प्रिय मान्छे !

हृदयभरिको अटुट सम्झना अनि युगौँयुगसम्म बाँचिरहने माया केवल तिमीमा समर्पित छ,स्वीकार गर या नगर, तिम्रो विचार…

जिन्दगीको आधा बाटो हिँडिसकेपछि खै कसरी तिमीसँग भेट भयो । म आफैँ अनभिज्ञ छु र तिमीलाई भन्न पनि सक्दिनँ आखिर यो के हो भनेर । माया प्रेम भनूँ भने उमेर, सोच, विचार र भोगाइले हामी धेरै फरक छौँ । होइन भनौँ भने तिमी बिनाको एकै पल बाँच्न बगरमा फालिएको माछीजस्तो हुन्छु । जो पल-पल तड्पिएर प्राण त्याग्न खोज्छ।

अनि कतै तिम्रो सु-मधुर आवाज मेरो कानमा ठोक्किन आइपुग्यो भने सिधै मुटुको कुनामा पुगेर सञ्चित हुन्छ । बसन्तको याममा गोठालोको मिठो बाँसुरीको धुन जस्तै जति-जति अन्तरमनको भावसँग डुब्न सक्यो उति मिठो र उति प्रेमिल।

त्यो दिन पूर्वको घाम पश्चिमतिर बास खोज्दै गोधूलीमा लुक्न खोजेको पल सिरसिर बतास बहिरहेको थियो । आफ्नो यौवनको मिठो बासनाहरु वरपर प्रकृतिका पुष्पहरुसँग खोस्दै, त्यही मनमोहक वातावरणमा पहिलो पटक तिम्रो प्रतीक्षा गरिरहेको क्षण म कसरी भुल्न सकुँला र ?

प्रतीक्षाको घडी जति-जति लम्बिँदै गयो उति-उति मुटुको ढुकढुकी व्यग्र रुपले बढेको कुरा बताउन सकिनँ,बताऊँ पनि कसरी ? के भनेर ? जब कि त्यो अनुभूतिबाट म आफैँ वन्चित जो थिएँ ।

आखिर किन र कसरी यस्तो हुँदैछ भनेर…।

धरती कल्पना

धरती कल्पना

त्यति बेलासम्म तिम्रो प्रतीक्षामा क्षितिजको घाम पश्चिमको घुम्टो ओढी दूर कतै हराइसकेको थियो भने शीतल जून खुर्पे बनेर सकी नसकी मेरै निम्ति आफ्नो चाँदनी छर्न व्यस्त थिई। सायद तिम्रो त्यो काल्पनिक मुहार मैले प्रष्ट देख्न सकूँ,छाती भरि-भरि तिम्रा काल्पनिक प्रतिबिम्ब कोर्न सकूँ । हुन त आफ्नै कल्पनाको कुरो थियो । तिमीलाई आफ्नो अनुकूल बनाउन तर पनि न भेटेरै वर्षौ पहिले भेटे जस्तो,न देखेरै देखे जस्तो,नछोएरै भित्र-भित्र सम्म छोए जस्तो,आफैँले आफैँलाई अचम्मित पारेको जीवनको पहिलो पटक थियो।

प्रतीक्षा प्रतिक्षामै सीमित रहला कि भन्ने डरले कता कता जरा गाडिसकेको थियो ,हुन त यसको अर्थ तिमी झुटा हौ भनेर सोचेकी थिइनँ, किन कि त्यो पलहरुमा म,म थिइनँ,मभित्र म थिइनँ,घडीको एक सेकेन्ड एक दिन भएर चल्दै थियो । एक महिना भएर चल्दै थियो । एक प्रकारको आतुरी बढेर भएको थियो यो सब । देख्न त त्यो सागर तृप्त देखिन्छ त्यहाँ कुनै प्यास देखिँदैन तर त्यसको आन्तरिक प्यास अर्थात् गन्तव्य महासागर हो। कसले बुझ्छ यो कुरा ? सायद यस्तै हुँदै थियो मभित्र,यसर्थ म सागर थिएँ अनि तिमी मेरा महासागर।

यत्तिकैमा हाते ब्यागको मोबाइल भ्यार्र-भ्यार्र गर्यो । म अतालिएँ , कुनै भयानक दृश्य मेरो सामु देखा परेको छ । सुस्त मनलाई शान्त पार्दै मोबाइल उठाउँदा,तिमी त्यतै आएर मलाई खोजेको जानकारी पाउँदा हंसले ठाँउ छोडेको थियो । म केही र कोही बाट नडराउने सम्भवतः जीवनमा पहिलो पटक यति डराएँकी थिएँ । निधारबाट असारे झरी बनेर पसिना चिट-चिट निस्कँदै बग्दै थियो।

हो,त्यति बेला ब्यागबाट मोबाइल झिकेर उठाउनु छोडेर उत्साहित हुँदै भनूँ या त अतालिएर चारैतिर आफ्ना सशंकित नजर डुलाएँ तर तिमीलाई चिन्न सकिनँ । कारण मनको काल्पनिक बिम्बबाहेक तिम्रो कुनै कथित तस्बिर मसँग थिएन,र पनि एकछिन मनको अद्भूत कौतुहलतालाई सान्त्वना दिँदै यत्रतत्र हेरिरहेँ, किनकि पर्खाइको अदृश्य पीडाभित्र एक मिठास पूर्ण आभास मैले पाइसकेकी थिएँ,र त त्यो मिठो आभास पलमै सिध्याउन मनको एक सोचले दिँदै दिएन।

पटक पटक तिम्रो मोबाइलको रि-डाइल मेरो मोबाइलमा आउँदा झस्किएँ र यथार्थमा बिँउझिनँ, विवश हुँदै फोन रिसिभ गर्दा मेरै अगाडि आइपुगेको कुराले म झनै अतालिएँ । के गरुँ ? कसो गरुँ ? एक्कासी गर्मी बढेजस्तो, हुरी आएजस्तो या भनौँ बढ्दो धड्कनको चालसँगै पैतालामुनिको धर्तीमा भुइँचालो गए जस्तो, कस्तो-कस्तो मैले ठम्याउन सकेकी थिइनँ,आखिर जे जस्तो भए नि,सबै प्रेमिल र उमङ्गको बेगले भरिएको थियो।

सपना र कल्पनाको दुनियाँबाट निक्लिनु त थियो नै । मनको मिठो भ्रममा एकाग्र हुनु मात्र मनको शान्ति थियो। त्यसलाई दुई पाइला पछाडि घचेट्दै तिमीले दिएको लोकेसनतिर पाइला सारेँ तर लाग्दै थियो म मरुभूमिको रेतमाथि हिँड्दै छु । जति पाइला अघि सार्न खोज्यो उति पछि सरेजस्तो ।

अन्ततः एक पटक मज्जाले झुक्किएँ, ग्रीन सर्टको पछि लाग्नाले । ग्रिन सर्ट लाएको तिमी सम्झेर कुनै अर्को व्यक्ति सामुन्ने पुगेँ र उसलाई हेर्न थालेँ । ऊ फोनमा व्यस्त थियो । म भने पोथी कुखुरीलाई भाले कुखुराले फनफनी घुमेझैँ उसको वरपर घुमेँ तर उसले मतिर कुनै चासो नदिई एकाएक नराम्रो दृष्टि फ्याँकेजस्तो लाग्यो । डर लागेर आयो । उसले पनि कसैलाई यानिकि मलाई पर्खेको भए त नयाँ मान्छे देखेर उत्सुकता देखाउनु पर्थ्यो तर त्यस्तो केही थिएन,यतिकैमा मेरो ह्याण्ड फोन बज्यो । जुन तिम्रै रहेछ । हतार गर्दै उठाएँ । त्यो व्यक्ति तिमी नरहेको जानकारी पाउँदा एक पटक लाजले मुर्छा पर्दै पानी पानी भएँ र फेरि तिमी भेट्न आतुर हुँदै तिमीतिर लम्किएँ।

यो पल्ट भने नजरले धोका खाएन । मैले परैबाट चिनिसकेकी थिएँ । हामी बिचको दूरी लगभग बीस पच्चीस पाइला अझै थियो । म कुनै प्रसिद्ध महलको माथि थिएँ, त्यो पनि चार फिटको पर्खाल पछाडि तिमी महलको तल्लो भाग यानिकि महलभित्र पस्न भर्खर ट्याक्सीबाट ओर्लंदै गरे जस्तो त्यो सडक किनारमा…।

यो अवधीको दुई मिनेटमा भने थोरै खुसीहरुको पलमध्ये एक पल बनाउन सफल भएँ । जुन कुराबाट तिमी अनभिज्ञ थियौ । कारण अझै तिमीले मलाई देखेका थिएनौ । म भने एक टकले एक निर्दोश बालकले पुर्णेको रात आकाशमा चम्किरहेको अनौठो तर अति प्रिय बस्तु त्यो जून हेरेजस्तो… भनौँ कि वर्षौं पहिला छुटिएको आफन्तजस्तो जसलाई जति हेरे पनि नथाक्ने गरी हेरिरहेँ बस हेरिरहेँ ।

एक्लै मुसुक्क मुसुक्क मुस्काउँदै दुवै हात पाइन्टको फ्रन्ट पकेटमा राखेर घरिघरि जुत्ताले त्यो भुइँतिर हानेको दृश्य,उफ्फ़ !

मेरो एकल उमङ्ग तोड्दै,फोनमा तिमी झर्किँदा अत्तालिएर देखा पर्नु परेको थियो ।

नत्र त्यो बीस पाइलाको दूरी त्यति बेला किन एक कोस एक माइल भएन ? म भगवानलाई पुकारिरहेकी थिएँ । तर भनेको बेला भगवान कहाँबाट प्रकट हुनु र ? म के लजाउँदो रहेछु र, तिम्रो लजाइ देखेर म पो लाज विहीन पाएँ आफूलाई,तर पनि कता कता ।

त्यो दिन खुर्पे जून छिप्पिएर कत्रो जून लागेको आकाशमा ? जति पटक हेर्यो उति-उति ठुलो देख्दै थिएँ,सायद तिमीलाई थाहा थिएन जून हेर्ने बहानामा तिमीलाई हेर्दै थिएँ, त्योभन्दा अरु विकल्प पनि त थिएन म बबुरोसँग ।

पहिलो पटक प्रत्यक्ष मेरो नमस्ते पाउँदा कस्तो अनुभूति तिमीलाई भयो त्यो त थाहा भएन, तर मैले अरुलाई नमस्ते गर्दा गर्व र सम्मानले गर्थें । सायद यही सोचेर तिमीलाई पनि नमस्ते गरेँ तर म किन काम्दै थिएँ झाक्री जस्तो बुझ्न सकिनँ।

अरु बेला शिंहझैँ गर्जिने म त्यो पल किन त्यसरी पग्लिएको हिउँ जस्तो शिथिल भएर पोखिएँ थाहै  पाइनँ |
त्यहि भएर त तिमीलाई सोध्न मन लागेको आखिर यो के हो ?

त्यसपछिको केही समय सँगसँगै ठुलाठुला सडक किनारैकिनार तिता-मिठा भावना साट्दै हिँडेका हरेक पाइलाहरुको मन्द र मिठो पदचापहरु जीवन्त छन् यो छातीभरि । यो नौलो र बृहत् संसारको एक फराकिलो सहरमा आफ्नो सम्झेर कसैको अघिपछि लागेर हिँड्दा पनि थकित बटुवाले ठुलो रुखको चौतारीमा आड पाएजस्तो हुँदो रहेछ । र त त्यो समय आफ्नो वशबाट छुटेर गए पनि यादका भग्नावशेष कति ताजा छन् । बस यो कुरा त सम्झने मनलाई मात्र थाहा हुँदो रहेछ ।

केही क्षणको आत्मीय भेटघाट अत्यन्त कठिनसाथ समाप्त हुँदै थियो । जुन संसारको रित नै हो,जसरी भेट्न सजिलो छ त्यसरी नै र त्यति नै कठिन हुन्छ छुट्न । केही पलको मिठो भेटमा पनि नजर जुधाएर कुरा गर्न सकिन ।आखिर किन भन्दै आफैँलाई प्रतिप्रश्न गर्न मन लाग्छ तर हरेक प्रश्न आफैँभित्र उत्तरविहीन बन्दै गयो ।

हेर्दा हेर्दै हामी उभिएको गोरेटो पनि दोबाटोतिर उन्मुख हुँदै घडीका सुइहरुले छुट्टिने संकेत दिँदै गर्दा मैले आफ्नो अघिल्लो यात्राको लागि तयार गरेको गन्तव्य र गन्तव्य पुर्याउने टिकेट अनुरुपको ट्रेन मलाई लिन अब पाँच मिनेटभित्र आउँदै थियो,त्यो पल मभित्र के हुँदै थियो ? तिमी त के त्यो दैव पनि अनभिज्ञ हुनु पर्छ,मेरो भावना र कल्पनाबाट।

त्यो पलको एक सामिप्यता, माया नै मायाले भरिएको न्यानो अङ्कमाल, निर्दोष हेराइ, अनि कोमल तिम्रा ओठले मेरो निधारमा गरेको चुम्बनले यस्तो लाग्यो तिमी पटकपटक मलाई बिदाइ गर्न आउनु । यहाँ मात्र होइन, धरतीको अन्तिम बास रहुन्जेल अनि म आँखाभरि समुन्द्र जमाएर तिम्रो अद्भूत प्रेमको मन्थन गरुँ ।

छुकछुक छुकछुक गर्दै आइपुग्यो ट्रेन, भारी पैताला ट्रेनको ढोकातिर लम्कियो । हातबाट हात छुट्यो, ढुकढुकी चल्दै  थियाे, अफसोच मुटु त्यही छातीमा…।