“बा ! म आएँ हजुरसँग सुत्न ।” छोरो उठेर आउँछ र रमेशसँग टाँसिन खोज्छ ।

“साने ! तिमी किन आएको ? डर लाग्यो ?” चिन्ता व्यक्त गर्दै रमेशले सोध्छ ।

ह्या (रिसाउँदै), “म ठुले हो के ! साने होइन ।”

“सधैं सानेलाई मात्रै सँगै सुताउनुहुन्छ । मलाई किन सँगै नसुताएको ? हजुरलाई मेरो माया लाग्दैन ?”

“के भन्छ यो ! आफ्नो छोराको नि माया लाग्दैन त ? किन तिमीले यस्तो कुरा गरेको बाबु ?” रमेशले चिन्तित हुँदै सोध्छ ।

जयश्‍वर रिमाल

“भाइ हजुरसँग टाँसिएर सुतिरहेको हुन्छ । झ्यालबाट हेरेर बस्छु । मलाई नि तपाईंसँग सुत्न आउन मन लाग्छ । तर हजुरले कहिले पनि बोलाउनु हुन्न । कहिलेकाँही सुटुक्क आएर सुत्छु । हजुरले थाहै नपाउने गरी । आज चाहिं कसरी थाहा पाउनुभयो बा ?”

बाबु छोराको यो वार्तालाप चलिरहँदा “ड्वाङ्ग” आवाज आउँछ । रमेश झस्किन्छ । केही ठुलै सामान खसेको अनुभूत गर्छ र हतारिएर छोराको कोठामा गई हेर्छ ।छोरोलाई बेडमा देख्दैन । उसको मन आत्तिन्छ । बत्ती बालेर नजर डुलाउँदा दुई वटा बेडको बिचमा छोरो खसेको देख्छ । हतारिँदै छोरोलाई उठाउँछ र बोकेर आफ्नै बेडमा ल्याएर सुताउँछ ।बाको काखमा लपेटिएर छोरो चाँडै निदाउँछ । रमेशलाई भने अघिको “ठुले” ले सुत्न दिँदैन ।

जिज्ञासु ठूलेको प्रश्नले रमेशलाई सोचमग्न बनाउँछ ।आफ्ना एक मात्र सन्तानको सत्यतामा प्रश्न चिन्ह खडा गर्ने “ठुले” ले उसलाई निकै सताउँछ । मनमा अनेकन ताना खेल्छन् । सानोमा बुबाआमाले सुनाएको भुतको कथा उसको स्मरणमा आउँछ । एकछिन सोचमग्न हुन्छ र अघिको घटना सपना नै थियो भन्ने निर्क्यौलमा पुग्छ । तर सपनाले उसको निद्रालाई भने कोसौं टाढा भगाइसकेको हुन्छ ।  ऊ जबरजस्ती निदाउने कोशिष गर्छ । निकै बेरको प्रयासपछि झकाउनै लाग्दा भासिएको स्वरमा आएको आवाजले उ पुन: झस्किन्छ ।

“को पापी ? मैले के गरेँ तिम्लाई ?”

निद्रामै श्रीमती बोलेको सुन्छ । झक्झक्याउँदै सोध्छ, “रीता, के भयो ? किन बरबराएको ? ”

श्रीमतीले आँखा मिच्दै भनिन्, “सपनामा एउटा बाबु आएर मलाई निकै सतायो । सपनाकाे बाबुले-मलाई किन हजुरसँग नसुताएको ? किन माया नगरेको ? म ठुले हो । मलाई पनि जन्मिन मन थियो तर जन्मिनै दिनु भएन । चार महिना नपुग्दै मारिदिनु भयो । तपाईंहरु  पापी हो भन्यो । मेरो त आङ्ग नै जिरिङ्ग भयो ।

श्रीमतीलाई सपनाको कुरामा चिन्ता नलिन र सुत्न अनुरोध गर्यो । तर उसलाई समेत सपनाले बेचैन बनाएको बारे केही संकेत दिएन । दुबै जना बेडमा पल्टिए । अनपेक्षित सपनाले बेचैन रीताले सुत्ने बेलामा साथमा नभएको छोरा अहिले साथमा भएको हेक्का समेत गरिनन् । सानेलाई अङ्गालोमा कसेर सुतिन् । एकैछिनमा निदाइन् पनि ।

रमेशलाई भने सपनाको पुन:स्मरण हुँदै गयो । ठुलेको आवाज उसको कानमा प्रतिध्वनित हुँदै गयो । लाख कोशिष गर्दा पनि निदाउन सकेन ।किन आज दुबै जनाले समान प्रकृतिको सपना देखियो भनी सोचमग्न भयो । बिपनामा टोलाउँदै दुवै सपनाको समानता खोज्न लाग्यो । अनि क्यामेराको रिल घुमाएझैं आफ्नो विगतलाई उल्टो दिशामा घुमाउन थाल्यो ।

000

ऊ एउटा विद्यालयमा पढाउँथ्यो । यसैक्रममा रीतासँग उसको चिनजान भएको थियो । एक अर्कालाई मन पराए पनि परिवारको असहमतिका कारण भागी विवाह गरेका थिए । विवाह गर्दा रमेश २२ वर्षको थियो भने रीता १७ वर्ष । ३/४ वर्ष बच्चा नजन्माउने सल्लाह गरेका थिए उनीहरुले ।पहिलो कारण- रीताको उमेर थियो (उनी बीस वर्ष नपुगी बच्चा नपाउने सोच थियो दुबैको) भने दोस्रो कारण उनीहरुको कमजोर आर्थिक अवस्था ।पारिवारिक सहयोग प्राप्त हुने अवस्था थिएन । रमेशको तलब र ट्युशन पढाएर कमाएको पैसाले कोठा भाडा तिर्न र दुई जनालाई खान धौ-धौ हुन्थ्यो । जीवन धान्नै कठिन थियो ।

समय योजनामा चलेन । चाहना विपरीत गर्भ रह्यो । दुवै दु:खी त भए तर बच्चा भने जन्माउने निधो गरे । समय बित्दै गयो । दुबै उत्साहित हुन थाले । यस्तो लाग्थ्यो कि सन्तानको मायाले दुवैको मनमा खुशी सञ्चारित भयो । अनि मायाको बन्धन अझै कसिँदै गयो । बाबु बन्ने कुराले रमेशलाई थप जिम्मेवारसमेत बनायो । पारिवारिक व्यवस्थापनको योजनामा लागे । भावी सन्तानलाई सम्झेर सपना बुन्न सुरु गरेका थिए । हुनेवाला सन्तानको नामसमेत राखिसकेका थिए । छोरा भए “अपिल” अनि  छोरी भए “रीया” ।

आमालाई छोरी हुनुमा जति गर्व थियो, बाबुलाई पनि छोरा हुनुमा उत्तिकै । दुबैलाई “आफू”मा पूर्ण सन्तुष्टि थियो । त्यसैले हुनेवाला सन्तान बाबुले छोरा अनि आमाले छोरी नै चाहेका थिए । यसर्थ “अपिल” बाबुको रोजाइ थियो भने “रीया” आमाको । समय राम्रैसँग बित्दै थियो । अकस्मात रीताको सोचाइमा परिवर्तन आयो । उनी बच्चा नजन्माउने निर्णयमा पुगिन् । र एभोर्सनको लागि रमेशलाई फकाउन लागिन् ।

समय निकै घर्किसकेको थियो । उनको गर्भमा आएको बच्चा ४ महिना पुगिसकेको थियो । रीताको निर्णयले रमेश दु:खी भयो । श्रीमतीको स्वास्थ्यको चिन्ताले समेत उसलाई पिरोल्न थाल्यो । केही दिन छलफल चल्यो । यही विषयलाई लिएर उनीहरुबिच मनमुटाव पनि भयो । रमेशले सहमति दिएन तर रीताले आफ्नो हठ छाडिनन् । उनले एभोर्सन गरेरै छाडिन् । त्यो पनि असुरक्षित तवरले !

रीताको निर्णयले रमेश निकै लामो समयसम्म विक्षिप्त भयो । रीताप्रतिको माया अनि सम्बन्धको खातिर जबरजस्त “कम्प्रमाइज” गर्यो । असहमतिका बाबजुद उनको निर्णयमा साथ दिन विवश भयो ।

धन्य ! भगवानको कृपा भयो । रीताको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेन ।

समयक्रममा यस घटना विस्तारै ओझेल पर्दै गयो । उनीहरुको जीवन सामान्य रुपमा चल्दै थियो । तर करिब १५ बर्षपछि भने उनीहरुलाई “न्याउरी मारी पछुतो” भएको छ ।  एकातर्फ दोस्रो सन्तान जन्माउने चाहना ७ वर्षदेखि पूरा हुन सकेको छैन भने अर्कोतर्फ बिगतको घटनालाई पुन:स्मृति गराउने गरी देखिएको सपनाले पिडा दिन शुरु गरेको छ । अझै यसमाथि हालको सन्तानमा देखिएको “न्यूरो डेभलपमेन्ट डिसअर्डर (अटिजम)” बाट उनीहरु थप मर्माहत भएका छन् ।

विगतको घटनालाई सम्झेर अल्झिनुभन्दा भविष्यमा खुशी हुने अरु नै उपाय खोज्नु बुद्धिमानी ठानेकोले रमेशले आजसम्म कुनै दिन त्यस निर्णयको बिपक्षमा श्रीमतीसँग बिबाद गर्न चाहेको छैन ।  त्यसो त उनले पनि त्यो बेलाको जिद्दीले अहिले पश्चाताप भएको उसलाई सुनाउन सकेकी छैनन् । तर दुबै जना यस मानेमा एकाकार छन् कि दुबैलाई आत्मग्लानी भएको छ । तर आपसमा “सेयर” गर्न भने दुबैले सकिरहेका छैनन् । किनकी रमेश रीतालाई दुखी बनाउन चाहँदैन भने रीता यस घटना सम्झन पनि चाहँदिनन् ।

अर्कोतर्फ कोल्टो फेर्दै रमेश खुइय: गर्छ । बिगतको सम्झना, आफ्नो चाहना र वर्तमान बेचैनीले तड्पिएको उसको मनमा आएका तरंगले उसलाई लाख कोशिष गर्दा पनि निदाउन दिएको छैन । निदाओस् पो कसरी ? जीवनका सप्तरङ्गी चाहनाहरु सबै रङ्गहीन हुँदैछन् । अनायासै सुक्दै, झर्दै, खुइलिँदै अनि उजाडिँदै गएको छ । फगत एक झिक्रा (अस्थिपञ्जर) मात्र बाँकी छ । निराश हुँदै कोल्टो फेर्छ । उत्साह र उमङ्गबिनाको शिथिल शरिरसँगै मन पनि सेलाउँछ । आँखाहरु लोलाउन थाल्छन् , विस्तारै झकाउँछ ।

नेपथ्यमा चर्को आवाज आउँछ । “ मलाई नमार, मलाई जन्मिन देऊ ! ”

हतासिँदै साथमा सुतेको छोरालाई अँगाल्दै बोल्छ, “बाबु अपिल ! के भयो तिम्लाई ?”

छोरो मस्त निद्रामा हुन्छ, केही प्रतिक्रिया जनाउँदैन । रमेशलाई पुन: सपना देखेको आभास हुन्छ । ब्याकुल मन सम्हाल्दै श्रीमतीलाई धारे हात लगाउँछ । यो सब उनकै कारण भएको भनी मनमनै गाली गर्छ । एकछिन गम्दै यो सबको कारक आफैँ ठानी आफैंलाई धिकार्छ ।असुरक्षित गर्भाधारणमा आफूलाई अनि भ्रुण हत्यामा श्रीमतीलाई दोषी ठान्छ । आफ्नो असावधानीका कारण यो परिस्थिति सृजना भएकोमा आत्मग्लानी गर्दै अबको आफ्नो बाँकी जीवन प्रजनन स्वास्थ्य र भ्रुण संरक्षणमा लगाउने प्रण गर्छ ।