दुनियाँ भन्छ
आफूलाई जान्नु ठूलो कुरो हो रे
तर म मान्दै मान्दिनँ
आफूलाई जान्नु पनि के जान्नु ?
चिनिसकेको छु राम्रोसँग आफूलाई।

बौद्धिकताले भरिएर
कैयौं दिनसम्म एक्लै बर्बराएको छु।
नजानेको केही छैन
म जति ज्ञानी कोही छैन भन्ने
सत्यलाई स्वीकारेको छु ।

अनिता काेइराला

दुनियाँ भन्छ
मैले भनेको सबैले सुन्नैपर्छ
मैले भनेको मान्नैपर्छ
मैले मलाई राम्रोसँग बुझिसकेको छु
अब जान्न बाँकी केही छैन ।

जित्नुपर्छ संसार भन्दै
खुट्टा आफ्नै भाँचेको हुँ ।
हेर्नुपर्छ सुन्दरता भन्दै
आफ्नै आँखा फोडेको हुँ
ढलेपछि विश्वासको सगरमाथा
लाचार हुँदै आफ्नै अदालतमा
न्यायनिसाफ मागेको हुँ ।

दुनियाँ भन्छ,
लामो छ जीवन
संसारलाई बुझ्नै पर्छ ।
बाँधेर राख्न मायालाई
खरानीको डोरी बाटनै पर्छ ।
स्वर्गमा नाच्न आनन्दले
आफ्नै आँगन भत्काउनु पर्छ ।

संसार भन्छ,
शंकाको सागरमा डुबेर
आफ्नै लंका डडाउनु पर्छ।
बाँकी छैन जान्न अब केही
त्यसैले नौलो गीता रच्नै पर्छ।