बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्ने वा उत्कर्षतिर लानुपर्नेछ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्य हुनुपर्नेछ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमानुसार हुनुपर्नेछ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिनेछ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि वा पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य हुनेछ ।

अमर त्यागी

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपोस्टको “बाछिटा प्रकाशनमाला-५” मा यसपटक  सक्रिय बाछिटा अभियन्ताहरू श्याम माकजु, नारायण खनाल, विष्णु भण्डारी, विभु र शेष पौडेलका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन् । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिनेछन् । बिस शृङ्खला पुगेपछि सय जना बाछिटाकारका सय दर्जन बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको कृति प्रकाशन गर्ने योजनासहित बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो ।
-अमर त्यागी

पाँच दर्जन बाछिटाहरू

१. श्याम माकजु

श्याम मकाजु

हृदय
भाव भकारी
सञ्चय

प्रज्ञान
आत्मशक्तिको
लगाम

शारदी
प्रेम पराग
सुगन्धी

दमन
मानव मन
दिग्भ्रम

प्रणय
कुसुममय
समय

बर्सात
क्षणिक छाल
संहार

मायालु
नयन तीर
नशालु

निकास
निराशा बाढी
बहाव

आकाश
रोएर आँखा
बर्षाद

अभाव
चैते खडेरी
प्रभाव

अगुवा
दागी चरित्र
बँधुवा

पूर्णिमा
साक्षी चन्द्रमा
जगत्‌मा
<><><><><>

२.  नारायण खनाल

नारायण खनाल

बादल
धुलो धुवाँको
आँचल

रातमा
चाँदनी स्पर्श
माथमा

बन्धन
गृहस्थी पुष्प
नन्दन

यात्रामा
घुसको खल्ती
कात्रामा

सत्तामा
भत्ताको भोज
नेतामा

सुनामी
प्रमत्त वेग
नोक्सानी

जीवन
भिरको फल
यौवन

निर्झरी
सौन्दर्य सुधा
माधुरी

धनको
शान शिखर
जनको

दिव्यता
कुसुमवाण
तीव्रता

सिमल
मन फुलेर
विमल

गीतमा
मन पोखिन्छ
प्रीतमा

<><><><><>

३. चेतनाथ धमला

चेतनाथ धमला

दिलको
वेदना काँडा
फूलक

रिवाज
सभ्यता सग्लो
समाज

मच्चिन्छ
थच्चिन्छ अनि
सच्चिन्छ

रूखको
उजाडपन
दु:खको

चट्टान
सत्यमा  स्थिर
अडान

शानको
शारदी ओज
मानको

डाँडामा
पुगेको आयु
काँडामा

जुनीको
वसन्त कर्म
गुनीको

खलोको
धानको राश
भलोको

गुनेको
भावभकारी
बुनेको

तप्केनी
पिरको आँसु
तर्केनी

चेतको
झपक्क बाली
खेतको

<><><><><>

४.   विष्णु भण्डारी

विष्णु भण्डारी ‘विभु’

धरती
धामको  ओज
पिरती

वीरता
शैलको शान
धीरता

यौवन
फलित वृक्ष
जीवन

अँगालो
प्रेमको ज्योति
सँगालो

नजर
मोहित लाली
अधर

काँडाको
साथमा शोभा
फूलको

उच्चको
बुद्धिको बिर्को
तुच्छको

वसन्त
पिरती प्रभा
जीवन्त

समर
विजयी वीर
अमर

हर्षको
दसैँ हरेक
वर्षको

सहर
जागृत आठै
प्रहर

कुलको
जरामा बास्ना
फूलको

<><><><><>

५. शेष पौडेल

शेष पौडेल

उषामा
सूर्यबिम्बमा
जीवन

मध्याह्न
जवान सूर्य
प्रचण्ड

सन्ध्यामा
सूर्यको अग्नि
निस्तेज

निशामा
सूर्य कान्तिको
विश्राम

ज्यालामा
श्रमको फल
प्यालामा

सम्पत्ति
पानीको फोका
विपत्ति

ईर्ष्यालु
वनको काँडो
विषालु

शासक
विषालु वृक्ष
घातक

यात्राले
देश उत्तानो
जात्राले

कलामा
ध्वनिको जादु
गलामा

उच्चता
बोलीमा काँडा
तुच्छता

प्रशान्त
मनमा अग्नि
अशान्त

<><><><><>