साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाछिटा प्रकाशनमाला-२४

Chovar Blues Mobile Size


बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-२४ मा मेघनाथ बन्धु, वेद प्रसाद रिजाल, रामचन्द्र भट्टराई, टेकनारायण रिमाल र बादल गुरूङ बियोगीका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

१.  मेघनाथ बन्धु

धरामा
सुवर्ण बाला
गरामा

खेतको
फसल श्रम
चेतको

माथमा
कर्मको भारी
काँधमा

sagarmani mobile size

जहान
पुष्पबाटिका
समान

मङ्सिर
पहेँलपुर
सुन्दर

सबको
यात्रा विकट
अबको

बादल
गर्जन ताल
मादल

कविता
भावना बग्ने
सरिता

झल्कियो
काव्य कल्पना
छल्कियो

सङ्गीत
चेतना झर्ना
झङ्कृत

सहर
विकृत खेती
जहर

पहाड
साहस शोभा
बहाड

~<>~

२.  वेद प्रसाद रिजाल

संसार
जीवन बाँच्ने
आधार

आचार
स्वच्छ निर्झर
विचार

उद्वेग
मनभित्रको
तरङ्ग

बालक
सृष्टिको रथ
चालक

लोभीको
हृदय कालो
क्रोधीको

लेखियोस्
सत्यको छवि
देखियोस्

रोगको
कालाम्मे छाया
भोकको

बहमा
उराठपन
देहमा

डरायो
घरमा स्याल
करायो

विज्ञको
उज्यालो ज्ञान
चित्तको

जोसले
सत्कर्म खेती
होसले

प्रीतले
विश्व उज्ज्वल
रीतले

~<>~

३.  रामचन्द्र भट्टराई

कुलत
कालो औंसी हो
मूलत:

सचित्र
प्रकृतिलीला
विचित्र

संस्कृति
बागमा आगो
विकृति

बाआमा
सन्ध्याकालका
महात्मा

ईश्वर
कर्ममै ठुलो
आधार

संसार
हरितिमय
पियार

दरिला
यौवन घोगा
भरिला

विमल
मायाको छाया
शीतल

दलिन
जीवन बोझ
मलिन

आगत
कर्मको गति
तागत

असिना
श्रममा क्रूर
मसिना

ससानो
झिल्का सम्झना
पुरानो

~<>~

४.  टेकनारायण रिमाल

रक्सीको
उन्माद झर्ना
सेक्सीको

कोइली
स्वरकी रानी
काइँली

साराले
सितारा झारे
नाराले

बाछिटा
छपक्क बैंस
बाटिका

आँगन
जीवन धान्ने
नन्दन

फूलका
सुवास जल
मूलको

गौरव
बुद्धत्व आभा
सौरभ

छिमेक
भ्रमको खेती
निमेक

सरक्क
आमाको छाती
चरक्क

नेपाल
शानको आन
हिमाल

कृषक
श्रमको शान
अथक

नचुक्ने
शिखर शिर
नझुक्ने

~<>~

५. बादल गुरूङ बियोगी

पुरानो
निस्वार्थ माया
अचानो

सासले
जिउँदो जुनी
आसले

साइनो
जुनेली साथ
दाइनो

सम्बन्ध
झरीमा छाता
प्रबन्ध

फूलको
साथमा काँडा
भुलको

बोक्रानै
स्वार्थी ममता
खोक्रानै

माताको
सम्मान अग्लो
नाताको

पैसाके
उन्मत्त भेल
बैँसको

बजार
स्याल र ब्वाँसा
हजार

रातको
चट्याङ बज्र
बातको

रिसको
कल्मष कालो
विषको

सिर्जन
संसार सत्य
लेखन

~<>~

प्रतिक्रिया
Loading...