केही दिन अगाडि गाउँकै भाइ (बुवाका विद्यार्थी) निरजले बुवाको बारे लेख्नुभएको रहेछ । भाइले बुवाको विद्यालयको कडा स्वभावलाई घरसँग जोड्नुभएको रहेछ ।  ‘बुवाको बानी विद्यालयमा जस्तो थियो के घरमा पनि त्यस्तै थियो त ?’ भन्ने भाइको प्रश्नलाई मैले घरसँग जोडेको छु । भाइको आर्टिकल पढेपछि धेरै साथीभाइ आफ्नो विगतमा फर्कनुभएको थियो । उहाँहरूले सो विद्यालयको पढाइ सकाएपछि हेडसर छुट्नुभयो तर हामी चार जना छोराछोरीको लागि त हेडसर केवल हेडसर मात्र हुनुहुन्न थियो, एक पिता पनि हुनुहुन्छ । त्यसैले विद्यालयमा छुटेको हेडसरलाई हामीले घरमा बुवाको रूपमा पाएका छौँ । के बुवा र हेडसरको रूप एउटै थियो त ?

कुरा कक्षा सातमा पढ्दाको हो । दोस्रो पिरियड पछिको सानो ब्रेक (१० मिनेटको मात्र हुन्थ्यो क्यार..) तेस्रो कक्षाको लागि घण्टी बजिसक्दा पनि आधाभन्दा बढी विद्यार्थी अनुपस्थित थिए । अङ्ग्रेज पढाउन हेडसर कक्षामा आउनुभयो । पछि बिस्तारै एक–एक गर्दै विद्यार्थी कक्षाकोठामा प्रवेश गर्न थाले, अलि ढिलो नै भइसकेको थियो । हरेक विद्यार्थी प्रवेश गरेसँगै सुरु भयो दुई–दुई भाटाको वर्षा । हामी कक्षा भित्र रहेकालाई धन्न बाहिर रोकिएनछौँ भन्ने लाग्यो । मलाई त्यो दिन हेडसरले कुटेको पटक्कै चित्त बुझेन । अझ, त्यो दिन मलाई हेडसरको मात्र होइन आफ्नो बुवाको व्यवहार पनि चित्त बुझेन । ती ढिला आउने साथीहरू स्कुल नजिकै घर भएका एकजना सिनियर दाइको क्यान्सरको कारण मृत्यु भएकाले, उनको शव हेर्न गएका थिए ।

स्कुलमा हेडसर, घरमा बुवाः बसन्तकुमार तिम्सिना

भोलिपल्ट जब साथीहरू निर्मला, कुशल र सुदर्शनको सुम्ला बसेर नीलडाम भएको हात खुट्टा देखेँ तब आङ जिरिङ्ग भयो । ती पिटाइ खाने साथीहरूलाई ‘घरमा के भन्नुभयो ?’ भन्ने प्रश्न गर्दा “राम्ररी पढेनौ होला अनि बजाउनु भयो नि !” भनी अभिभावकले प्रतिक्रिया दिनुभयो भनेको सुन्दा भने अलि मन शान्त भयो (व्यवहार चित्त नबुझे पनि कसैले केही गुनासो नगरे हुन्थ्यो भन्ने लाग्ने) ।

त्यस दिन उहाँले “तिमीहरू यस्ता किसिमका मानवीय संवेदनाबाट विचलित हुनु हुँदैन । यो सृष्टिको प्रक्रिया नै हो ।” भनेर सम्झाएको भए पनि त हुने थियो । भाटा किन लगाएको होला ? त्यसरी गहिरिएर त कसले पो बुझे होला ? मलाई पनि ती रहस्य बुझ्न थुप्रै वर्षहरू लाग्यो । मैले जब बुझेँ त्यो दिन हेडसरले किन कुट्नुभयो तब यस्ता विचारहरू मनमा थिए : आफू १२ वर्षको हुँदा नै आमा गुमाएर थप ३ भाइ बहिनीको जिम्मेवारी लिएको मेरो बुवाले कठोर हुनुपर्छ अनि मन बुझाउनुपर्छ भनेर बालखैमा बुझ्नु भएको हुनपर्छ र विद्यार्थीहरूबाट समेत सोही किसिमको परिपक्वता अपेक्षा गरेको हुनुपर्छ ।

संयोग, सात कक्षाकै अर्को घटना ः कक्षामा केही कारणले पढाइको विषयमा कुरा निस्कियो । धेरैबेरको गालीपछि “तिमीहरूलाई म उत्कृष्ट विद्यार्थी बनाउँछु, सर ! म पढ्छु मात्र भन” भन्नुभयो । अवश्य नै सबैको मुटु काँपिसकेको थियो । बोल्ने हिम्मत कोहीसँग थिएन ।

उहाँले सोध्नुभयो “एक जना पनि बोल्दैनौ ?”

आँट जुटाएर रविनले “म पढ्छु सर” भन्यो ।

“अरू कोही छैन ?” भनेर सोध्नुभयो ।

कक्षामा प्रथम हुने साथी नूतनले “म पनि सर” भन्यो ।

त्यसपछि बिस्तारै एक–एक गर्दै हामी सबै उठ्यौँ । अनि फेरि गाली खायौँ । “अरूले खनेको बाटोमा हिँड्ने तँहरू” भनी गाली गर्नुभयो । भोलिपल्ट र पर्सिपल्ट रविनलाई मात्र लिएर कक्षाको ठिक अगाडि चउरमा पढाउनुभयो । बाँकी कक्षालाई देखाएर एक जनालाई पढाइरहनुभयो । लगभग ६० जना विद्यार्थीहरू कक्षाबाट टुलुटुलु हेरेर बस्यौँ । मलाई सबैभन्दा बढी चित्त नबुझेको घटना यही थियो । तर विद्यार्थीलाई आत्मविश्वास बढाउन वहाँले त्यसो गर्नुभएको हो भन्ने बुझ्न समेत मलाई वर्षौँ लाग्यो । “बिम्ब” र “प्रतीक” कविता र साहित्यमा मात्र होइन हेडसरको अर्थात् मेरा ‘बा’को वाक्यमा समेत रहेको  धेरै पछि बुझेँ ।

अब घरको कुरा गरौँ ।

एकदिन म कतै बाहिरबाट आएर घर भित्र बैठक कोठामा पसेँ । बुबाको आँखाभरि आँसु थियो । अनुहारमा गम्भीर भाव । हैट ! बुवा त पुरानो हिन्दी फिल्म ‘मिलन’ हेरेर सेन्टी हुनुभएको, मैले त्यो दिन बुवाको अर्को रूप नियालेँ । त्यसैले पनि म भन्न सक्छु, मैले देखेको हेडसर र मेरो बुवा नितान्त फरक व्यक्ति हो ।

विद्यार्थीलाई कुटेको दिन बेलुका बुवाले एउटै विद्यालयमा तीन दशक बढी सँगै काम गर्ने ममीको गाली खानुहुन्थ्यो “कति कुटेको ? मेरो नै मुटु हल्लियो” भनेर । ठट्यौली पारामा बुवाले भन्नुहुन्थ्यो “मुटु नहल्लिएको भए कसरी बाँच्थिस् ?” यसरी बुवाले ममीलाई तँ भनेको मलाई उत्ति सारो मन पर्दैनथ्यो । तर, बुवाको बाहिर नदेखिएको अर्को पाटो भने ममीप्रतिको स्नेह नै हो । ममी मानसिक रोगको सिकार भएर दीर्घ रोगी बन्दा समेत कहिल्यै ममीको साथ छोड्नुभएन ।

स्कुल नै हेडसर भनेर डराइरहेको बेला वा हाम्रो घर अगाडिको बाटो स्कुलका साथीभाइ हिँड्न डराएको बेला बुवाले शनिवार दिउँसो एनटिभीमा फिल्म सुरु भएपछि, ‘कान्छी ! आइज् है, सुरू भयो’ भन्नुहुन्थ्यो । भारतीय च्यानल डीडीबाट ‘सुराग’ भन्ने प्रहरी अनुसन्धानमा आधारित सिरियल आउँथ्यो राति, त्यो हेर्न पनि मलाई बोलाउनुहुन्थ्यो । हामी बुवासँगै बसेर खुब चाख मानेर हेथ्र्यौँ । च्यानल क्लियर नआउँदा बाउ छोरी मिलेर लामो बाँसको टुप्पोमा राखेको एन्टेना घुमाउँथ्यौँ । यो सबै भइरहँदा ममिले गाली गर्नुहुन्थ्यो ‘पढ् भन्नु त छैन उल्टै टिभी हेर्न बोलाएर’ भन्दै । उत्तरमा बुवाले ‘पढ्नु पर्छ भनेर आफैँ जान्दछन्’ भन्नुहुन्थ्यो । अहिले लाग्छ ‘बुवाले कराएर पढाएको भए सर्टिफिकेटमा भएको रिजल्ट अझ राम्रो हुन्थो कि ?’ तर फेरि लाग्छ जीवनको उकाली ओरालीमा नहड्बढाइ हिँड्ने आँट बुवाबाटै त मिल्यो । त्योभन्दा उत्कृष्ट सिकाइ अनि नतिजा के हुन सक्छ जीवनमा ?

बुवाको सानो काठे दराजमा नेपाली, हिन्दी र अङ्ग्रेजी विषयका पुस्तक थिए । अझै पनि छ त्यो दराज । स्कूल पढ्दै दराजबाट निकालेर मैले शिरीषको फूल, तीन घुम्ती, भोल्गा से गंगा लगायतका पुस्तक पढेँ । साहित्यमा अलि अलि चासो त्यहीँबाट जाग्यो । पुराना हिन्दी र नेपाली गीत पनि बुवाको कारणले धेरै सुन्ने गरेँ । धेरै गीत कण्ठ हुन्थ्यो । गीत सबै आउनुमा ठूलो दिदीको कापीमा गीत लेखेर राख्ने बानीले पनि हो । हामी बाउ छोरी गीत गाउँदै घरको काम गथ्र्यौँ । भाइ ठूलो हुँदै जाँदा उसले गरेको क्यारिकेचरमा ह्युमर थप्ने काम गर्नुहुन्थ्यो ।

एकदिन क्लासमा शेरबहादुर दाइ (कार्यालय सहयोगी दाइ) आएर मलाई “अफिसमा जानु रे” भन्नुभयो । अफिसमा पुग्नसाथ बुवाले ममीलाई “यशोदा गुरुमा कुसुमलाई दराजमा भएको त्यो अभिभावकहरूको नाम भएको खामहरू दिनू त” भन्नुभयो । म छक्क परेँ । मलाई थाहा थिएन स्कुलमा बुवाले ममीलाई के सम्बोधन गर्नुहुन्छ भनेर । मेरो त्यो कलिलो मस्तिष्कमा एउटा विचार गाढा भएर बस्यो “प्रोफेसनल लाइफ र पर्सनल लाइफ”लाई नितान्त भिन्न राख्नुपर्छ ।

प्रोफेसनल लाइफ र पर्सनल लाइफलाई बुवाले अलि बढी नै सिरियस्ली लिनुहुन्थ्यो । छिमेकी बहिनीको एउटा प्रसङ्ग छिमेकी ज्योति भाइको शब्दहरू सापट लिएर सुनाउँछु ।

माओवादी जनयुद्धको समयमा नेपाल बन्द धेरै हुन्थ्यो । त्यस्तै बन्द हुने हल्ला भएको एक दिन सरकारी स्कुल बिदा हुन्छ या हुन्न भनी कक्षा ७÷८ मा पढ्ने विद्यार्थीहरू खैलाबैला गरेर हेडसरको घरमा गएर सोध्ने निष्कर्षमा पुगेछन् । तर, को जाने ? हिम्मत कसैको जुटेन । बन्द हुने दिन आधा घण्टा स्कुल हिँडेर जान आउन पनि दिक्दारी नै हुने भयो । आखिरमा तल्लो घरकी सुजता बहिनीले “हाम्रै हेडसर त हो नि, मै सोध्छु” भन्दै घर आइछन् । बुवा टाँडमाथिबाट ठ्याक्क सिँढीमा झर्दै हुनुहुँदो रहेछ । उनले हत्तपत्त नमस्ते ठोकेर एक सासमा “हेडसर, आज बन्द भन्दै छन् स्कुल के हुन्छ ?” भनेर सोधिछन् । बुवाले ट्याक्क बिच खुड्किलोमा रोकिएर सतर्क पोजमा एक हातले सिँढीको हातो समातेर ठुलो स्वरले भन्नु भएछ, “यो सुनिलको बाउलाई स्कुल के हुन्छ भनेर नसोध्, स्कुल जाने हेडसरलाई सोध् ।”  त्यसपछि उनी दुई सेकेन्डमा बाटोमा पुगिछन् ।

यो प्रोफेसनल लाइफ र पर्सनल लाइफको सबभन्दा धेरै प्रभाव घरमा पर्नु स्वाभाविक पनि थियो । मेरो भाइ सुनिलले पनि त्यसरी नै एकदिन बुवालाई “बुवा ! आज नेपाल बन्द भन्दै छन् हाम्रो स्कुल के हुन्छ ?” भनी सोधेछ र “ हेडसरलाई गएर सोध्” भन्ने जवाफ पाएछ । उसले छिमेकी बहिनीको प्रसङ्ग सुनेकाले एउटा जुक्ति निकालेछ । जब बुवा तयार भएर स्कुल जानका लागि बाटोमा निस्कनुहुन्थ्यो ऊ पनि किताब–कापी बोकेर पछिपछि लाग्थ्यो र बुवा बाटोमा निस्कनुभएपछि सोध्ने गर्थ्यो “हेडसर ! आज स्कुल के हुन्छ ?” घरमा हेडसरलाई गएर सोध भन्ने जवाफ दिने हेडसरले बाटोमा भने “आज बन्द छ” भनी जवाफ दिनुभएछ । त्यसपछि उनीहरूले धेरै पटक त्यसरी नै सोध्न सुरु गरेछन् ।

हामी सबै जना (बुवा–आमाका ४ छोराछोरी) स्कुल जाने भएकाले सबै मिलेर बिहानको काम(घरमा २–४ वटा गाई २–४ वटा बाख्रा सधैँ गोठमा हुने भएकाले सधैँ कामको व्यस्तता जस्तै नै हुन्थ्यो) सकेर स्कुल जान पर्ने अघोषित नियमजस्तै थियो । अनि स्कुलबाट फर्केर आएर पनि सबै काम गर्थ्यौँ । साथीहरूले हेडसरको निगरानीमा क्लास वर्क मात्र गरे पुग्थ्यो तर हामीले हेडसरको निगरानीमा क्लास वर्क, होमवर्क र घर वर्क तीनवटा काम गर्नुपर्ने हुन्थ्यो । हेडसर र गुरुमाको छोराछोरीलाई घरका काम केही गर्न आउँदैन होला भन्ने धेरैलाई भ्रम थियो तर बुवाले घरभित्र र बाहिरको सबै काममा सरिक गराउनुहुन्थ्यो ।

त्यसैले हेडसर र बुवाको कार्यगत संरचनामा धेरै तादात्म्य नदेखिए पनि सार भने एउटै थियो । कक्षामा जसरी शिक्षा, विज्ञान र इतिहासको कुरा गर्नु हुन्थ्यो घरमा हामी ज्ञान, दर्शन र अध्यात्मका ज्ञान पाउँथ्यौँ । आजकल त स्वस्थ बहस समेत गर्छौँ । उहाँ हेडसर मात्र हुँदा नबुझेका कुरा बुवासँग छलफल गरेर वा जीवनलाई भोग्दै सिक्दै गएपछि प्याजका पत्रहरू खुलेझैँ अलग–अलग आयाममा आजका दिनसम्म पनि पाउँछौँ ।