
सगरमाथाभन्दा अग्ला सपना
परेलीमा पोको पारेर
उर्ध्वगामी यात्रामा लम्केका पाइला
उसैका हुन्
आफूभित्रको तन्नेरी ऊर्जा
देशभक्तिमा घोलिएपछि
आफन्तजनको मायालाई
त्याग र समर्पणसँग साट्दै
मध्यरातको अँधेरोमा
सपनाको जुन टिप्न
सल्बलाएका हातहरु उसैका हुन्
देशलाई उसले आफ्नो रगत दियो
पत्नीलाई विधवा बनायो
छोराछोरीलाई टुहुरा बनायो
आमाबुबालाई सहाराविहीन तुल्यायो
र परिणाममा
परिवर्तनको बिहानी भित्र्यायो
ए देश हाँक्ने महारथीहरु हो
भनिदेऊ न लौ
उसको रगतले लिपेको भुईं टेकेर
यतिबेला तिमी
उसको पूजा गरिरहेका छौ
कि
अपमान ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 






