स्वादिला बालकविता; शृङ्खला – २४

१. प्रभाती सन्देश – रञ्जुश्री पराजुली

पूर्व खुल्यो सुस्त सुस्त लाली चढ्दै आयो
फेरि नौलो जोश जाँगर जीवनले पायो
शङ्ख घण्ट बज्न थाले धूप बत्ती साथ

बिहानीले भन्न थाल्यो चलाऊ आफ्ना हात
उज्यालो भो चारैतिर हात पाउ चले
सबै घरमा उत्साहका नौला दीप जले
चिर्बिर गर्दै चरा उडे यता-उतातिर
प्रभातले भन्न थाल्यो उठाऊ आफ्नो शिर
आफ्ना-आफ्ना काम गर्न सबै जना लागे
अल्छीपना लोसे बानी टाढा टाढा भागे
लेख्न पढ्न थालौँ अब उठाएर शिर
प्रभातले भन्न थाल्यो बनौँ कर्म वीर ।
—————
[कवयित्री रञ्जुश्री पराजुलीको जन्म वि.सं. २००५ मा काल्धारा काठमाडौँमा एउटा सम्भ्रान्त र शिक्षित परिवारमा भएको हो । पारिवारिक प्रभावका कारण उनका अन्य सन्तानमा समेत त्यसको छाप परेको पाइन्छ । सुनकोसी साहित्य प्रतिष्ठान, नारी साहित्य केन्द्र, नियात्रा समाज लगायतका संस्थामा आजीवन सदस्य रहेकी पराजुलीको बालसाहित्यसँग सम्बन्धी संस्थामा पनि सम्बद्धता रहिआएको छ । उनी नेपाल बालसाहित्य समाज तथा केटाकेटी प्रतिष्ठानमा समेत आजीवन सदस्य छन् । नेपाली समालोचना र सिर्जनाका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी कवयित्री रञ्जुश्री पराजुलीले प्रौढ तथा बालसाहित्यका क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै आएकी छन् । प्रौढसाहित्यतर्फ नियात्रा र लघुकथा लेखनमा उनी बढी सफल देखिन्छिन् ।”विदेशमा बिताएका केही वर्ष” नामक नियात्रा सङ्ग्रहले उनलाई नियात्रा क्षेत्रमा सङ्ग्रह प्रकाशित गर्ने पहिलो नेपाली महिला नियात्राकारका रूपमा चिनाएको छ । बालसाहित्यका क्षेत्रमा उनले कथा विधामा थुप्रै सङ्ग्रह प्रकाशित गरेकी छन् । बालकथा सङ्ग्रह र बाल चित्रकथातर्फ उनका दस थुँगा फूल, सबै आमाका सन्तान, अन्धिविश्वास, भुन्टी बाघ, मितेरी गाउँ, कथाबाटिका, चिम्पु र घडी तथा बाल उपन्यास र बाल चित्रउपन्यासतर्फ अन्तरे र मन्तरे, हरियाली लगायतका कृति प्रकाशित छन् । यसबाहेक उनका अनूदित बालसाहित्यिक कृतिहरू पनि प्रकाशित भएका देखिन्छन् । नेपाल बालसहित्य, समाज समाज कल्याण मन्त्रालय, शिशु सेवा समिति बिराटनगर, रमेश विकल प्रतिष्ठान, त्रिमूर्ति निकेतन, वनिता साहित्य प्रकाशन, पद्मकन्या क्याम्पस नेपाली शिक्षण समिती, गोधूलि साहित्य प्रतिष्ठान आदि विभिन्न संस्थाद्वारा उनी सम्मानित र पुरस्कृत पनि भइसकेकी छन् । कवयित्री पराजुलीको यस ‘प्रभाती सन्देश’ बालकवितामा सूर्योदयको समय भएपछि मानिस जागा भएर सिर्जन कर्म गर्नुपर्नेमा प्रेरित गरिएको छ । जब बिहान हुन्छ धार्मिक आस्था भएका व्यक्तिहरू पूजापाठमा व्यस्त हुन्छन्, चराहरू चिर्बिर गर्दै यताउता उड्न थाल्छन् अनि अल्छी र लोसेहरू पनि जाँगरिलो भएर काममा अघि सर्न थाल्छन् । प्रभाती समय जीवनले नयाँ जोश जाँगर पाउने समय हो भनेर कवितामा भनिएको छ । यिन सन्दर्भ अघि सार्दै यस कविताले बालबालिकालाई कर्मवीर हुनुपर्ने र लेख्न पढ्न थाल्नुपर्ने सन्देश दिएको छ । चौध अक्षरे सबाइ लोकछन्दमा रचिएको यस बालकवितामा बालबालिकाको मनोविज्ञान खोतल्दै उनीहरूलाई कर्मशील हुनका लागि अप्रत्यक्ष सल्लाह दिइएको छ । गति- यति-लयमा अनुशासन, सरल एवम् सुबोध्य शब्दचयन, सरर्र बगेको भाषाशैली, लयात्मकता अनि मिल्दो अन्त्यानुप्रासीय योजना कारण प्रस्तुत बालकविता उत्कृष्ट बन्न पुगेको छ ।]
**********
२. देखाइदिऊँ कि ऐना ? – लोकेन्द्र शाक्य

खोला बग्यो सललल
छङ्छङ् झर्यो झरना
सानी नानी कति राम्री
देखाइदिऊँ कि ऐना ?
भुरुरुरु चरा उडे
छप्ल्याक्क छुप्लुक माछा
पढ्नु पर्छ तिमीले धेरै
यही कुरा छ आच्छा ।
सिरिरिरी हावा चल्यो
हल्लियो पात साथी
सफलताको शिखर चढी
पुग्नु छ धेरै माथि ।
खररर पाठ गरे
शिक्षक हुन्छन् दङ्ग
सानी नानी खेल्ने गर्छिन्
म्या म्या मनेसॅग ।।
…………..
[कानेपोखरी-४ मोरङमा स्थायी बसोबास भएका लोकेन्द्र शाक्य (२०३७) आफूलाई स्कुले जीवनमा बाल भित्तेपत्रिकाबाट उठेको एक पात्रका रूपमा चिनाउन चाहन्छन् । उनको ‘चटपटे र विनीता‘ नामक बालकथा सङ्ग्रह प्रकाशित छ भने बाल भित्तेपत्रिकाको रूपरेखा शीर्षकको विविध अनुसन्धानमूलक कृतिको समेत उनले सम्पादन संयोजकका रूपमा काम गरेका छन् । उनका बालक्लबसँग बिताएका पलहरू नामक अनुभूतिको सङ्ग्रह तथा बुनूको चस्मा खै ? शीर्षकको बाल कथाको इ- पुस्तक पनि छापिएको छ । ‘रचना चौतारी‘ नामको बालसाहित्य प्रधान ब्लग र ‘नेपाली बालसाहित्य रचना सँगालो‘ नामको बालकविता प्रधान फेसबुक समूह र पेजमा रमेशचन्द्र घिमिरेसँगको सहकार्यमा स्वादिला बालकविता माला नामक स्तम्भमा उनले डिजाइन, सङ्कलन र सम्पादनको अनुभव पनि बटुलेका छन् । प्रस्तुत ‘देखाइदिऊँ कि ऐना ?’ बालकवितामा उनले नेपाली कथ्यसाहित्यमा चलेका सललल, छङ्छङ्, भुरुरुरु, छप्ल्याक्कछुप्लुक, सिरिरिरी, खररर, म्या म्या जस्ता अनुकरणात्मक शब्दहरूको रोचक प्रयोग गरेका छन् । यिनै अनुकरणात्मक शब्दको प्रयोगका कारण खोला कसरी बग्छ, झरना कसरी झर्छ, चरा कसरी उड्छन्, माछा कसरी खेल्छ, हावा कसरी चल्छ, मने पाठो कसरी कराउँछ जस्ता शाब्दिक ज्ञानको परिचय पनि कविता पढेर पाठकले सजिलै बोध गर्न सक्छन् । यस बालकवितामा सम्बोधित बालपात्र नानीलाई केन्द्रमा राखेर आफू सम्बोधक बालपात्रका रूपमा उनी उभिएका छन् । लयात्मकता र बालोपयोगी भाषाको प्रयोगका कारण कविता उत्कृष्ट बन्न पुगेको छ । बालमनोविज्ञानको सबल प्रस्तुति यस बालकवितामा पाइन्छ । धेरै पढेर मात्रै उन्नतिको शिखरमा चढ्न सकिने हुँदा कविताले बालपाठकलाई अध्ययनशील हुनका लागि समेत हौस्याएको छ ।]
***********
३. मदानी – नानी बिबु

कहाँबाट सुनिछन् उनले आज मदानी
कस्तो हुन्छ भनेर सोध्छिन् सानी नानी ।
बोलाउनु भो बाले
यता आऊ त सानी
अनि देखाउनु भो
दलिनबाट तानी
घार्घुर् पार्दै मथ्ने
यही त हो नि मदानी ।
ठेकी भित्र खन्याई
दही अनि पानी
चार ओटा फिर्का
डुबाउने अनि
घार्घुर् पार्दै मथ्ने
यही त हो नि मदानी ।
हाम्री सानी नानीले
बल्ल आज जानी
काठको गोलो लौरो
टुप्पामा फिर्का हुनी
घार्घुर् पार्दै मथ्ने
यही त रैछ मदानी
—————
[सुन्दरबजार न. पा.-३ दुराडाँडा, लमजुङमा जन्म भई हाल गैंडाकोट न.पा.-४ नवलपुरमा बसोबास गर्दै आएकी ज्यो. विवेचना अधिकारी (२०५३) साहित्यका क्षेत्रमा ज्यो. नानी बिवुका नामबाट परिचित छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातक तह उत्तीर्ण गरेकी कवयित्री नानी बिवु हाल नेपाल संस्कृत विश्वविद्यालयबाट सिद्धान्त ज्योतिष विषयमा शास्त्री तहमा अध्ययनरत छिन् । २०७६ भाद्रमा ‘अनुक्रोश’ उपन्यास प्रकाशित गरेकी स्रष्टा नानी बिवुको लेखनको मुख्य क्षेत्र गजल र आख्यान हो । उनको संस्थागत संलग्नता हेर्ने हो भने उनी आफ्नै नामबाट सञ्चालित नानी बिवु फाउन्डेसनको संस्थापक तथा आजीवन सदस्य समेत हुन् । उनी हाल नमस्ते आधुनिक लघुकथा मञ्चको एड्मिनका रूपमा सक्रिय छन् भने नेपाल ज्योतिष परिषद्, विश्व ज्योतिष महासङ्घ, विश्व पञ्चाङ्ग निर्णायक सङ्घ आदि संस्थाहरुमा आजीवन सदस्य तथा नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला समितिको सह-सचिवका रूपमा समेत उनी संलग्न छिन् ।
अनुक्रोश उपन्यसको लागि २०७६ सालमा चिसाप कृष्णकृष्णा पुरस्कारबाट उनी सम्मानित पनि भइसकेकी छन् । अपाङ्गताका क्षेत्रमा काम गर्ने मैत्री सामुदायिक विकास मञ्च नेपाल (मैत्री नेपाल) नामक संस्थामा उनी सह- सचिव पनि छन् । नमस्ते आधुनिक लघुकथा मञ्चले प्रदान गरेको हेमलता स्मृति लघुकथा सम्मानबाट सम्मानित उनी जन्मजातै अल्पदृष्टिसम्बन्धी समस्याबाट पीडित भए पनि साहित्यिक लेखनलाई निरन्तरता दिँदै आएकी उदाहरणीय र प्रेरक स्रष्टा हुन् । उनले फुटकर रूपमा बालकविता, मुक्तक, लघुकथा आदि विधामा कलम चलाएकी छन् । उनको प्रस्तुत ‘मदानी’ बालकवितामा कथयिता बालपात्रमा रहेको जिज्ञासालाई देखाउन खोजिएको छ । नेपाली कृषकहरूले घरमा भैँसी पाल्ने र भैँसीको दूध सञ्चय गरी दही बनाउने गर्दछन् अनि त्यही दहीबाट मही पार्ने र घिउ बनाउनका लागि मदानी आवश्यक पर्दछ जुन मदानीको आफ्नै महत्त्व रहिआएको छ । त्यसै मदानीको बनोटका बारेमा चर्चा गरिएको यस बालकविताले नेपाली ग्रामीण जीवनमा चल्तीमा आएका यस्ता सामग्रीहरूको कवितात्मक भाषामा लयात्मक पाराले परिचय दिन खोजेको छ । बालोरी लोक छन्दमा लेखिएको यस बालकवितामा बालमनोविज्ञानको सफल प्रयोग भएको देख्न सकिन्छ ।]
*****************
rcghimire47@gmail.com
साहित्यपोस्टका नियमित स्तम्भकार घिमिरे ईशानेश्वर क्याम्पस, भोर्लेटार (लमजुङ) का प्रमुख हुन् ।