कोविद १९ रोगका कारण जारी लकडाउनले जीवन अस्तव्यस्त बनाएको छ। बाँच्नका लागि आफैँले आफूलाई थुन्नुपर्ने अवस्था आएको छ तर यो समयमा कविताकर्ममा लागेका पश्चिम नेपालका युवाहरू कस्ता कविता लेख्दैछन्? के गर्दैछन्?

सुर्खेतकी कवि प्रतीक्षा भन्छिन्, “लकडाउनको उद्घोष हुनुभन्दा ठीक दुई दिनअघि म काठमाडौँबाट घर सुर्खेत आएकी हुँ । यसरी अकस्मात घर आएको भने यो मेरो दोस्रो पल्ट हो। पहिलो पल्ट २०७२ सालको भुइँचालो जाँदा अहिले जसरी नै एक्कासि घर आएकी थिएँ। ऊबेला घर आउँदा पाठ्यक्रमका लगभग सबै किताबहरू बोकेर आएकी म केही पनि नपढी फर्किएकीले घर गएर पढिदैन भन्ने एउटा मेरो आफ्नै धारणा बनेको थियो। सोही धारणाअनुसार यस पटक घर आउँदा मार्क म्यानसनका दुइटा किताबबाहेक अरू कुनै पुस्तक मैले बोकिनँ। यसो त लकडाउन छोटो हुन्छ भन्ने मेरो अनुमान थियो तर अन्य धेरैको अनुमानजस्तै मेरो पनि अनुमानले फेल खायो। मैले लकडाउन हप्ता दिन नकट्ला भन्ने अड्कल काटेकी थिएँ तर बढेर तेस्रो महिनामा चलिरहेको छ। ”

प्रतीक्षालाई लकडाउनले आफ्नो लेखनीमा खासै असर नगरेको अनुभव छ। नयाँ कविताहरू लेख्ने र लेखिसकेका पुराना कविता सच्याउने काम यो समयमा आफूले गरिरहेको उनी बताउँछिन्।

कविताबाहेक उनले विभिन्न निजी अनुभवलाई पनि लेख्ने जमर्को गर्दैछिन्। यसअघि उनले यस्ता अनुभव लेख्ने प्रयास भने गरेकी थिइनन्।

प्रतीक्षा लेख्छु भनेर बस्दिनन्। जब उनलाई कुनै विषयले छुन्छ, तब मात्र उनी लेख्ने जमर्को गर्छिन् ।

प्रस्तुत छ उनको एक कविता –

भेदभावविरुद्ध अबका सन्तति

ए ! मनमाया
तिमीले सिलाएको लुगाले
आफ्नो लाज छोप्नेहरू
तिमीलाई छोएको आभाष गर्दैनन् भने
सिलाउन बन्द गरिदेऊ तिमी
तिनका लागि लुगाहरू

ए ! बिर्खबहादुर
तिमीले बनाएको सुन लाएर
ढलकढलक ढल्किनेहरू
आफ्नो पसिनाले
त्यो सुन भिजुञ्जेलसम्म पनि
तिमीलाई छोएको आभाष गर्दैनन् भने
बनाउन बन्द गरिदेऊ तिमी
तिनका लागि गरगहनाहरू

ए ! बिमला
तिमीले बनाएको धाराको पानी
तिमिल्यै बनाएको घैँटोमा राखेर
घटघट पिउनेहरूले
अझै पनि
ती वस्तुहरूमा तिम्रो उपस्थिति देख्दैनन् भने
तयार गर्न बन्द गरिदेऊ तिमी
तिनका प्रयोगमा आउने सरसमानहरू

ए ! रामबहादुर
तिम्रा सन्तान बलात्कृत हुँदा
जात धर्म केही छुट्ट्याइँदैन
तर अझै पनि तिमीलाई
दलितकै नाममा भेदभाव गर्न रोकिँदैन भने
सहन बन्द गरिदेऊ तिमी
यस्ता अमानवीय व्यवहारहरू

प्रायः सबैजना
मेरो श्रमको मिहिनेत
आनन्दले खान्छन् तर
मेरो अस्तित्वको पर्वाह गर्न
यदि हिच्किचाइरहन्छन् भने
बन्द गरिदिन्छु म पनि आजैदेखि
उनीहरूको लागि श्रम गर्न

ए ! मनमाया
बिर्खबहादुर
बिमला
रामबहादुर
हाम्रो आत्मसम्मानमै
यसरी बारम्बार घोचपेच गर्दा
बुझ्नुपर्छ अब हामीहरूले
आफू हेपिएको

सम्मानका साथ
बिना भेदभाव बाँच्न पाउनुपर्छ
जस्ता कानुनहरूले बुझ्नुपर्छ
हामीलाई गिज्ज्याइरहेको
र त
च्यात्ने आँट गर्नैपर्छ हामीहरूले
हामी जिउँदो हुँदा पनि नचलबलाउने
हामी मरेपछि समेत नझस्किने
यी कानुनहरूलाई

धारे हात लाउनैपर्छ अब हामीहरूले
‘जातीय भेदभाव रहित’को
तक्मा भिराउने
ती शासकहरूलाई
तबसम्म जबसम्म कि
सिक्नेछैन पाठ यो समाजले
माया र सहिष्णुताको
तबसम्म जबसम्म कि
साँच्चिकै घुँडा टेक्ने छैन
जातिवादले हाम्रो सामुन्ने

ए ! मनमाया, बिर्खबहादुर, बिमला, रामबहादुर
यति नगरे त हाम्रा लागि
न त यो सरकारको कानुन काम लाग्नेवाला छ
न त कुनै संघसंस्थाको प्रेस विज्ञप्ति
न म जस्ताले लेखेका कथा, कविता काम लाग्छन्
न यो सरकारको उच्चस्तरीय छानबिन समिति ।

त्यसैगरी कालिकोटका अर्का नवकवि हुन्– अर्जुन आचार्य । ‘उज्यालोका मालीहरू’ सङ्ग्रह प्रकाशन गरिसकेका उनले पश्चिमै बसेर कविता लेखिरहेका छन्। कवि अर्जुन भन्छन्, “यो समय देश एउटा महामारीको संकटबाट गुज्रिदै छ र हामी स्वयम् पनि आजभोलि एउटा बेग्लै समय बाँचिरहेका छौँ। लकडाउनको पालना गर्दै म पनि तपाईंहरू जसरी नै भौतिक रुपमा आफ्नो घरमा कैद छु । अहिले म सुर्खेत भए पनि मेरो वास्तविक जन्मथलो कालिकोट भएकाले बुबा, आमा, भाइ, बहिनी सबै जना लकडाउनअगावै गाउँ जानुभएको थियो र उतै रोकिनु भयो। अहिले घरमा दाइ र म मात्र छौँ। यस्तो फुर्सदिलो समयमा घरपरिवारसँग नहुनु अझ पीडादायक हुने रहेछ । तर प्रेमलाई आखिर के ले छेक्न सक्ला र? हामी धन्य छौँ कि प्रविधिले हामीलाई भौतिक रुपमा ना सही निकट त अवश्य ल्याएको छ। एक मानेमा परिवारसँग नै छु भन्न पनि मिल्छ ।”

अर्जुनलाई यो लकडाउन एउटा साधनाका लागि समय मिलेजस्तो लाग्छ। यो समयमा उनले २५ वटा पुस्तकहरु पढेर भ्याइसके। थोरै तर आफूलाई मनपर्ने आधा दर्जन जति कविता पनि लेखे। साथीभाइहरूले सुझाएका केही हिन्दी अङ्ग्रेजी चलचित्र पनि हेरे। करिब ७,००० मिनेटको “सूर्यपुत्र कर्ण” नामक हिन्दी सिरियलबाट महाभारतलाई एउटा फरक आँखाबाट हेर्ने र कर्णलाई अझ बढी चिन्ने कोसिस गरेका कवि अर्जन यो कविता पढौँ:

स्वामित्व

घडीले देखाएको
समय पनि
स्वयं उसको होइन

नदीले बगाएको पानी पनि
आज ऊसँग छ
भोलि समुद्रको हुनेछ
पर्सि बाफको
अनि बादलको

यो सृष्टिमा त्यस्तो केही छैन प्रिया
जसमा कोही एक मात्रको स्वामित्व रहोस्
मसँग मेरो भन्नु
त्यस्तो के छ र?
म तिमीलाई सुम्पिऊँ
आफ्नो ठानेको मुटु पनि अचेल
तिम्रो नाममा धड्किन्छ

म त केवल एउटा
शून्यता बाँचिरहेको छु
केवल एउटा विशाल शून्यता !

यसैगरी विज्ञान राज कार्की दैलेखका कवि हुन् । उनी उतै रहेर कविता कर्ममा लागेका छन्। उनी भन्छन्, “देशमा बन्दाबन्दी चलिरहेको छ । त्यस्को पूर्ण पालना गरेर आफ्नो भौतिक शरीरलाई दैलेखको जन्मघरमा बन्दी बनाएको छु। तर अभौतिक शरीर जस्तै मनलाई, अन्तर्मनलाई, मानसपटलाई र काव्य चेतलाई भने पहिलेभन्दा ज्यादा मुक्त बनाएको छु। फलस्वरुप जुन यो गुजारिरहेको समय छ, त्यसको लगभग समय म आफूलाई खर्चिरहेको छु। अध्ययनमा खर्चिरहेको छु। लेखनीमा खर्चिरहेको छु। हतारहतार सुर्खेतबाट हिँडदा मेरो झोलामा पाठ्यक्रमका कुनै किताब परेनन्। बरू परे अमला अधिकारिको आलय, धुव्रचन्द्र गौतमको अलिखित, काव्यकृति ‘अनुहारको भीड’ र ओशोका प्रवचनहरूको संग्रह ‘साइलेन्स द म्याजिकल डोर टु इटरनिटी’ । ती एक महिनाभित्रमा पढेर सकेँ । त्यसपछि के पढने ? केही दिन उल्झनमा बिताएँ। एकदिन यसो बुबाको लाइब्रेरीमा छिरेँ। ओल्टाइपोल्टाइ गर्दा ‘सुकरातको आत्मकथा’ फेला पारेँ । भोक यति थियो कि दुई तीन दिनमै सकिदिएँ । त्यसपछि साथीहरू, अग्रज दाइलाई भनेर केही बुकका पिडिएफ फाइलहरु प्राप्त गरेँ। हिजोआज त्यसैमा आँखा डुलाउँदैछु।”

उनी अहिले गाउँमा छन्। बिजुलीको अभाव छ। ल्यापटप त यसै पनि नचल्ने भइहाल्यो, सोलारका कारण मोबाइल फोन भने चार्ज गर्नसम्म सकिन्छ। फुर्सदिलो समयमा केही फुरेको खण्डमा कापीमा कविता खेस्रा लेखेको उनी बताउँछन्। पुराना कविता सम्पादन र नयाँ कविता लेखनमा व्यस्त रहेका विज्ञानको यो कविता पढौँः

प्रतीक्षालयमा दुइटा बेन्च

प्रतीक्षालयमा काठका दुइटा बेन्च राखिएका छन्
जसमध्ये एउटामा मानिस बसेको छ
जसका आँखा निरन्तर कालोपत्रे सडकको
कुनै एक भागलाई मात्र हेरिरहेका छन्

जुन भागसँग उसको जीवनको महत्त्वपूर्ण भाग जोडिएको छ
कि उसले कति विलाप गरेथ्यो आफ्नी प्रेमिकासँग आफूलाई घृणा नगर्न
आफूलाई छोडेर नजान
आफ्नो आँखामा भविष्य खोज्न
आफ्नो ओठमा जोरले चुम्बन गर्न
आफ्नो शरीरमा लिप्टिन
आफूसँगै यो झुपडीमा बस्न
आफूसँग यो जिन्दगी व्यतित गर्न

नसम्झिन खोज्दा पनि आइरहेछ झलझली
उसका आँखामा त्यो दृश्य
उसकी प्रेमिका गएको दृश्य
उसको प्राण गएको दृश्य

तर सम्झिन खोज्दा पनि आइरहेको छैन
उसको स्मृतिमा
कि कसले बनायो झुपडीमाथि कालोपत्रे सडक ?
कि कसले बनायो आफूमाथि नीलोपत्रे आकाश ?

ऊ खाली हेरिरहेछ कालोपत्रे सडकको त्यो भाग
जुन भागबाट पहिलो पल्ट ऊ गुमेको थियो
जुन भागबाट अन्तिम पल्ट ऊ गुमेको थियो

त्यसपछिदेखि ऊ उदास र निरस भएर
बसिरहेछ प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै
कि कोही आउनेछ र खोज्नेछ उसलाई
तर कोही आइरहेको छैन
कोही आउने छैन कहिल्यै

किनकी ऊ पृथ्वीमा बचेको अन्तिम मानिस हो
किनकी ऊ पृथ्वीमा फँसेको अन्तिम मानिस हो ।

त्यसमध्य अर्को बेन्चमा चरो बसेको छ
जसका आँखा आकाश हेरिरहेका छन्
आकाशको छातीमा
उडिरहेका बादलका बचेराहरू हेरिरहेका छन्
ऊ खोजिरहेछ त्यो अन्तिम बादलको बचेरा
जसलाई उसले अन्तिम पल्ट उडन सिकाएथ्यो

र उसका आँखा आकाशको सम्पूर्ण फैलावटको अन्तिम क्षितिजसम्म हेरिरहेका छन्
जहाँ सूर्य अवस्थित छ
जुन छ, ताराहरू छन्
जताततै नीलोपन छ

उसलाई टडकारो सम्झना छ
कि यी तिनै हुन्, जसलाई उसले धरतीतिर हेर्न सिकाएको थियो
धरतीसँग मौन संवाद गर्न सिकाएको थियो

उसले नै हो समुद्र र नीलोपनको
उसले नै हो जून र जूनकीरीको
उसले नै हो बादल र स्वतन्त्रता
बीचमा जीवन चक्र मिलाएको

तर एकदिन आकाशमा उसको उडाई अकास्मात निषेध गरियो
पखेटा फटफटाउदा फटफटाउँदै आकाशमा
उसले थाहा पायो कि ऊसँग पखेटा छैन, उफ् !

ऊ खस्यो
तर संयोगवश प्रतीक्षालय नजिक खस्यो

त्यसपछिदेखि ऊ छ्टपटाउँदै छटपटाउँदै बसिरहेछ
प्रतीक्षालयको एक बेन्चमा प्रतीक्षा गर्दै
कि कोही आउने छ र पखेटा दिनेछ !
तर कोही आइरहेको छैन
कोही आउने छैन कहिल्यै

किनकि ऊ पृथ्वीमा बचेको अन्तिम चरो हो
किनकी ऊ पृथ्वीमा फँसेको अन्तिम चरो हो ।