
सन् सत्तरीको दशकमा दार्जीलिङको स्टेट बैङ्क दुई कुराले निकै चर्चामा थियो, साहित्य र रक्सी । उम्दा कवि र गीतकार नोर्देन रुम्बाको गीत र कविताले सबैको मन र मस्तिष्क छोएको थियो भने शरद् छेत्री आख्यानकारका रूपमा सफल हुँदै गइराखेका थिए । उनका कथा र उपन्यासले सिङ्गै नेपाली साहित्य लाभान्वित भइरहेको थियो । यी दुवै स्रष्टा त्यही बैङ्कमा काम गर्थे र यिनीहरूको कारणले चर्चामा आइरहे स्टेट बैङ्क, उनीहरूकै सृजनशीलताका कारण, उनीहरूकै योगदानका कारण, उनीहरूकै साहित्यप्रतिको समर्पणका कारण पनि प्रसिद्धि पाइरहेका थिए । लेखनमा सहकर्मी नोर्देन रुम्बा र शरद् छेत्रीको समानता थियो भने सुरापानमा नोर्देन आसक्त, शरद् अनासक्त । नोर्देन दाजुको अम्मलसँग धेरैले साइनो गासेका थिए त्यसबखत ।
नोर्देनभन्दा दुई वर्षअघि करिब जन्मेका शरद् छेत्री नोर्देनभन्दा २१ वर्ष जति बढि बाँचे तरै पनि त्यो बँचाइ थोरै थियो साहित्य प्रेमीहरूका लागि । ६५ वर्ष कुनै लामो उमेर होइन यो जुनीमा तर शरद् दाजुको चिनामा त्यति नै लेखेको रहेछ दैवले । ६५ वर्षमा ३२ वटा कृति, सबै कृतिको फेहरिस्त राख्न सम्भव छैन यो सानो लेखमा । सायद समालोचक अनि कवि गुमानसिंह चामलिङपछि कम उमेर साहित्य अकादमी पुरस्कार पाउने शरद् छेत्री र असित राई नै होलान्, चामलिङले ३६ मा पाए शरद् दाजुले ३९मा । गुमानसिंह चामलिङको ६१ वर्ष उमेरमा इहलीला समाप्त भयो भने शरद् छेत्रीको ६५ वर्षमा । उमेरमा चामलिङ ५ वर्ष ठुलो अनि मृत्य हुँदा ८ वर्षको अन्तराल थियो । सायद यस्तो संयोग धेरै होला खोज्दै जाने हो भने । उनका आफ्ना समकालीन साहित्यकार मित्रहरू गुप्त प्रधान, प्रेम प्रधान, रामलाल अघिकारी, नन्द हाङकिम आदिले यो पुरस्कार पाउन निकै वर्ष कुर्नु पर्यो । उनीसँगै संयुक्तरूपमा उपन्यास लेख्नु भएका गुप्त प्रधानले सन् २०१५ मा मात्र यो पुरस्कार पाउन सफल भए ।

शरद् छेत्री
मान्छे बाँचेको सार्थकता उमेरमा होइन उस्ले गरेको कर्ममा हुन्छ भन्छन् ज्ञानीहरू । यो लागु हुन्छ शरद् दाजुको सन्दर्भमा पनि । जीवन सधैँ उर्वरा रह्यो उनको बाँचुन्जेल, जीवन समाप्त हुनु अघिसम्म क्रियाशील रहे उनी । शरद् छेत्री शिक्षित परिवारको उपज हो, आमा र बुवा दुवै प्रधानाध्यापक । बुवा माथवरसिंह छेत्री थिए पारसमणि प्रधान, धरणीधर काइरालाका चेला, उनीहरूको प्रेरणाले गर्दा छन्दमा कविता लेख्न पोख्त भए । एम. ए गरेका, कवि र कलाकार पनि थिए उनी । हस्तलिखित पत्रिका निकाल्थे उनले । गवर्नमेन्ट हाइस्कुलमा बुवा माथवरसिंह छेत्रीका समकालीन थिए अमृतनारायण प्रधान, वीरेन्द्र, दानियल खालिङ, नगेन्द्रप्रसाद कुमाईँ, महानन्द सापकोटा, गम्भीर राई, अच्छा राई ‘रसिक’हरू ।
शरद् छेत्रीको निकै नजिक थिए उनका छोरी शैलिका छेत्री-नयाँ पुस्ताको उम्दा निबन्धकार । बाबाको सम्झनाले सताइरहन्छ शैलिकालाई दिनरात, बाबा नहुनुको पीडाले सधैँ घोचिरहरन्छ उनलाई मुटुमा, एउटा अभिभावकको अभावले भौतारिरहन्छ शैलिका । एउटा शून्यता । बुद्धको शून्यवाद जस्तै शून्यता जो शरद् दाजुले निकै नजिकबाट नियालेका थिए । शरद् छेत्रीको शालीन व्यक्तित्वमाथि लेख्न सक्ने क्षमता र अघिकार राख्छिन् शैलिका । शारदीय पीडा लेखमा लेख्छिन् उनी, ” मसिना कुराहरूबाट कथा टिप्न जान्ने भएकाले हरेक कुरामाथि गम्भीर बन्ने बानी बाबाको पुरानो हो । घरको, पिताको, लोग्नेको, छिमेकीको, आफन्तको जम्मै जिम्मेवारी निभाएर जति पनि समय उब्रिन्छ, त्यो साहित्यलाई । म बाबामा विविध आयामको व्यक्तित्व देख्थेँ । सधैँ सन्तुष्ट, जहिल्यै गम्भीर । सधैँ शालीन, सधैँ धीर । मानौँ, बाबाभित्र कुनै शक्ति छ, जसले सधैँ उनलाई ऊर्जाशील बनाइदिन्छ । उहाँको जीवन ध्येय भनेको लेख्नु, लेख्नु अनि लेख्नुमात्र थियो । बाबाको यो लेख्ने ध्येयसित कसैको गुनासो थिएन । बाबाको यो लेख्ने व्यक्तित्वको विपक्षमा कोही थिएनन् । बाबाको लेख्ने सपनालाई जोगाउन आमा सधैँ साथ रहनुभयो । दाजु रहे, म रहेँ । हामीलाई लाग्थ्यो यस्तो लेख्ने लेखक, साहित्यकारलाई हामीले सहयोग गरेनौँ भने कसले गर्छ?” यो लेख कान्तिपुर दैनिकमा प्रकाशित हुनुका साथै उनको ‘एक हरफ बाटो’ निबन्धसङ्ग्रहमा समाहित छ । शैलिकाले अरू लेखहरू पनि लेखेका छिन् आफ्ना पितामाथि । शैलिकाले पनि बाबाबाट कस शब्दमा धेरै अभिव्यक्ति गर्ने शैली बिरासतमा लिएर आएकी छिन् ।
शरद् छेत्रीको सृजनशीलतालाई कित्ताकाट गर्नु गाह्रो छ । उनले सबै विधामा समानरूपले कलम चलाएका छन् । तर मूलतः उनी कथाकार हुन्, अनि उपन्यासकार । निबन्ध र समालोचनालाई एकै ठाँउमा वर्गीकरण गर्न मिल्छ । नाटक र कवितामा पनि दर्शन झल्काउने उनको खुबी । नेपाली साहित्यमा शरद् छेत्रीको प्रवेश हुँदा नेपाली आख्यान निकै परिपक्व भइसकेको थियो । कथा लेखनमा नयाँ नयाँ वादहरू प्रयोग र परीक्षण हुँदै थियो । लैनसिंह बाडदेलको यथार्थवादी लेखनले उपन्यास लेखनलाई नयाँ उचाइ दिइसकेको थियो भने शिवकुमार राई, इन्द्र सुन्दास, शङ्कर कोइरालाको आँचलिकताले नयाँ आयाम दिएको थियो । पारिजातको अस्तित्ववादी र शून्यवादी लेखन र विश्वेश्वरप्रसाद कोइराला, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले फ्राइडियनवाद(यौनवाद) मन र तनमा कतूहल जगाइसकेको थियो । दार्जिलिङमा इन्द्रबहादुर राईको आयामिक लेखनले कथामा अमूर्त भाव र वस्तुपरक भाव भित्र्याइसकेको थियो । वीरविक्रम गुरुङ, जी छिरिङ, ग्राब्रियल राना, देवकुमारी सिंहा आदिको बिरासतलाई थाम्दै नयाँ आयाम दिए शरद् छेत्रीले । आयामिक आन्दोलनको अधोषित अन्त्यपछि बैरागी काईला र इश्वरवल्लभको नेपाल फर्किसकेको अवस्थामा अङ्गमसिंह गिरिको प्रभाव निकै बढेको थियो कविता लेखनमा । कवि वीरेन्द्र, गुमानसिंह चामलिङ्ग, ओकिउयमा ग्वाइन लगायतका कविहरूले भारतीय नेपाली कवितालाई थप वैचारिक उँचाइ दिइरहेका थिए । कथा र उपन्यासमा नयाँ विषयवस्तु, मनोवैज्ञानिक विश्लेषण, पृथक् शैलिको प्रयोगले वृहत्तर नेपाली साहित्यलाई समेटिरहेको थियो । दार्जिलिङ र नेपालमा समानरूपमा साहित्यमा प्रयोगात्मकताको प्रविष्ट भएको पाउछौँ । यही पृष्ठभूमिमा शरद् छेत्री उभिन्छन् आफ्नो प्रतिभावान् रूप लिएर साहित्यका विभिन्न विधामा । नेपालीमा कमै साहित्यकारहरू छन् जस्ले सबै विधामा कलम चलाएका छन् ।
सन् १९६८मा जगत् छेत्रीद्वारा सम्पादित ‘जनदुत’मा ‘एउटा अन्तरद्वन्द्व’ शीर्षकमा कथा प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका थिए । त्यसपछि ‘जनदुत’मा नै आए ‘विम्बहीन-प्रतिविम्ब’ कथा । शरद् छेत्री लेखन क्षेत्रमा आउँदा दार्जिलिङबाट निस्किने आख्यानहरूमा सामाजिक विसङ्गति, यौन-कुण्ठा, सांस्कृतिक विचलन, राजनैतिक दाउपेच, दलिय सङ्धर्ष, प्रेम, धोका आदिले भरिएको थियो । त्यसबेलाको कथामा मानसिक विचलन, मानिसको मनोवृतिको विश्लेषण, मानसिक अन्तद्वन्द्वको अभाव पाउँछौ । त्यही अभावका माझमा पदार्पण हुन्छ शरद् छेत्रीको मिथक, प्रतीक, विम्बहरूले प्रयुक्त कथाहरू बोकेर । जीवनलाई नजिकबाट नियालेर वास्तविकताको उजागर गरेको पाउछौँ उनका कथामा । वास्तविक जीवनलाई आफ्नो कथामा चित्रण गर्नु शरद् छेत्रीको खुबी हो । ‘कर्म-योगी’ कथामा कर्णेल साहबको छोरा प्रताप राई (गाँउ घरमा लल्लुको नामले प्रचलित जो भद्रशीला राई स्कुलको प्रन्सिपल थिए)ले पहिरोमा देखाएको अदम्य साहस र सहयोगको खुलेर प्रशंसा गरेको पाउछौँ । लेखनमा मान्छेले भोगेको राजनीतिक, सामाजिक र आर्थिक कठिनाइलाई प्राथमिकताका साथ प्रस्तुत गर्नु शरद् छेत्रीको विशेषता हो । शरद् छेत्रीको कथाशिल्पमाथि समालोचक राजकुमार छेत्रीले अर्का समालोचक धनश्याम नेपाललाई उद्धृत गर्दै अत्यन्त सटिक तरिकाले लेखेका छन् । “ कथाकार शरद् छेत्रीको कथाहरूमा लोकतत्त्व मिथकको समसामयिक प्रयोगले कथात्मक सम्प्रेषणका साथसाथै समसामयिक जीवनबोध र वास्तविकता प्रस्तुत गर्छ । अर्थतत्त्वका दृष्टिले साथै भाषिक संरचनाका दृष्टिले पनि उनका कथाहरूको भाषा एकैचोटि दुईवटा तहमा क्रियाशील रहेको देखिन्छ । सजिलो सरल वाक्य वा भाषा शैलीमा दन्त्यकथा भनेजस्तो अथवा केटाकेटीलाई बालकथा सुनाएजस्तो सन्दर्भ प्रस्तुत गरेर जीवन-मर्मको सहज उद्घाटन गर्न अत्यन्त सफल बनेको देखिन्छन् । झट्ट सोझो कथनयुक्त र कुनै खास तात्पर्य नभएझैँ लाग्ने कथा जीवन र जगत्का सन्दर्भ राखेर हेर्दा भने धेरै गम्भीर र अर्थयुक्त लाग्छ ।”
विम्बहीनप्रतिविम्ब (सन् १९७१), बाइस धारा (सन् १९७८), तरल कथाहरू (सन् १९८३), चक्रव्यूह (सन् १९८५), समय र बॉँसुरीको धुन (सन् १९८८), कालाग्नि (सन् १९९६), आदि-अनादि (सन् १९९९) र सूर्यस्नान (सन् २००३), विम्ब-योग (सन् २००६)आदि प्रमुख कथासङ्ग्रह हुन् शरद् छेत्रीका । ‘विम्बहीनप्रतिविम्ब’ कथासङ्ग्रहले नेपाली साहित्यमा नयाँपन भित्र्याएको थियो । साहित्य अकादमी र भानु पुरस्कार प्राप्त गरेको कथासङ्ग्रह ‘चक्रव्युह’मा बत्तीस कथाहरू समाहित छन् । यो कथासङ्ग्रह अरू भाषामा पनि अनुवाद भइसकेको छ ।
सन् १९७३ मा नै लेखिसकेको भए पनि विविध कारणले सन् १९७७मा मात्र प्रकाशित हुन सफल भएको उपन्यास हो- विस्थापन । यो उपन्यास शरद् छेत्रीले गुप्त प्रधानसँग मिलेर संयुक्तरूपमा लेखेर नेपाली साहित्यमा संयुक्त लेखनको परम्पराको सुरुवात गरेका थिए । लेखनका हिसाबले यो उपन्यास पहिलो भए पनि वि.स. २०३२मा प्रकाशित संयुक्त उपन्यास ‘आकाश विभाजित छ‘ प्रकाशनको हिसाबले पहिलो बन्न सफल भयो । यो उपन्यास ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, परशु प्रधान, केदार अमात्य, शैलेन्द्र साकार, पुष्कर लोहनी, शङ्कर कोइराला, मञ्जु काँचुली, दौलतविक्रम विष्ट र प्रेमा शाहको सहलेखन हो । यस्तै प्रयोगहरूपछि पनि नेपालका विभिन्न साहित्यकारहरूले साहित्यका अन्य विधामा पनि गरे जस्मा वि.स. २०७६ सालमा प्रकाशित परशु प्रधान र गोविन्द गिरि ‘प्रेरणा’को उपन्यास ‘विसर्ग’, अशेष मल्ल, गगन विरही, दिनेश अघिकारी र विष्णुविभु घिमिरेहरूले संयुक्त कविताहरू पर्न जान्छ ।
निबन्धमा प्रखर थिए शरद् छेत्री विशेष गरी निजात्मक निबन्धमा । छोरा र छोराको साथीसँग भएका गफमा पनि आफूलाई समाहित गरी एउटा निबन्ध लेख्नसक्ने क्षमता राख्थे उनले । उनले विविध विषयमा निबन्ध लेखेको तथ्य निबन्ध-‘निराजन’मा पढ्न सकिन्छ । नेपाली साहित्यमा निकै कमजोर विधा निबन्ध पनि भएकोले यस्को श्रीवृद्धिमा शरद् छेत्रीले दिएको योगदान उल्लेखनिय छ । विशेष गरी निजात्मक निबन्धहरूमा तथ्य र समसामायिक विषयवस्तु समेटेर लेख्ने खुबी उनको कथा र उपन्यासमा जस्तै निबन्धमा पनि प्रतिविम्बित हुन्छ ।
संसारमा थोरै आख्यानकारहरू छन् जस्ले समालोचना जस्तो कठिन विधामा कलम चलाएको पाउछौँ । नेपाली साहित्यमा इन्द्रबहादुर राईले यी दुई विधामा आफ्नो दक्षता प्रदर्शन गर्नुभएको छ । शरद् छेत्री पनि इन्द्रबहादुर राई जस्तै थोरैमध्येमा पर्छन् । नेपाली साहित्यमा इन्द्रबहादुर राईजस्तै रामलाल अघिकारी, लक्खीदेवी सुन्दास, तारानाथ शर्मा, ह्रदयचन्द्रसिंह प्रधान लागयतका केही लेखकहरूले मात्र यी दुवै विधामा कलम चलाएको पाउछौँ । शरद् छेत्रीले गरेको समालोचना, साहित्यिक व्यक्तित्वहरूको योगदानलाई विषय बनाएर लेखेका कैयन् लेखहरूले नयाँ पुस्तालाई सम्पूर्णरूपले नेपाली साहित्य बुझ्न सहज हुनेछ । शरद् छेत्रीको सशक्ति गैर-आख्यानमा भए पनि उनको आख्यनाकारको छविले उनको यो पाटो सधैँ छायामा पर्यो । सन् १९८६मा साहित्य आकादमीले उनलाई चक्रव्युह कथासङ्ग्रहमा पुरस्कार दिनुले पनि यो पुष्टि हुन्छ । उनका – केही पृष्ठहरू अध्ययनका (सन् २००६), लेखन अऩि अवबोधन ( सन् २००६), केही सिर्जना अनि समीक्षाहरू (सन् २०१२) समालोचना कृतिहरू पठनीय छन् । उनको समालोचना कृतिपरक छ । कठिनतम अमूर्त र क्लिष्टरूपमा लेखिएको इन्द्रबाहदुर राईको ‘कठपुतलीको मन’देखि सहकर्मी नरदेन रुम्बाको कवितासङ्ग्रह ‘प्रक्षेप’ सम्मको विवेचना गरेका छन् उनले । विषयवस्तुलाई गहन अध्ययन गरेर समीक्षा गर्नु उनको खुबी हो जस्ले गर्दा उनी अब्बल दर्जाको समालोचकहरूको हारहारीमा आएको पाउछौँ । “डाकबङ्गला पर्यालोकन (सन् १९९७) नामक समीक्षात्मक पुस्तकमा उनले शिवकुमार राई लिखित उपन्यास ‘डाकबङ्गला’को सिंहावलोकन गरेर कृतिलाई हेर्ने दृष्टिमा नयाँपन ल्याएका थिए । कृतिलाई सम्पूर्णतामा हेर्नुपर्छभन्ने मान्यतामा यो समालोचना लेखिएको थियो । मूर्धन्य समालोचक रामकृष्ण शर्माको समालोचना कृति ‘सप्तशारदीय’ माथि समालोचना लेखेबापत सन् १९८८मा रन्तश्री स्वर्णपदक प्राप्त गरेका पनि थिए उनले ।
शरद् छेत्रीले रुचाएको विधा कविता पनि हो, उनको कविता र खण्डकाव्यमा जीवन दर्शन पोखिएको हुन्छ । अति प्रिय आमाको निधनपछि निराश र शोकमा डुबेर लेखेको खण्डकाव्य हो ‘महानिशा’ । पुर्वीय दर्शनमा आधारित यो खण्डकाव्य शोककाव्यभन्दा पनि भिन्न दर्शन, आध्यात्मिक, पौराणिक कथा, महाभारत आदिको प्रतीकतात्मक प्रस्तुती हो । शरद् छेत्रीसँग चारदशकभन्दा लामो समयसँग सङ्गत गरेका गुप्त प्रधानले ‘महानिशा’ माथि समीक्षा गरेका छन् । लामो समीक्षामा यो खण्डकाव्यको विविध पक्षको विवेचना गर्दै गुप्त प्रधान लेख्छन्,” यस खण्डकाव्यमा विचारको गति एउटा दृष्टिकोषबाट उठेर त्यसको विपरीततर्फ पनि दौडिएको आभास छ । तटस्थ मानिस कहिले देवता कहिले दानवसित सामञ्जस्य स्थापन गर्न दुगुर्छ । यसरी समयको फेरोसित मान्छेको मानसिक धारणाहरू तर्फ-वितर्फतिर दौडेर द्वन्द्वात्मक दर्शन (हेगेलियन) जगाउँछ । ‘महानिशा’– भित्र मान्छेले गरिरहेको भिन्न-भिन्न अन्तर्मन्थन नै हाम्रो प्रत्येक युगको दर्शनको द्वन्द्व हो र विभेद हो ।” बुद्ध दर्शनबाट पनि निकै प्रभावित शरद् छेत्री शून्यवादलाई पनि समाविष्ट गरेको बोध हुन्छ यस काव्यमा । कवि शरद् छेत्रीकै भनाइमा पनि ‘महानिशा’ पौराणिक चिन्तन र आधुनिक विज्ञानका विचारहरूलाई समन्वित पारी लेखिएको खण्डकाव्य हो । सन् १९७२मा गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङले प्रथम विराट् नेपाली साहित्य सेमिनार आयोजना गर्छ । त्यस सेमिनारमा भारतका विभिन्न प्रान्त लागयत नेपालबाट पनि प्रतिनिधित्व गरेका थिए । काव्य गोष्ठी र कथा गोष्ठीको पनि आयोजना गरेको थियो भने उत्कृष्ट कथा र कविताहरूलाई मनबहादुर मुखियाद्वारा सम्पादित सेमिनार पत्रिकामा समावेश गरिएको थियो । सोही अङ्कमा शरद् छेत्रीको कविता ‘प्रीतिका कोल्टोहरू’ले पनि प्रवेश पाँउछ । त्यही समयको स्थापित कविहरू सावित्री सुन्दास, प्रेम शेर्पा ‘विरोकी’, मनबहादुर मुखिया, पी अर्जुन सँगै शरद् छेत्रीले पनि स्थान पाउनुले उनको कवितात्मक क्षमताको प्रदर्शन गर्दछ । सन् १९७३ मा ‘चोइटिएको आकाश मक्किएको चेतना’ कवितासङ्ग्रह युगपरिबोधद्वारा प्रकाशित थियो भने ‘कविता खोज्दै शरद्: शरद् कविता खोज्दै’ सन् १९९२मा र ‘आवेग अन्तर्मन’ सन् २००५ मा प्रकाशित भएको थियो । सन् १९८० मा नेपाली अकादमीबाट बालकाव्य ‘कुनै अग्लो रुख नभएको देश’ प्रकाशित भयो । ‘पर्यटन’ (सन् १९७९) र ‘महानिशा’ (सन् १९८६) मा क्रमशः अस्तित्व प्रकाशनबाट प्रकाशित भएको थियो ।
साहित्य अकादमी पुरस्कारसँगै भानु पुरस्कार पाए शरद् दाजुले तर यस्ले उनको जीवनमा केही समय कलह ल्यायो । सुवास घिसिङले नेतृत्व गरेको गोर्खाल्याड आन्दोलनको मारमा परे शरद् छेत्री । पुरस्कार बहिष्कारको दबाब एकतिर छ भने आत्मासम्मान अर्कातिर ।राजनीतिमा साहित्यको बिचल्ली हुन्छ त्यसबखत । एउटा सर्जकलाई राजनीतिक कित्ताकाट गरेर अवहेलना गर्नु सबैका लागि दुःखदायी कुरा हो । तर पनि यस विषाद धटनाले शरद् छेत्रीको साहित्यप्रतिको मोहभङ्ग भएन र लेखनलाई निरन्तरता दिइराखे । यो उनको महानता हो, सृजनशीलताप्रतिको इमान्दारिता हो, नेपाली साहित्यप्रतिको अघात प्रेम हो ।
सन् सत्तरीको दशकमा नाटकका निम्ति दार्जिलिङ उर्वर भूमि थियो । मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ले दार्जिलिङको मात्र होइन सारा नेपाली जगत्को नाटकलाई नयाँ मोड दिएको थियो । मोहन थापा, पी. अर्जुन, किरण ठकुरी, सीके श्रेष्ठ, मोहन पुकार , नन्द हाङ्खिम, टेम्बो लेप्चा, पिटर चेङ, नर्देन रुम्बा, टङ्क शर्मा, लक्ष्मण श्रीमल आदिले दार्जिलिङमा नाटक पढ्नेमात्र होइन मञ्चन गरिने कला हो भनेर प्रमाणित गरिरहेका थिए । त्यही समय नाटक लेख्न आइपुगे शरद् छेत्री । ‘खुब नाच्यो कठपुतली’ सन् १९९३ मा प्रकाशित भयो भने ‘समयभित्रको समय’ सन् २००२मा । ‘खुब नाच्यो कठपुतली’मा यही शीर्षकको पूर्णाङ्की बाहेक चार एकाङ्की छ । ‘खुब नाच्यो कठपुतली’ भित्र –काल-त्रिकोणी, हरित तृष्णा, भालेको डाकअघि, रमेश भाइको छोरा हरायो समाहित छ भने ‘समयभित्रको समय’मा आदि-सङ्घर्ष, अघिरोहण, हार्दैनन् संस्कार पैह्रोसित र समयभित्रको समय । लेखक रुद्रराज मास्केका अनुसार सन् १९८०मा प्रकाशित पूर्णाङ्की ‘अतिक्रमण’ भारतीय नाटकमा आएको नयाँ प्रयोगात्मक शैलीको विनिर्माणात्मक पद्धतिमा लेखिएको छ ।
शरद् छेत्रीको जीवन निकै सरल र सरस छ । बि.एसी. बि.टी. अनि सातवर्षसम्म मिनिसिपल स्कुलमा गणित र विज्ञानका शिक्षक । त्यसपछि स्टेट बैङ्कमा जागिरे । समय अगावै निवृत्त भए । बैङ्कजस्तो निरस कार्यस्थलमा कार्यरत भएर पनि सरस आख्यानहरू लेखिरहे । छोरा र छोरीलाई असल अभिभावकको रूपमा राम्रो शिक्षा र दीक्षा दिएर सबल नागरिक बनाउन सफल भए । उनीमाथि दुईजनाले विद्यावारिधी गरिसके- वीणा हाङकिमको शोधपत्र थियो उनको काव्यमा, रुद्रराज मास्के उनको नाटकमा । शरद् छेत्रीले पनि नेपालीमा एम.ए गरेको जानकारीमा आएको छ ।
सन् २०१२ मा शरद् छेत्रीको ६५ वर्षको उमेरमा निधन भएपछि सन् २०१३मा उनको चार दशकभन्दा लामो समयसम्मका मित्र गुप्त प्रधानको सम्पादनमा कृति अनि स्मृतिहरूमा शरद् छेत्री श्याम ब्रदर्स प्रकाशनले प्रकाशित गर्यो जस्मा कृतिमाथि ३५ लेख र स्मृतिमाथि १५वटा लेखहरू छन् । यो ग्रन्थले शरद् छेत्रीको अमूल्य योगदानलाई सही मुल्याङ्क गरेको छ ।
उनको मृत्युपछि अनलाइन पत्रिका ‘दलसिँगतारा’मा प्रकाशित ‘अखण्डित समय र राष्ट्रिय एकता’ छापिएको छ जुन कविता उनको मृत्यु पुर्व पत्रिकामा प्रकाशनका निम्ति दिइएको थियो ।
समय भनेको परिपक्वता पनि हो
असाध्यको प्रबल छ जो, –
राष्ट्रको सुदैढ सङ्घटनमा समयको
प्रभाव छ औधी प्रचण्डको ।
देशद्रोही ! तब के पो नाप्ने छौ तब उठाएर हतियार
हुने छैन है समय, कुनै पनि पो, आक्रमणमा स्थिर !
मातृभूमिप्रति प्रगाढ प्रेम चाणक्यमा, समयले तब जागृत गर्दा पनि,
वतनलाई स्वतन्त्र पार्ने दृढ लगनमा, गान्धी नेहरू पटेल प्रभृति कति,
हजारौँ लाखौँ सङ्ग्रामिजन-आन्दोलनमा, सर्वस्व त्यागी अग्रसर बन्दा पनि
समयको चाल थियो नित्य-निर्भय – अविचलित – अखण्डित,
जुन अनुशीलनमा स्वतन्त्रता सङ्ग्राम थियो एकाग्र प्रगतिशील,
उफ! एक्कास्सी तर, कताबाट पलायो यस्तो अमिल्दो-नमिठो?
बसुर राग, बिच्छिन्नतावादको, भँच्दै गति सत्-समयको ।
इतिहासको बिरुवा रोप्नेहरूले त, सुतेका अरूलाई पनि जगाएर,
परिसके समय अतिप्रजननशील, देश प्रेम रसले मलिलो सकारेर ।
अफशोच! तर मूर्ख अबुझहरू चाहिँ नचिनेर ऋद्धि-सिद्धि
समयको हातमा चाबुक देखेझैँ बन्दै हतभागी,
केवल विसङ्गत चालमा भाग्दै रहे सधैँ जथाभावी
खुसियालीको नाममा भ्रमको स्वार्थ- सामल बोकेल केही !
यसै पुण्यभूमिको आँगन-आँगनमा खुसियाली रमाइलो
मूल प्रवाह भयो, प्राण प्राणमा गुन्जित नित्य जोश-गानको,
प्रभो! यही नै त हो, उत्कृष्ट राष्ट्र भारत हाम्रो,
सङ्गठनमा नै जहाँ समय छ निरन्तर रमाएको!
जहाँ सुहाएको छ, अनेक भाषा अनेक भेष
अनेकौँ आस्था छ, अनेकको तर यही एक्कै देश
तब यस पवित्र स्थलमा, विभ्रान्त साथी!
कुन कुन चापमा बोक्यौ हतियारहरू यसरी?
कुन कुन भाइको, घातको ताकमा, भागेको मनपरि?
(यो लेखका निम्ति मलाई स्रोत सामग्री र अन्य जानकारी उपलब्ध गराइदिनु भएकोमा म निबन्धकार शैलिका छेत्रीलाई हृदयबाटै धन्यवाद दिन चाहन्छु)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










