४२.

धेरै कठिन छ

संसारमा हरेक दिन मानिस हुनुको

जरिमाना तिर्नु

 

नजिकबाट हेर मलाई

र देख्नेछौ

मेरा ओठह?मा प्रेमिकाले दाँत गाडेको

निशान

बुढीले कोतरेको मेरो पीठ

गलेको काँधमा झुन्डेको अफिसको बोझ

औँलाहरूमा सरकार चुन्न पर्दा लागेको स्याहीको

दाग

र त्यसैको मुन्तिर

बब्बाईएका मेरा संस्कारहरू !

 

मैले हरेक दिन मानिस हुनुको जरिमाना तिरेको छु !!

 

४३.

 

कुनै पनि डर स्थायी हुँदैन

 

पहिलो चोटि बाउको पकेटबाट पैसा झिक्दा थर्रर कामेको थियो हात

पछि-पछि यो डर छुट्यो !

 

पहिलो चोटि

स्कूले दिनमा फूल स्पीडमा साइकिल चलाउँदा

खुट्टाहरू कामेका थिए डरले

पछि पछि यो डर हट्यो !

 

पहिलो चोटि ओठ चुम्न पर्दा ओठ डरले

कामेका थिए

यो डर पनि पछि हटदै गयो !

 

पहिलो चोटि केमिस्ट सपमा कण्डोम किन्दा

मुटु डरले ढुकढुक भएकोथ्यो

यो डर पनि पछि हटेर गयो !

 

कुनै डर पनि स्थायी हुँदैन

न त पहिलो चोटिको डर पहिलो अभ्यास हुन्छ ।

 

श्रेयस्कर छ डरको रोमाञ्चलाई पढेर

पहिलो चोटि हुन आउने घटनाको प्रतीक्षामा जियौं डरलाई

 

 

४४.

 

एउटा आँखाले देख्न सक्ने  संगति-विसंगतिहरू

कति हुनसक्छन् !

 

एउटा बन्द आँखाले जे-जति देख्न सक्छ

खुल्ला आँखाले ती सब किन देख्न सक्दैन ?

 

टेबुलमा प्रिय कविको किताब छ

एउटा तस्विर छ वालमा

हातमा आधा रहल सिगरेट र धुँवा

 

खुल्ला आँखाले किन होला मलाई यतिबिघ्न सताइरहेछ

घरिघरि एउटै कुरा भनिरहेछ

मानौँ आदेश गरिरहेछ-

एउटा तस्विर बना र जम्मै रङहरू भरिदे त्यस्मा !

सारा सपनाहरू एउटा कागजमा कोरेर डल्ला पारेर

उडाइदे

इन्द्रेनीलाई घाँटीमा झुन्ड्याएर संसारको सबभन्दा ठूलो सागरको चक्कर लगाएर आइज !!

 

बबाल छ यार !

 

टेबुलमा छ प्रिय कविको किताब

एउटा तस्वीर मनमा

हातमा आधा बाचेको सिगरेट जस्मा यो बेलुकीभर समय काटनुछ मलाई ।