
(वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा भएका छन् । प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।)
० ० ०
विक्रम परियारकाे प्रथम पुरस्कार प्राप्त चिठी….
मिति : २०८०/०१/१९
नागडाँडा, कास्की
प्रिय मधुमाया,
असीम प्रेम र सम्झना ।
रुखबाट झरेर माटोमा कुहिन पर्खिरहेको पात जसरी तिमीबाट छुट्टिएको म, एक मुठी धुकधुकीको अस्तित्व बोकेर माटोमा मिल्ने दिन गन्दै पर्खिरहेको छु । साँझ बिहान दुई हात जुम्ला गरेर तिम्रो हरियाली वसन्तको दैवसँग कामना पनि गरिरहेकै छु । आशा छ, तिमी निकै छौ । दुःखी गरिबको जिन्दगीसँग सुनाउन र पठाउनलाई दुःखका खबर बाहेक त के हुन्छन् र ? तैपनि मेरो धुकधुकीको आधा अंशलाई जे छ त्यही सुनाऊँ भनेर हात कपाउँदै कपाउँदै एक चिठ्ठी माया पठाउँदै छु ।
दुखान्त बिछोडको यतिका वर्षपछि सकी नसकी तिमीलाई एउटा पठाउने गरी चिठ्ठी लेख्न लागिरहेको छु । चिठ्ठी लेख्न त कति लेखेँ, लेखेँ तर अहँ, आँटेर पठाउन किन किन सक्दै सकिनँ । एकबेला त तिमीलाई चिठ्ठी पठाउन ठेगानासम्म पनि थिएन । एकबेला त के भने हल्कराको पनि भर लागेन । एकबेला त झन् मायाकै पनि विश्वास भएन । तर यादहरूका बाछिटाले जिन्दगीभरि नै भिजाई नै रहे । म कहिल्यै सुख्खा बन्न नै पाइनँ । यसैले यो बेला कोर्दै छु एउटा हिम्मत, गर्दै छु आफैँसँग विद्रोह, जित्दै छु आफैँलाई, हार्दै छु आफ्नै अटेरीपनसँग ।
अव्यवस्थित याद र यादको युद्धमा आक्रान्त लडाकुका भावनाहरू भलै व्यवस्थित र सिलसिलाबद्ध नहोलान् । तर प्रेम चोखो हो। तर भावना निश्चल हुन्। प्रेम त लुगामा टाँसिएको चुइँगम जस्तो हुँदो रहेछ । टाँसिएपछि जाँदै नजाने । प्रेमलाई न त कहिल्यै समयको कैँचीले घटाउन सक्दो रहेछ न समयको इरेजरले नै मेटाउन सक्दो रहेछ । बस् अमिट छाप बनेर दिलभित्र गडिदिने रहेछ। खिल पल्टेको काँडा झैँ बसिदिने रहेछ । मलाई पनि झिक्न भन्दा दुखिरहनै शीतल लाग्यो । त्यसैले होला यतिका वर्षदेखि दुखिरहेको छु र, सायद दुखिरहनेछु – अन्तिम मुठी सास फोक्सोमा रहेसम्म । अन्तिम थोपा रगत मुटुमा बचेसम्म ।
सम्झी ल्याउँदा, बच्चामा मलाई सनाही बजाउन मन नै लाग्दैनथ्यो । बाले तर खुब हकारे – दमैँको छोरो भएर बाजा बजाउन नसिके, लुगा सिउन नसिके रुद्री लगाउन सिक्छस् त ? बाले हकार्दै हकार्दै सिकाए । मैले पनि नकार्दै नकार्दै सिकेँ। के थाहा त भाग्यले, तिम्रै बिहेमा तिमीले लाउने चोली सिलाउन लाउनेछ भनेर, तिम्रै बिहेमा बाजा बजाउन सुपारी मिल्नेछ भनेर ।
खै मधु, तिमीले त थाहा पायौ कि पाइनौ ? मैले तिम्रो बिहेमा कपडा सिलाएपछि कहिल्यै सियो छोइनँ । तिम्रो बिहेमा बाजा बजाएपछि कहिल्यै सनाही फुकिनँ । तिमीलाई पनि अन्तिम झुल्को त्यही मैले सिलाएको चोलोमा बिहेकै दिन देखेको हुँ । त्यसपछि गाउँमा न तिम्रा बाआमा बसे, न तिमी फर्केर आयौ ।
हुन त तिमीलाई यसरी आफैँले बाजा बजाएर बिदाइ गरेँ । दशा बजाएर आउँदैन भन्थे गाउँघरमा । तर मैले त दशा बाजा बजाएर भित्र्याएँ। त्यसपछिका धेरै दिन आफैले आफैलाई सम्झाएँ । आफन्तले पनि धेरै सम्झाए। हो र छ त नि भनेर मैले पनि बिहे गरेँ । प्रकृतिको नियम त हो, समय बित्दै गयो । छोरा छोरी हुँदै गए । म पनि बुढो हुँदै गएँ । ऊ पनि बूढी हुँदै गई। छोराछोरी नि जवान हुँदै गए। जिन्दगीभरि यसरी साथ दिएकी श्रीमतीलाई पनि कालले लिएर गयो । म बूढो, उल्टो दिन गन्दै बसिरहेको छु ।
मेरी एउटी छोरी र एउटा छोरो छ । छोरीको बिहे भएको पनि पाँच साल बिते । छोरी पट्टि एउटा नातिनी छ । घर राम्रो छ । केही चिन्ता छैन । ज्वाइँ छोरीले मिलेर गरेका छन् । कान्छोले पनि अन्तरजातीय विवाह गर्यो । बाहुनी ल्यायो । क्या सुहाएको जोडी छ । म त तिनीहरूका जोडीमा उहिलेका हामी देख्छु । लाग्छ, कति नाथे कुरामा हाम्रो बिछोड भएको रहेछ । कति इत्रो कुरामा हामीले भयङ्कर बिछोड खप्नु परेको रहेछ । सायद छिटो नजन्मिएछौं । नत्र अहिले म तिम्रै साथमा सुन्दै रहेको हुने थिएँ होला – ‘जीवन कठै बरी…’
खैर, खासै नराम्रो त केही छैन । सबै बढिया चलेको छ । तिम्रा पनि दुइटा छोरा र एउटी छोरी छन् भन्ने सुनेको थिएँ। खै कुन्नि कत्रा भएका हुन् ? स्वास्थ्यको कुरा गर्दा अहिले सम्म त निरोगी छु । त्यही प्रेसरको औषधि चाहिँ नियमित खान्छु । कहिलेकाहीँ त भुल्छु पनि । छोराछोरी फोन गर्दै पिच्छे सम्झाइरहन्छन् । तिमी त ठिकै छौ नि ? रोग त केही छैन होला के रे ?
अहिलेको जमानामा त अर्कै भयो, हाम्रो जमानाको जत्ति प्रेम छैन। त्याग छैन । तपस्या पनि छैन । पहिले चाहेको प्रेमीलाई हत्तपत्त पाइँदैनथ्यो तर प्रेम चोखो हुन्थ्यो । अहिले प्रेमी सहजै पाइन्छन् तर प्रेम हत्तपत्त भेटिँदैन । हामी छिटो जन्मिएर हाम्रो प्रेम विवाहमा परिणत हुन असफल भयो । समयका चक्रले अन्तरजातीय विवाहलाई सामान्यीकरण त गरिदियो । तर खै समयले विधुर र विधुवाको प्रेमलाई कहिले सामान्यीकरण गर्ला ? यसकारण लाग्छ, समाज जति समयानुसार चल्नुपर्ने हो, चलिसकेको छैन ।
जिन्दगीको उत्तरार्धमा तिमी जिउँदै छौ भन्ने थाहा पाउनु, तिम्रो ठेगाना पत्ता लाग्नु मेरो जिन्दगीभरिको चोखो प्रेमको तपस्याको फल त होला भन्ने सम्झेको छु । जिन्दगीको अन्तिम क्षणसम्म आइपुग्दा मेरो धर्म भन्नु नै तिम्रो प्रेम हो भन्ने लागेको छ । मेरो तीर्थ तिम्रै दर्शन पाउनु हो भन्ने सोचेको छु । यसैले कुनै धाम, कुनै ठाम कतै गएको पनि छैन, जानु पनि छैन । ए मेरी प्राण, अब मर्ने बेलामा तिम्रो एक झलक दर्शन गर्न पाए स्वर्ग जान्थे कि भन्ने विश्वास छ ।
उही असफल प्रेमी,
परिविक्रम
पोखरा कास्की ।
९८६४८३९३६०



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

