समाजविदहरूले सहरबाट पसिनाको विभिन्न सेम्पलहरु संग्रह गरेर प्रयोगशालामा ल्याएका छन् ।

एक अध्ययन अनुसार –

पसिनाको समाजशास्त्रीय भेद भनेको त्यस्को गन्ध
र रङ्गमा लुकेको रहस्य हो ।
आधा अर्थ गन्धले खोल्छ
आधा रङ्गले ।

बडे बडे घरका मानिसहरूको पसिना
हल्का सुनौलो इत्र जस्तो गन्हाउने हुन्छ
अतिरिक्त क्यालोरी र दिनभर एयर कन्डिसनमा बसी बस्ने हुनाले
तिनीहरु बिहान बेलुकी जिम जान्छन् पसिना बगाउन् ।

निर्मल आग्रह

एक खटी खाने परिश्रमी मानिसको रङ्ग मट्मैलो हुन्छ
तीव्र अमिलो हुन्छ स्वाद
र गन्ध पनि उस्तै
त्यस्को रङ्ग यति खतरनाक हुनसक्छ कि हेर्नलाई आँखामा ग्लास लगाउनु पर्ला
या नाक रुमालले ढाक्नु पर्ला ।

पसिनाको आणविक संरचनाले तिनको समाजशास्त्रीय भेद बुझ्न सकिदैन
रङ्ग र गन्धले मात्र ।

मेहनत गरेर शरीरबाट पसिना चुहुनु र चुहाउनु दुई
अलग्ग कुरा हुन्, यो बुझ्नको लागि पहिले बुझ्न जरूरी छ पसिना कुन छालाको हो ?
एसी मोटरमा बसेर पशु क्लिनिक जाँदै गरेको मालिकको डगिको हो कि
खेतबारीमा ग्रीष्मको टण्टलापुर घाममा पनि दिनभर चुपचाप खटिबस्ने हलगोरुको ?

निर्मल आग्रह, सिलगढी, भारत ।