैज्ञानिक परिसीमाकहरूका पर्भावको अध्ययन पर्दछन्। (चक्रपाणी खनाल, भाषाविज्ञान शब्दकोश, विराटनगर, सरस्वती प्रकाशिन, २०६४, पृष्ठ १५६।)

लकाँले मनोविज्ञानको सम्बन्ध भाषासित जोडेर निर्मित सिद्धान्त नै मनोभाषावैज्ञानिक हो। उनले भाषा र मनोविज्ञानलाई मिश्रण गरेर यस सिद्धान्तको सुत्रपात गरेका हुन्। उनका अनुसार भाषाको साथसाथै अचेतन मन पनि सक्रिय हुन्छ। भाषा भनेको रूपक र श्लेष जस्ता वाक्कलाको खेल हो जहाँ अचेतन समावेश हुन्छ। भाषाले दुवैतिरको काम गर्छ। एकातिर बाबुको नियमले मान्छेलाई बाँध्दछ अर्कोतिर अचैतनिक प्रेरणामा त्यसलाई तोड्ने ढोका पनि खोल्दछ। पराहमको विकास नै द्वैतवादलाई खुला किसिमले भयो। उनका अनुसार बाबु दुईवटा छन्:- आदिम बाबु र समकालीन बाबु। पराहम बाबुको प्रकारान्तरित रूप हो, नियमको तरङ्ग हो। आदिम बाबुले छोराहरूलाई खेदेर मनग्य आइमाइ र सम्पत्ति राख्थ्यो। उसमाथि विधि र कानुनको अङ्कुश थिएन। समकालीन बाबु भने विधि र कानुनमा बेरिएको छ। यी दुवैको उत्तराधिकारी पराहम एकातिर अङ्कुश लगाउँछ अर्कातिर त्यसलाई शिथिल पनि पार्छ। अचेतनलाई सहजता दिन्छ। बाबु र लिङ्गजस्ता पदहरूले रिक्त भएर प्रतीकको काम गरेझैं बध्यता (क्यास्ट्रेसन) ले पनि प्रतीकको ठाउँ लिन्छ। कुनै कृतिमा बाह्य संसारको भन्दा मानसिक संसारको बढी चित्रण- वर्णन हुन्छ। कृतिभित्र पात्रगत मनका विविध अवस्थाहरूको व्याख्या-विश्लेषण गरी तिनलाई भाषासित जोडेर हेर्नु नै मनोभाषावैज्ञानिक समालोचना हो।

उनको उत्तर संरचनावादी मनोविश्लेषणका केही मह्त्वपूर्ण अवधारणाहरूमा – ल होमलेट, ऐना प्रकरण प्रतिविबम्ब पद्धति, संकेतिक पद्धति र वास्तविक। ला होमलेटको प्रारम्भिक अवस्थामा शिशुले उसको व्यक्तिगत अहम वा म भन्ने कुरालाई ठम्याउनु सक्तैन। यो अवस्था फ्रायडले व्याख्या गरेको इडिपल अवस्थाभन्दा पूर्वको अवस्था हो। यस अवस्थामा शिशुले उसको र आमाको शरीर एकै हो भन्ने ठान्दछ। शिशुले आफु भएको वा अहम् को भाव भने ऐना प्रकरणको अवधिमा प्राप्त गर्छ। लकाँको मूल सिद्धान्तनै ऐना प्रकरण हो। उक्त प्रकरण शिशु महिनादेखि १८ महिना हुञ्जेल कुनै पनि समयमा घटित हुनसक्छ। यसमा शिशुले उसको प्रतिरूप ऐनामा देख्दछ र त्यो प्रतिरूपलाई म त्यही हुँ भनी रमाउँछ, आनन्दित हुन्छ। ऐनामा देखिएको आम-प्रतिबिम्ब (Self Reflection) सँगको साक्षात्कारसँगै उसको व्यक्तिगत अहमको सिर्जना हुँदछ। एकातिर शिशु ऐनामा देखिएको प्रतिबिम्बलाई त्यो मै हुँ भन्दै रमाएको हुन्छ भने अर्कोतिर त्यस प्रतिबिम्ब र आफ्नो शरीरबीचको दूरी वा बेमेलको भान पाएर पीडा वा पृथकता (Alienation) को अनुभूति पनि गर्दछ। ऐनामा देखिएको प्रतिरूपको एउटा प्रष्ट आकार र स्वरूप हुन्छ। यस विपरीत शिशुले उसको जैविक शरीरलाई भने अव्यस्थित र अनियञ्त्रित नै पाउँछ। न उसले आफू र आफ्नी आको सरीरबीचको विभाजनलाई प्रष्टसँग बुझ्न सक्छ न दिसा पिसाब फेर्नेजस्ता शारीरिक प्रक्रियालाई नै राम्रो सँग नियञ्त्रण गर्न सक्छ। त्यसैले एकातर्फ शिशुले आफ्नो शरीरलाई अनियञ्त्रित अनुभूति वा मानव अमलेट का रूपमा अनुभव गर्छ भने अर्कोतर्फ स्पष्ट रूपले देखिएको आफ्नै शरीरको प्रतिबिम्बलाई ऐनामा हेर्दछ। जैविक शरीरको अनियञ्त्रित अनुभूति र ऐनाको प्रष्ट प्रतिबिम्ब बीचको बेमेल यसैकारण गर्दा उसले पीडायुक्त पृथकताको अनुभव गर्दछ। ऐना प्रकरण शैशव अवस्थामा भए पनि यसै अवधिभित्र घटित हुने परिकल्पना पद्धति भने मानिसको जीवनभरि चलिरहन्छ। जसरी शिशुले ऐनाको प्रतिबिम्बलाई हेरेर म त्यो हुँ भनी अनुभव गर्छ त्यस्तै गरेर पछि उसले नयाँ नयाँ व्यक्ति, वा समूहहरूसँग एकत्व स्थापित गर्दै परिचयका नयाँ आयामहरू जोड्दै लैजान्छ। उदाहरणका निम्ति अलिक ठुलो भएपछि त्यो बालकलाई म त्यो नायक हुँ वा त्यो नायक झैं हुनचाहन्छु भन्ने विचारले समात्छ। टेलिभिजन वा सिनेमाको परदाले पनि बालकको निम्ति ऐना प्रकरणको ऐनाले झैं काम गर्दछ। त अब त्यो पर्दा वा ऐनामा बालकले आफ्नो प्रतिबिम्ब देख्छ। सको हाउभाउको नक्कल गर्न थाल्छ र त्यो नायकककै जस्त गरेर हिँड्ने अभ्यास गर्न थाल्छ। शैशवकालमा ऐनामा देखिएको आफ्नै प्रतिबिम्ब हेर्दै रमाएझैं अब उ त्यो नायकसँग परिचयात्मक एता स्थापित गरेर रमाउँछ। तर ऐना प्रकरणमा उसले अनुभव गरेको पीडादायक पृथकताझैं त्यो नायकसँग स्थापितगरेको एकत्व पनि सँधै डगमगाइरहेको हुन्छ। उसक र त्यो नायकको शरीर र व्यक्तित्वबीच कहिले पनि भर्न नसकिने दूरी रहिरहन्छ र त्यही बेमेलको कारणले उसले पृथकताको अनुभव गर्दछ। परिकल्पना पद्धति को यसै प्रक्रियास्वरूप शिशुले वयस्क भएपछि उसको परिवार, गाउँ र स्कुल हुँदै जाति राष्ट्रसँग समेत परिचयात्मक समबन्ध जोड्दछ। म यो स्कुलको हुँ, म यो समुदायको हुँ, म यो ठाउँको हुँ मयो देशको हुँ भनेर सोंच्दै आफ्नो अहम् वा परिचायक नयाँ नयाँ तहहरू थप्दै जान्छ। परिकल्पनाको ऐनाभित्र अब उसले आफ्नै स्व प्रतिबिम्ब वा फिल्मका नायक नायिका मात्र देख्दैन। त्यहाँ उसले समुदाय देख्छ, देश देख्छ। म को हुँ भन्ने प्रश्नको उत्तर खोज्दै सोंच्छ- म फलानो देशको नागरिक हुँ, म यस्तो हुँ म यो जातको हुँ वा जातीको हुँ।

लकाँले आफ्नो सिद्धान्तमा अचेतन मनबारे आफ्नै प्रकारले प्रकाश पारेका छन्। अचेतन इतरको संकथन (डिस्कोर्स) हो। लघु वा निम्न इतर अहम हो जसद्वारा बालक पूर्ण अनुभव गर्छ, बृहद् वा उच्च इतर प्रतीकात्मक हो जसमा बालकको पूर्ण नियञ्त्रण रहँदैन। जस्तो विदेशी भाषा सिक्दा अथवा इतर भाषा सिक्दा सिक्नेलाई त्यसमा पूर्ण हासिल कठिन भए झैं इतर अचेतनमा नियञ्त्रण हुँदैन। यस प्रकार १. अचेतन भाषाजस्तै संरचनात्मक हुन्छ, २. भाषाले अचेतन ल्याउँछ, ३. अचेतनकै तालमा भाषा बनेको हो ४. झुक्किँदाओर्दा अचेतन प्रकट  हुन्छ, ५. इतर भएकाले भाषा नियञ्त्रणबाहिर छ। म छु भनेर बोध गर्ने कर्ता हो लकाँली कर्ता बने इतरको आत्मीकरण हो, सामाजिक, संस्कृतिक मूल्य मान्यताको निचेड हो, लैङ्गिक उपस्थिति र अनुपस्थितिको दोसाँध हो। लकाँले अचेतन र भाषालाई समीकृत गरे र कर्तालाई भाषाकै संकेतिक रचना ठहराए। मनोविश्लेषणमा लकाँले सिग्निफायहरूमार्फत् विश्लेष्य  व्यक्तिको अचेतन बोधगम्य हुने बताए।

लकाँले अचेतनात्मक संरचनालाई पुष्टि गर्न एडगर एलेन पोको एउटा कथा ‘हराएको चिठी’ वा ‘चौर्य पत्र’को उदारहण दिएका छन्। कथाअनुसार मन्त्री र रानीले कोठामा सल्लाह गर्दै गरेको बेला राजा अचानक कोठामाभित्र पस्छ। मनत्रीले रानीको अनुहारको व्यग्रता देखेर बलमाथि राखेकोएउटा चिठीले र्दा हो भनेर थाहा पाएकाले उनीहरू दुइजनाले नदेखिकन त्यो चिठी टेबलबाट निकालेर त्यसको बदलीमा अर्को चिठी टेबलमाथि राख्छ। रानीलाई चिठी हराएको कुरा थाहा हुनेबित्तिकै मन्त्रीमाथि शंका गर्दै रानीले मन्त्रीको घरमा त्यो चिठी खोजी गर्नका निम्ति मुख्य पुलिसलाई पठाउँछिन। तर पुलिसले धेरै खोजतलास गर्दा पनि पाउन सक्दैन। त्यसबेला निरीक्षक डुपिनलाई चिठी खोज्नका लागि सहायता माग्छे। डुपिनले मन्त्रीको घर गएर निरीक्षण गर्नुअघि यसरी सोंच्छ- त्यो चिठी, घरदेखि टाडा पनि राखेको छैन किनभने त्यो चिठी आवश्यकता परेको बेलामा झट्टै देखाउनु पर्न हुन्छ। अनि मुख्य पुलिस आएर पत्र खोज्ने कारणले लुकाएर राखेको पनि थाहा हुन सक्छ। डुपिनले मन्त्रीसँग कुरा गर्दा अनि निरीक्षण गर्दा त्यो चिठी आगो जलाउने अगेनाको छेउमा राखेको एउटा सानो टेबलमाथि कच्याक्‌कुचुक् पारेका केही कागजसँग पायो। तर उसले त्यही तियो चिठी नलिएर मन्त्रीबाट बिदा लियो तर टेबलमाथि आफ्नो चश्मा छोडेर गयो। अर्को दिन डुपिन आफ्नो चश्मा लि आँउदा फेरि मन्त्रीसित भेट गर्दा बाहिर एउटा आवाज सुन्यो। मनत्रीले त्यो हेर्न खिडकीको छेउमा गए को चिठी निकालेर डुपिनले चाहेको निकालेर आफै तयारी पारेको अर्को चिठी त्यहीँ खाल्डो त्यही छोडी बा बाहिर ठुलो भीड हुने कारण मन्त्रीको घरबाट निस्कियो। डुपिनले त्यो चिठी रानीको हातमा लगेर दियो। मन्त्रीले त्यो चिठी हराएको कुरा थाहा नपाएकोले आफ्नो कामममा गलती गर्‍यो अनि उसलाई राजाले मन्त्रीपदबाट निकाल्यो। डुपिनले राखेको चिठीमा मन्त्रीलाई एउटा सूचना दिएको थियो। विगतका दिनमा मन्त्रीले डुपिनलाई प्रेममा धेका दिएको कारणले बदला लिएको हो भनेर सूचना दिइएको थियो।

यस कथामाथि लकाँले भाषावैज्ञानिक संरचनालाई प्रस्ट्याए। पहिलो खण्डको कथा अनुसार रानीको अन्तपुरमा जुन पत्र छ, जुन खुल्ला छ, राजा अकस्मात पस्छ तर पत्रतिर उसको ध्यान जाँदैन। मन्त्रीले उस्तै पत्र राखिदिन्छ र खास चिठी नै हटाउँछ। प्रहरीप्रमुख खोजतलास गर्छ तर पाउँदैन। पुलिस मन्त्रीले लुकाएको अनुमान गर्छ। मन्त्री त्यसैगरी पत्र खुल्ला राख्छ नछोपिकन जसरी कि अन्तपुरमा नलुकाइएको थियो। दोस्रो खण्ड वा दृश्य पहिलाको आवृत्ति भएको छ। त्यही मन्त्रीको साथमा पत्र हुन्छ, प्रहरीको खोजीले काम दिँदैन। घटनाको विश्लेषण गर्न सक्ने क्षमतावान जासुस आउँछ र पहिला जस्तै पत्र नलकाइएको हुनुपर्छ भन्ने अनुमानले खोजतलास गर्छ। अघेनामाथि पत्र राख्ने खुल्ला दराजमा भेटाउँछ जासुस पैसा लिएर प्रहरीलाई दन्छ। पत्रको ठाउँमा अर्को पत्र राखिदिन्छ। पत्रको परिक्रमाले पात्रको सम्बन्ध बदलिन्छ, अन्तर्कतृक सम्बन्धको परिवर्तन हुन्छ।

कथाको संरचनाको आधारमा पहिलो दृश्यले राज रानी र मन्त्रीको इडिपस त्रिकोण जस्तो त्रिकोण बनायो जबकि आवर्तित दोस्रो दृश्यले अर्को किसिमसित पुलिङ्गीहरूको त्रिकोण बनाएको छ। दोस्रोमा पुलिस, मन्त्री र जासुसको त्रिकोण बन्छ। तेस्रोले त्रिकोणको व्याख्या गर्न अवधारणा दिन्छ। यहाँ तीनवटा हेराइ छन्- १. पहिलो उपकथामा राजाको र जोस्रो उपकथामा प्हरीको हेराइले केही देखेन, २. दोस्रो हेराइ रामीको र दोस्रो दृश्यको मन्त्रीको हो राजा र पुलिसको अदृष्टिले पत्रको रहस्य सुरक्षित रह्यो,३. मन्त्री र जासुसको तेस्रो हेराइ हो कि पहिलो र दोस्रो हेराइले छिपेको पत्र खुला छाडियो, बेवास्तामा पर्‍यो। पहिलो दृश्या रामील राजा र मन्त्रीको भूमिका छ, दोस्रो दृश्यमा मन्त्री, प्रमुख पुलिस र जासुसको भूमिका छ। पहिलो दृश्यमा राजा अन्धा, दोस्रोमा पुलिस प्रमुख अन्धो हुन्छ। अब लकाँले यही कथा- उपकथालाई कर्तृत्वको तीनतहको व्याख्या गरे- यथार्थ, काल्पनिक र प्रतीकात्मक। साँचो कर्ता चिठी हो जो प्रतीकात्मक विनिमयमा घुम्छ, विषय छैन जसरी कि भाषावैज्ञानिक चिन्हहरू रिक्त हुन्छन। सिग्निफाइडले रहित, अर्थले रहित सिग्निफायर पत्र हो जो अचेतनको प्रवक्ता बर त्रिकोणको पात्रहरूलाई बोलाउँछ र कर्त्त्वमा बसाउँछ।

लकाँको सिद्धान्त र नेपाली समालोचक –

लकाँको मनोभाषावैज्ञानिक समालोचनामा कलम चलाउने केही नेपाली समालोचक पनि देखा पर्दैछन्। कृष्ण गौतम, सञ्जीव उप्रेती, मुरारीप्रसाद रेग्मी आदिले मुख्य गरी यसतर्फ अध्ययन लेखन कार्य गरेका छन्। विश्वेश्वरप्रसाद कोइराला, ध्रवचन्द्र गौतम, पुष्कर लोहनी, प्रेम प्रधान, इन्द्रबहादुर राई आदिका कृतिमाथि लकानीय मनोभाषावैज्ञानिक अध्ययन गर्न सकिने ठाउँहरू छन्। यद्यपि नेपाली कृतिको पनि लकाँनीय अध्ययन गर्नुपर्ने समीचीन देखिन्छ। नेपाली कृतिमा पनि यस लकाँनीय सिद्धान्तलाई अपनाएर समालोचना लेख्न सकिने धेरै सम्भावना छन् ।

सहयोग लिएका प्रमुख ग्रन्थसूची

  • कृष्ण गौतम, उत्तरसिद्धान्त, भृकुटी एडेमिक पब्लिकेसन्स, काठमाडौं, २०७१।
  • सञ्जीव उप्रेती, सिद्धान्तका कुरा, काठमाडौं, अक्षर, दो.सं, २०६८।
  • A. Cuddon, Dictionary of Literary Terms and Literary Theory, London, Penguin books, 6th. Ed. 1999,
  • Peter Barry, Beginning Theory, New Delhi, viva books Pvt. Ltd. 2008.