कला क्याम्पसका प्रोफेसर मनमोहन घरमै बसेर साथीहरुसँग मनोरञ्जन गरिरहेका थिए । ठीक त्यसै बेला योगेश बाबु कोठामा प्रवेश गरे । योगेश बाबु कुशल चित्रकार थिए । उनले केही समय अघिमात्र स्कुल छोडेका थिए । उनलाई देखेर एउटा व्यक्तिले भन्यो , ‘योगेश बाबु, नरेन्द्र के भन्छ , तपार्इँले सुन्नु भो केही ?’
योगेश बाबुले आरामकुर्सीमा बसेर पहिले लामो सास फेरे अनि भने,– ‘के भन्छ?’
“नरेन्द्र भन्छ– बङ्गाल प्रान्तमा ऊजस्तो चित्रकार कोही पनि छैन रे अहिले ।”
“फुईँ गर्छ , त्यो हिजो अस्तिाको फुच्चे ! हामी त अहिलेसम्म घाँसै मात्र काटेर बसेका छौं र !” अलि झर्किएर योगेश बाबुले भने ।
कुरा गर्दै गरेका केटाले फेरि भन्यो, “भन्ने मात्र पनि होइन, नरेन्द्रले तपाईँलाई सम्मानपूर्वक हेर्दा पनि हेर्दैन ।”
योगेश बाबुले उपेक्षित भावमा भने, “कनि, कुनै अपराध।”
“ऊ भन्छ, तपाईं आदर्श चित्रकारिता गर्नु हुन्न रे ।”
“अनि कुन दृष्टिकोणले चित्र बनाउँछु त ?”
“दृष्टिकोण ?”
“रुपियाँका लागि ।”
योगेशले एउटा आँखा चिम्लेर भने “व्यर्थ ।”
अनि आवेशमा कानका छेउछाउमा अस्तव्यस्त रहेको कपाललाई मिलाए र धेरैधेरैसम्म चुपचाप बसे । चीनका सबैभन्दा ठूला चित्रकारको कपाल पनि लामो थियो त्यसैकारण योगेशले पनि स्वभाव प्रतिकूल भए पनि लामो कपाल पालेका थिए । यद्यपि उनको रुपअनुसार कपाल सुहाउँदिलो थिएन किनभने बाल्यकालमा एउटा गम्भीर रोग लागेर पनि उनी बाँचेका थिए तर अनुहार भने कुरुप भएको थियो । कालो रङ्ग तथा विफरको दागका कारण । अनुहार हेर्दा कसैले बन्दुकमा छर्रा भरेर उनका अनुहारमा प्रहार गरेझैँ लाग्दथ्यो ।
‘कोठामा बसिरहेका ती केटाहरु क्रोधित योगेश बाबुलाई हेरेर उनकै अगाडि मुख छोपेर हाँसेका ?”
एउटा केटाले बठ्याइँ गर्दै हतार हतार भन्यो, “होइन महासय, तपार्इँ क्रोधित हुँदा हामी हाँस्ने ? यस्तो कसरी हुन सक्छ ?”
“हो, हो ! मैले बुझिसकेँ, अब धेरै बाठो हुनु पर्दैन । अहिले दाँत देखाएर तिमीहरु रोइरहेका थियौ त ? म त्यति मूर्ख छुइन ।” भन्दै उनले आँखा बन्द गरे ।
केटाहरुले बलपूर्वक हाँसो रोके र भने, “ल , तपाईंको कुरा पनि ठीकै छ, हामी हाँसिरहेका थियौँ तर नरेन्द्रका पागलपनका विषयलाई लिएर हाँसिरहेका थियौँ । हेर्नु होस् त, मास्टरसाहेबसँग नरेन्द्र पनि आउँदै छ ।”
मास्टरसाहेब र नरेन्द्र दुवै कोठामा आइपुगे ।
योगेशले एकपटक छड्के आँखाले नरेन्द्रतिर हेरे र मनमोहन बाबुलाई भने, “महाशय ! मेरा बारेमा नरेन्द्र के भन्छ ?”
“नरेन्द्रको भनाइ छ, म पैसाको दृष्टिकोणले चित्र बनाउँछु । मेरो केही आदर्श छैन ?”
मनमोहन बाबुले सोधे, “हो नरेन्द्र ?”
नरेन्द्र अहिलेसम्म चुपचाप उभिएको थियो । तत्काल अलि अघि आएर भन्यो, “हो मैले भनेकै हुँ, मेरो यस्तै विचार छ ।”
योगेश बाबुले मुख बिगार्दै भने, “बडो बिचार दिने व्यक्ति, सानो मुख ठूलो कुरा ! हिजो अस्तिको फुच्चे भएर ठूलठूला कुरा गर्छ ।”
मनमोहन बाबुले भने, “योगेश बाबु छोडिदिनुहास् , नरेन्द्र अहिले केटाकेटी नै छ । अनि यति सानो कुरामा वादविवाद गर्नुपर्ने पनि के छ र ?”
योगेश बाबुले उस्तै आवेशमा भने, “अँ नरेन्द्र केटाकेटी नै छ ! यस्तो जुँगामुठे मान्छे पनि केटाकेटी हुन्छ भने बूढोचाहिँ कस्तो हुन्छ नि ? मनमोहन बाबु, तपाईँले के भन्नुभएको ?”
एउटा विद्यार्थीले भन्यो, “हैन हजुर, एकछिन अघि सम्म त तपाईँ नै नरेन्द्रलाई हिजो अस्तिको फुच्चे भन्दै हुनुहुन्थ्यो त !”
योगेश बाबुको अनुहार रिसले रातो भयो, उनले भने– ‘कहिले भनेँ मैले त्यसो ?”
“एकछिन अघि मात्र त हो नि !”
झुट्टो कुरो , सरासर झुट्टो कुरा ! यति लामा लामा जुँगा हुनेलाई म फुच्चे भन्छु ? असम्भव ! तिमीहरुले मलाई महामूर्ख सम्झेका छौ कि क्या हो ?”
सबै केटाहरुले एकै स्वरमा भने , “हैन हजुर, हामी त झुक्किएर पनि यस्तो कुरा गर्दैनौँ ।”
मनमोहन बाबुले मुस्किलले हाँसो रोकेर भने, “चुप लाग सबै, होहल्ला नगर ।”
योगेश बाबुले भने, “ए नरेन्द्र ! तिम्रो भनाई सम्पूर्ण बङ्गालभरि नै तिम्रा दाँजामा आउने एउटै चित्रकार छैन भन्ने हो ?”
नरेन्द्रले भन्यो, “तपाईँले यो कुरा कसरी जान्नुभयो ?”
“तिम्रै साथीहरुले भनेका ।”
“म त्यसो त भन्दिन तर केचाहिँ भन्छु भने मैले जस्तो हृदयको रगत पिएर चित्रकारी गर्ने बङ्गालमा अर्को कोही छैन ।”
“त्यसको प्रमाण के छ नि ?”
नरेन्द्रले अवेशयुक्त स्वरमा भन्यो, “प्रमाणको के खाँचो पर्यो ? मेरो आफ्नो विचार हो यो ।”
“तिम्रो विचार गलत छ ।”
नरेन्द्र अलि कम बोल्ने व्यक्ति भएकाले केही जवाफ दिएन ।
मनमोहन बाबुले यो अप्रिय बातचित बन्द गर्ने मनसायले भने, “नरेन्द्र ! यसपालिको प्रदर्शनीका लागि तिमी चित्र बनाउँछौ , होइन ?”
नरेन्द्रले भन्यो, “विचार त छ ।”
“हेरौं न त, तिम्रो चित्र पनि । कस्तो हुँदो रहेछ ।”
नरेन्द्रले श्रद्धापूर्वक उनको पाउको धूलो लिँदै भन्यो, “जसको गुरू तपाईँ हुनुहुन्छ, उसलाई के को चिन्ता ? हेर्नुहोला, चित्र उत्तम हुने छ ।”
योगेश बाबुले भने, “रामभन्दा पहिला रामायण ! पहिला चित्र बनाऊ अनि भन्नु ।”
नरेन्द्रले मुन्टो घुमाएर योगेश बाबुतिर हेर्यो, केही पनि भनेन तर उसको मौनता र उपेक्षाको कारण कुराहरुले भन्दा पनि बढी चोट योगेशको हृदयमा लाग्यो ।
मनमोहन बाबुले भने, “योगेश बाबु ! तपाई जेसुकै भन्नुहोस्, नरेन्द्रलाई आफ्नो क्षमतामाथि पूर्ण विश्वास छ । म ऊ भविष्यमा महान् चित्रकार बन्छ भनी दृढ निश्चय गरेर भन्न सक्छु ।”
बिस्तारै नरेन्द्र कोठाबाट बाहिर निस्कियो ।
एउटा विद्यार्थीले भन्यो, “प्रोफेसर साहेब , नरेन्द्रमा एउटा हदसम्मको पागलपनको झल्को देखिन्छ ।”
मनमोहन बाबुले भने, “हो, म पनि मान्छु । जसले आफ्ना मनका भावहरु सफलतापूर्वक प्रकट गर्दछ त्यस्ता व्यक्तिलाई सर्वसाधारणले पागल नै ठान्दछन् । चित्रमा एउटा विशष प्रकारको आकर्षण मोहकता उत्पन्न गर्ने असाधारण किसिमको योग्यता उसमा छ । तिमीलाई थाहा छ, नरेन्द्रले एकपटक के गरेको थियो ? मैले देख्दा नरेन्द्रको देब्रे हातको औंलाबाट रगतको धारो बगिरहेको थियो तर ऊ चाहिँ थाहै नपाए जसरी बसेर चित्र कोरिरहेको थियो । म त उसको अवस्था देखेर छक्क परेको । सोधेको त के भन्छ थाहा छ ? औँला काटेर रगतको वास्तविक रङ कस्तो हुन्छ भनेर हेरेको रे । अनौठो मान्छे छ त्यो ।तिमीहरुले यसैलाई पागलपन भन्न सक्छौ तर यस्तै पागलपनका कारण ऊ एक दिन अमर कलाकार बन्ने छ ।”
योगेश बाबु आँखा बन्द गरेर सोच्न थाले…. जस्तो गुरु उस्तै चेला– दुवै पागल ।
केही सोच्तासोच्तै नरेन्द्र घरतिर लाग्यो–बाटामा भीडभाड थियो । थुप्रै गाडी गुडिरहेका थिए तर यस्ता कुराप्रति उसको ध्यानै थिएन । उसलाई के को चिन्ता थियो ? सायद उसैलाई पनि यो कुराको पत्तो थिएन ।
केही समयभित्रै ऊ ठूलो चित्रकार भयो । छिट्टै नै नरेन्द्र यति प्रसिद्ध र सर्वप्रिय भएको कुरा उसका ईष्यालु साथीहरुलाई मन परेको थिएन । तिनै ईष्यालु मित्रहरुमध्ये योगेश बाबु पनि एक थिए । नेरन्द्रमा एउटा विशेषकिसिमको योग्यता छ अनि उसको कुचीमा असाधारण शक्ति छ । योगेश बाबुको मनले यो कुरा मानिसकेको थियो तर बाहिर भने मानेजस्तो पटक्कै गर्दैनथे ।
थोरै समयमा यति धेरै प्रसिद्धि पाउनुका पछाडि एउटा कारण थियो । त्यो के भने नरेन्द्र जुन चित्र बनाउँथ्यो त्यसमा आफ्नो सम्पूर्ण योग्यता र क्षमता लगाउँथ्यो । उसको दृष्टि चित्रमै मात्र रहन्थ्यो । पैसातिर कत्ति पनि ध्यान दिँदैनथ्यो । उसको महत्वाकाङ्क्षा चित्रलाई सुन्दर बनाउनमा मात्र केन्द्रित रहन्थ्यो । चित्रमा विलक्षणता सिर्जना गर्न लागिपर्दथ्यो पैसा थोरै आओस् कि धेरै उसलाई चासै हुँदैनथ्यो । आफ्ना विचार र भावनाहरुको मधुर रुपरेखा ऊ चित्रमा खोज्ने गर्दथ्यो ।
चित्र कोर्न बस्दा चारैतिर फैलिएको असीम प्रकृति र त्यसको विविध रुपरेखालाई आफ्नो हृदयपटमा गुम्फित गर्दथ्यो । यति मात्र पनि होइन, ऊ आफैँलाई पनि बिर्सन्थ्यो । त्यसबेला ऊ पागलजस्तै देखिन्थ्यो र प्राणै त्याग्नु परे पनि सायद उसलाई सङ्कोच लाग्दैनथ्यो । त्यसबेलाको एकाग्रताले उसलाई यस्तो अवस्थामा पुर्याउँथ्यो ।
वास्तवमा यसैकारण उसलाई सम्मान प्राप्त भएको हो । उसको स्वभावमा सरलता थियो । उसले सरलतापूर्वक भनेका कुरालाई पनि मानिसहरु अभिमान र आडम्बर ठान्दथे । उसकै अगाडि त कसैले केही भन्दैनथ्यो तर अनुपस्थितिमा भने उसको निन्दा गरिहाल्थे । तर ऊचाहिँ यस्ता कुरामा ध्यान दिँदैनथ्यो । कसैले एक थोक सोधिरहँदा ऊ अर्थोकै जवाफ दिइरहेको हुन्थ्यो । जतिखेर पनि ऊ सपना देखिरहेका बेला कसैले अचानक उठाइदिएको हो कि जस्तो देखिन्थ्यो ।
उसले विवाह गर्यो अनि उसको एउटा छोरो पनि जन्म्यो । पत्नी सार्है सुन्दर थिई परन्तु घरगृहस्थीप्रति नरेन्द्रको कुनै आकर्षण थिएन तैपनि उसको हृदय भने प्रेमको अथाह सागर झैं थियो । उसको सम्पूर्ण ध्यान चित्रकलामा प्रसिद्धि पाउनमा केन्द्रित थियो । मानिसहरुले उसलाई बौलाहा भन्यो भन्ने कारण पनि यही थियो ।
कुनै हलुङ्गो वस्तुलाई पानीमा जबरजस्ती डुबाउनुहोस् त, जतिसुकै बल गरे पनि त्यो डुब्दैन, माथिमाथि तैरिइरहन्छ । ठीक यस्तै दशा ती मानिसहरुको हुन्छ जो आफ्नै धुनमा मस्त हुन्छन् । ती सांसारिक दुःखसुखमा डुब्न पटक्कै चाहँदैनन् । उनको हृदय सधै काम पूर्ण गर्नमै लागिरहेको हुन्छ ।
सोच्दासोच्दै नरेन्द्र आफ्नो घरका अगाडि आइ पुग्यो । मूल ढोकाको नजिकै उसको चार वर्षको छोरो मुखमा औँला हालेर कुनै कुराको गहिरो चिन्ता गरिरहेझैं उभिएको उसले देख्यो ।
बाबुलाई देख्नेबित्तिकै छोरो दौडिँदै आयो र दुवै हातले नरेन्द्रलाई समातेर भन्यो , “बुबा हजुर ।”
“के हो , छोरा ?”
छोराले उसको हात समातेर तान्दै भन्यो, “बाबा, हेर्नुहोस् न मैले एउटा भ्यागुत्तो मार्न लागेको त्यो त लङ्गडो भयो ।”
नरेन्द्रले छोरालाई उठाएर काखमा राख्यो र भन्यो, “अनि मैले के गर्नु त ? तँ पाजी……।”
छोराले भन्यो, “त्यो भ्यागुत्तो घर जान सक्दैन , लङ्गडो भएको छ, कसरी जान्छ ? तपाई नै त्यसलाई काखमा बोकेर उसको घर पुर्याइदिनुहोस् ।”
नरेन्द्रले छोरालाई बोक्यो र हाँस्दैहाँदै घरभित्र पस्यो । एक दिन नरेन्द्रलाई यसपालिको प्रदर्शनीमा जसरी भए पनि आफ्नो एउटा चित्र सामेल गराउनु पर्ने भन्ने लाग्यो । कोठाका भित्ताभरि उसकै हातबाट बनेका अनेकौं चित्रहरु टाँगिएका थिए । कुनै प्राकृतिक दृश्य, मानवशरीरको रुपरेखा , तोरी फुलेर सुनजस्तै भएको खेतको रमणीय दृश्य, मनमोहक जङ्गलको दृश्यावली , रुखका छायाँमा टेडिँदै र तेसिँदै नदीसम्म पुग्ने गोरेटोहरुको दृश्य ।
प्रचण्ड गर्मीका कारण आफैँ मुरझाइरहेका गगनचुम्बी पहाडहरुको पङ्क्ति र सैयौं वटुवाहरु गर्मी छल्नका लागि छायाँदार वृक्षमुनि शरणार्थी भएका जस्ता अनेक दृश्य अङ्कित थिए । शीतल तापिरहेका पथिकहरुको मनोभाव उनीहरुको अनुहारमा झल्किरहेको । कुनै अति प्रसन्न, कुनै अत्यन्तै रिसाएका अनि कुनै चिन्तामग्न अवस्थामा रहेका ।
कोठाको उत्तरी भागमा झ्यालका नजिकै एउटा अधुरो चित्र झुण्ड्याइएको थियो ।त्यसमा ताडमा ताडका वृक्षहरुको समूहका नजिकै सधैं मौन रहने छायाँमा एउटी सुन्दर नवयुवती नदीको नीलो जलमा मौन उभिएकी थिई । उसका ओठ र मुखाकृतिका रेखाहरुमा चित्रकारले हृदयको पीडा अङ्कित गरेको थियो । चित्र केही बोल्न खोज्दैछ झैँ लाग्दथ्यो तर यौवन अझैसम्म उसको शरीरमा अटेसमटेस भएर भरिएझैं लाग्दैनथ्यो ।
यी सबै चित्रहरुमा चित्रकारका यतिका दिनको आशा र निराशा मिसिएको थियो , तर आज ती चित्रहरुको रेखा र रङ्हरुले उसलाई आकर्षित गरेनन् । उसका हृदयमा बारम्बार यही विचार आउन थाल्यो –यतिका दिनसम्म उसले केटाकेटी खेलमात्र खेलिरहह्यो । कागजका टुक्रामा रङ पोत्ने काम मात्र गर्यो ।
यतिका दिनसम्म उसले कागजमा जेजति रेखा कोरेको थियो । तीमध्ये कुनैले पनि उसलाई आकर्षित गर्न सकेनन् किनभने उसको विचार पहिलेको भन्दा धेरै नै उच्च भइसकेको थियो । उच्च मान होइन उच्चतम भएर चिलजस्तै आकाशमा कावा खान चाहन्थ्यो ।
यदि वर्षा ऋतुको सुन्दर दिन भएको भए कुनै शक्तिले उसलाई रोक्न सक्थ्यो होला र? त्यसबेला ऊ जोशमा आएर उडने उत्सुकतामा असीमित दिशामा उड्ने थियो । फर्केर एकपटक पनि हेर्ने थिएन । आफ्नो पूर्व अवस्थाप्रति ऊ कुनै पनि प्रकारले सन्तुष्ट थिएन । नरेन्द्रका हृदयमा बारम्बार यही विचार आउन लाग्यो । भावना र लालसाको झाडी नै बन्न पुग्यो ।
यस पटक भने त्यस्तो चित्र बनाउँछु जसले आफूलाई अमर बनाओस् भन्ने निश्चय गर्यो उसले । उसको अनुभूति बाल्यकालको अनुभूति होइन भन्ने सत्यतालाई सबैका मनमा स्थापित गराइदिने चाहन्थ्यो ऊ ।
मेचमा टाउको राखेर नरेन्द्र विचारका तानाबाना बुन्न लाग्यो । के बनाउने ? कुन विषयमा बनाउने ?हृदयमा आघात हुँदा साधारण प्रभाव पर्दछ । भावनाका कति पूर्ण र अपूर्ण चित्र उसका आँखा अगाडि चित्रजस्तै प्रकट भए तर कुनैले पनि एकछिनसम्म उसको ध्यान तानिरहन सकेनन् । सोच्दासोच्दै सायंकालीन पूजा गर्नेले बजाएको शङ्खको मधुर ध्वनिले उसलाई मस्त गराउने गाना सुनायो ।
यस्तो स्वरलहरी सुनेर नरेन्द्र आश्चर्यचकित भई उभियो । अनि त्यसबारे केही सोचेर ऊ कोठाभित्र बहुलाएझैँ गरी घुम्न थाल्यो । तर सबै व्यर्थ ! जतिसुकै कोसिस गरिरहे पनि कुनै विचार फुरेन ।
रात निकै छिप्पिइसकेको थियो । औँसीको अँध्यारो रात भएकाले आकाश परलोकजस्तै मधुरो देखिन्थ्यो । नरेन्द्र केही हराएझैँ, अलमलिएझैँ भएर आकाशतिर हेरिरहेको थियो ।
बाहिरबाट भान्सेले ढोको ढकढकक्याउँदै फुकार्यो, “बाबु जी !”
आत्तिएर नरेन्द्रले सोध्यो, “को हो ?”
“बाबुजी, खाना तयार भो, हिँड्नुहोस् ।”
नरेन्द्रले रुखो स्वरमा भन्यो, “मलाई नसताऊ, जाऊ तिमी । म अहिले खाना खान्न ।”
“अलिकति त खानुस् न ।”
“मैले भनेँ नि, खाँदै खान्न ।”
भान्से निराश भयो र गर्यौँ मन लिएर फक्र्यो । नरेन्द्रले भने आफैँलाई चिन्तनमन महासागरमा उतार्यो । संसारमा जसलाई ख्याति प्राप्त गर्ने नशा लाग्यो उसलाई आनन्द किन हुन्थ्यो !
एक हप्ता बित्यो । हप्ताभरि नै नरेन्द्रले घरबाट बाहिर पाइला चालेन । घरमै बसेर सोचिरह्यो , कुनै न कुनै मन्त्रले साधनाकी देवी प्रसन्न भएर अवश्य आफ्नो कला देखाउनेछिन् ।
यसभन्दा अघि कुनै पनि चित्रका लागि विचार गर्न उसलाई धेरै समय लाग्दैनथ्यो । यसपटक भने कसै गर्दा पनि उसले केही उपाय निकाल्न सकेन । जतिजति दिन बित्दै जान्थे ऊ त्यति नै निराश हुन्थ्यो । त्यतिमात्र पनि कहाँ हो र ? कतिपटक त झर्को मानेर उसले आफ्नो कपालसमेत उखेल्यो । ऊ आफैँलाई गाली पनि गथ्र्यो, केटाकेटीको जस्तो भुईमा घोप्टो सुतेर कतिपटक त रोयो पनि तर सबै अर्थहीन ।
बिहान उठेर नरेन्द्र चुपचाप बसिरहेको थियो, मनमोहन बाबुको पाले आइपुग्यो र उसलाई एउटा चिठी दियो । नरेन्द्रले चिठी खोलेर हेर्यो । त्यसमा प्रोफेसरले लेखेका थिए–
प्रिय नरेन्द्र,
प्रदर्शनीका लागि अब धेरै दिन बाँकी छैन । एक हप्ताभित्रमा चित्र आइपुगेन भने ठिक हुँदैन । तिम्रो अहिलेसम्मको प्रगति र चित्र कति बन्यो भन्नेबारे लेखेर पठाउनू ।
योगेश बाबुले चित्र बनाएर बुझाइसके । मैले हेरेँ, त्यो निकै सुन्दर छ । तर म तिमीबाट अझै सुन्दर चित्रको आशा गर्छु । तिमीभन्दा प्यारो अर्को कोही छैन मेरो । म आशीर्वाद दिन्छु –आफ्नो गुरुको इज्जत बचाउनू ।
विचार गर, यस प्रदर्शनीमा तिम्रो चित्र राम्रो आयो भने तिम्रो प्रसिद्धि अझै बढ्ने छ । तिम्रो परिश्रम सफल होस् ! हार्दिक शुभकामना ।
मनमोहन पत्र पढेर नरेन्द्र अझै व्याकुल भयो । अब मात्र एक हप्ता बाँकी छ, उसका मस्तिष्कमा भने चित्रका विषयमा कुनै विचार पनि उब्जेको छैन । अब के गर्ला उसले ?
नरेन्द्रलाई आत्मवलमा निकै विश्वास थियो तर यतिबेला त्यो विश्वास पनि घट्दै जाँदै छ । यही तुच्छ शक्तिका बलमा उसले दस बीसजना मानिसका अगाडि टाउको उठाउन सकेको हो ?
उसले त अमर चित्रकार बनूँला भन्ने सोचेको थियो तर हेर त दुर्भाग्य ! आफ्नो विवशता देखेर नरेन्द्रका आँखामा आँसु भरिए ।
जसरी रोगी मानिसको रात आँखै नचिम्लिई बित्ने गर्छ त्यसरी नै नरेन्द्रको रात बित्यो । नरेन्द्रले रात बितेको पत्तै पाएन । यता कति दिनसम्म ऊ चित्रशालामै सुतेको थियो । नरेन्द्रका अनुहारमा जागरणको हिन्ह थियो । उसकी पत्नी दौडँदै आई र हतारमा उसको हात समातेर भनी– “ए हजुर नानीलाई के भो हेर्नुस् त आएर !”
नरेन्द्रले सोध्यो , “के भो ?”
पत्नी लीलाले आत्तिएर भनी, “सायद हैजाले भेटेको होला, यसरी उभिइनरहनु होस् त, नानी बेहोश छ ।”
अन्यमनष्क भएर नरेन्द्र शयन कक्षमा पुग्यो ।
छोरो ओच्छ्यानमा पल्टिरहेको थियो । पलङ्गका चारैतिर भयानक रोगका लक्षण देखिन्थे । रातो रङ एकै छिनमा पहेंलो हुन्थ्यो । हेर्दाखेरि बालक जिउँदो छैन कि जस्तो लाग्दथ्यो । उसको छातीका कुनामा केही वस्तु गतिशील छ झैँ मात्र लाग्दथ्यो । त्यसैले जीवित भएको प्रमाणित गर्दथ्यो ।
बालकका सिरानेतिर टाउको झुकाएर नरेन्द्र उभियो ।
लीलाले भनी, “यसरी उभिइ नरहनुहोस् न । झट्ट गएर डाक्टरलाई बोलाएर ल्याउनुस् ।”
आमा बोलेको सुनेर बच्चाले आँखा खोल्यो । र आत्तिएको स्वरमा भन्यो, “आमा ! ए आमा !”
मेरो आँखाको नानी, मेरो सर्वस्व के भनेको तिमीले ? भन्दै लीलाले हातले बालकलाई समातेर काखमा राखी । आमाको छातीमा टाउको राखेर बालक फेरि अचेत जस्तै भयो । नरेन्द्रका आँखा भरिए । उसले छोरालाई हेरि मात्र रह्यो ।
लीलाले आश्चर्यचकित हुँदै भनी, “अझैसम्म डाक्टरलाई बोलाउन जानु भएको छैन ?”
नरेन्द्रले मसिनो आवाजमा भन्यो, “हँ ! डाक्टर !”
पतिको अस्वाभाविक स्वर सुनेर चकित भएकी लीलाले भनी, “के भन्नुभो ?”
“केही होइन ।”
“जानुस् न त डाक्टरलाई बोलाउन ।”
“अब गइहाल्छु ।”
नरेन्द्र घरबाट बाहिर निस्कियो ।
घरको ढोको बन्द भयो । आफ्नो पतिले बाहिरबाट ढोकाको चुकुल लगाएको आवाज सुनेर लीला आश्चर्यचकित भई । के गरेको होला यो ? ऊ सोच्न लागी ।
नरेन्द्र चित्रशालामा गएर एउटा कुर्सीमा बस्यो ।
दुवै हातले मुख छोपेर ऊ सोच्न थाल्यो । उसको अवस्था देख्दा लाग्दथ्यो , ऊ कुनै गम्भीर पीडाबाट आक्रान्त छ । चारैतिर शून्यता र चकमन्नता व्याप्त थियो । भित्तामा टाँगिएको घडीचाहिँ कहिल्यै नथाक्ने जस्तो गरेर टिकटिक आवाज निकालिरहेको थियो । अनि नरेन्द्रको मुटु छातीभित्रबाट घडीको आवाजलाई उत्तर दिएझैं गरि धडकिइरहेको थियो । सम्भवतः उसको भयानक सङ्कल्पबाट परिचित भएर घडी र उसको हृदय आपसमा कानेखुसी गरिरहेका थिए ।
अचानक नरेन्द्र उठ्यो र संज्ञाहीन अवस्थामा भन्न थाल्यो – “के गरुँ , यस्तो आदर्श फेरि नमिल्ला तर त्यो त मेरो छोरो हो ।”
भन्दाभन्दै ऊ रोकियो । मौन भएर सोच्न थाल्यो , “अचानक घरभित्रबाट सनसनीपूर्ण आवाज बाहिर आयो ।
“मेरा प्राणप्यारा ! तिमी कहाँ गयौ ?”
जसरी डोरी चुँडिएपछि कमान सोझो हुन्छ, चिन्ता र व्याकुलताले नरेन्द्र त्यसरी नै उभिएर सोझो भयो । उसका मुखमा लालीको चिन्हसमेत थिएन । कान थापेर उसले फेरि आवाज सुन्यो अनि उसले बुझ्यो–छोरो गइ नै सक्यो ।
मनमनै भन्यो, “भगवान् तिमी साक्षी छौ । मेरो केही अपराध छैन ।”
यसपछि ऊ आफ्नो टाउकाको कपाल हातमा लिएर सोच्न थाल्यो । निद्राबाट अचानक ब्युँझिएर चिच्याएजस्तो गरी उसले हतारहतार टेबुलबाट कागज, कुचि, रङ आदि टिप्यो र कोठाबाट बाहिर निस्कियो ।
शयन कक्षका अगाडिको एउटा झ्याल नजिकै आएर ऊ अप्ठ्यारो मान्दै उभियो ।केही आवाज सुनिन्छ कि ? अहँ…. । सबै चुपचाप छन् । झ्यालबाट कोठाको भित्री भाग दखिँदै थियो । डरले थुरथुर काम्दै उसले चियाएर हेर्यो अनि उसको शरीरभरि काँडाले घोचेजस्तो लाग्यो उसलाई । ओछ्यान भत्याङभुतुङ भएको थियो अनि आमाचाहिँ त्यही आलाप विलाप गरेर तडपिरहेकी थिई ।
अनि त्यो बाहेक…. आमा कोठाको भुइँमा पछारिएकी थिई, बालकको शवलाई दुवै हातले समातेर छातीमा टाँसेकी थिई, आँखा विस्फारित थिए , कपाल छरपस्ट । बालकका निर्जीव ओठलाई लगातार चुमिरहेकी थिई ।
नरेन्द्रका दुवै आँखामा कसैले दुईवटा सुइरा रोपिदियो । उसले ओठ टोकेर मुस्किलले आफुलाई सम्हाल्यो र कागजमा पहिलो रेखा तान्यो । उसका अगाडि कोठाभित्र उही भयानक दृश्य थियो । सायद संसारको कुनै पनि चित्रकारले यस्तो दृश्यको अगाडि बसेर चित्र बनाउने काम गरेको छैन होला ।
हेर्दा त नरेन्द्रको शरीर गतिशील थिएन तर उसको हृदयमा कति वेदना थियो ? कसले बुझ्ला र ! ऊ त बाबु पो थियो त ।
नरेन्द्र हतारहतार चित्र बनाउन थाल्यो । जीवनमा चित्र बनाउँदा यति हतार कहिल्यै गरेको थिएन । उसका औंला कुनै अज्ञात शक्तिबाट प्ररित भएझैं लाग्दथे । रुपरेखा बनाउँदै गर्दा उसले भन्यो , “छोरा, ए छोरा !! बोल न बोल । कम्तीमा एकचोटि त हेरि देऊ ।”
नरेन्द्रले अव्यक्त स्वरमा भन्यो , “ऊफ्, यो त असहनीय भयो ।”
अनि उसका हातबाट फुत्किएर कुची भुइँमा झर्यो ।
तर तत्कालै कुची टिपेर ऊ फेरि चित्र बनाउन थाल्यो । लीलाको कठोर रुवाइ र आर्तनादले उसका कान हुँदै हृदयमा घोच्दथे, रक्तको गति मन्द गराइदिन्थ्यो अनि उसको कुचीका गति रोकिदिन्थ्यो ।
यसरी नै क्षण बित्न थाले ।
मुख्य द्धारबाट भित्र आउनका लाग नोकरहरुले हल्लाखल्ला गर्न लागिसकेका थिए तर नरेन्द्र यतिबेला विश्व र विश्वव्यापी कोलाहलबाट बहिरो भइसकेको थियो ।
उसले केही पनि सुनेन । ऊ कोठातिर हेर्दै अनि चित्रतिर हेर्दै गर्दथ्यो अनि कुचीलाई रङ्मा भर्दै चित्र बनाउँदै थियो ।
ऊ बाबु थियो तर कोठाभित्र उसकै पत्नीका छातीमा टाँसिएको मृत बालकलाई समेत उसले बिस्तारै बिर्सेको थियो ।
अचानक लीलाले उसलाई देखि । दौँडदै झ्यालका छेउमा आएर दुखित स्वरमा भनी, “डाक्टरलाई बोलाउनु भयो ? कमसे कम एकचोटि आएर मेरो बाबु जिउँदै छ कि मर्यो त्यत्ति त हेर्ने थिए । के चित्र कोरिरहनु हुन्छ ?”
आत्तिएर नरेन्द्रले लीलातिर हेर्यो । ऊ लर्खराएर लड्न लागेकी थिई । बाहिरबाट ढोका ढक्ढक्याउने र पटकपटक कराउने गर्द पनि जब ढोका खुलेन अनि भान्से र नोकर दुवै डराए । उनीहरु बेलुकाको काम सकेर प्रायः आफ्नै घरमा जान्थे र बिहान फेरि काममा आउँथे । प्रत्येक दिन नरेन्द्र बा लीलामध्ये कसैले ढोका खोलिदिन्थे । आज जति ढकढक्याए पनि र कराए पनि कसैले ढोका खोल्दैन । उता लीलाले आलाप विलाप गरेको आवाज पनि सुनिँदै थियो ।
ती दुई जनाले टोलका अरु केही मानिसलाई पनि बोलाए । अन्तमा सबैले सल्लाह गरेर ढोका भत्काए ।
सबै आश्चर्यचकित भावमा घरभित्र पसे । नरेन्द्र भित्तामा अडेसा लागेर, अनि दुवै हात घुँडामा राखेर शिर झुकाएर बसेको छ ।
मानिसहरु हिँडेको आवाज सुनेर झुकाएर बसेको छ ।
मानिसहरु हिँडेको आवाज सुनेर आत्तिएको नरेन्द्रले टाउको उठाएर हेर्यो । उसका आँखा रगतजस्तै राता थिए । तत्कालै ऊ जोडसँग हाँस्न थाल्यो अनि अगाडि रहेको चित्रतिर औँलाले इसारा गर्दै भन्यो , “डाक्टर !! म अमर भएँ ।”
दिन बित्दै गए । प्रदर्शनी प्रारम्भ भयो ।
प्रदर्शनीमा देख्न लायक अनेक वस्तु थिए तर दर्शकहरु एउटै चित्रमा मात्र केन्द्रित थिए । चित्र सानै थियो अनि अधुरो पनि । नामचाहिँ ‘अन्तिम प्यार’ राखिएको थियो ।
चित्रमा एउटी आमा बालकको शवलाई छातीमा टाँसेर त्यसको मुखमा पटकपटक म्वाइ खाइरहेकी छे ।
शोक र चिन्तामा डुबेकी आमाको मुख, आँखा र शरीरमा चित्रकारको कुचीले यस्तो सूक्ष्म र दर्दनाक चित्र अङ्कित गरेको थियो , त्यसलाई हेर्ने जोसुकैका आँखामा आँसु आइहाल्थे । चित्रका रेखाहरुमा यति धेरै सूक्ष्मतापूर्वक पीडा भर्न सकिन्छ भन्ने कुरामा यस अघिसम्म कसैको पनि ध्यान पुगेको थिएन ।
दर्शकहरुमध्ये कति त स्वयं चित्रकार पनि थिए । तीमध्ये एउटाले भन्यो , “हेर्नुहोस् त योगेश बाबु ! तपाईँ के भन्नुहुन्छ ?”
योगेश बाबु त्यतिबेला मौन भएर चित्र हेरिरहेका थिए । अचानक प्रश्न सुनेर एउटा आँखो बन्द गर्दै भने, “यदि यो कुरा मलाई पहिले नै थाहा भएको भए म नरेन्द्रलाई गुरु मान्थेँ ।”
दर्शकहरुले धन्यवाद, साधुवाद र वाहवाहको वर्षा गरे तर कसैलाई पनि यस चित्रका लागि चित्रकारले कत्रो मूल्य चुकाएको छ भन्ने कुराको पत्तै भएन ।
चित्रकारले आफैँलाई समाप्त पारेर आफ्नै रगतले यस चित्रलाई रङ्ग्याएका कारण उसको कुन दशा भएको छ भन्ने कुरा कसैले थाहा पाएनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।