(सारसंक्षेपः छोटो सयममा आमूल परिवर्तन हुनु नेपाली राजनीतिको विशेषता हो । वि.सं. २००७ साल, २०१७ साल, २०३६ साल, २०४६, २०५२ साल, २०५९ साल, २०६३ साल र वि.सं. २०६५ सालमा मुलुकको राजनीति परिवर्तन हुँदै आएको छ । मुलुकको राजनीतिक परिवर्तनका लागि हरेक तह र तप्काले भूमिका खेल्दै आएका छन् । त्यसमा पनि यहाँका लेखक, कलाकार र साहित्यकारले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन जान्छ । विशेष गरी परिवर्तनका लागि प्रगतिवादी कविताले खेलेको भूमिका बढी महत्त्वपूर्ण मानिन्छ । यसपछिका हरेक परिवर्तनमा प्रगतिवादी कविहरुले कलमी मोर्चा सम्हालिरहे । २०४६ सालको राजनीति परिवर्तनमा भूमिका निर्वाह गरेको प्रगतिवादी नेपाली कविताले २०४७ सालमा बनेको संविधानले ३० वर्षे आन्दोलनका उपलब्धिको रक्षा गर्न नसकेको, जनताको प्रमुख दुश्मनका रुपमा रहेको सामन्तवादी राज्यसत्ता र संस्कृतिमा कुनै परिवर्तन नआएको निष्कर्ष निकाल्दै गणतन्त्र स्थापनाका लागि माहोल निर्माण गरिरह्यो ।
जसको फलस्वरुप एक दशकसम्म चलेको सशस्त्र द्वन्द्व र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनको जगमा टेकेर वि.सं. २०६३ साल बैशाख ११ गते लोकतन्त्रको पुनर्वाहली भई संविधान सभाको पहिलो ऐतिहासिक बैठकले वि.सं. २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । युगीन यथार्थलाई आफ्नो कथ्य बनाउँदै प्रगतिवादी कविहरुले राजनीतिक परिवर्तन र स्थायित्वका लागि मार्क्सवादी विश्वदृष्टिकोणलाई नै दार्शनिक आधार बनाएर कविता रचना गरेको पाइन्छ । वि.सं. २००७ सालको परिवर्तनदेखि गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनका लागि अनवरत लागिपरेको प्रगतिवादी कविताले गणतन्त्रतात्मक संविधानलाई पूर्णतः कार्यान्वयन गर्दै मुलुकलाई समाजवादसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्नु नै आजको आवश्यकता हो ।)
शब्द कुञ्जीः अग्रणी, भण्डाराखाल, निरंकुश, शोभियत रुसी क्रान्ति, युगवाणी, प्रतिबिम्व, मुर्झाएको, सीमानाको द्वीप
१. विषय परिचय
नेपालको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी साहित्यले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । वि.सं. २००७ को नेपाली क्रान्तिको सफलतामा समाजका प्रत्येक वर्गको योगदान रहेको थियो त्यसमा पनि साहित्यकारले अग्रणी भूमिका निर्वाह गरेको पाइन्छ । यस युगका लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ललगायतका साहित्यिक योद्धाहरुले कलमीमोर्चा सम्हालेका थिए । यसपूर्व पनि युद्धप्रसाद मिश्रले २००७ सालको परिवर्तनको पृष्ठभूमि तयार पार्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् (सुवेदी, २०६२: २) । नेपाली जनताहरुको संघर्ष र बलिदानीपश्चात् प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्नमा प्रगतिवादी नेपाली साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको कुरा नकार्न सकिँदैन । संक्रमणकालीन नेपाली राजनीतिलाई दिशा प्रदान गर्न प्रगतिवादी नेपाली साहित्य सफल भएको पाइन्छ । राणा शासनको अन्त्यसँगै अस्थिर नेपाली राजनीतिसँगै उब्जिएका विविध समस्याहरुलाई समाधान गर्न दबाब सिर्जना गर्ने काम नेपाली स्रष्टाहरुले गरेका थिए । जसका लागि स्रष्टाहरुको एकता आवश्यक भएको ठहर गरी मुलुकभित्र र मुलुकबाहिर विभिन्न संघसंस्थाहरु खोल्ने काम भएको थियो । जसले नेपालको राजनीतिक परिवर्तनलाई मलजल गर्ने वातावरणको सिर्जना गरिदिएका थिए (प्रभात, २०६३: ४७) ।
क्रान्तिपूर्व कालदेखि नै नेपालमा थालिएको साहित्यिक संगठन खोल्ने अभियान क्रान्तिपश्चात् झन् व्यापक बनाउँदै लगिएको पाइन्छ । जसअन्तर्गत वि.सं. २००७ साल भाद्र ९ गते नख्खु कारागारमा रहेका ५ जना स्रष्टाहरुले संयुक्तरुपमा ‘जनसाहित्य मण्डल’ को गठन गरेका थिए, जसलाई क्रान्तिपश्चात्को प्रथम साहित्यिक संगठन मानिन्छ । जेलभित्र गठन गरिएको ‘जनसाहित्य मण्डल’ ले हरेक हप्ताको एकपटक जनसाहित्यको रचना गर्ने र रचना गर्न सिकाउने गर्दथ्यो । यसरी स्रष्टाहरुले जेलभित्रै रहेर यही मञ्चबाट जेलभित्र रहेका विभिन्न किसिमका अत्याचारहरुलाई आफ्ना रचनामा उन्ने गरेको तथ्य भेटिन्छ । जसले ‘जनसाहित्य’ नामक मुखपत्र प्रकाशित गर्ने काम गरेको थियो । जुन मुखपत्र नेपाली साहित्यमा प्रगतिवादी धारालाई विकशित तुल्याउने कार्यमा कोशेढुङ्गा सावित भएको थियो । त्यस्तै भण्डाराखालमा जम्मा भएका स्रष्टाहरुले वि.सं. २००७ साल फागुण २० गते ‘नेपाल नाटक संघ’ को स्थापना गरेका थिए । जसले नेपाली समाजभित्र हुने गरेका विभिन्न असमानताका घटनाहरुलाई अभिनयका माध्यमबाट प्रकाशमा ल्याउने काम गरेको थियो । जसले नेपाली नाट्य परम्परालाई परम्परागत धारबाट नयाँ रुप दिने काम गरेको समालोचकहरु बताउँछन् ।
त्यस्तै वि.सं. २००८ सालमा नेपाली साहित्यका तत्कालीन हस्तीहरुमध्ये लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल ‘गोठाले’, भवानी भिक्षु, ऋद्धिबहादुर मल्ल, दौलतविक्रम विष्ट जम्मा भएर ‘नेपाल लेखक संघ’ स्थापना गर्ने काम गरेका थिए । उनीहरुले हरेक साता नयाँ रचना सुनाउने परिपाटीको विकास गरेका थिए । जसबाट नेपाली प्रगतिवादी कविताले विकशित हुने अवसर प्रदान गरेको थियो । ‘स्रष्टाहरुले जे देख्छन्, सोही लेख्छन्’ यस भनाइबाट पनि सहजै भन्न सकिन्छ, यो संघले नेपाली साहित्यको विकास सँगसँगै प्रगतिवादी धाराको विकाशमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको थियो । किनभने ‘नेपाल लेखक संघ’ मा आबद्ध अधिकांश स्रष्टाहरु यथार्थवादभित्र रहेर कविता रचना कोर्ने स्रष्टाहरु भएको हुँदा उनीहरुले तत्कालीन अस्तव्यस्त समाजका प्रतिबिम्बहरु आफ्ना रचनामार्फत् प्रकाशमा पार्ने काम गरेका थिए (पौडेल, २०६७: १६) । वि.सं. २०१७ पछिको साहित्यमा पनि यो सिर्जनशील परम्परा रहिरह्यो । ‘प्रगति’ भन्ने पत्रिकाका पृष्ठहरूमा बग्रेल्ती राजनीतिका साहित्यिक लेख भेटिन्छन् । तर वि.सं. १७ को पुस १ गतेपछि भने यो स्थिति फेरियो । राजा महेन्द्रको शासन अधिग्रहण प्रकरणले सबै प्रकारको स्वतन्त्र र सिर्जनात्मक प्रवृत्तिमाथि कुठाराघात भयो । साहित्यबाट राजनीतिक चिन्तन पूर्णतः पलायन भयो ।
नेपाल फेरि वि.सं. २००७ अघिजस्तै बन्यो, फरक थियो त केवल प्रकारान्तरमा ! राजनीतिबाट पनि क्रमशः साहित्य र सामाजिक चिन्तन लुप्त हुँदै गयो (पौडेल, २०६७: १८) । २०१७ सालको नेपालको राजनीतिक परिवर्तन वा निरंकुश राज्यव्यवस्थाको सुरुवातसँगै प्रगतिवादी नेपाली सहित्यले आफ्नो भूमिका झन् दरिलो बनाउँदै लगेको पाइन्छ । यस बीचमा लेखिएका कविताहरुले निरंकुशताको विरोधमा जनलहर सिर्जना गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । २०२८ सालको झापा विद्रोह, २०३५÷०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन कविहरुले भूमिका खेलेका थिए (सुवेदी, २०६२: ३१) । वि.सं. २०४६ सालको जनआन्दोलनबाट ३० वर्षे निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्नमा भूमिका निर्वाह गरेको प्रगतिवादी नेपाली कविताले यसपश्चात् नेपाली समाजमा उब्जिएका विभिन्न समस्याहरुको समाधान गर्नुका साथै मुलुकमा गणतन्त्र स्थापना गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ (सुवेदी, २०६२: ३७ । वि.सं. २००७ को नेपाली क्रान्तिको सफलतादेखि मुलुकमा गणतन्त्र स्थापनार्थ नेपाली कविताले पुर्याएको योगदानको चर्चा जति गरे पनि कम नै हुन्छ ।
२. अध्ययन विधि
यस लेखमा नेपालको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी कविताले खेलेको भूमिकाको खोजी गरिनेछ । २००७ सालको परिवर्तनदेखि २०४६ को परिवर्तन हुँदै मुलुकमा गणतन्त्र स्थापनाका लागि प्रगतिवादी कविताले खेलेको भूमिकाको खोजी र अध्ययन गर्ने क्रममा निगमनात्मक र आगमनात्मक विधिको उपयोग गरिएको छ । यसमा सिद्धान्त वा नियमलाई अगाडि सार्दै त्यसैका आधारमा निष्कर्ष निकालिएको हुँदा यसमा निगमनात्मक विधि प्रयोग भएको छ । त्यस्तै प्रगतिवादी कविता सम्बन्धी हालसम्म प्राप्त सामग्री र संकलित तथ्यहरुकै आधारमा व्याख्या, विश्लेषण, वर्गीकरण र मूल्याङ्कन गरी निष्कर्ष निकालेर विषयलाई पूर्णता दिने काम भएकाले यसमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । यसका साथै नेपालको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी साहित्यको भूमिकाको खोजी गर्ने क्रममा विभिन्न शोधपत्र, शोत्रप्रबन्ध, आलेख र सम्बद्ध विषयका पुस्तकहरूबाट तथ्यहरू लिई प्रयोगसहित विश्लेषण गरेर प्राप्त निष्कर्ष प्रस्तुत गरिएको छ ।
३. नेपालको राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिका
बिसौं शताब्दीमा अन्तर्राष्ट्रिय परिवेशमा भएका महत्त्वपूर्ण घटनाहरु जस्तै, शोभियत रुसी क्रान्ति, चिनिँया जनक्रान्ति र भारत स्वतन्त्रलगायतका घटना परिघटनाको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपाली साहित्यमा क्रमशः देखिँदै गयो । जसको फलस्वरुप नेपालमा १०४ वर्षदेखि नेपाली जनताहरुका आस्थामाथि कुल्चिँदै एकछत्र शासनसत्ता सञ्चालन गर्दै आइरहेका राणाहरुको शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध भित्रभित्र सल्किँदै गइरहेको क्रान्तिको ज्वाला साहित्यमा मुखरित बन्दै गयो । सचेत नेपाली नागरिकहरुले खोसिएको आफ्नो अधिकार फिर्ता ल्याउनका लागि या भनौँ नेपालमा प्रजातन्त्रको स्थापना गर्नका लागि संघर्षको थालनी गर्दै गए । जति–जति राजनीतिक घटनाक्रमहरु विकशित हुँदै गए, त्यति–त्यति प्रगतिवादी कविताले फस्टाउने अवसर प्राप्त गर्दै गयो । यसक्रममा आन्तरिक र बाह्य दुवै परिस्थितिले प्रगतिवादी नेपाली कविताको विकासका लागि मलजत प्रदान गर्ने काम गरेको तथ्य कसैले नकार्न सक्दैन ।
२००७ सालको परिवर्तनका लागि धरणीधर कोइरालाको ‘नैवेद्य’ कवितासङ्ग्रहको प्रकाशनले नेपाली जनताहरुलाई अधिकार प्राप्तिका लागि एकताबद्ध हुन जागृत गर्ने गरेको थियो । यसका साथसाथै नेपालको राजनीतिक परिवर्तन गर्ने उद्देश्यले विभिन्न लेखक कविहरु लागिपरेको भेटिन्छ । जसअनुसार लक्ष्मीदत्त पन्तले ‘राजा भै सेखी तिम्रो म पनि गुरुकृपा साथमै टिम्किएको’ रचनामार्फत् जनताहरुको सेवक भएर पनि जनताहरुका इच्छा, आकांक्षा र चाहनाहरु विरुद्ध शासन सञ्चालन गर्ने शासकहरुप्रति खेद व्यक्त गर्ने गरेका थिए । यतिमात्र होइन लेखनाथ पौड्याल पनि आफ्ना ‘बुद्धि विनोद’ (१९७३), ‘सत्यकलि संवाद’ (१९७६) मार्फत् परिवर्तनका लागि लागिपरेको पाइन्छ । पौड्यालका यी कवितामार्फत् समाजभित्र रहेको सामन्तवादी प्रवृत्ति विरुद्ध तिखो प्रहार गरिएको पाइन्छ । पौड्यालका साथै महानन्द सापकोटाले पनि राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले वि.सं. १९८० मा ‘मनलहरी’ कृति प्रकाशन गरी नेपाली राजनीतिक परिवर्तनको स्वर मुखरित गरेका थिए (अधिकारी, २०५६: ७९) ।
त्यस्तै नेपालको राजनीतिक परिवर्तनका लागि लक्ष्मीप्रसाद देवकोटाले अत्यन्तै ठूलो भूमिका निर्वाह गरेका थिए । राणा सरकारद्वारा आत्मनिर्वास भएपछि देवकोटाले २००४ सालमा बनारसमा पुगेर ‘युगवाणी’ प्रकाशन गरी जागरण फैलाउने काम गरेका थिए । त्यस्तै २००५ सालमा रक्सौलमा जय प्रकाशनद्वारा ‘पहाडी पुकार’ प्रकाशन गरी राणा विरोधी जागरण फैलाउँदै गएको देखिन्छ । जसबाट देवकोटाले नेपाली जनताहरुलाई राणा शासनका विरुद्धमा लडेर नेपालमा प्रजातन्त्र ल्याउनका लागि नेपाली जनताहरुलाई जागरुक बनाउने काम गरेका थिए । यसका साथै देवकोटाले ‘साँढे’ र ‘झण्झावीर’ जस्ता फुटकर कविताहरु प्रकाशन गरी जनवादी काव्य परम्पराको विकास गर्ने काम मात्र गरेनन् २००७ सालको परिवर्तनका लागि जनमत तयार पार्ने काम गरेका थिए । देवकोटाजस्तै राणा विरोधी भई सर्वश्वहरणमा परी ६ वर्षसम्म झ्यालखानामा परेका कवि सिद्धिचरण श्रेष्ठ पनि १ सय ४ वर्षसम्म नेपालमा निरङ्कुश शासन सक्ता सञ्चालन गर्दै आएको राणाहरुको सामन्ती सत्ता पल्टाउने कार्य गरेका थिए (तानासर्मा, २०२७ : ११५) । ‘क्रान्तिविना शान्ति हुँदैन’ भन्ने कवितात्मक अभिव्यक्ति दिँदै हिड्ने श्रेष्ठका कविताहरुले राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण कार्य गरेका थिए (अधिकारी, २०५६: ८०) ।
नेपालको राजनीतिक परिवर्तनका लागि गोपालप्रसाद रिमालको भूमिका अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । क्रान्ति चेत, युगको आकांक्षा र भविष्यप्रति दह्रो विश्वास राख्ने प्रवृत्तिका रचना सिर्जना गर्ने रिमालले वि.सं. १९९७ सालमा घटित शहीद पर्व र यसबाट उत्पन्न परिणाम अनि भावी नेपालको परिकल्पना गर्दै कविता रचना गरेको पाइन्छ । यिनका कविहरु विशेषतः निरङ्कुश राणा शासनको विरुद्धमा जनमत सिर्जना गर्ने कार्यमा दत्तचित्त भएर लागिपरेको भेटिन्छ । त्यतिमात्र होइन समाजका विकृतिजन्य घटनाहरुको प्रभाव पनि यस अवधिका अधिकांश कविहरुका रचनामा पाइन्छन् । समाजभित्र हुनेगरेका अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, रुढिवाद र यसबाट उत्पन्न परिस्थितिलाई उद्घाटन गर्ने कार्यमा यस अवधिका कविहरु लागिपरेको तथ्य भेटिन्छ । वि.सं. १९९७ सालमा ‘शहीदपर्व’ घट्नु, २००३ सालमा ‘राष्ट्रिय कांग्रेस’ को जन्म हुनु, ‘राष्ट्रिय कांग्रेस’ फुटेर ‘नेपाली प्रजातन्त्र कांग्रेस’ को जन्म हुनु, अनि २००४ सालमा विराटनगरमा मजदूरहरुले ‘मिल हड्ताल’ गर्नुका साथै नेपाली कांग्रेसका होनाहार व्यक्तित्व पुष्पलालले नयाँ परिवेशमा मार्क्सवादको अपरिहार्यता भएको ठहर गर्दै वि.सं. २००६ सालमा ‘नेपाल कम्युनिष्ट–पार्टी’को स्थापना गर्नुलगायतका घटनाक्रमहरुलाई जनतामाझ पुर्याउन प्रगतिवादी नेपाली कविताले भूमिका खेलेको नकार्न सकिँदैन (आचार्य, २०१० ई.) ।
लामो समयदेखि भित्रभित्रै गुम्सिएर रहेका या भनौँ निर्धक्कसँग आफ्नो अभिव्यक्ति दिन नपाएका नेपाली स्रष्टाहरुमा २००७ सालको सफलताबाट थप हौसला प्राप्त भयो । लामोसमयदेखि लगातार पृष्ठभूमि निर्माण गर्दै आएको प्रगतिवादी नेपाली कविताले वि.सं. २००८ सालमा कृष्णचन्द्र सिंह प्रधानको ‘भञ्ज्याङनिरै’ कवितासङ्ग्रहको प्रकाशनसँगै आधिकारिकरुपमा प्रवेश पाएको थियो (आचार्य, २०१० ई.) । नेपालको राजनीतिक परिवर्तनका लागि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ललगायतका कविहरुले कलमीमोर्चा सम्हालेका थिए । यसपूर्व पनि युद्धप्रसाद मिश्रले २००७ सालको परिवर्तनको पृष्ठभूमि तयार पार्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् (सुवेदी, २०६२: २) । २००७ सालको परिवर्तनपश्चात् संक्रमणकालीन नेपाली राजनीतिलाई दिशा प्रदान गर्न प्रगतिवादी कविहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । नेपालको राजनीतिक परिवर्तनलाई मलजल गर्ने वातावरणको सिर्जना गरिदिएका थिए (प्रभात, २०६३: ४७) ।
राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका नख्खु कारागारमा रहेका ५ जना स्रष्टाहरुले वि.सं. २००७ साल भाद्र ९ गते संयुक्तरुपमा ‘जनसाहित्य मण्डल’ को गठन गरेका थिए, जसलाई क्रान्तिपश्चात्को प्रथम साहित्यिक संगठन मानिन्छ । जेलभित्र गठन गरिएको ‘जनसाहित्य मण्डल’ ले हरेक हप्ताको एकपटक जनसाहित्यको रचना गर्ने र रचना गर्न सिकाउने गर्दथ्यो । यसरी स्रष्टाहरुले जेलभित्रै रहेर यही मञ्चबाट जेलभित्र रहेका विभिन्न किसिमका अत्याचारहरुलाई आफ्ना रचनामा उन्ने गरेको तथ्य भेटिन्छ । जसले ‘जनसाहित्य’ नामक मुखपत्र प्रकाशित गर्ने काम गरेको थियो । संक्रमणकालीन नेपालको राजनीतिलाई गति दिन नेपाली स्रष्टाहरुले विभिन्न साहित्यिक संघसंस्थाको स्थापना गरेर प्रगतिवादी कविताको सिर्जना गरी प्रकाशमा पार्ने काम गरेका थिए (पौडेल, २०६७: १६) ।
वि.सं. २०१७ पछिको साहित्यमा पनि यो प्रगतिवादी कविताले परिवर्तनका लागि भूमिका खेलेको पाइन्छ । यस बीचमा लेखिएका कविताहरुले निरंकुशताको विरोधमा जनलहर सिर्जना गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । २०२८ सालको झापा विद्रोह, २०३५-०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन कविहरुले भूमिका खेलेका थिए (सुवेदी, २०६२: ३१) । वि.सं. २०४६ सालको जनआन्दोलनबाट ३० वर्षे निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्नमा भूमिका निर्वाह गरेको प्रगतिवादी नेपाली साहित्यले यसपश्चात् नेपाली समाजमा उब्जिएका विभिन्न समस्याहरुको समाधान गर्नुका साथै मुलुकमा गणतन्त्र स्थापना गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ (सुवेदी, २०६२: ३७ । वि.सं. २००७ को नेपाली क्रान्तिको सफलतादेखि मुलुकमा गणतन्त्र स्थापनार्थ नेपाली कविताले पुर्याएको योगदानको चर्चा जति गरे पनि कम नै हुन्छ ।
यसरी नेपालको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी नेपाली कविताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई नकार्न सकिँदैन । १ सय ४ वर्षे जहानीया निरंकुश राणा शासनको अन्त्य गर्नुका साथै ३० वर्षे निर्दलीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना गर्नमा पनि प्रगतिवादी नेपाली कविताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । बहुदलपश्चात् पनि सामन्ती राज्यसत्ताको अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना गर्नमा प्रगतिवादी नेपाली कविताले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । नेपालको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी नेपाली कविताले खेलेको भूमिकालाई काल विभाजन गरेर चरणगतरुपमा अध्ययन गर्न सकिन्छ । जसअनुसार वि.सं. २००७ सालदेखि वि.सं.२०१६ सालसम्मको समयावधिलाई प्रथम चरण, वि.सं. २०१७ सालदेखि वि.सं. २०४५ सालसम्मको समयावधिलाई दोस्रो चरण र ०४६ सालदेखि हालसम्मको समयावधिलाई तेस्रो चरणका रुपमा चर्चा गर्न सकिन्छ ।
४.१ प्रथम चरण वि.सं. २००७ सालदेखि वि.सं. २०१६ सम्म)
छोटो छोटो समयमा संघर्ष र परिवर्तन हुनु नेपाली राजनीतिको मुख्य विशेषता मानिन्छ । नेपालको राजनीतिक परिवर्तनको पहिलो चरणका रुपमा वि.सं. २००७ सालदेखि वि.सं. २०१६ सालसम्मको समयवधीलाई लिन सकिन्छ । नेपालमा प्रजातन्त्र ल्याउनका लागि नेपाली कविताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भेटिन्छ । जनताका सपनाहरु कुल्चदै १०४ वर्षसम्म निरंकुश जहानिया शासन सत्ता सञ्चालन गर्दै आएको राणातन्त्रको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि नेपाली जनताहरु गर्नु परेको थियो । राणातन्त्रको विरुद्धमा जनताहरुलाई सचेत बनाउने कार्यमा प्रगतिवादी नेपाली कविताले महत्त्वपूर्ण भूमिका खेलेको थियो । नैवेद्य, बुद्धि विनोद, अब विशाल नेपाल, मनलहरी, आमाको सपना, पहाडी पुकार, झञ्झावीर, साँढे, क्रान्तिविना शान्ति हुँदैन लगायतका कविताहरुले महत्त्वपूर्ण भूमिका खेलेका थिए (अधिकारी, २०५६: ७९) ।
प्रथम चरणको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी कविताले प्रजातन्त्रलाई संस्थागत गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । १०४ वर्षसम्म नेपाली जनताहरुका आस्थामाथि कुल्चदै एकतन्त्रीय निरङ्कुश शासन सञ्चालन गर्दै आएको राणा शासनको अन्त्यसँगै अस्थिर नेपाली राजनीतिसँगै उब्जिएका विविध समस्याहरुलाई समाधान गर्न दवाव सिर्जना गर्ने काम प्रगतिवादी नेपाली कविताहरुले गरेको पाइन्छ । नेपाली स्रष्टाहरुले ‘जनसाहित्य मण्डल’, ‘जनसाहित्य’, ‘नेपाल नाटक संघ’, ‘नेपाल लेखक संघ’, को माध्यमबाट कविता लेखनीलाई अगाडि बढाएको पाइन्छ । ‘स्रष्टाहरुले जे देख्छन्, सोही लेख्छन्’ भन्ने भनाइबाट पनि के बुझिन्छ भने स्रष्टाहरुले तत्कालीन अस्तव्यस्त समाजका प्रतिबिम्बहरु आफ्ना कवितामार्फत् प्रकाशमा पार्ने काम गरेका थिए (पौडेल, २०६७: १६) ।
त्यस्तै समयक्रमसँगै वि.सं. २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना भएपछि प्रगतिवादी कविताले विकशित हुने अवसर प्राप्त मात्र गरेन यसले नेपाली राजनीतिक परिवर्तनका भूमिका निर्वाह गरेको पाइन्छ । श्यामप्रसाद शर्माको अध्यक्षतामा गठीत प्रगतिशील लेखक संघले मार्क्सवादी कविता सिर्जना गर्नका लागि स्रष्टाहरुलाई प्रशिक्षण दिने काम गरेको थियो । त्यतिमात्र होइन संघले ‘प्रगति’ नामक मुखपत्र प्रकाशित गर्ने काम गरेको थियो (आचार्य, २०१० ई.) । त्यस्तै वि.सं. २०१० सालमा धर्मराज थापाले गठन गरेको ‘लोकसंग्रहालय’ ले ‘डाँफेचरी’ द्वैमासिक पत्रिकामा प्रकाशित प्रगतिवादी कविताहरुले पनि नेपाली राजनीतिक परिवर्तनमा भूमिका निर्वाह गरेका थिए । नेपालमा प्रगतिशील साहित्यिक आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले विरगञ्जमा गठित प्रगतिशील लेखक संघले अपेक्षितरुपमा सफलता हासिल गर्न नसकेपछि यसलाई गतिशिल बनाउन वि.सं. २०१६ सालमा नेपालभरि छरिएर रहेका प्रगतिशील लेखकहरुको भेलाले धर्मराज थापाको अध्यक्षतामा प्रगतिशील लेखक संघको पुनः स्थापना गर्ने काम गरेको थियो (आचार्य, २०१० ई.) ।
वि.सं. २००७ सालदेखि वि.सं. २०१६ सालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न प्रगतिवादी नेपाली कविताले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ । यस अवधिमा भूपि शेरचन, केवलपुरे किसान, आनन्ददेव भट्ट, गोकुल जोशी, हृदयचन्द्र सिंह प्रधान, टिआर विश्वकर्मालगायतका कविहरुका प्रगतिवादी कविताले राजनीतिलाई दिशा प्रदान गर्नमा भूमिका निर्वाह गरेका थिए (उपाध्याय, २०७२) । यस अवधिमा प्रकाशित केवलपुरे किसानको ‘बाघ आयो’, ‘समातेर पछार’, ‘संघर्षको ठीक गर’ कविता संग्रहका साथै प्रगतिवादी कवि गोकुल जोशीका २०११ सालमा प्रकाशित ‘नेपालको भविष्य’, २०१४ सालमा प्रकाशित ‘बाँच र बाँच्न देऊ’ र २०१५ सालमा प्रकाशित ‘सीमानाको दीप’ र भूपि शेरचनको २०१२ सालमा प्रकाशित ‘नयाँ झ्याउरे’ र २०१५ सालमा प्रकाशित ‘निर्झर’ कविता सङ्ग्रहले पनि संक्रमणकालीन नेपाली राजनीतिलाई सही दिशा प्रदान गरेको पाइन्छ । त्यस्तै यस अवधिका कवि आनन्ददेव भट्टका ‘अब हिमाल बोल्छ २०१५’, ‘१९९७ साल २०१५’, ‘ओमर खैयानलाई जवाफ २०१६’ लगायतका ६ वटा कवितासङ्ग्रहले पनि परिवर्तनलाई संस्थागत गर्नमा सहयोगी सिद्ध भएको पाइन्छ (उपाध्याय, २०७२) ।
समग्रमा भन्दा यस अवधिमा प्रकाशित प्रगतिवादी कविताहरुले क्रान्तिपूर्व कालको नेपाली राजनीति र नेपाली समाजको स्मरण गर्दै पूनः त्यस्तो अवस्थाको सामना गर्नु नपरोस् भन्नेर सचेतता अपनाउन अनुरोध गर्नुका गर्नुका साथै हरेक तह र तप्काबाट खबरदारीको अभियान चलाइरहन आम जनताहरुलाई आग्रह गरिएको भाव पाइन्छ । त्यस्तै नेपाली जनताहरुले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त गरेका उपलब्धीहरु त्यत्तिकै खेर जान नदिन सचेतकारी भूमिका निर्वाह गर्ने काम पनि यस अवधिमा प्रकाशित प्रगतिवादी कविताहरुले गरेका छन् (अधिकारी, २०५६: ९०) ।
४.२ दोस्रो चरण (२०१७–२०४६ सम्म)
वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनपछि प्रगतिवादी कविता लेखनीले फरक मोड लिन पुगेको पाइन्छ । वि.सं. २०१७ साल पुस १ गते शाही घोषणामार्फत् राजा महेन्द्रले पञ्चयाती शासन व्यवस्थाको सुरुवात गरेसँगै राजनीतिक स्वतन्त्रतासँगै वाक् स्वतन्त्रतासमेत हनन भएपछि यसको विरुद्धमा प्रगतिवादी कविता खरो उत्रिएको पाइन्छ । २०१७ सालपश्चात् विकसित भएका घटनाक्रमका बीचमा केवलपुरे किसान, आनन्द देव भट्ट, जनकप्रसाद हुमागाईँ, गोविन्द देव भट्टलगायतका प्रगतिवादी स्रष्टाहरुको वैचारिक अडानले प्रगतिवादी कविता लेखनी अगाडि बढेको पाइन्छ (पौडेल, २०६७: १८) । २०२२ सालको विद्यार्थी जागरण, २०२५ सालको झापामा भएको साहित्य सम्मेलन, २०२८ सालको झापा विद्रोह, २०३१ सालको नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन, २०३६ सालको सडक कविता क्रान्ति, ३६ सालकै प्रगतिशील लेखक कलाकार संघको स्थापनालगायतका घटनाले मुर्झाएको प्रगतिवादी कविता लेखनीलाई अगाडि बढाउन प्रसस्त मात्रामा मार्ग प्रसस्त गरेको पाइन्छ (पौडेल, २०६७, १९) । यसका साथै यो अवधीका प्रगतिवादी कविताहरुले पञ्चायती शासन सत्ताको विरुद्धमा संघर्षमा उत्रन सन्देश प्रवाह गरेको नकार्न सकिँदैन ।
वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनपछि सुस्ताएको प्रगतिवादी कविता लेखनीले २०३६ सालको जनमत सङ्ग्रहपछि अलि बढी फस्टाउने अवसर पाएको भेटिन्छ (अधिकारी, २०५६: १०७) । यस अवधीका प्रगतिवादी कविहरु युद्धप्रसाद मिश्र, पारिजात, मोदनाथ प्रश्रित, नेत्रलाल अभागी, विमल निभा, रविलाल अधिकारी, पूर्णविराम, रामचन्द्र भट्टराई, मञ्जुल, अग्नीशिखा, श्यामल, घनश्याम ढकाल, गोविन्द विकल, जगदिशचन्द्र भण्डारी, विक्रम सुब्बालगायतका कविताहरुले राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेको पाइन्छ (उपाध्याय, २०७२) । यसका अलावा शक्ति लम्साल, ऋषिराज बराल, कृष्ण पोखरेल, कृष्ण जोशी, रुद्र खरेल, तारा सुवेदी, गोविन्द कविराज, देवि पोखरेल, चन्द्रकला गौतम, सन्तुनुप्रसाद राणा, गिरिराज शर्मा, राम विनय, नरेश शाक्य, रामप्रसाद पोखरेल, डिआर आचार्य, रामनाथ दाहाल, डिल्लीप्रसाद भट्टराई, लीला उदाशी, शरण राई, भुवन अधिकारी, खगेन्द्र संग्रौला, ओम सिटौला, बलराम नेउपाने, रामप्रसाद श्रेष्ठ, गोविन्द विकल, वसन्त थापा, गणेश रसिक, बाशुदेव शर्मा आदि कविका प्रगतिवादी कविताहरुले नेपाली राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ (सुवेदी, २०६२: २९ ।)
यस चरणको राजनीतिक परिवर्तनका लागि प्रकाशित प्रगतिशील कविता सङ्ग्रहहरुले पनि भूमिका निर्वाह गरेका छन् । जनकप्रसाद हुमागाईंको कोसेली (२०१९), पसिना (२०१९), दुःखी गरिबको सवाई (२०२१), गोविन्द भट्टको शान्ति सन्देश (२०२४), भवानी घिमिरेको स्मृतिका रेखाहरु (२०२५), युद्धप्रसाद मिश्रको बाढी (२०२९), रविलाल अधिकारीको बुकीफूल (२०३१), दिल साहनीको नौलो मान्छे (२०३९), केवलपुरे किसानको केवलपुरे किसानका गीत र कविताहरु (२०४५), विक्रम सुब्बाको कविताको आँखा कविताको भाका (२०३९), सगरमाथा नाङ्गै देखिन्छ (२०४१), मोदनाथ प्रश्रितको गोलघरको सन्देश (२०४०), विमल निभाको आगोनेर उभिएको मानिस (२०४२), मञ्जुलको गायक यात्री (२०४०), नेत्रलाल अभागीको सतिसाल मात्र ठिंग उभिन सक्न (२०४२), पूर्णविरामको इतिहासका किल्लाहरुमा (२०४३), अग्नीशिखाको रक्तविज (२०४३), श्यामलको तपाईँहरुमार्फत् (२०४४) आदि कवितासङ्ग्रहहरुले २०४६ को राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका छन् (सुवेदी, २०६२: २९ ।) वि.सं. २०४६ को राजनीतिक परिवर्तनका लागि यस चरणमा प्रकाशित पत्रिकाहरुको भूमिका नकार्न सकिदैन । यस्ता पत्रिकाहरुमा मञ्चामृत, उत्साह, सन्देश, लालुपाते, नौलो बिहानी, नौलो राँको, सुस्केरा, संकल्प, नौलो हाँक, बुकीफूल, छहरा, साथी, द्यौराली, रोशी, सक्सक्, कल्यानी, उजेली, कोशीको लहर, गतिविधि, प्रतिज्ञा, झुप्रो, महिला संसार, झटारो, लालटिन, मुक्तिमार्ग, कुरा, जनचेतना, हिमाली आवाज, अनुभूति, शृंखला, साहित्यदूत, नयाँ सिर्जना, झिसमिसे, वेदना, लहर, भवलागिरि, नेपाली साहित्य, सेरोफेरो, हलकारा, जनसाहित्य, रातो थुंगा, प्रलेस, अनुराग, आधार आदि रहेका छन् (राई, २०५८: ६२) ।
४.३ तेस्रो चरण (२०४६ देखि हालसम्म)
तीसवर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य भई २०४६ सालको परिवर्तनपछि हालसम्मको चरणमा राखेर अध्ययन गर्न सकिन्छ । लामो संघर्षपछि आएको परिवर्तनलाई संस्थागत गर्न प्रगतिवादी कविताले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । २०४६ सालको राजनीति परिवर्तनपछि २०४७ सालमा बनेको संविधानले ३० वर्षे आन्दोलनका उपलब्धिको रक्षा गर्न नसकेको, जनताको प्रमुख दुश्मनका रुपमा रहेको सामन्तवादी राज्यसत्ता र संस्कृतिमा कुनै परिवर्तन नआएको निष्कर्ष निकाल्दै प्रगतिवादी कविताले गणतन्त्रका लागि मार्ग निर्माण गर्ने कार्यभार सुरु गरेको पाइन्छ । बाम आन्दोलनमा देखिएको फुटको प्रभावबाट यस चरणको प्रगतिवादी कविता अछुतो रहन सकेको पाइँदैन । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र क्रान्तिको बाटो समाएपछि एकथरि प्रगतिवादी कविहरुहरुले सशस्त्र क्रान्तिको धारलाई अंगाल्दा अर्कोथरि प्रगतिवादी कविहरुले शान्तिपूर्ण वर्गसंघर्षको धारलाई पछ्याउँदै लेखनीलाई अगाडि बढाएको पाइन्छ (अधिकारी, २०५६: १०९) । यस चरणका महत्त्वपूर्ण घटनाहरुमा माओवादी जनयुद्धको सुरुवात, दासढुङ्गा हत्याकाण्ड, टनकपुर सन्धी, महाकाली सन्धी, नेकपा एमालेभित्रको फुट र एकता, दरबार हत्या काण्ड, बाह्रबुँदे समझदारी, माघ १९, दोस्रो जनआन्दोलन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, नयाँ संविधान निर्माणलगायतका घटनाको साक्षी रहेको प्रगतिवादी कविताले परिवर्तनका लागि अझै पनि आफ्नो यात्रालाई निरन्तरता दिई नै रहेको छ ।
यस चरणको राजनीतिक परिवर्तनका लागि रामचन्द्र भट्टराई, महेश मास्के, वाशुदेव अधिकारी, आर.आर. चौलागाई, अमर गिरी, राम विनय, प्रदिप ज्ञवाली, मोहन दुलाल, जगदिश चन्द्र भण्डारी, आहुति, सुकुम शर्मा, पूर्णविराम, पारिजात, अनिल श्रेष्ठ, मित्रलाल पंगेनी, कुन्ता शर्मा, गिरिराज शर्मा, भिष्म उप्रेती, आर.एम. डंगोल, विजय सुब्बा, मातृका पोख्रेल, हिरामणि दुःखी, कृष्ण सेन इच्छुकलगायतका प्रतिवादी कविहरुले आफ्ना कवितामार्फत् गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ (पौडेल, २०६७: २० ।)
यस चरणको राजनीतिक परिवर्तनका लागि प्रगतिवादी कवितासङ्ग्रहहरुले पनि भूमिका खेलेको पाइन्छ । महेश मास्केको भोकका कैदीहरुसित (२०४६), अनाथ मित्रको आन्दोलन कविता (२०४७), मोहन दुलालको सचेतका धुनहरु (२०४७), जगदिशचन्द्र भण्डारीको मुक्तिक्षेत्रको यात्रामा (२०४८), लिला उदाशीको आज भाले बास्न निशेध छ (२०४८), लोकेन्द्र शाहको बुढो करङ्गमा वृत्त (२०४८), मदन राईको लामा खुलेको सप्तकोशी (२०४९), विमल गुरुङको स्व. विमल गुरुङका केही कविताहरु (२०४९), युद्धप्रसाद मिश्रका कवि युद्धप्रसाद मिश्रमा कविताहरु (२०४८), रुद्र खरेलद्वारा कवितासङ्ग्रह आन्दोलन कविता (२०४७), केशव नेपालको जेलको आवाज (२०४९), लोचन कट्टेलको सोलुका छालहरु (२०५०), पूर्णविरामको गोविन्दले ठीक भने (२०५०), पारिजातको बैँसालु वर्तमान (२०५०) (सुवेदी, २०६२: ३२) ।
त्यस्तै यस चरणमा प्रकाशित अन्य कवितासङ्ग्रहहरुमा ईश्वरचन्द्र ज्ञवालीको हुरीका स्पन्दनहरु (२०५२), यसरी देश मरिरहेछ (२०५९) र हाम्रो रातो यात्रा (२०६२), देविप्रसाद किसानका बोको खस्यो (२०५०), अनिल श्रेष्ठको राष्ट्रले शोकधुन बजाएको छ (२०५१) र मृत्युपर्व होइन मेरो देश (२०५१), मित्रलाल पंगेनीको सृष्टिकर्ता (२०५३) र गतिमान गण्डकी (२०५३), पुण्य कार्कीको बाघले घाँस खायो (२०५४), आर. बीको ज्वालाका रापहरु (२०५४), रोल्पाली बन्दीहरु सामूहिक संकलनका रुपमा रहेको जञ्जीरले बाँधिएका हातहरु (२०५४), अशोक सुवेदीको युद्धघोष (२०५५), गाउँको रङ फेरिएको छ (२०६२), नयाँ समयका नयाँ मान्छेहरु (२०६२) र चिहानमाथि ठडिएको शालिक (२०६२), गणेश भण्डारीको आस्थाको निहारिका (२०६२), कोमल ढुंगानाको तानासाही माली र कैदी फूलहरु (२०५५), मोहननाथ मरहट्टाको पाइलाहरु आकाशतिर उकालिदै गर्दा (२०५५), चेतकान्त चापागाईको यात्रा मुक्ति शिखरको (२०५५), गंगा श्रेष्ठको म प्रतिधु्रवीय यात्री (२०५५) र ज्यूँदो देशबाट (२०५५), कृष्णसेन इच्छुकको इतिहासको यस घडीमा (२०५६), दिल साहनीको फिलिंगो (२०५७), मात्रिका पोखरेलको सेतो दरबारको छेउमा (२०५७) र यात्राको एउटा दृश्य (२०६०), मणि थापाको बगिरहेको सुनकोशी (२०५८), रामचन्द्र ज्ञवालीको पुतली र झुसिल किरा (२०५९), एकादेशमा (२०६१), जीवननाथ अधिकारीको जूनभित्रको आगो, विमल निभाको एउटा बाहुला नभएको बुसर्ट (२०६०), जगत प्रेक्षीतको समयका छालहरु (२०६०), अमर गिरीको घाम छेक्ने पहाड (२०५५) र तरपनि हामी जीवित छौं (२०६१), लक्ष्मी मालीको आगोको याम (२०६१) आदि प्रकाशित छन् (सुवेदी, २०६२ : ४०) ।
५.निष्कर्ष
नेपाली राजनीतिक परिवर्तनका लागि प्रगतिवादी कवि र उनका कविताहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । १०४ वर्षे निरंकुश जहानिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र प्राप्तिका लागि प्रगतिवादी नेपाली कविताले खेलेको भूमिकाको चर्चा जति गरे नि कम नै हुन्छ । वि.सं. २००७ सालको परिवर्तनलाई संस्थागत गर्नका लागि प्रगतिवादी कविताले भूमिका मात्र खेलेन जनक्रान्तिको उपलब्धिको रक्षाका लागि लामबद्ध हुन नेपालीहरुलाई जागरुक बनाउने कार्य गरिह्यो । नेपाली जनताहरुको लामो संघर्ष बलिदानीबाट प्राप्त प्रजातन्त्रको घाँटी निमोठी तात्कालीन राजा महेन्द्रले पञ्चायती शासन सत्ता सुरु गरेपछि गुमेको अधिकार फिर्ता ल्याउन ३० वर्षसम्म प्रगतिवादी कविहरुले कलमी मोर्चा सम्हालिरहे । २०४६ सालको राजनीति परिवर्तनमा भूमिका निर्वाह गरेको प्रगतिवादी नेपाली कविताले २०४७ सालमा बनेको संविधानले ३० वर्षे आन्दोलनका उपलब्धिको रक्षा गर्न नसकेको, जनताको प्रमुख दुश्मनका रुपमा रहेको सामन्तवादी राज्यसत्ता र संस्कृतिमा कुनै परिवर्तन नआएको निष्कर्ष निकाल्दै गणतन्त्र स्थापनाका लागि माहोल निर्माण गरिरह्यो ।
जसको फलस्वरुप एक दशकसम्म चलेको सशस्त्र द्वन्द्व र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनको जगमा टेकेर वि.सं. २०६३ साल बैंसाख ११ गते लोकतन्त्रको पुनर्वाहली भई संविधान सभाको पहिलो ऐतिहासिक बैठकले वि.सं. २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । युगीन यथार्थलाई आफ्नो कथ्य बनाउँदै प्रगतिवादी कविहरुले राजनीतिक परिवर्तन र स्थायित्वका लागि मार्क्सवादी विश्वदृष्टिकोणलाई नै दार्शनिक आधार बनाएर कविता रचना गरेको पाइन्छ । वि.सं. २००७ सालको परिवर्तनदेखि गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनका लागि अनवरत लागि परेको प्रगतिवादी कविताले गणतन्त्रतात्मक संविधानलाई पूर्णतः कार्यान्वयन गर्दै मुलुकलाई समाजवादसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्नु नै आजको आवश्यकता हो ।
सन्दर्भ सामग्रीः
१– अधिकारी, रविलाल (२०५६)–प्रगतिवादी नेपाली समालोचनाः लेकाली प्रकाशन ।
२– पौडेल, हेमनाथ–प्रगतिवादी नेपाली साहित्यको थालनी र विकासः नवयुग मासिक वर्ष २०, ११–१२ ।
३– राई, देवविक्रम–प्रगतिवादी नेपाली कवितामा कलम पत्रिकाको योगदानः अप्रकाशित, स्नातकोत्तर शोधपत्र,त्रिवि (२०५८), पृ.६२ ।
४– उपाध्याय, प्रा.डा. यदुनन्दन–प्रगतिवादी कविताको स्वरुपः समकालीन साहित्य (२०७२)।
५– उपाध्याय, प्रा.डा. यदुनन्दन–प्रगतिवादी साहित्यमा विचारधारको पक्षः समकालीन साहित्य (२०७२) ।
६– आचार्य, नन्दलाल–प्रगतिवादको इतिहास र नेपाली धर्तीमा प्रगतिवादः मझेरी डटकम (२०१० ई.) ।
७– सुवेदी अशोक नेपाली प्रगतिवादी कवितामा विद्रोहचेतः शारदा सुवेदी वर्षा÷विकास आचार्य (२०६२) ।
८– पौडेल, प्रा.डा. गोपिन्द्र–कार्यपत्रः नेपाली कथामा समाजवादी यथार्थवाद प्रभाव र विकासः साहित्य सङ्ग्रह डटकम (२०१७ ई.)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।