साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

अचेलका नारी गर्भवती हुँदैनन्, प्रेग्नेन्ट हुन्छन् 

उठान

नेपाली भाषामा संस्कृत वा प्राकृत भाषाबाट आएका शब्दबाहेक अन्य भाषाबाट आएका शब्दलाई आगन्तुक शब्दका रूपमा पहिचान दिइएको छ । त्यस्ता आगन्तुक शब्दलाई स्वदेशी र विदेशी आगन्तुक शब्दमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ । नेपालभित्रकै अन्य मातृभाषाबाट नेपाली भाषामा आएका शब्दलाई स्वदेशी आगन्तुक शब्द र विदेशी भाषाबाट आएका शब्दलाई विदेशी आगन्तुक शब्द भनी वर्गीकरण गर्न सकिन्छ ।

आगन्तुक शब्दको प्रभाव

भाषा गतिशील विषय हो । त्यसैमाथि वर्तमान युग भूमण्डलीकरण, विज्ञान र प्रविधिको युग हो । यस युगमा भाषामा समेत शब्दहरूको वैश्विक प्रवाहीकरण हुनुलाई स्वाभाविक मान्न सकिन्छ । आफ्ना भाषामा अन्य भाषाबाट शब्द आयात हुँदा भाषा झन्झन् समृद्धि हुँदै जान्छ तर यसको निश्चित सीमा हुन्छ । आफ्ना भाषामा शब्दको कमी हुँदा अथवा कुनै विषयवस्तुलाई जनाउने ठ्याक्कै शब्द नहुँदा अन्य भाषाबाट शब्द लिएर चलाउनु वाञ्छनीय हुन्छ तर आफ्नै भाषामा शब्द हुँदाहुँदै आगन्तुक शब्दको प्रयोग गर्दै जाँदा मौलिक शब्दहरू मासिँदै जान्छन् । भाषामा आगन्तुक शब्दको बढ्दो प्रयोग हानिकारक नै हुन्छ । नेपाली भाषाका सन्दर्भमा विदेशी आगन्तुक शब्दको प्रयोग बढ्दै गएको छ । न्याय, सञ्चार, शिक्षा, सूचना-प्रविधिजस्ता धेरै क्षेत्रमा विदेशी आगन्तुक शब्दको प्रयोग बढ्दै जाँदा नेपाली भाषाका मौलिक शब्दहरू (तत्सम र तद्‍भवसमेत) हराउँदै जान थालेका छन् । यो चिन्तनीय विषय हो ।

नेपाली भाषामा अरबी-फारसीजस्ता भाषाका शब्दको प्रभाव

अचेल हामी हर्षित हुन छोडिसक्यौँ, खुसी हुन्छौँ । न्यायालयले निर्णय गर्न छोडिसक्यो, बरु अदालतले फैसला गर्छ । अस्वीकार गर्दैनौँ, इन्कार गर्छौँ । यात्रा हरायो तर सफर भेटियो । क्षमा दिन बिर्सियौँ, माफी दिन थाल्यौँ । प्रतीक्षा गर्न अथवा पर्खन सक्तैनौँ, इन्तजार गर्न सक्छौँ । आफ्ना मौलिकतालाई नियन्त्रणमा राख्‍नुका सट्टा काबुमा राख्‍न थाल्यौँ । प्रतिस्पर्धा गर्न डरायौँ तर मुकाबिला गर्न तम्सियौँ । देशका लागि केही गर्दैनौँ तर मुलुकका खातिर धेरै थोक गर्न सक्ने भयौँ । विधिलाई हेला गर्‍यौँ, कानुनलाई सर्वोच्च मान्न थाल्यौँ । हामीलाई अधिकार चाहिँदैन तर हक नभई हुँदैन । अधिकारको दुरुपयोग गर्दा केही हुँदैन तर अख्तियारको दुरुपयोग गर्दा अख्तियारले नै समात्छ । उर्वशीहरूलाई परीहरूले गलत्याइसके । साक्षी चाहिँदैन, गवाह र गवाही भए पुग्छ । उत्तरदायी बन्न चाहँदैनौँ तर जवाफदेहीका नारा फलाक्छौँ । लोकसेवाका नाममा “उत्तरदायित्व” र “जवाफदेहिता” (वास्तवमा जवाफदेहिता शब्द नै हुँदैन, जवाफदेही हुन्छ) बीच भिन्नता रटायौँ । पुस्तक त पुरातन भइसक्यो, किताब पढेर विद्वान् बन्नु छ । उत्तर पर्याप्त छैन तर जवाफ नै काफी छ । आदेश मान्दैनौँ तर हुकुम मान्न तयार हुन्छौँ । बलियो नभए पनि चल्न थाल्यो तर मजबुद हुनैपर्छ । प्रमाण नभए पनि हुन्छ तर सबुद चाहिन्छ । प्राप्त नभए पनि चिन्ता छैन किनभने हामी हासिल गर्न सक्षम हुनुका सट्टा माहिर भइसक्यौँ । दण्ड दिने कार्य मानवाधिकारविरुद्ध हुन थाल्यो तर कारबाही गर्दा विधिसम्मत नै हुन्छ । प्यारप्यार गरेको मन पर्दैन तर प्यार गरेको मन पर्छ । प्रेमी-प्रेमिकाले एकअर्कालाई मन-मुटु-हृदयमा सजाउन छोडिसके, दिलमा नै टाँस्न थाले ।  विभिन्न आन्दोलन तथा सशस्त्र द्वन्द्वमा वीरगति प्राप्त गर्दैनन्, सहादत पाउन थाले । उदाहरण फिक्का लाग्न थाले, नमुनाहरू गाढा भए । मनुष्यको मृत्युपश्चात् ऊ शव बन्दैन, लास बन्न थालेको धेरै वर्ष भइसक्यो । अब प्रतिष्ठाको हेक्का राख्नुपर्छ, इज्जतको ख्याल नराखे पनि चिन्ता गर्नुपर्दैन ।

नेपाली भाषामा अङ्ग्रेजी भाषाका शब्दको प्रभाव

अचेलका नारी गर्भवती हुँदैनन्, प्रेग्नेन्ट हुन्छन् । शिशुलाई जन्म दिँदैनन्, बेबी जन्माउँछन् । बच्चा जन्मनासाथ आमा-बुवा त चिन्दैन तर मम्मी-ड्याडीलाई सजिलै चिन्छ । बच्चाले स्याउ र केरा खाँदैन तर एप्पल र बनाना निकै
रुचाउँछ । निजी विद्यालयमा नेपाली बोल्दा कुखुरा बन्नुपर्छ । छोराछोरी बिग्रिएमा चिन्ता छैन तर नट्टी बन्नु भएन । विद्यालय पठाउन लाज लाग्छ, प्रतिष्ठाका लागि भए पनि स्कुल नै पठाउनुपर्छ । अचेल कसैले दुःखानुभूति गर्दैन, सबैले पेन फिल गर्छन् । लोक सेवा आयोगका परीक्षामा झन् अङ्ग्रेजी मिसाएपछि धेरै अङ्‍क पाइन्छ अरे । प्रवर्द्धन गर्नुभन्दा ‘प्रमोट’ गर्दा जाँचकीले धेरै अङ्‍क दिन्छ । कार्यान्वयन गर्नुभन्दा ‘एप्लाइ’ गर्दा महान् भइन्छ । सुशासन तीतो भयो तर ‘गुड गभर्नेन्स’ त उखुको रस जत्तिकै गुलियो । योग त पुरातन भइसक्यो, योगा नै प्रिय छ । ध्यान गर्दा आनन्द आउँदैन तर मेडिटेसन गर्दा परमानन्द आउन थाल्यो ।

बैठान

तादी नै एकपल्ट कुनै प्रसङ्‍गमा “कक्षा ११ मा विज्ञान पढ्छु”, यति मात्रै भनेको थिएँ, एक जना दाजुले “साइन्स भन न, तिमीले विज्ञान पढ्छु भनेको सुहाएन” भनेका थिए । त्यसवेला म अवाक् भएको थिएँ । भाषाहरूका बीचमा शब्दहरूको आदानप्रदान स्वाभाविक मानिन्छ । यसले भाषिक उन्नयन तथा समृद्धिमा टेवा पुर्‍याउँछ । आगन्तुक शब्दमा पनि देशभित्रकै अन्य भाषाबाट शब्द लिएर प्रयोग गर्नु जाती हुन्छ । विदेशी आगन्तुक शब्दको अन्धाधुन्ध प्रयोग गर्नाले स्वदेशी भाषामा विचलन आउनुका साथै मौलिक शब्दहरू मासिँदै जान थाल्छन् । यसको तात्पर्य कम्प्युटर, टिभी, रेडियोजस्ता रूढ भइसकेका शब्दका समेत विकल्प खोज्नुपर्छ भन्ने होइन । प्रयोग नगरी नहुने स्थानमा बाहेक अन्य स्थानमा स्वदेशी मौलिक शब्दहरूको प्रयोग गर्नुपर्छ । भाषा सम्भाषणको माध्यम मात्र होइन अपितु राष्ट्रको पहिचानसमेत हो । भाषाको सम्मान र संरक्षण गरौँ ।

प्रतिक्रिया
Loading...