
१. पुतली – गङ्गा कर्माचार्य पौडेल

गङ्गा कर्माचार्य पौडेल
आहा कति राम्री तिमी फुर्फुर उड्ने पुतली
स्वाद मानी खाइदिन्छ्यौ फूलको रस बटुली
रङ्गीचङ्गी बुट्टेदार पखेटा छ राम्रो
तिम्रो सुन्दरताले मन लोभिन्छ नि हाम्रो
कहिले उड्छ्यौ आकाशमा कहिले फूलबारीमा
कहिले आई बसिदिन्छ्यौ आमाको त्यो सारीमा
मलाई पनि तिमी जस्तै उड्न मन लाग्छ
तिमीलाई देखेपछि डर जति भाग्छ
सबैलाई माया गर्ने तिमी धेरै जाती
मलाई पनि आफूसँगै लैजाऊ माथि–माथि
——————————————-
[भिरकोट स्याङ्जामा जन्म भई हाल बूढानिलकण्ठ नपा-१० कपन काठमाडौँमा स्थायी बसोबास गर्दै आएकी साहित्यकार गङ्गा कर्माचार्य पौडेल (२०११) नेपाली बालसाहित्यका क्षेत्रमा सशक्त नारी हस्ताक्षरको नाम हो । २०३२ सालको ‘देशान्तर’ पत्रिकामा कविता प्रकाशन गरेर साहित्यिक लेखनको यात्रारम्भ गरेकी कवयित्री पौडेलले बालसाहित्यका विविध विधामध्ये प्रायः बालकथा, बालचित्रकथा र बालउपन्यासका कृतिहरू लेखेकी छन् भने बालकविता वा बालकाव्यका क्षेत्रमा पनि उनका केही कृतिहरू प्रकाशित छन् । ‘ओजु र डाँफे’, ‘धौली आमा’ उनका बालकाव्यका कृतिहरू हुन् । लेखन र सम्पादनका साथै खोज अनुसन्धानका क्षेत्रमा समेत उनको सक्रियता राम्रो छ । स्याङ्जा जिल्लाको बालसाहित्यका बारेमा खोजपरक कृति प्रकाशित गरिसकेकी स्रष्टा पौडेल हाल गण्डकी प्रदेशको बालसाहित्यको इतिहास लेखनमा सक्रिय छन् । नेपाल बाल साहित्य समाज र अन्य दर्जनौँ संस्थासँग उनी आबद्ध छन् । विभिन्न शिक्षणसंस्थाले उनलाई बालसाहित्य स्रष्टाको रूपमा सम्मान पनि गरेका छन् । साहित्यकार गङ्गा कर्माचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा अनुसन्धाता एवम् शोधार्थीहरूले शोत्रपत्र पनि तयार पारिसकेका छन् । नेबासासद्वारा प्रदान गरिने उत्कृष्ट बाल साहित्य लेखन पुरस्कारबाट समेत पुरस्कृत उनले फुटकर रूपमा बालकविता पनि लेखेकी छन् । प्रस्तुत ‘पुतली’ बालकवितामा कवयित्रीले प्रकृतिको मानवीकरण गर्दै पुतलीको रूप सौन्दर्य र आनीबानीको चर्चा गरेकी छन् । आकाशमा र फूलबारीमा उड्दै गरेको पुतली कहिलेकाहीँ आमाको सारीमा पनि आइपुग्ने रमाइलो सम्झना कवितामा गरिएको छ । कवितामा कवयित्री बालपात्र बन्न पुगेकी छन् र पुतलीले झैँ निर्धक्क भएर उड्न पाउने स्वतन्त्रताको अपेक्षा गरेकी छन् । कथयिता बालपात्रलाई पुतलीले जसरी आकाशको माथि-माथि पुग्ने रहर पनि कवितामा अभिव्यक्त भएको छ ।]
=============
२. मेरो सानो साथी – वेदकुमारी न्यौपाने

वेदकुमारी न्यौपाने
सिरिरिरी सिरिरिरी हावा सिरिरी
सुन बुट्टे पुतली नाच्यो फिरिरी
फिर्फिर् गर्छ पुतली उड्छ माथि-माथि
चिर्बिर् गर्छ गौँथली मेरो सानो साथी
घुर्घुर् गर्छ परेवा बसी छानामाथि
भुर्भुर् गर्छ भँगेरो मेरो सानो साथी
ङुर् ङुर् गर्छ बिरालो जान्छ कौसीमाथि
भुक्भुक् गर्छ पप्पी कुकुर मेरो सानो साथी ।
————————————
[बालकोट, भक्तपुर घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी साहित्यकार वेदकुमारी न्यौपाने (२०१४) रेडियो नाटक लेखेर प्रसिद्धि कमाएकी स्रष्टा हुन् । “डाँफेझैं नाच्ने हिमाल झैं हाँस्ने नेपालकी छोरी हुँ म” बोलको चर्चित म्युजिक भिडियोको शब्दरचना उनैले गरेकी हुन् । ‘पोषण सम्बन्धी केही गीतहरू’, ‘आ-आफ्नो कर्तव्य’ बाल नाटक लगायत उनका बालोपयोगी कृतिहरू पनि छापिएका छन् । ‘रामेको रहर’ शीर्षकमा उनले लेखेको टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको छ । उनका फुटकर रूपमा बालगीत, बालकविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । उनको प्रस्तुत ‘मेरो सानो साथी’ बालकवितामा बालबालिकालाई मन पर्ने पुतली, गौँथली, परेवा, भँगेरा, बिरालो, कुकुर जस्ता मानवेतर किरा तथा पशुपक्षीहरूलाई पात्रका रूपमा चयन गरी तिनको स्वभाव, आनीबानी र व्यवहारलाई सुमधुर ढङ्गमा चित्रण गरिएको छ ।]
********************************
३. सानो सानो खरायो – नवराज चौलागाईं ‘क्षितिज’

नवराज चौलागाईं ‘क्षितिज’
सानो सानो खरायोको ठाडो ठाडो कान छ
रमाएर सानो भाइले मच्चाएर तान्छ
कहिले यता खुर्र गर्छ कहिले उता जान्छ
दुबो घाँस रमाएर चुट्टचुट्ट खान्छ
जिउडाल मिलेको छ आँखा साह्रै चट्ट
जुँगा पनि आको रै’छ कति राम्रा खुट्टा
खरायोको एउटा साथी खुर्र दौडी गयो
मेरो पनि दुवै आँखा चञ्चल चञ्चल भयो
लुकी–लुकी चिहाएर हेर्छ घरी–घरी
फूलको बुट्टाजस्तै रै’छ जिउमा थरी–थरी ।
——————————————————-
[शङ्खु (हालः कोन्ज्योसोम गाउँपालिका-२) ललितपुर घर भई हालः: हाल कमलविनायक न. पा. भक्तपुर निवासी सर्जक नवराज चौलागाईं ‘क्षितिज’ (२०४२) शिक्षण तथा पत्रकारिता पेशामा आबद्ध छन् । स्नातकोत्तर शैक्षिक योग्यता रहेका उनको बालकविता लेखन यात्रा करिब एक दशक लामो छ । उनका बालसाहित्यिक एवम् अन्य रचनाहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा प्रकाशित हुँदै आइरहेका छन् । सरल भाषाशैलीमा रोचक पाराका बालकविता लेख्ने कवि नवराज चौलागाईंको ‘सानो सानो खरायो’ बालकवितामा कविले मानवेतर बालपात्र सानो खरायोको परिचय दिँदै यसै अमानवीय पात्रलाई केन्द्रमा राखेका छन् । सानो खरायोसँग सानो भाइ रमाएर खेलेको प्रसङ्ग अघि सार्दै कवि चौलागाईंले प्रस्तुत बालकवितामा खरायोले गर्ने क्रियाकलाप र उसको आनीबानीलाई रमाइलो तरिकाले पस्किएका छन् । झिनो आख्यानात्मकता, लयात्मकता, सरलता, बालोपयोगी सन्दर्भ र बालसुलभ कोमलता जस्ता विशेषताले प्रस्तुत बालकविता रोचक बन्न पुगेको छ ।]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
८ फाल्गुन २०८२, शुक्रबार 










