रैथाने पोखरी अनि रैथानेश्वर महादेव पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको प्रसिध्द धार्मिक तथा पर्यटकीय स्थल हो। काठमाडौंबाट साँखु, नाङ्लेभारे, मेलम्ची, तिपिनी, थाङपालधाप हुँदै रैथाने पोखरी लगभग ६० किमि टाढा छ र ५ देखि ६ घण्टाको यात्रामा त्यहाँ पुग्न सकिन्छ।
काठमाडौंबाट लोकल बस, मोटरसाइकल, निजी सवारीसाधनमा कतै पक्की वा कतै कच्ची बाटो गरि यस स्थान पुग्न सकिन्छ। उपत्यकाको नजिक भेएका कारण हरेक सप्ताह अन्तका दिन यस स्थान गएर बोटिङ, फिसिङ तथा साइट सिइङको मज्जा लिन सकिन्छ। हरेक जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने भएका कारण वरपर गाउँ तथा अन्य स्थानका गरेर यस पोखरी र मन्दिर परिसरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ।
महादेव यसै स्थान हुँदै मिरमिरे बिहानको समयमा पाँचपोखरी जानका लागि हिंडिरहनु भएका बेला अचानक खुट्टामा काँडा बिझेछ र ढुंगामा बसेर काँडा निकाल्ने क्रममा भाले बासे पछि अब मानिसहरु उठ्ने र आफूलाई देख्ने भन्ने डरले यस स्थानमा ढुंगा मुनि लुकेको भन्ने किम्वदन्तीका रहिरहेको छ। शिवजी बसेको सो ढुंगा अझै पनि त्यस स्थानमा देख्न सकिन्छ भने शिवजी लुकेको ठाउँमा मन्दिरको स्थापना भएको छ।
परापूर्व कालमा त्यस पोखरीमा तीन वटा निकास थिए रे। एउटाबाट पानी, अर्कोबाट रगतजस्तो रातो पानी र अर्कोबाट दुध बग्ने गर्थ्यो रे, अहिले भने ३ वटै निकास देख्न पाइए पनि मुख्य एउटा निकाशबाट पानी नै बग्छ। साथै सोही पोखरीमा राँगाको जत्रो टाउको भएका नागहरु निस्किन्थे रे भन्ने सुन्न पाइन्छ।
विभिन्न जातका साना तथा ठूला सर्पहरु भने अहिले पनि देख्न पाइन्छ। पाँचपोखरी दर्शन गरेर आसकेपछि त्यहाँको जल रैथाने पोखरीमा चढाउने चलन छ। पाँचपोखरी दर्शन गरिसकेपछि रैथाने पोखरी दर्शन गरेन भने यात्रा अधुरो रहन्छ र मागेका कुरा पुग्दैन भन्ने मान्यता छ।
रैथाने पोखरी गइसकेपछि त्यस स्थान नजिक रहेका थाङपाल धाप, हाडिखोला, रैथाने भ्यु पोइन्ट, गुन्साकोट घुम्न जान पनि असाध्य रमणीय छ। रैथाने पोखरीको संरक्षण गर्दै आएको रैथाने मा. वि. सँग सहकार्य गरेर स्थानीय युवा यस पोखरीको संरक्षण र प्रचारमा लागिपरेका छन्।
पोखरीको पानीको मूल त्यहीँ उत्पत्ति हुने र अन्तबाट कुनै पानी नमिस्सिने हुनाले, हरेक महिना पानीको स्तर यथावत् राख्न, स्थानीयहरुले नाजिकैको मूलबाट पाइपमा पानी ल्याएर पोखरीमा पानी भर्ने योजना बनाएका छन्। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस पोखरीको संरक्षण गर्नु हामी सबैको दायित्व हो। साथै धामी झाँक्रीमा आस्था राख्ने हरेक मानिसलाई यस स्थानको जनैपूर्णिमा मेला खास हुन सक्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।