४२.
धेरै कठिन छ
संसारमा हरेक दिन मानिस हुनुको
जरिमाना तिर्नु
नजिकबाट हेर मलाई
र देख्नेछौ
मेरा ओठह?मा प्रेमिकाले दाँत गाडेको
निशान
बुढीले कोतरेको मेरो पीठ
गलेको काँधमा झुन्डेको अफिसको बोझ
औँलाहरूमा सरकार चुन्न पर्दा लागेको स्याहीको
दाग
र त्यसैको मुन्तिर
बब्बाईएका मेरा संस्कारहरू !
मैले हरेक दिन मानिस हुनुको जरिमाना तिरेको छु !!
४३.
कुनै पनि डर स्थायी हुँदैन
पहिलो चोटि बाउको पकेटबाट पैसा झिक्दा थर्रर कामेको थियो हात
पछि-पछि यो डर छुट्यो !
पहिलो चोटि
स्कूले दिनमा फूल स्पीडमा साइकिल चलाउँदा
खुट्टाहरू कामेका थिए डरले
पछि पछि यो डर हट्यो !
पहिलो चोटि ओठ चुम्न पर्दा ओठ डरले
कामेका थिए
यो डर पनि पछि हटदै गयो !
पहिलो चोटि केमिस्ट सपमा कण्डोम किन्दा
मुटु डरले ढुकढुक भएकोथ्यो
यो डर पनि पछि हटेर गयो !
कुनै डर पनि स्थायी हुँदैन
न त पहिलो चोटिको डर पहिलो अभ्यास हुन्छ ।
श्रेयस्कर छ डरको रोमाञ्चलाई पढेर
पहिलो चोटि हुन आउने घटनाको प्रतीक्षामा जियौं डरलाई
४४.
एउटा आँखाले देख्न सक्ने संगति-विसंगतिहरू
कति हुनसक्छन् !
एउटा बन्द आँखाले जे-जति देख्न सक्छ
खुल्ला आँखाले ती सब किन देख्न सक्दैन ?
टेबुलमा प्रिय कविको किताब छ
एउटा तस्विर छ वालमा
हातमा आधा रहल सिगरेट र धुँवा
खुल्ला आँखाले किन होला मलाई यतिबिघ्न सताइरहेछ
घरिघरि एउटै कुरा भनिरहेछ
मानौँ आदेश गरिरहेछ-
एउटा तस्विर बना र जम्मै रङहरू भरिदे त्यस्मा !
सारा सपनाहरू एउटा कागजमा कोरेर डल्ला पारेर
उडाइदे
इन्द्रेनीलाई घाँटीमा झुन्ड्याएर संसारको सबभन्दा ठूलो सागरको चक्कर लगाएर आइज !!
बबाल छ यार !
टेबुलमा छ प्रिय कविको किताब
एउटा तस्वीर मनमा
हातमा आधा बाचेको सिगरेट जस्मा यो बेलुकीभर समय काटनुछ मलाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










