बडा दसैँको अवसर पारेर झापा चन्द्रगढीका स्रष्टा खगेश्वर कोइरालाको पहिलो कविता संग्रह ‘यात्रा’ विमोचित गरियो ।

झण्डै तीन दशक सरकारी सेवामा जीवन समर्पण गर्नुभएका स्रष्टा कोइरालाले जीवनका भोगाइलाई समेटेर तयार पार्नुभएको कृति ‘यात्रा’ कविता संग्रहको विमोचन युवानेता, साहित्य तथा संगीतका सर्जक विश्वप्रकाश शर्माले गर्नुभयो ।

लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका साहित्यकार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहमा लेखकको परिचय सहप्राध्यापक एवं समालोचक तारा विविध तथा कृतिको समीक्षा सहप्राध्यापक समालोचक चुडामणि वशिष्ठले गर्नुभएको थियो ।

सहप्राध्यापक एवम समालोचक विविधले लेखकको बहुआयामिक व्यक्ततित्वका बारेमा प्रकाश पार्नुभएको थियो भने अर्का सहप्राध्यापक एवम समालोचक वशिष्ठले कृतिमा जीवन भोगाइका विभिन्न पाटाहरू कविताका माध्यमबाट उठाइएको बताउनुभयो । जीवन भोगाइका क्रममा भेटिएका र देखिएका उत्साह, निराशा, प्रकृति आदिका विषयमा कविता रहेको उहाँले बताउनुभयो । साथै उहाँले जीवनको पछिल्लो समय अर्थात् वृद्ध अवस्थाका समस्या तथा सोचाइहरूलाई सहज र सरल रूपमा प्रस्तुत गर्नुभएको समेत जनाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका साहित्यकार विश्वप्रकाश शर्माले साहित्यमा प्रयोग हुने शब्दको शक्तिले व्यवस्था उथलपुथल पार्न सक्ने तागतमा रहने बताउनुभयो। उहाँले ‘मकैको खेती’ शब्दकै कारण जहानियाँ राणा शासन अन्त्य भएको स्मरण गर्दै व्यवस्था उथलपुथल पार्न शब्द शक्ति महत्त्वपूर्ण रहेको बताउनुभयो ।

शर्माले राजनीति नागरिकको उचित व्यवस्थापन भएको तर्क गर्दै साहित्य, समाज र संस्कृतिको समुन्नत व्यवस्थापन राजनीतिले गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल निर्माण गर्न राजनीति र साहित्यको सहअस्तित्व रहनु पर्ने प्रस्ट पार्दै भौतिक पूर्वाधारको विकाससितै साहित्य र कलामार्फत नेपाली मौलिक संस्कृतिको उन्नति र भावनात्मक एकता निर्माण हुने वातावरणको आवश्यकता औँल्याउनुभयो । परम्परा र आधुनिकता समयानुकूल मिश्रित हुन सके नेपालको मेची महाकाली बीचमा भावनात्मकप एकता कायम हुन सक्नेसमेत उहाँले जनाउनुभयो ।

कार्यक्रमका अधिकांश वक्ताले साहित्य सिर्जना र प्रकाशनमा परिवारबाट पाएको साथ, सहयोग र हौसलाको खुलेर प्रशंसा गर्नुभएको थियो ।

साहित्यका स्रष्टा तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सर्जकका छोरा सन्तोष कोइरालाले स्वागत गर्नुभएको कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, अग्रज साहित्यकार घनेन्द्र शर्मा, साहित्य सर्जक मायामितु, विभूति विद्या मन्दिरका संस्थापक प्रिन्सिपल गोविन्द लम्साल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सञ्चालन अर्का छोरा प्रज्वल कोइरालाले गर्नुभएको थियो ।