सिन्धुपाल्चोक जिल्ला, साविकको भोताङ गा.वि.स, हालको पाँचपोखरी थाङपाल गाउँपालिकामा समुन्द्री सतहबाट करिब ४२०० मिटर उचाईमा अवस्थित धार्मिक स्थल हो, पाँचपोखरी ।

काठमाडौं उपत्यकाबाट निक्कै नजिक भएता पनि विभिन्न आधारभूत सेवा सुविधाले टाढिएको ठाउँ पनि हो, पाँचपोखरी थाङपाल । शहरले नदेखेको खुशी देख्न सकिने, पीडामा पनि हाँस्न सिक्नु पर्छ भन्ने मुहार देख्न सकिने ठाउँ हो, पाँचपोखरी थाङपाल ।

काठमाडौंबाट मेलम्ची, तिपिनी, थाङपालधाप, थाङपालकोट, रैथाने पोखरी, मानेदोभान हुँदै करिब ५ घण्टाको बस यात्रा पछि भोताङ गाउँ पुगिन्छ । पहिलो रात त्यहाँ बिताएपछि थुप्रै खोलानाला, भिरपाखा पहिरो छिचोल्दै भोताङ, छिम्दी, नासिम पाटी, लौरीबिना हुँदै १२-१५ घण्टा उकालो यात्रा पछि पुगिन्छ धार्मिक स्थल पाँचपोखरी । उसो त, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट पनि पाँचपोखरीको यात्रा सुरु गर्न सकिन्छ ।

प्रचलित किम्बदन्तीका अनुसार आज भन्दा अन्दाजी २३२५ वर्ष अगाडि प्रख्यात शिकारी बुम्बा रुवा वाइबा सिकार खेल्दै हाल पाँचपोखरी तीर्थ स्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडि धान खेती गरिरहेको देखे र यो के अचम्म हो, यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती ? भन्ने सोचेर छेउमा जाँदा धान खेती गर्ने मध्यला लोग्ने मानिस (महादेव) ले उनीलाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थाममा अलप भए । यो दृश्य देख्ने पहिलो व्यक्ति बुम्बा रुवा वाइबालाई यस्तो अचम्मको दृश्य देख्दा यो पक्कै पनि भगवान महादेव तथा महादेवका देवगण परिवारले रोपाइँ गरेको हुनुपर्छ, मैले भगवानको सम्झनामा मन्दिर स्थापना गर्नुपर्छ भन्ने सोची आफ्नो शिकारी कुकुरलाई लगाएको घण्ट फुकाएर रोपाइ गर्दा गर्दै अलप भएको ठाउँमा झुण्डाएर मन्दिरको स्थपना गरेर फर्किए ।

यसै रोपाइँ गरेको स्थानमा धानको बाला खोज्ने काम हालसम्म पनि चलिआएको र यो भेट्टाएमा धनवान् भइने भनाइ आजसम्म पनि प्रचलित छ । धार्मिक किंबदन्तीअनुसार यस पाँचपोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसको दृश्य भाग्यमानीले मात्र देख्न सक्दछन् ।

पाँचपोखरी महादेवको दर्शनपछि लौरीबिना फर्किआउँदा पछाडि फर्केर हेर्नु हुँदैन, नत्र आफूले मागेको वरदान पूरा नहुने भन्ने अर्को किंबदन्ती छ ।

परापूर्व कालमा एक किसानले आफूसँग केही नभएको र जीविकोपार्जनका लागि गाईवस्तु, बाख्रा इत्यादि वरदान मागेका थिए रे! उसको वरदान पुर्याउने बेला पाँचपोखरी महादेवले तिमी अघिअघि लाग्नु गाईवस्तु, बाख्रा तिम्रा पछिपछि आउने छन्, तर लौरीबिनासम्म कुनै अवस्थामा पनि पछाडि नफर्की जानू भनेका थिए। ती किसानले अलि पर पुगेपछि गाईवस्तु आफ्नो पछाडि कराएको सुनेपछि उत्साहका साथ आज्ञापालना नगरी फर्केर हेर्न खोज्दा सबै गाईवस्तु र बाख्रा ढुंगामा परिवर्तन भएको किंवदन्ती छ। त्यस स्थानमा अहिले पनि पाँचपोखरी र लौरीबिनाको बीचको पदमार्ग देख्न सकिन्छ ।

भाद्र महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म यस ठाउँमा मेला लाग्ने गर्दछ भने पाँचपोखरीको दर्शन गरिसकेपछि फर्किने बेलामा रैथाने पोखरी ढोग्नु पर्छ र पाँचपोखरीको जल चढाउनु पर्छ भन्ने मान्यता छ । साथै, पाँचपोखरीबाट फर्किदा धुपीका रुखका हाँगा, पात, दाउरा कोसेलीका रुपमा ल्याउने चलन रही आएको छ ।

विशाल हुमागाईँ ठाउँहरु घुम्न र फोटोग्राफीमा विशेष रुचि राख्छन् ।