कुनै ज्ञान र सीप प्राप्त गरी त्यसको परिस्थितिअनुरूपकाे कार्यान्वयनमार्फत मानिसमा व्यवहारिक परिवर्तन ल्याउने प्रक्रिया नै शिक्षा हो । शिक्षाले मानव चेतनास्तर वृद्धि गर्न, चिन्तन शक्ति बढाउन, धारणामा परिवर्तन गर्न, असल व्यवहारको विकास गर्न र समझदारी वृद्धि गर्न विशेष भूमिका खेल्दछ । हाम्रो समाज, संस्कृति, वातावरण र समग्र व्यवस्थामा सामयिक परिवर्तन अत्यावश्यक हुन्छ । जसको लागि शिक्षा अपरिहार्य छ । शिक्षा सामाजिक-सांस्कृतिक परिवर्तनको संवाहक हो । यसले मानव जीवनका समस्या समाधान गर्न र गुणस्तरीय जीवन बिताउन सहयोग गर्दछ । यद्यपि, नेपालको सन्दर्भमा भने शिक्षा आदानप्रदान गर्ने थलोसमेत समस्याको कारखाना बनिरहेको भेटिन्छ । जसले विभिन्न स्वरूप र प्याकेजिङमा चरम लैङ्गिक विभेद उत्पादन गरिरहेको हुन्छ । जसको मुख्य कारकतत्त्व पुँजीवादी पितृसत्तात्मक सामाजिक संरचना हो, जहाँ महिला अधीनता कायम हुन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा त्रिभुवन विश्वविद्यालयमा देखिएको महिला विद्यार्थीमाथि भएको यौनजन्य हैरानी (sexual harassment) र दमनको ताजा घटनालाई लिन सकिन्छ ।

विश्वविद्यालय त्यो संस्था हो जसमा सबै प्रकारको विद्याहरूको उच्चकोटिको शिक्षा दिइन्छ, परीक्षा लिइन्छ तथा मानिसहरूलाई विद्यासम्बन्धी उपाधिहरू प्रदान गरिन्छ । उच्चकोटिको शिक्षा लिनेदिने थलो, सबैभन्दा शिक्षित व्यक्तिहरूको जमघट हुने परिसरभित्र यौनजन्य हैरानी हुन्छ भन्ने थाहा पाउँदा हरकोही चकित हुन्छ नै । अझ विद्यावारिधि हासिल गरेका प्राध्यापकले समेत आफ्नो पितृसत्तात्मक विचार र धारणामा आमूल परिवर्तन गर्न असफल बनेको देख्दा समग्र शैक्षिक प्रणालीप्रति नै वितृष्णा जाग्ने गर्दछ ।

हालसालै हाम्रो देशको सबैभन्दा पुरानो, ठूलो तथा सर्वमान्य त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुखले नै छात्राहरूमाथि यौनदुर्व्यवहार गरेकोमा विश्वविद्यालय प्रशासनबाटै सो घटनालाई आपसी मेलमिलापमा सामसुम पार्न पहल गरिएको खुल्न आएको छ । अब सवाल उठ्छ, यदि विश्वविद्यालय जस्तो सम्मानित स्थलमा समेत महिलाहरू सुरक्षित हुँदैनन् र विश्वविद्यालय प्रशासनबाटै अपराधीको संरक्षण हुन्छ भने महिलाहरू सुरक्षित छन् चाहिँ कहाँ ?

एकातिर त्रि.वि. परिसरभित्र यस अघि पनि छात्राहरूमाथि पटक पटक यौन दुर्व्यवहार हुँदै आएको थियो । सोसल वर्कका छात्राहरूले भिसी कार्यलयसामु आफूहरू असुरक्षित रहेको कुरा पटकपटक जानकारी गराउनुका साथै सुरक्षाको माग राखेर प्रिन्सिपल कार्यालयमा निवेदन बुझाउँदै आएकोमा कहिल्यै कुनै सुनुवाइ भएन । सोसल वर्कका छात्राहरूले कक्षा लिन आउँदा एकाबिहानै आफूहरूमाथि यौन-दुर्व्यवहार हुने गरेको भन्दै बाटामा बिजुली बत्ती व्यवस्था गरिदिन भिसी कार्यालयसमक्ष माग राखेका थिए । बारम्बारको निवेदनपश्चात् भिसी कार्यलयले माग सम्बोधन गर्न सहमति त जनायो तर कार्यान्वयन गर्न भने पछि हट्यो । छात्राहरूले कहिले ड्ब्ल्युआरआर त कहिले राष्ट्रिय मिडियामा पटकपटक गुहार मागिरहे । तथापि, छात्राहरूका लागि विश्वविद्यालय कहिल्यै सुरक्षित भएन र आजसम्म पनि सुरक्षित छैन ।

आखिर को हुन् तिनीहरू, जो झिस्मिसे बिहानीमा छात्राहरूको बाटो ढुकेर बस्छन् ? किन विश्वविद्यालयभित्र समेत हिंस्रक पुरुषार्थले ठाउँ पाइरहेछ ? कसको संरक्षण छ बलात्कारी मानसिकतालाई ? कतै प्रशासनकै मिलेमतोमा छात्राहरूलाई प्राज्ञ हुनबाट रोक्ने षड्यन्त्र त होइन ? होइन भने छात्रा सुरक्षाको ग्यारेन्टी किन गरिएन त ?

अर्कातर्फ, मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डम्बर चेम्जोङमाथि यौन-दुर्व्यवहारको मुद्दा परेको छ । सो मुद्दामा पीडक दाबी गरिएका चेम्जोङको बचाउमा समाजशास्त्र/मानवशास्त्रका तीन जना पूर्वविभागीय प्रमुखहरूले विज्ञप्ति नै जारी गरेका छन् । विश्वविद्यालयको एउटा विभागका विभागीय प्रमुखमाथि आरोप लागेको थाहा हुनासाथ प्रा.डा.हरू वक्तव्यबाजी गर्दै आपसी छलफल र समझदारीमा यो विषयलाई सामसुम पार्नुपर्छ भन्दै लागि पर्नु आश्चर्यको विषय बनेको छ । उनीहरूले संस्थाको छवि स्वस्थ राख्न अपिल गर्दै छात्रा-दुर्व्यवहारका समाचार बाहिर आउनु “शोभनीय नभएको” तर्क पेश गरेका छन् । यौन-दुर्व्यवहार गर्न हुने तर दुर्व्यवहारका समाचारचाहिँ बाहिर आउन नहुने ? विश्वविद्यालयको नियत विभागीय प्रमुखलाई महिला हिंसा गर्न छुट दिने हो कि महिलालाई शिक्षा दिने हो ? के दुर्व्यवहार मजाकको विषय हो ?

सोच्नैपर्ने विषय के छ भने यत्तिका दिनसम्म छात्राहरूको गुनासो सुन्नै नचाहेका वरिष्ठ प्राडाहरू चेम्जोङको बचाउमा भने खुलेर लागिपरेका छन् । यत्रो हिम्मतका पछाडि कसको हात छ ? विश्वविद्यालयमा छात्राहरू प्राडाहरूकै असंवेदनशीलताका कारण त असुरक्षित भैरहेका हैनन् ? होइन भने पीडितमाथि मुद्दा फिर्ता लिन विभिन्न ठाउँबाट दबाब आइरहेको समाचार किन बाहिरिरहेका छन् ? के अब विश्वविद्यालयको हाता महिला दुर्व्यवहार स्थलमा रूपान्तरण भइसकेको हो ? मानवशास्त्रको कथित छवि बचाउन चिन्ता गर्ने तर पीडितको आवाजलाई पैँतालामुनि दबाउन खोज्ने प्रवृत्ति अत्यन्तै निन्दनीय छ । यो त्रि. वि. सोसल वर्कका छात्रा मात्र नभई समग्र महिलाको अपमान हो । के महिलाले सुरक्षित तवरमा शिक्षा आर्जन गरेर प्राज्ञ हुनै नपाउने ? विश्वविद्यालयमा समेत पितृसत्ता किन हावी  भैरहेको छ ? यसका कारण के के हुन सक्तछन् ?

विश्वका अधिकांश मुलुकलगायत नेपालजस्तो विकासोन्मुख देशमा पुरुष र महिलाको साक्षरता दर समान छैन । सामाजिक-सांस्कृतिक लगायत आर्थिक पक्षहरूले महिलाको शैक्षिक अवस्थामा व्यवधान खडा गरेका छन् । मुस्लिम, पिछडिएका जनजाति, दलित परिवारमा महिलाको शैक्षिक अवस्था अझै भयावह छ । हालका दिनहरूमा शैक्षिक क्षेत्रमा रहेको लैङ्गिक असमानता विस्तारै घट्दो क्रममा रहे पनि उनीहरूमाथिको हिंसा भने कायमै छ ।

शैक्षिकलगायत अन्य क्षेत्रमा महिला हिंसा कम हुन नसक्नुको मुख्य कारण पाठ्यक्रम हो । प्रायःजसो पाठ्यक्रम निर्धारण गर्ने पनि पुरुषहरू नै हुने भएका कारण कतिपय पाठ्यक्रमहरू महिलालाई होच्याउने, दुरुत्साहित गर्ने प्रकृतिका छन् । प्राथमिक तहदेखिका पाठ्यपुस्तकमा पुरूषलाई शौर्य, वीर, साहसी बन्न प्रेरणा दिने प्रकृतिका पाठ्यक्रम बनाइरहँदा महिलालाई सहनशील, सौम्य, शारीरिक रूपमा सुन्दर तर कमजोर तथा गृहिणीका रूपमा प्रस्तुत गरिएका कथा, कविता, निबन्ध समेटिएका पाठ्यक्रमको विकास गरिएको छ । यसरी पाठ्यपुस्तक र अनौपचारिक शिक्षा प्रणाली अन्तर्गतका धर्म, रीति, मूल्य-मान्यता आदि मार्फत महिला र पुरुषप्रति समान धारणा  तथा दृष्टिकोण निर्माण गर्न अवरोध सिर्जना गरिएको पाइन्छ ।

दोस्रो कारण, शैक्षिक स्थलमा पुरुष शिक्षकको बाहुल्यता रहनु हो । विद्यालय, क्याम्पसलगायत विश्वविद्यालयका प्रायःजसो शिक्षक तथा प्राध्यापक पुरुष हुने गर्दछन् । झन् निम्न माध्यमिक तहदेखि माथिल्लो तहका कक्षाहरूमा महिला शिक्षकको उपलब्धता शून्य बराबर वा अन्त्यन्तै न्यून रहेको पाइन्छ । निजी शैक्षिक संस्थाहरूमा त उच्च तहको शिक्षकका रूपमा महिलालाई असक्षम र अयोग्य ठान्ने परम्परा नै रहेको छ । सरकारी क्षेत्रमा पनि महिला शिक्षक कमैमात्र नियुक्ति हुन्छन् । विद्यालय प्रशासन भुल्दछ कि महिला विद्यार्थीका समस्या पुरुष शिक्षकले भन्दा महिला शिक्षकले बढ्ता बुझ्न सक्छन् । शारीरिक भिन्नताका कारण उनीहरूका समस्या पुरुष शिक्षकसमक्ष राख्न हिच्किचाहट पनि हुने गर्दछ । यदि उनीहरूमाथि यौन दुर्व्यवहार भयो भने एउटा पुरुष शिक्षक अर्को पुरुष शिक्षकको विरुद्ध त खडा हुँदैन बरु समर्थनमा उत्रन्छ । यसलाई त्रि. वि प्रकरणले प्रस्ट पारिदिएको छ । त्रि. वि. मा महिला प्राडाहरू ज्यादा भएका भए सायद सो घटनालाई सामसुम पार्न खोजिदैन थियो होला कि ? सत्यतथ्य छानबिन गरी दोषीउपर यथाशीघ्र कडा कार्वाही गरेर पीडितलाई न्याय दिलाइन्थ्यो कि ? या सायद सो घटना घट्ने नै थिएन कि ?

त्यसैगरी तेस्रो कारण, गुणस्तरीय शिक्षा अन्तर्गत रोजगारीमूलक शिक्षा, उत्पादनशील शिक्षा , प्राविधिक शिक्षा र व्यवहारिक शिक्षामा पुरुषको पहुँच महिलाको भन्दा उच्च रहनु हो  । सामाजिक रूपमा सम्मानित, आय-आर्जनको राम्रो अवसर भएको शिक्षामा  महिलाको पहुँच पुरुषको भन्दा कम छ । जसका कारण अर्थव्यवस्थामा समेत लैङिक विषमता छ । राम्रा र आम्दानीमूलक पेशा , कम कार्यभार भएका सीपयुक्त तथा प्राविधिक पेसामा महिलाको उपस्थिति न्यून छ । उदाहरणका लागि अधिकांश स्कुलका हेडमास्टर, क्याम्पस प्रमुख र विश्वविद्यालयका डिन पुरुष हुने गर्दछन् भने आया, सफाइवाला चाहिँ महिला नै हुने गर्दछन् । पितृसत्तात्मक व्यवस्थाले महिलाहरूलाई उच्च पदको लायक नै सम्झँदैन । फलस्वरूप, पुरुषको तुलनामा महिला गरिबी उच्च छ । महिला बेरोजगारी उच्च छ । तलबमा महिलालाई विभेद गरिएको छ । समग्रमा गरिबी महिला केन्द्रित रहेको छ र महिलाहरू शैक्षिक तथा आर्थिक रूपमा कमजोर हुनपुग्दछन् र हिंसाको सिकार बन्दछन् ।

महिलामाथि हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि हरेक व्यक्ति, समाज र समग्र राज्य अग्रसर हुन जरुरी छ । महिला माथिको पुरातन सोच, विचार र धारणामा व्यापक परिवर्तन आवश्यक छ । विद्यालय स्तरदेखिका पाठ्यपुस्तकका पाठ्यक्रममा सुधार गरेर महिलामैत्री बनाउनु अपरिहार्य छ । विद्यालय तथा घरमा यौनशिक्षा आदनप्रदान गर्ने वातावरण बनाउनुपर्दछ । अर्कातर्फ , महिला शिक्षकलाई प्राथमिकतामा राखेर सरकारी तथा निजी शिक्षक नियुक्ति गरिनुपर्दछ । छात्राहरूमा सिपमूलक तथा प्राविधिक विषयप्रति रुचि जगाएर आय आर्जनमुखी शिक्षा छनौट गर्न प्रेरित गराउनु महत्त्वपूर्ण हुन जान्छ । यसरी शैक्षिक र आर्थिक रूपमा सबल महिलाहरूको सङ्ख्या बढ्दै गएमा उनीहरूमाथिको हिंसा कम हुँदै जाने तथ्य नकार्न सकिन्न । त्यसैगरी, महिला यौनदुर्व्यवहार गर्ने र गराउने जोकोहीलाई कडा भन्दा कडा कानुनी कारबाही हुन जरुरी छ । ताकि अन्य कुनैले त्यस्ता अपराध गर्ने हिम्मत नगरोस् ।

महिला हिंसा विरुद्ध महिला नै जागरुक हुन आवश्यक छ । हिंसाबाट बच्ने सबैभन्दा बलियो उपाय आफूलाई मानसिक रूपमा बलियो साबित गर्नु हो । जसको लागि शिक्षा अत्यावश्यक छ । शिक्षा नै जीवनको तयारी हो । जस्तासुकै बाधा व्यवधान आइपरे पनि त्यसको डटेर सामना गरी आफूलाई शिक्षित, सक्षम र प्रतिस्पर्धीका रूपमा तयार गर्नुपर्दछ । हरेक हिंसा विरुद्ध बुलन्द आवाज उठाउनैपर्दछ । कुनै पनि हालतमा अन्याय नसहने आदतको विकास गर्नुपर्दछ । महिला कमजोर होइनन् भनेर प्रमाणित गर्न कुनै कसर बाँकी राख्न हुन्न ।

पुरुषहरूले बुझ्न जरुरी छ कि महिला र पुरुषबिच शारीरिक/जैविक भिन्नता छ । त्यसैले त उनीहरू एकअर्काका परिपूरक हुन् । एउटाको उन्नति र अर्काको अवनतिले समाजमा सन्तुलन असम्भव हुन्छ । तसर्थ, हरेक क्षेत्रमा दुवै ( तेस्रो लिङ्गीसहित ) लिङ्गले समान अवसर र सम्मान पाउनैपर्दछ । कुनै महिलामाथि यौनजन्य हिंसा गर्नु/गराउनुअघि आफू सो महिला भएको र आफूमाथि सोही हिंसा हुँदा कस्तो अनुभव हुन्थ्यो भनेर मनन गर्न आवश्यक छ । कुनै पनि यौनजन्य हिंसा नगर्नु र नगराउनु नै पुरुषको महान्ता हुन आउँछ । साथै , यौनजन्य हिंसा भोग्न बाध्य महिलाको न्यायका निम्ति साथ र सहयोग गर्नु नै असली पुरुषार्थ हो ।

अन्त्यमा, यौनजन्य हिंसा जो कसैबाट जो कसैलाई भए पनि त्यो चरम अपराध हो । यस्ता घटना घटाउने जोकोहीलाई कानुनको कठ्घरामा उभ्याउन सबैले पहल गरौँ । त्रि. वि. सोसल वर्कका पीडित छात्राहरू न्यायका लागि चौतर्फी आवाज उठाऔँ । यस घटनाको चाँडोभन्दा चाँडो सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गरौँ ।