बाल क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा छ गोल खाएपछि मलाई लाग्यो– म फुटबल खेल्न जन्मेकै होइन ।
स्कुलले आयोजना गरेको हाउस वाइज फुटबल प्रतियोगितामा चार गोल हानेपछि लाग्यो– म फुटबल खेल्नकै लागि जन्मेको हुँ ।त्यसबेला मलाई फुटबल लामो समयपछि भेटिने प्रेमिका झैँ मन पर्दथ्यो । भेटिने सम्भावना भएकाहरू सपनामा आउँछन् । छुटिने सम्भावना भएकाहरू कहाँ बस्छन् ?

गाउँमा हुने भालेकप होस्, खसी कप वा वडास्तरीय फुटबल म्याच । फुटबल हेर्नु मेरो धर्म थियो भने फुटबल मेरो भगवान । बच्चा बेलामा म मेरो लागि खतरनाक खेलाडी थिएँ । अहिले फुटबलको लागि म सामान्य दर्शकबाहेक केही होइन ।

गाउँकै प्रतिष्ठित स्कुल त्रिभुवन माविमा भएको गेमहरू गाउँमा रहुञ्जेल मबाट छुटेनन् । स्कुलले भर्खर बनाएको भवनमा झ्यालबाट चडेर छतमा बसेर गेम हेर्न जति मजा आउँथ्यो त्यति मजा व्यवस्थापकले कराएको गालीमा थिएन ।

झ्यालबाट छतमा जान एक बलवान् चाहिन्थ्यो, जसलाई कसैको आवश्यकता नहोस् । बलवान् चडेपछि उसले हात दिँदै अरूलाई माथि तान्थ्यो । बलवान्का हातले मेरा हात खासै समाएका छैनन् । भनौँ मैले स्कुलको छतबाट खासै फुटबल हेरेको छैन । तर ग्राउण्डको टच लाइन छेवैमा बसेर खेलाडीले छेवैबाट बल लैजाँदा आएको हावा मेरो अनुहारले धेरैपटक महसुस छ । बलवानको सहायता माग्नेहरूले सायदै त्यो हावाको अनुभव गर्न पाएनन् ।

बलवान् थियो पूर्ण राई, उसको ज्यान नै भयङ्करको थियो । आजकाल ऊ भयङ्कर गाडी फुलबडी ट्रक कुदाउँछ । तीव्र गतिमा ट्रक कुदाउँदा बाटो छेवैमा बस्नेले कसरी हावाको महसुस गर्लान् ? एकदिन उसले कुदाएको गाडीको वेगले हानेको हावा महसुस गर्न सकुँ र भनौँ, “हावाको गति त उत्तिकै रहेछ यार ।”

वडा स्तरीय फुटबल हुँदा आफ्नो वडाको पालो कहिले आउँछ भनेर पर्खिरहने म, आजकाल अन्तर्राष्ट्रिय दर्शक भएको छु । र मेरो देशले त्यो हरियो मैदानमा फुटबल खेलोस् जस्तो लाग्छ ।

गेमप्रतिको ध्यान खेलाडीले ताने पनि बाल्यअवस्थामा हाफ टाइममा खेलाडीलाई बाँड्ने चुइगम र ग्लुकोजले धेरै तानेको थियो ।

आफ्नो वडाको पालोमा खेलाडीलाई दिइने ग्लुकोज हामीले पनि पाउँथ्यौ । तर खेलाडीले नै दिए भनेमात्र । हाफ टाइम भएपछि छतमा बस्नेहरूलाई ओर्लन मिनेट लाग्थ्यो । टच लाइनमा रहेको मलाई ड्रेसिङ रुममा पुग्न सेकेण्ड लाग्थ्यो । ड्रेसिङ रुममा खेलाडी र गाउँका एन्फाले स्वीकृत नदिएका कोचहरू छिर्थे । म पनि सँगै चेपिएर छिर्थेँ । पस्ने सम्भावना भएकाहरू आएपछि म ढोका लगाइदिन्थेँ र केटाहरूलाई झ्यालको रडमा दुई हात समाएर भन्थेँ, “कसैलाई पस्न नदिनु भन्या छ ।”, उनीहरू निराश बनेर जान्थेँ ।

उब्रिएको ग्लुकोज मेरो हुन्थ्यो, ग्लुकोज दिने काम प्रायः कुशल अधिकारी दाइको हुन्थ्यो । यसै त छिमेकी तीमाथि काकाको साथी !

निरज दाहाल

भेस्टभित्र ग्लुकोज राखेपछि म विपक्षी दर्शकको भीडमा जान्थेँ । मलाई थाहा थियो कि विपक्षीमा मलाई चिन्ने कोही हुँदैन, यदि कसैले चिने पनि ग्लुकोज पाउने आस उनीहरूले गर्दैनन् ।

फुटबल म्याच सुरु हुनुभन्दा एक घण्टाअगाडि मैदान पुग्न हामीलाई कुनै बाध्यता थिएन । रहर थियो । गेम सुरु हुनुभन्दा अगाडि पछिल्लो मैदानमा मोचाबाट बनाइएको मोचेगोल खेल्नु नै हाम्रो बाध्यता थियो । छेउका पसलमा राखिएका पापड, काक्रा वा अन्य केही किन्ने पैसा थिएन । तर खेलेपछि तिर्खा लाग्दा स्कुलको धाराको पानीलाई पैसा दिनु पर्दैन थियो । मोचेगोल लिएर आउने सुजन भुर्तेल, अनुप खनाल र टिम बाँड्ने सुवास खनाल वा टिममा पर्ने नारायण पोख्रेल, भीष्म मिश्र, सुरज घिमिरे र म, हामी आफूले आफैँलाई स्वःघोषित खेलाडीको उपनाम दिन्थ्यौँ । टच लाइनमा छरेको चुना बिग्रेला भन्दै होसियार भएर खेल्दा कति गोल छाडियो होला र कति गोल खाइयो होला ! तर ती यादहरू जीवन्त बनेका छन् ।
गाउँबाट नजिकै रहेको नमुना प्रावि हाम्रा लागि स्टडियो ओलम्पिको ग्राउण्ड जत्तिकै थियो । हाम्रो लागि त्यो नै संसार थियो ।

घरको आँगनबाट फुत्त बाटोमा निस्केपछि बाँस्तोला बाबैको घना बाँसघारी छिचोल्नु हाम्रो लागि निकै सकस हुने गर्दथ्यो । सिजनमा काक्रा मागेर खान खोज्नु र उनीहरूले नदिनु, नदिएको झोँकमा चोरेर खानु हाम्रो दैनिकी थियो ।

रामप्यारी हजुरआमाले त कसैलाई भन्दिनँ भनेकी थिइन् । उनलाई काक्रा चाहिएको थियो, हामीलाई चना ।

नमुना चोकमा नै रहेको रामप्यारी हजुरआमाको होटलबाट आएको चनाको बास्नाले हामीलाई नलागेको भोक जगाइदिन्थ्यो । बाल्यकालको साथी टेकेन्द्र (टेके) जसले कहिलेकाहीँ चनाको भोक मेटाउन सहयोग गर्दथ्यो । ऊसँग पैसा नभएको दिन उपाय हुन्थ्यो । त्यही उपायले हाम्रो चनासँग भेट हुन्थ्यो । बाँस्तोला बाबैको काक्रा दिनमा दुईदेखि चारवटासम्म हराउन थाले । काक्रा कहाँ गयो भन्ने टेकेन्द्र र मलाई मात्र थाहा थियो । रामप्यारी हजुरआमाले त कसैलाई भन्दिनँ भनेकी थिइन् । उनलाई काक्रा चाहिएको थियो, हामीलाई चना ।

काक्रा बोल्न सक्ने भए उसको मालिक छेउमा आएको बेला भन्थे होला, “दुइटा केटा दिनहुँ आउँछन्, हाम्रा साथीहरूलाई अपहरण गर्छन् र भेस्टभित्र लुकाएर लैजान्छन् ।”, बारी ठूलो हुनु र काक्रा नबोल्नुको फाइदा हामीलाई सोझै भएको थियो ।

ग्राउण्डमा फुटबल धेरै गुडे पनि खेलाडीभन्दा अलि धेरै टेकेन्द्र लड्दथ्यो । अहिले भए उसलाई नेइमार पार्ट टु भनेर जिस्क्याउँथे होला ।
मोचेगोलबाट सुरु भएको हाम्रो यात्रा हावा भरिएको फुटबलसम्म पुगेको थियो । पुमाको फुटबल हामीले ओर्जिनल नै भनेर खेल्यौँ । अहिले बुज्दा पुमाको पनातिको पनातिको पनि पनाति खेलेका रहेछौँ । त्यस्तो ब्राण्डेड फुटबल हामीले असी रुपियाँमा किनेर खेल्नु भनेको हाम्रो लागि ओर्जिनल नै थियो ।

सन्तोष खड्का दाइले, “ओर्जिनल नै ल्याएछौ केटा हो ।”, नभनेको भए मैले गोल हान्दा गोल लागेन भने, “मुला डुब्लिकेट परेर नलागेको”, भन्थेँ हुँला, सायद । टेकेन्द्रले पेनाल्टी हान्दा डुब्लिकेट परेर बाहिर गयो भन्थ्यो होला । गोपालले के भन्थ्यो ? एलिनले के भन्थ्यो ? मनिसले के भन्थ्यो ? किस्नेले के भन्थ्यो ? सायद डुब्लिकेटमा अल्झन्थे केटाहरू ।

गोपालले हानेको सुट कार्कीको घरमाथिको टिनमा बजारियो । लिन जाने हिम्मत कोहीसँग थिएन । हामीभन्दा ठूला दाइहरूले खेल्दा पनि धेरैपटक बल फिर्ता आएको थिएन । हिम्मत गरेर किस्ने गयो । फुटबल त ल्यायो तर बिनाहावाको । टिनको काँटीमा लागेर फुटबल फुटेछ । ब्लाडर पनि कामै नलाग्ने भएछ । यदि त्यो दिन फुटबल नफुटेको भए जर्मनीले ब्राजिललाई लगाएजति वा वार्यनले बार्सालाई लगाएजति गोल कसले कसलाई हान्ने थियो, थाहा हुने थियो । फुटबल फुट्यो गोल लागेन । गोपालको कालो अनुहार यसै कालो भइरहेको थियो ।

अनिल वाग्ले दाइले पैसा उठाएर गोल किन्न सुझाव दिए पनि हाम्रा दिन फेरि मोचेगोलमा फर्किए । दश रुपियाँको दरले पैसा उठाउने कुरा भए पनि हाम्रो लागि दश रुपियाँ लास्साको सुनजस्तो थियो ।

खेल्नु छ तर पैसा छैन । चार दिनभित्रमा पैसा भेला पार्ने निर्णय हुँदा मेरो मुटु ढुक्क फुलेको थियो ।

दशैँमा पाएको दक्षिणा भेला पारेर फुटबल किन्ने सोच बनाए पनि हाम्रा खुट्टाहरू हावा भरिएको फुटबल हान्न तिर्खाएका थिए ।
संयोजक बिनाको बैठक बसेपछि हामीले दश दश रुपियाँ उठाउने निर्णय गर्यौँ । खेल्नु छ तर पैसा छैन । चार दिनभित्रमा पैसा भेला पार्ने निर्णय हुँदा मेरो मुटु ढुक्क फुलेको थियो ।

घरबाट सँगै आउने साथी टेकेन्द्रले पैसा ल्यायो । मसँग थिएन । मनमनै सोचेँ भोलि बालाई माग्छु । पैसा भेला गर्ने अन्तिम दिन भोलिपल्ट भएकाले अघिल्लो दिन मोचे गोलमा नै टायौँ ।

बालाई घरमा नभेटेपछि मलाई फसाद पर्यो । दिनभर भारतीको घरमा शक्तिमान हेर्न गएको थिएँ । घर आउँदा बलेसीँमा बिरालोबाहेक कोही थिएन । मलाई बा चाहिएको थियो । किनकि मलाई फुटबल खेल्न पैसा चाहिएको थियो । घरमा कोही नभएपछि घर त सिङ्गो मेरो अधिनमा हुने भइगयो ।
घरको टिनमाथि चडेर कमल गाउँलेको गाइजात्राको क्यासेट ठूलो आवाजमा बजाउनु मेरो बानी नै थियो । छिमेकीले म घर हुँदा कमल गाउँलेको क्यासेट कहिल्यै किन्नु परेन । म धूरीमा चडेर बजाइदिन्थे ।

धूरीमा चडेको मात्र थिएँ । टेकेन्द्र हात फुक्दै आएको थियो । त्यसको बानी पनि अचम्मको थियो । दुई हात जोडेर टाउको हल्लाउँदै हातमा फू फू गर्दथ्यो । उसलाई देखेपछि म ओर्लेँ । उसले भन्यो, “निरे हिँड् जाम”, मैले एकछिन ल भन्दै कोठामा पसेँ । दराजमाथि दुईवटा मुढा राखेर हेरेँ, पैसा छैन । सिरानीमुनि हेरेँ, पैसा छैन । पूजा कोठामा भएको पैसा झिक्न डर लाग्यो, झिकिनँ । काँटीमा अल्झाइएको सर्टको गोजीको सिक्का पैसा “म धेरै भएँ” भनेर मलाई हेरिरहेको थियो । हात हालेँ । नोट पनि रहेछ । सिक्का पैसा दुईको र एकको गरेर निकालेँ । गोजीमा सिधैँ हाल्दा बज्छ भनेर रुमालमा पोको पारेँ र रुमाल गोजीमा हालेँ ।

मेरो भागको पैसा पुगेपछि असी रुपियाँमा फुटबल किन्न जाने भए । फुटबल किन्न चाहिँ को को गए ? मैले बिर्सिएँ । फुटबल आएपछि कसैले आफूलाई पेले सम्झिएर खेले । कसैले जिदानले यसरी हान्छ भन्दै खेले । म भने नभनी पैसा लगेको थाहा पाएपछि घरमा मलाई कसरी हान्लान् भन्ने चिन्तामा थिएँ ।

म पेलेजस्तै बन्छु भन्ने साथी अहिले पेलेको देश नजिकै छ । म्यारोडोना जस्तै बन्छु भन्ने म आफ्नै देशमा छु । काकाजस्तो बन्ने सपना देख्ने साथीहरू कता छन् ? सायद जिन्दगीको पोलमा गोल हान्ने प्रयासमा होलान् !

मेरो समय मलाई नै अफसाइड बनेर बाटो छेक्छ । भविष्यले आत्मघाती गोल गर्ला र म जितौँला भनेर म हाँसेको भने हुँदिनँ । बस् एक मीठो ड्रिब्लिङको पखाईमा छु । मलाई मेरो खुट्टाप्रति विश्वास छ ।

मैले लगभग चौध दिन जति फुटबललाई लात हानेको बाको चार झापडमा सुलसाल भयो ।

दिन बित्यो । डराएर खाना खाएँ । कसैले केही भनेनन् । दोस्रो दिन पनि कसैले केही भनेनन् । तेस्रो दिन पनि कसैले केही नभनेपछि मलाई ढुक्क भयो । सोचेँ, कसैले थाहा पाएनन् ।

एकदिन बाले, “चेक सर्टमा ढक्की पैसा छ लिएर आइज” भन्नुभयो । म सरासर गएँ । सर्टछेउ पुगेपछि सम्झिएँ, त्यो पैसालाई त मैले दुई हप्ता अगाडिदेखि नै लात हानिरा’छु, सर्टमा कहाँबाट हुनु पैसा !

आशले जीवनमा ठूलो भूमिका खेल्छ भने झैँ सिक्का पैसा नभएको गोजीमा हात हालेर खोजेँ । भने नि पैसा मैले लात हानिसकेको छु । त्यहाँ थिएन । मैले लगभग चौध दिन जति फुटबललाई लात हानेको बाको चार झापडमा सुलसाल भयो ।

भोलिपल्ट बजारबाट मेरो लागि फुटबल आयो । म सिङ्गो फुटबलको मालिक भएँ । त्यसपछि मेरा हातहरू कहिल्यै कसैको गोजीमा छिरेनन् । मैले मैदान छाडेँ ।

हरि ॐ