कुनै बिग्रिएको रेकर्डरले रोकिन नसक्ने गरी उस्तै कुरा बजाइरहेजस्तै ‘देश उज्यालो हुँदैछ’ भन्ने दाबीहरू पटक–पटक दोहोरिन्छन् । जुकासरि लम्किरहेका नेताहरू, व्यवस्था परिवर्तनका आन्दोलनहरू, विकासका नाराहरू, डिजिटल भविष्यका रङ्गीन पोस्टरहरू, प्रेस कन्फेरेन्सका चिल्लो वाक्यहरू— सबै सुन्दा देश कुनै ठूलो उडानमा निस्केको जस्तो देखिन्छ । तर.., ती आवाजहरूबाट कान हटाउने हो भने, देशको वास्तविक नक्शा भित्तामा झुन्डिएको कुनै पुरानो, च्यात्तिएको फोटोझैँ देखिन थाल्छ, जहाँ जुनै कुनामा हेर्दा पनि अँध्यारो नै टल्किन्छ ।

यो अँध्यारो सडकका बत्ती नबलेको ठाउँमा मात्र होइन— राज्यका फाइलहरूमा, ठप्प भएको न्यायमा, ‘लाज’ नामक पुरानो देउरालीमा, अनि सबैभन्दा गहिरो— एउटा कोठाको कुनामा चुपचाप बसेर काँपिरहेकी बालिकाको आँखाभित्र पोतिएको हुन्छ ।

देशले जति उज्यालोको कथा फुक्दै हिँडोस्, यथार्थ भने कुनै कोठामा टुटेको एउटा सानो शरीरसँग लडिरहेकी बालिकाको फुसफुसाहट्मा अड्किन्छ । त्यो लडाइँ कुनै भू–राजनीतिक विवादभन्दा पनि ठूलो हो किनकि त्यो लडाइँमा नक्शा फेरिन्छ, भविष्य च्यातिन्छ अनि समाज दिशाहीन बन्छ ।

सामाजिक नक्साभित्र गाडिएका पीडाका बिन्दुहरूः

हिमाल, पहाड, तराईँ मात्र नेपालको नक्सा होइन । देश अर्को नक्शामा पनि बाँचेको छ— सामाजिक नक्शा । जहाँ जिल्लाहरू पीडाका गहिरा खाल्डामा बदलिन्छन् ।

दलित बालिका जातको अँध्यारो गलैँचाभित्र थिचिन्छिन् । अपराधी प्रायः समाजकै कुलघरानका हुन्छन् । न्याय ? त्यो ‘नछोइने’ र ‘लुकाइने’ कुरा ठहरिन्छ ।

मधेसी र मधेसी–दलित बालिका राज्यको कमजोर उपस्थितिको सिमानामा बस्छिन् । हिंसा विरुद्ध ‘चुप लाग’को संस्कृति लेनदेनजस्तै चल्छ, पीडा बताउनुलाई अपराध जस्तो बनाइन्छ ।

अपाङ्ग बालिका समाजले ‘कमजोर’ भनेर टाँसिदिएको नामसँग लडिरहेकी हुन्छिन् । अपराधीको दृष्टिमा उनीहरू ‘सबैभन्दा सजिलो निसाना’ बनाइन्छन् । वास्तवमा, कमजोर ती बालिका होइनन्, कमजोर त देखेर पनि देख्न नचाहने, सुनेर पनि नसुनेको अभिनय गर्ने समाज हो ।

शहरी बालिका आधुनिकतालाई पुछेर चम्काइएका भित्तामा अड्किन्छिन् । ट्युसन शिक्षक, घरमालिक, छिमेकी दाइ, काका–मामा जस्ता चिरपरिचित अनुहार नै हिंसाका मतियार बन्छन् ।

धार्मिक–संस्कृतिबद्ध समुदायकी बालिका ‘सामाजिक सम्मान’ नामको भारी कपडाले बेरिन्छिन् । उनको शरीर भगवानका नाममा कैद बनाइन्छ, आवाजलाई पाप ठहर्याइन्छ ।

पीडाका रंग फरक भए पनि मूल अपराधको संरचना एउटै हो- ‘शक्ति’ । शक्ति कहिल्यै एक्लो हुँदैन; त्यससँग मौनता, डर, परम्परा र राज्य उभिन्छन् ।

तथ्याङ्क : कागजमा अङ्क, जमीनमा घाउ

अंकहरू कागजमा निष्प्राण देखिन्छन् र हरेक संख्या एउटा बालिकाको नस चिरेर बग्ने इतिहास हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालमा ३,५१० यौन–हिंसाका मुद्दा दर्ता भए  । जसमध्ये ,१,३८६ बालिकासँग सम्बन्धित थिए । त्यसैगरी, विभिन्न अनुसन्धानले बताउँछ, दक्षिण एशियामा हरेक ८ मध्ये १ बालबालिका १८ वर्षअघि नै यौन दुर्व्यवहारको जोखिममा हुन्छन् ।

यसरी कानूनी फाइलमा ‘मुद्दा दर्ता’ लेखिन्छ तथापि कोठाभित्रको चिसो मौनता— ‘नबोल’, ‘लाज मान’, ‘सम्झौता गर’ जस्ता अपराधका मनोवैज्ञानिक दुरुत्सान कहिल्यै कागजमा चढ्दैन । खासमा तथ्यांक समस्या होइन, यो त समस्यालाई ढाक्ने सफा कागज मात्र हो । घाउ त अझै भित्रै–भित्रै पाकिरहेको हुन्छ ।

हिंसाको संरचना : समाजको भित्तामा छोपिएको चिरा

गरीबी र निर्भरता: बालिकाको पेट र घरको आवश्यकताले उनलाई चुप लगाउँछ; जीवनमाथि कब्जा हुन्छ । “ठूलो स्वरले नबोल” केवल चेतावनी नभएर दमन हो, अस्तित्वमाथिको नियन्त्रण हो । गरीबी र निर्भरताले मौनतालाई गहिरो बनाउँछन्, जहाँ उज्यालो भविष्य पनि चुप बस्न बाध्य हुन्छ ।

शक्ति–असमानता: छोरीलाई सहन र चुप लाग्न सिकाइन्छ भने छोरालाई दबदबा र हावी हुन  । घर, विद्यालय, समाज— सबै मिलेर शक्ति असमानताको बीउ रोप्छन् र अपराध त्यहीं जन्मिन्छ ।

सांस्कृतिक मौनता: “छोरीले सहनुपर्छ” भन्ने संस्कार होइन; यो त घरघरमा सजाइएका अपराधका ढुङ्गा हुन् । मौनता कायम रहनुले अपराधलाई टिकाउँछ, पीडितलाई असहाय बनाउँछ ।

कानूनी ढिलासुस्ती: कानून कडा छ; प्रक्रिया भने गाँठो परेको धागोझैँ छ । न्याय पर्खनु नै दोस्रो हिंसा हो— जहाँ पीडितले पुनः त्रास र अपमान झेल्नु पर्छ । कानूनले छोरीहरूलाई दुईपटक मार्छ ।

प्रभाव: शरीर निको हुन सक्छ, तर आत्मसम्मानमा लागेको चोट ? पुस्तौँसम्म बल्झिरहन्छ ! यो घाउ केवल व्यक्तिगत होइन; यसले समाज र भविष्यमाथि गहिरो छाप छोड्छ ।

अभिभावक, विद्यालय, समाज र राष्ट्र— कसको भूमिका के ?

अभिभावक : पहिलो सुरक्षा–वृत्त

पुस्तौँदेखि अभिभावकले छोरीलाई चुप लाग्न सिकाए । अब आफैँले सिक्ने समय आएको छ ।

छोरीको आवाजलाई शंका होइन, विश्वास गर्नु ।

‘लाज’ होइन—‘साहस’ को संस्कार बसाल्नु ।

घरमै सुरक्षा शिक्षा, ‘सीमा’, ‘स्पर्श’, ‘खतरा’ को भाषा सिकाउनु ।

छोरा–छोरी दुवैलाई समान लिङ्ग–संवेदनशीलता शिक्षा ।

घर असुरक्षित भयो भने राष्ट्र सुरक्षित हुन सक्दैन ।

विद्यालय : ज्ञान मात्र होइन, सुरक्षा दिने ठाउँ

विद्यालय ज्ञान बाड्ने भवन मात्र होइन, सुरक्षाको किल्ला पनि हो ।

यौन–शिक्षा ‘वर्जित’ होइन— जीवनरक्षा उपकरणका रुपमा स्थापित गर्ने ।

शिक्षक र कर्मचारी नियुक्ति गर्दा कडा भेरिफिकेसन प्रक्रिया अपनाउने ।

विद्यालयमा बालमैत्री उजुरी कक्ष निर्माण गर्ने ।

हरेक विद्यार्थीलाई सुरक्षित–असुरक्षित स्पर्श (गुड टच- ब्याड टच) बारे जानकारी गराउने

विद्यार्थीलाई कोसँग जोगिने, कसरी जोगिनेबारे व्यवहारिक तालिम दिने  ।

विद्यालयले नै नजरअन्दाज गर्यो भने बालिकाको लागि पीडा पाठ्यपुस्तकभन्दा गहिरोगरि नबुझिने भाषा बन्दिन्छ ।

समाज : अपराधको ठूलो भागिदार

समाजले ‘लाज हुन्छ’, ‘बदनाम हुन्छ’, ‘छोरी भएपछि त सहनुपर्छ’ भन्दै अपराधलाई बाँच्न दियो । अब समाजले पीडितलाई साथ दिने,अपराधीलाई बहिष्कार गर्ने, घटनाबारे खुला संवाद गर्ने तथा स्थानीय स्तरमा सुरक्षा सञ्जाल सिर्जना गर्ने कार्य गर्नुपर्दछ  ।

मौनता अपराधीको अक्सिजन हो भने आवाज अक्सिजनको बिर्को  । समाज बालिका हिँसाविरुद्ध पीडितको दृढ आवाज बनेर उभिनु पर्दछ  ।

राष्ट्र : कागजमा होइन कार्यान्वयनमा देखिनुपर्ने जिम्मेवारी

राज्यको काम केवल नयाँ ऐन बनाउने मात्र होइन; अघिल्लो ऐनलाई प्रभावकारी रूपमा लागू गर्नु हो ।

न्याय र पुनर्स्थापना:

तीव्र र पारदर्शी बालमैत्री न्याय कक्ष

पीडितका लागि दीर्घकालीन मनो–सामाजिक पुनर्स्थापना

सुरक्षित आवास, कानुनी सहयोग, निःशुल्क उपचार

अपराधी नियन्त्रण:

अपराधीविरुद्ध ‘नाता’, ‘प्रतिष्ठा’, ‘सिफारिस’ नचल्ने शून्य हस्तक्षेप नीति

समुदाय–विशेष कार्यक्रम:

दलित, मधेसी, अपांग, पहाडी, सहरिया सबैका लागि छुट्टै रणनीति

सार्वजनिक सुरक्षा र विकास:

राष्ट्रले बालिकालाई सुरक्षित महसुस गराउन सकेन भने विकासका सबै योजना केवल कागजी किल्ला मात्र बन्नेछन् ।

अन्त्य : एउटा बालिकाको निशब्द प्रश्न

देश सरकार परिवर्तन गर्दैछ, पुल बनाउँदैछ, सडक चौडा बनाउँदैछ, भविष्यका पानाहरू रङ्गीन देखिँदैछन्  । यसबीच, हरेक साँझ एउटा बालिका भित्तातिर हेरेर सोधिरहेकी हुन्छे— “म ढुक्क भई सुत्न कहिले पाउँछु ?”

यदि यो प्रश्न अझै पनि देशले सुन्न मानेन भने— देश परिवर्तनका उद्घोष, विकासका सबै टाइल, भाषण, उत्साह, बजेट— सबै बेकार हुन्छन् । किनभने, अर्को निस्पट्ट अँध्यारो फेरि कसैको भविष्यमा पोतिन तयार भएर बाटो ढुकिरहेको हुन्छ ।