छविरमण सिलवाल

सन् २०१६ को पहिलो बिहानी म युरोपको एउटा सुन्दर देश स्लोभेनियामा छु । आज गर्नुपर्ने र घुम्नुपर्ने लामै लिस्ट छ, वीरमानजी सँग । लन्चको लागि आग्नेया सेन्तोज्निकको आग्रह स्वीकार्नु छ । बिहान मातेयाले आफ्नो मेरिटेसन तथा योगा सेन्टरको उद्घाटनको लागि निम्याएकी थिइन् । चेलियाको मध्य भागमा मातेयाको योगा सेन्टरमा हामी ब्रेकफास्ट गरेर पुग्यौँ । आठ बजेको समय भने पनि क्रमशः ९:३० सम्म आइरहेका थिए मान्छेहरु । समयको पक्का त युरोपेलीहरु पनि रहेनछन् भन्ने लाग्यो । तर सबैले एउटै कुरा गरेका थिए, न्यू इयर इभका कारणले ढिला भयो भन्दै माफी माग्दै थिए । मेरिटेसनमा आउँने प्रायः सबै महिलाहरु मात्र थिए । मैले वीरमानजीलाई सोधेँ– ‘यहाँका पुरुषहरु यस्ता कुरामा विश्वास गर्दैनन् कि क्या हो ?’ उनले भने–‘यहाँका पुरुषहरु अल्छी हुन्छन् र उनीहरु यस्ता रुढिवादीमा विश्वास पनि गर्दैनन् ।’ मैले फ्याट्ट उत्तर दिएँ– ‘त्यही भएर होला नि आन्द्रेयाले जागरिलो श्रीमान् पाएकी ?’ उनले मलाई हेरेर भने– ‘बूढा’ ।
संसारको भाषा पनि बडो अचम्मको छ, त्यही शब्द हामीले बोल्दा ठीक अर्कोले बोल्दा अर्कै अर्थ । त्यसो त नेपालमै पनि त्यस्तो छ, तर बोलीचालीको भाषा एउटै भएकाले राम्रो त्यस्तो अप्ठ्यारो छैन । अनि अंग्रेजी बोली टोपल्ने हामीले अर्काको धेरै शब्दहरु आफ्नो बनाइसकेको तीतो यथार्थले कहिलेकाहीँ नमिठो अनुभूति पनि हुन्छ । एउटा साथीले भन्दै थिए, युरोपमा जानेर पनि अंग्रेजी बोल्दैनन्, त्यसकारण पनि हामीलाई अलिक कठिन हुन्छ । तर मेरो हकमा त्यस्तो थिएन, किनकि नेपाली फरर बोल्ने नेपालीले अंग्रेजी नबोल्नेको छोरी पट्याइसकेका थिए ।
यस्तै भाषाको कारणबाट धेरै दुःख पाउनु परेका धेरै कुराहरु छन् । आज मलाई पनि त्यस्तै परेको थियो । योगा सेन्टरको उद्घाटन भैसकेको थियो। सबै केही समय ध्यानमा लीन थिए । वीरमानजी सिङ्गिङ्बल बजाउँदै थिए। म भिडियो र फोटो खिचिरहेको थिएँ । एकछिन बाथरुम जान मन लाग्यो, बाहिर निस्केँ । ढोकाको देब्रैपट्टि दुईओटा ढोकामा लेखिएको थियो MOSKI र ZENSKE। म रनभुल्लमा परेँ किनकि त्यहाँ खाली अक्षर मात्र थियो, कुनै साइन थिएन । मैले अनुमान लगाएँ ZENSKE भनेको जेन्स हो ढोका खोलेर भित्र छिरें, आफ्नो काम सकेर ढोका खोल्दै थिएँ, एकजना महिला आएर मलाई उनकै भाषामा के के भनिन् मैले बुझिनँ । अनि म ट्वाँ परेको देखेपछि उनले इसारा गर्दै भनिन्– ‘त्यो हो जेन्सको बाथरुम ।’ कस्सो पहिला खोलिन छिन्, आफैँलाई हाँसो उठ्यो । उनी पनि त्यहीँ योगा सेन्टरमा आएकी थिइन्, कस्सो गाली गरिनन् । तर त्यो बाथरुममा छेस्किन भने थियो । कार्यक्रम सके पनि वीरमानजीलाई भनेर ती महिलासँग पनि कुरा गरेँ। एक छिन योगा सेन्टरमा हाँसो थेरापी भयो ।
बाथरुममा छेस्किनको कुरो आएपछि छेस्किनसँग भएको एउटा कुरा याद आइहाल्यो । स्लोभेनिया पुगेकै दिन फ्रेस हुनको लागि बाथरुम छिरेँ, ढोका त लगाएँ तर त्यहाँ छेस्किन रहेनछ । भर्खर सरेका होलान्, यहाँ त्यसैले छेस्किन हाल्न बिर्सेका होलान् भन्ने लाग्यो । मुस्किलले काम सिध्याएँ । भर्खर पुगेको छु । के छेस्किनको कुरा गर्नु जस्तो लाग्यो । कुरा सानो भए पनि ठूलै थियो । सर तपाईं नुहाउनुस्, म दालभातको तयारी गर्छु भन्दै वीरमानजी भान्छाकोठातिर लम्किए । म नुहाउनको लागि छिरेँ, फेरि अर्को तनाव शुरु भयो यहाँ पनि छेस्किन रहेनछ । ढोका लगाएँ मात्र, धेरै बेर त्यतिकै बसेर नुहाएको जस्तो गरे कपाल भिजाएँ हातमुख धोएँ । किन होला यसमा पनि छेस्किन छैन, पक्कै बिर्सेका होलान् जस्तो लाग्यो । भोलिदेखि त त्यही बानी पार्नु छ, एक पटक सोधौँ सोधौँ लागेको थियो। तै पनि के भन्छन् होला जस्तो लाग्यो, सोधिन्, त्यतिकै बानी पारेँ भोलिपल्ट मजाले नुहाए पनि । मनमा कौतुहल भैरह्यो सार्वजनिक ठाउँमा जहाँ पनि बाथरुममा छेस्किन हुन घरमा किन नहुने, पक्कै पैसा बचाएका होलान् जस्तो पनि लाग्यो । तर यो छेस्किन काण्ड यतिमै सीमित भएन । स्लोभेनियाका जुन घरमा गए पनि नो छेस्किन ?

त्रियस्ते, इटाली

नयाँ वर्षको दिन इटालीको त्रियस्ते पुगेका थियौं । बिदाको दिन भएकोले गाडी पार्किङको त्यति अप्ठ्यारो भएन । तर निकै वरै पार्किङ गरेर हिँड्दा थकित भै सकेका थियौं, तापनि घुम्नै आएको हो, जति सकिन्छ नयाँ नयाँ अनुभवहरु निस्कन्छन् भन्ने मेरो अनुमान हो । त्यसकारण पनि हिँड्न छोडिएन । पहिलो पटक मैले समुद्र नजिकबाट देखें, नीलो समुद्रको नुनिलो पानी चाखेँ, रमाइलो मानेर । वीरमानजी भन्दै थिए, यहाँभन्दा अब हामी कोपरमा गएर समुद्रमा नुहाउने भन्दै मलाई लोभ्याउन थाले । त्रियस्ते म मेरो मायाप्रीति गाँसिएको ठाउँ भएर पो तपाईंलाई देखाउन ल्याएको भन्दै मुसुक्क मुस्काए वीरमान । हुन पनि मायाप्रेमको हाँसो संसारको अरु हाँसो भन्दा प्रिय लाग्छ मलाई । मैले केही क्षण उनको अनुहारमा आएको खुशीका ज्वारभाटा नजिकबाट नियालिरहेँ । उनी भन्दै गए– ‘ऊ त्यहीँ नगरपालिकाको अफिसमा त हो नि हाम्रो लगनगाँठो कसिएको यानी कोट म्यारिज भएको ।’ उनी खुशीले उफ्रौलाझैँ भए ।
वीरमानजीको खाजा खाने आग्रहसँगै हामी पिज्जाको खोजीमा लाग्यौँ । म पनि भोकले रन्थनिसकेको थिएँ । भेज या चिकेन पिज्जाको लागि धेरै रेष्टुरेन्ट धायौँ, तर हातलाग्यो शून्य भयो । रेष्टुरेन्टमा बिफ या पोर्क मात्र पाइने, यी दुवै आफूलाई नचल्ने । त्यसैले विकल्प रोज्नु पर्यो ।
पिसाबले पनि च्यापिरहेको छ, धेरै गल्लीहरु चहारेपछि एउटा बेकरी पसलमा छिर्यौं । वीरमानजी त सिधै पसलमा रहेकी नानीको गालामा म्वाई खाए । त्यसपछि भन्छन्– ‘सर ! तपाईं पनि म्वाई खाने ?’यो के पारा होला भनेर म अकमकिएँ । मुसुक्क हाँस्दै बाथरुमतिर लागेँ। म मेनु हेर्दै चिया र बिस्कुट अर्डर गर्न थालेँ । बिस्कुट र चियाको पैसा तिरेर हामी कोपरतिर हानियौँ । बाटोमा मैले सोधे ति नानी तपाईको साली हो कि क्या हो–‘म्वाई त गज्जबले खानु भयो ।’ उनी मसक्क मुस्काए र भने– ‘यो इटलीको चलन नै हो हामीले नमस्कार गरे जस्तै हो ।’ अनि मैले बल्ल कुरो बुझें र भनेँ– ‘तपाईंले पनि आन्द्रेयलाई पहिलो पटक इटलीमै भेटेको होइन त ।’ उनले हो नभन्दै मैले भनेँ– ‘त्यस बेलाको म्वाईंले अहिले मलाई इटली घुमायो होइन त ।’ दाहिने हातले स्टेरिङ घुमाउँदै देब्रे देब्रे हात हामीले मजाले पट्कायौं ।
सिधा फराकिलो बाटो, यस्तो बाटोमा त एक्सिलेटरमा इँटा राख्देर स्टेरिङमात्र घुमाए पुग्छ होला नि वीरमानजी । उनी मजाले हाँसे र भने– ‘एउटा ईंटा नेपालबाट ल्याइदिनु भएको भए कामलाग्ने रैछ नि!’ अलिकति पहाडको घुमाउरो बाटो, फेरी ओरालो लागे पछि समुन्द्रको किनारमा रमाइलो वातावरण देखियो । तर सुनसान थियो, यो पर्यटकको मौसम थिएन । कार पार्किगमा छिराएर निस्कियौँ । दुई युरो छिराएर एक घण्टाको बिल लियौँ । मैले भने– ‘यहाँ कोही मान्छे छैनन्, पैसा उठाउँनको लागि किन बेकारमा दुई युरो तिर्नु छोडदिनु बेकारमा नेपाली पारा गरौँ ।’ मैले यसो भनिरहदा उनी गम्भिर भए र भने– ‘हुनतः हो सर तर अहिले घर नपुग्दै सय युरोको विल घरमा पुग्छ अनि के गर्नु बरु दुई युरो तिरो खेल खत्तम’ उनले भने । मैले पनि के भन्छन्, भनेर भनेको थिए । नियममा बाँधिएर चल्न कति मजा छ युरोपमा । जनतालाई सरकारको विस्वास, सरकारलाई जनताको विस्वास । जहाँ विस्वास हुन्छ त्यहाँ सम्मान हुन्छ हरेक कुराको चाहे त्यहाँ जुनसुकै देशमा मान्छेको बसोवास होस, अनि यसरी नै त हो नि देश बनेको ।
समुन्द्रको बालुवासँग धेरैले खेलेको देखेको थिए, आज म आफै त्यहाँ पुगेको छु । वालुवामा एकछिन डङरङग लडिदिए जे पर्ला त भनेर । आँखाले देखेसम्म को निलो समुन्द्रको पानी शिरमा हालेर स्नान गरियो र नुनिलो पानी चाखियो । आहा ! कस्तो लोभलाग्दो दृश्य, मलाई पानीपानी भएर समुन्द्र सँगै लुकामारी खेल्न मन लाग्यो । निकै पर क्रोयसियाको सिमान देखिएको थियो । ‘चार बज्यो सर पिरानमा जानु पर्छ, बाटो तताउँने होकी भन्दा झल्यास्स भएँ ।’ तर मलाई भने समुन्द्रसँग छुट्टि नै मन थिएन ।
बारम्बार खल्तिमा राखेको चिट हेरिरहन्थे विरमान, कार पार्किगको समय पनि सकिनै लागेको रहेछ । हामीलाई जानु नै छ त किन ढिला गर्ने भन्दै हामी हुइकियौँ । सडक खाली छ, ८०÷९० को स्पिडमा दौडिरहेछ कार । कोपर स्लोभेनियाकै समुन्द्रीतट, केही समय पछि हामी पहाडको भित्तामा रहेको पुरानो गाउँमा पुग्यौं । माथि कार पार्किङ गरेर तल झर्यौ । ठ्याक्कै भत्तपुरको पुरानो वस्ति जस्तै लाग्ने सुन्दर स्थान पिरान रहेछ । सानो वन्दरगाह पनि छ । बेलुकी पसल राख्नेहरु टेन्ट मिलाउँदै थिए । फेरी डाँडामा उक्लियौं, चर्चमा दर्शन गरेर कार पार्किङमा पुग्यौं । डाडाभरि लटरम्म फलेका जैतुनका बोटहरुले मोहनी लगाई रहें पनि आफ्नो गुडमा फर्कने हतारोले जैतुनलाई वाइवाई गर्दै कुलेलम ठोक्यौं । विरमाजी भन्दै थिए– ‘यही जैतुन पनि हो युरोपको आर्थिक समुन्नति ।’ बाटोभरी जताततै देखिएका छन्, जैतुन यसको तेल निकै महङ्गो छ । फेरी हामी अर्को समुन्दी तट पोर्तोरोसमा पुनः पिजाको तलतलले धेरै पसलमा पैताला नाप्यौँ, तर हातलाग्यो शुन्य, भोक त लागेको थियो । विरमानजी पनि पेटमा मुसा दौडिन थाले भन्दै थिए ।
समुन्द्रीतट पर्यटकहरुको लागि रम्भ्य स्थल हो, यो पोर्तोरोसको समुन्द्रीतट निकै प्रख्यात रहेछ । विरमानजी भन्दै थिए– ‘यहाँ त हामी दुई महिना बस्छौं, सिजनमा बच्चाहरु र बुढि समुद्री तटमा रमाउँछन् म व्यापार गर्छु, रमाइलो हुन्छ यहाँ तर स्टल पाउँन अलि कठिन हुन्छ, त्यसैले अलि चाढै बुक गर्छु । अनि टेन्ट लगायो सुत्यो । अहिले त अफ सिजन भएकोले पीजा नपाएको हो सर । अब केही खाउँला ।’ त्यस पछि हामीले सिफुड सँग केही खाएर बेलुकी छ बजे चेलिया तर्फ लाग्यौं । ‘खै विरमानजी यहाँ त मान्छेहरु नै हुँदैनन् नि क्याहो ? बाटोमा पनि कहीँ जाम देखिएन ।’ उनको सटिक जवाफ थियो– ‘कहाँ सडकमा हुन्छन्, त सबै काम काममा छन् नि बेकामी मान्छे भए भने देश कहाँ यस्तो बन्छ त ?’
‘कति चाडै ६ बजेछ हेुर्नुस् त,’ मैले भनेँ, ‘घाम त लागेकै छ ।’
‘यहाँ यस्तै हो सर, कहिलेकाहीँ त राती १२ बजेसम्म पनि घाम लाग्छ,’ भन्दै उनी मुस्कुराए । हो त म आएको बेलादेखि नै कहिल्यै अँध्यारो देखेको छैन भन्दै म जिस्किएँ, लोडसेडिङ पनि भएको छैन, उनले हाँस्दै भने, ‘यो युरोप हो नि, त्यही भएर त नेपालीहरु यता आउनको लागि मरिहत्ते गर्छन्।’ यसपछि उनी अलिक गम्भीर भए। उनको फोन बजिरहेको छ, उठाउँछन्, उनले के के भने मैले बुझिनँ, स्लोभेनियाको भाषामा निकै पोख्त भैसकेका रहेछन् । फोन काटिएपछि उनले मलाई भने, ‘सासू बूढीले डिनरको लागि बोलाइन त ।’
‘के भो त सुसुरालीको मेजमानीमा जानुस् न त ।’
‘म मात्र होइन, तपाईंलाई पनि लिएर आउनू भनेर थर्काइन् सासूले ।’
बिहान लन्च पनि उतै गरेका थियौँ । ‘ठिकै छ नि जाऊँ के भो र ?’ मैले भनें ।
चाँडै पुगेर गाडीको टायर चेन्ज गर्नुपर्ने भएकाले र बेलुकी आठ बजे समयमै निम्ता मान्न जानुपर्ने भएकाले उनले एक्सिलेटर दबाएर हतारो गरे। सडकमा लेखिएको भन्दा ओभर स्पिडमा हाँक्यो भने घरमै चिठ्ठी आउने डरले सबैलाई त्रस्त पार्दोरहेछ । त्यसैले तोकिएकै स्पिडमा गाडी दौडिरहेको छ । यो पनि एउटा राम्रो उपाय हो, त्यसैले राजमार्गमा दुर्घटना देखिएनन्, दुर्घटना भएपछि नराम्रोसँग भएको दृश्यले मन पोल्दोरहेछ ।
आठ बजे हामी इस्कोफियामास (वीरमानजीको ससुराली) पुग्यौं । आग्नेया सेन्तोज्निक (वीरमानजीको सासु) अंग्रेजी नबुझ्ने, म उनीहरुको भाषा नबुझ्ने, हाम्रो मिडियटर आन्द्रेया र वीरमान छँदैथिए । उनको स्नेहले म निकै भावुक बनेको थिएँ । उनी भन्थिन, ‘उसलाई राम्ररी यी यी ठाउँहरुमा घुमाउँनू।’ वीरमान हस् भन्थे । बेला बेलामा मलाई जिस्काउँथे पनि ‘सर के मोहनी लगाउनु भो मेरी सासूलाई मलाई त राम्ररी घुमा भनेर पो थर्काउँछिन् त !’
मेरो लागि अलग्गै चिकेन बनाएर प्लेटमा ल्याउँथिन्, पोर्कको लसपस नहोस् भनेर । मेरो मर्म उनले कति चाँडै बुझ्न थालिछन्, तर वाइन पिउनमा माहिर रहिछन् । बिहानै चियाको सट्टा पनि केही दिन त वाइनै नजरावें गरियो, जाडोले ठुकठुक कमाएपछि के गर्नु त होइन ?
डिनरसँगै नजरावें पनि हुनै थियो, अलिक रमरम भएको छ । एक गिलास थपौँ भन्ने उनको आग्रहलाई नर्कान सकिएन । रातको १०ः३० नै पो भएछ । वीरमानजीको पुल खेल्न जाने आग्रहलाई मैले नर्कान सकिनँ, वाइनको रौनक पनि छ । निस्कनै आटेका थियौँ, वीरमानजीको ससुरा एकछिन है भनेर एउटा जग बोकेर बाहिर लागे । कहाँ गए बूढा भनेर मपछि लागें । तल्लो तलामा एउटा ठूलो ध्याम्पो रहेछ। ध्याम्पो वाइनले भरिएको थियो। बूढाले धप्प उगाए, जसरी हामी पधेँरामा पानी उगाउँछौँ। माथि आए, लौ एक एक गिलास थपौँ पो भन्छन् बा! नखाउँ भने पनि भएन मजाले पिएँ। वीरमानजी त ड्राइभर, धेरै पिउने कुरा भएन । त्यसपछि हामी लाग्यौं पुल हाउसतिर । दुई चार गेम खेलेर घर फर्कियौं । गाडी हाँक्दै वीरमानजी भन्दै थिए– ‘युरोपमा सुत्न आएको होइन नि, रमाइलो र घुमघाम गर्नको लागि त हो नि होइन र ?’
हो नि सुत्न त नेपालमा पाइन्छ मजाले! अनि यसो घडी हेरेँ, रातको १२ः३० मात्र भएको रहेछ । र भनेँ, भर्खर साढे बाह्र त भएको रहेछ नि ! उनले मुसुक्क हाँस्दै एक्सिलेटर बढाए ।
हामीलाई देख्नासाथ ढोका फुत्त खुल्यो, चेलिया अपार्टमेन्टको नवौँ तलामा हामी चढ्यौँ लिफ्टमार्फत । रातको एक बजिसकेछ। उनी अब सुतौँ भनेर आफ्नो कोठातिर लागे म आफ्नोतिर । बाहिर निकै जाडो छ, भित्र गमक्क छ। शरिर पनि गमक्क छ, भर्खर वाइनले छोला छोला जस्तो भैरहेछ । वीरमानजीले भनेका कुरा मनभरि खेलिरहेको छ । कतिबेला उज्यालो होला भन्ने लागिरहन्छ । यो मन न हो, धेरै नघुमाइकन सुत्ने प्रयत्न गर्छु, निद्रा पर्दैन । सोच्दासोच्दै कति बेला निदाएछु, पत्तै भएन। ब्युँझदा बाहिर सेताम्मे भैसकेका थिए । ओहो, यहाँ त मौसमविदहरुले भनेकै जस्तो हुँदोरहेछ । वीरमानजीले गाडीका चक्का परिवर्तन गर्न हिजो नपाएकोमा आफैँलाई थकथकी लाग्यो । हिजो घरबाट देखिएको पारिको हरियो जंगल सेतै थियो। बगिरहेको खोला सेतै थियो। घरका छत र गाडीहरु सबै सेता भैसकेका रहेछन् । हिमालयको देशको एउटा नागरिक युरोपमा गएर हिँउसँग रमाएको छ । यो भन्दा अनौठो कुरा के हुन्छ र ? नेपालमा हिँउसँग लुकामारी खेल्न पाएकै छैन । नौ तलाको झ्यालबाट निरन्तर म हेरिरहेको छु बाहिर हिँउ पेरेको दृश्य । आहा ! मलाई रमाइलो लागिरहेछ ।
बिहानको नौ बजिसकेको छ, ब्रेकफास्ट गरेर हामी इस्कोफियामासतिर हानिन्छौं । त्यहाँ हिँउ खेल्न मजा हुन्छ सर भन्दै थिए वीरमानजी । सबेरै सबै बाटोहरु सफा भैसकेका थिए । कस्तो चुस्त सरकार ! इस्कोफियामासमा निकै ठूलो चौर छ, हिँउ बिस्कुन सुकाएजस्तो भएको छ । बाटो र घर अगाडि भएको हिँउ सफा गर्न थाल्यौँ । बूढा उठेर सफा गर्दै रहेछन्, चिया पिउँदै हिँउको रौनकमा म र वीरमानजीको छोरा एनकैलाश रमाएको देख्दा ससुरा दंग । यहाँको उखानै रहेछ– ‘पानी पिउने भए छिमेकीको पल्लो घरमा चिसो पानी पाइन्छ त्यहाँ जाने, ब्रुनो(लोकल वाइन) पिउने भए यहाँ पाइन्छ ।’ त्यसैले उनले मलाई घरिघरि वाइन पिउने हो भनेर भन्दैछन् । म बाहुनको छोरो बिहानबिहानै रक्सी खादैन भन्देऊ भन्छु विरमानजीलाई । उनले के के भने खुब हाँस्दै थियो बूढो । हिँउ सोरेर नातीलाई खेल्ने ठाउँ बनाउन व्यस्त बूढो थाकेपछि गरे गर नगरे नगर भनेर घरभित्र छिरे । तपाईं त बच्चा जस्तो पो लाग्यो त सर कति यो हिउँमा खेलेको ? वीरमानजीले भन्दा पो झस्किएँ !
माथिबाट खानाको लागि खबर आयो बूढोले एक जग वाइन लिएर आए। ‘हिउँमा स्केटिङ खेल्न आज रोग्ला जाने हो सर,’ वीरमानजीले आजको योजना सुनाए। वाइनको गिलास ठोक्काएर नजरावें गर्दै लन्च खायौं । रोग्लाको रमाइलोमा रमाउने आशा लिएर हिउँको शहरबाट उकालो लाग्यौ ।
रोग्लामा रमाउँदै गर्दा वीरमानजीले भने, ‘सर आज स्विमिङको लागि लास्को जानु पर्छ है !’
हिँउ परिरहेछ, स्विमिङ् जाने कुरा गर्छन्, के भनेको होला भनेर एकछिन त म ट्वाँ परे । छोराले म पनि जान्छु भनेर भन्यो । सासूआमा र आन्द्रेया पनि जान्छन्, यहाँ फोन बजिसक्यो पो भन्छन् त । म पन्छिने कोसिसमा थिएँ र भनेँ मसँग त स्विमिङ कस्टम नै छैन नि कसरी जानु ? मेरो मतलब थियो, यस्तो जाडोमा हिँउ परेर माइनस १४ पुगिसकेको छ, उनी स्विमिङ् जाउँ भन्छन् । यिनले जिस्केका होलान् भनेको त साँच्चै पो रहेछ ! मैले उम्कन खोजे पनि उम्कन सक्ने अवस्था थिएन। अझ उनकी सासू र श्रीमती पनि जाने रे! कसरी महिलाहरुसँग स्विमिङ खेल्ने हो म त छक्क पर्दै थिएँ । उनी त जाने भनेपछि जाने नि भनेर एउटा चाइनिजको स्टोर अगाडि गाडी रोकिहाले । भित्र पसेर आफैँले खोजेर दुईओटा स्विमिङ् कस्टम ल्याए । म त छक्क पर्दैछु।
फोनमा कुरा गर्दै थिए, कुराकानी सकिएपछि वीरमानजीले भने, ‘सर अब सिधै जाने हो। सासूआमा र आन्द्रेया नजाने रे स्विमिङ, म ढुक्क भएँ र भनेँ, ‘अब हामी तीन भाइ मात्र खेल्ने भयौं होइन त ?’
‘हो नि! महिला पाटीलाई सन्चो भएन रे तर बेलुका डिनरको लागि ससुराली नै जानु पर्ने भयो,’ वीरमानजी ठट्टा गर्न खोज्छन्, ‘के हो तपाईंले के गर्नु भयो मेरो सासुलाई सधैँ उतै बोलाउँछिन् त ? खै नजरावें कै कमाल होला नि! मजाले गिलास ठोक्काउँछिन् त ! बूढालाई यो लोकल होइन, अर्को वाइन ल्याऊ भनेर भन्छिन् ।’
मैले भनेँ, ‘राम्रै हो नि होइन र?’
‘हो त सर,’ उनले भने, ‘मलाई त सासूले खातिर गरेको देखेर खुशी लागेको छ । जो कोहीलाई त मन पराउँदिनन् ।’
वरिपरि हिँउ नै हिँउ छ। गाडीका ताँती छन् लास्कोमा। वीरमानले स्विमिङ पुलको पार्किङमा कार छिराए ।
काउन्टरमा पुगेपछि एउटीले उनलाई भनिन्– ‘ओहो ! अस्ति टिभीमा तपाईंको अन्तरवार्ता सुनेको थिएँ, मलाई पनि तपाईंको कन्सर्टमा आउन मन छ,’ भन्दै उनको सम्पर्क नम्बर मागिन् । उनी मख्ख परे, उनी भन्दै गइन्, ‘पत्रिकामा पनि तपाईंको अन्तरवार्ता पढेको थिएँ ।’ उनी मुसुक्क मुस्काए मात्र । सिङगिङ बल थेरापीमा उनी निकै सिपालु रहेछन् । सबैले उनलाई चिनेको देखेकोले मैले भनेँ, ‘युरोपयिनहरुको मगज राम्रैसँग भुट्नु भएछ त ?’
उनले मुसुक्क हाँस्दै भने, ‘त्यति नगरे यहाँ कसरी बाँच्नु र सर ?’
उनको सम्पर्क राम्रै रहेछ। सबैले मान्ने मिजासिला, हँसिला । त्यसैले त उनलाई जीवनयापन गर्न सजिलो भएको छ । त्यो उनको एउटा क्यामरा र क्यानभासको कमाल हो ।
पैसा तिरेर तीन ओटा कुपन र लकरको चाबी लिएर हामी भित्र छिर्यौं । लुगा खोलेर लकरमा राखेर हातका कुपन र लकरको चाबी घडीजस्तै बाँधेर पहिला मजाले तातो पानीले नुहायौं । त्यसपछि चिसो तातो चिसो तातो पानीमा टेक्दै स्विमिङ् पुलतिर लाग्यौँ ।
ओहो, कति ठूलो रहेछ! मान्छेहरुको भिड त्यस्तै! केटाकेटी सबै एकै ठाउँमा। एकछिन त अलमल परेँ म । तर सबै उस्तै भए पछि के अलमल पर्नु र ? अगाडि बढियो। तीन तलासम्मको रहेछ। पानी तातै रहेछ। त्यही भएर वीरमानजीले मलाई केही नभनेका सरप्राइज दिएको भन्दै थिए । तातोपानीको फोहोरामा बसेर आनन्द लिँदारहेछन्, हामीले पनि त्यही गर्यौँ । करिब एक घण्टासम्म हामीले त्यहाँ बितायौं । निकै रमाइलो र आनन्द भयो तन र मन । उनको छोरो निकै खुशी देखिन्थ्यो । पुनः आएर मजाले नुहायौं र लकरमा गएर लुगा लगाएर घर फर्कियौँ ।
उनी भन्दै थिए, ‘देख्नु भयो सर, यहाँका मान्छेहरु हिउँ परेपछि मात्र स्विमिङ आउँछन् । यी सबै प्राकृतिक फोहोराहरु नै हुन्। प्राकृतिक रुपमा आएको पानीलाई व्यवस्थित गरेर बनाएका हुन् । यस्ता प्राकृतिक स्विमिङ पुलहरु धेरै छन् यहाँ ।’ मलाई अचम्म लाग्यो, हाम्रो देशमा पनि त यस्ता तातोपानीका मुहानहरु छन् तर व्यवस्थित हुन सकेका छैनन् ।
जे होस्, स्विमिङपछि ज्यान निकै हल्का भयो । डिनरको लागि इस्कोफियामासमा आग्नेया सेन्तोज्निकको न्यानो माया छँदै थियो । पुनः वाइनका गिलासहरु ठोक्किए, हामी सबैले भन्यो नजरावें । ◊