
आकाशमा तन र धरतीमा मन राखेर खाने जागिर मलाई औधी मन पथ्र्यो । हुन त आजकाल पनि मन पर्छ । तर म अब त्यो जागिर खाने ल्याकत राख्न सक्दिनँ ।
यो संसारमा रहर बोकेकाहरू र रहर पूरा नभएकाहरू सँगै बाँच्छन् । बाँच्नलाई रहर चाहिन्छ । यदि रहर पूरा भएन भने मान्छे कुन रहर बोकेर भोलिलाई बाँच्छ ?
एक समय थियो । आकाशमा उडेको विमानको आवाज र दृश्य मेरा लागि सबैथोक थियो । “प्लेनभित्रको मान्छेले मलाई देख्छ कि देख्दैन ?”, मैले मेरा बालाई बाल्यकाल सोधेको धेरै प्रश्नमध्येको एक हो । आजकाल देख्दैन भन्ने बुझेँ । तर बाको जवाफमा “देख्छ, किन नदेख्नू ?” ले मलाई विमान उडुञ्जेल हात हल्लाइरहन प्रेरित गरेको थियो ।
मैले जीवनका धेरै समय आकाशमा उडेको विमानलाई हेर्दै हात हल्लाएको छु । मैले विमान देखे पनि विमानले मलाई देख्दैन । यो कुरा बुझेको लगभग पन्ध्र वर्ष भयो ।
तँलाई प्लेनले देख्छ भनिरहँदा मेरा बा झूटा हुन् । प्लेनले देख्दैन भन्यो भने निराश होला भनेर झूट बोल्ने मेरा बा महान् हुन् । हामी महानताको खोल ओडेर घरबाहिर निस्कन्छौँ । तर उदाहरण त घरभित्र हुन्छ । जुन हामीलाई थाहा हँुदैन । थाहा भएको दिन हामीसँग पश्चताप गर्ने समय रहन्न ।
मान्छे संसारको व्यस्त जीव हो । हामीलाई यो थाहा छ ?

मेरो जीवनको धेरै समय राजधानीको आकाश हेरेर बितेको छ । मेरो आँखामा विमानको आकृति निजी सपना बनेर सजिएको छ । जब विमान उडाउन मेरो ल्याकत पुग्दैन भन्ने बुझेँ तब मैले विमानलाई बिम्ब बनाउन थालेको छु । आजकाल आकाशमा उड्ने विमान मेरो लागि फगत बिम्ब मात्र हो ।
मलाई संसार एकैपटक हेर्न मन थियो । टुक्रा टुक्रा गरेर होइन । अलिकति भक्तपुर, अलिकति काठमाडौँ वा अलिकति झापा गरेर होइन । मलाई संसारको अन्तिम बिन्दु हेर्ने रहर थियो । म पृथ्वी समथल छ सोच्थेँ । कुनै कुरा देखियो भने त्यसको अन्तिम बिन्दु हुन्छ । मैले बुझेको थिएँ । अग्लो ठाउँबाट सबै कुरा देखिन्छ, मलाई थाहा थियो । चन्द्रमा छ तर के हो मलाई थाहा थिएन । तर विमानबाट संसारको अन्तिम बिन्दु देखिन्छ भन्ने विश्वासले मेरा बाल्यकाल आकाशका विमान हेरेर बित्यो ।
विमानबाट के देखिन्छ ? मलाई थाहा थिएन । विमानबाट कहाँसम्म देखिन्छ ? मैले बुझेको थिइनँ । तर यति थाहा थियो अग्लो ठाउँबाट तल देखिन्छ । र मलाई पृथ्वीको अन्तिम बिन्दु हेर्ने रहर थियो ।
आजकाल सोच्छु, संसारकै अग्लो ठाउँ सगरमाथाबाट संसारकै होचो ठाउँ मारियाना ट्रेन्च पनि त देखिँदैन । लाग्छ, अग्ला ठाउँ सबैका लागि सपना पूरा हुने गन्तव्य होइन् रहेछ ।
रहरका पनि विकल्प बन्ने रहेछन् । र विकल्प भनेको घरमा बनाइएको अचारजस्तै हो ।
मलाई विमान उडाउने रहर थियो र छ । सायद अब रहरलाई मैले तिलाञ्जली दिनुपर्छ । तर मलाई विमानको गति मापन गर्न आउँछ । विमानको उपचार गर्न आउँछ । विमानमा चड्ने यात्रुको सत्कार गर्न आउँछ । विमानका आकस्मिक कक्षबारे थाहा छ । बाल्यकालमा आकाशको विमान पढ्ने र मैले विमानको जमिन पढेर रहर पूरा गरेँ । रहरका पनि विकल्प बन्ने रहेछन् । र विकल्प भनेको घरमा बनाइएको अचारजस्तै हो । जुन आफूलाई मन नपरेको तरकारी पाकेको दिन प्रयोग गरिन्छ ।
म स्वतन्त्रवादी हुँ । मलाई स्वतन्त्रता मनपर्छ । मैले बुझेको यही थियो कि आकाश भनेको स्वतन्त्र छ । मैले यही बुझेको थिएँ । जब कक्षामा विमानको बाटो हुन्छ, ऊ आफ्नै रुटमा हिँड्नुपर्छ भन्ने बुझेँ तब मलाई स्वतन्त्रताको नियम आकाशले पनि दिन सक्दैन भन्ने लाग्यो । आकाशमा उड्ने विमान वा चरा पनि स्वतन्त्रताको घेरामा बाँचेका होइनन् भन्ने लाग्यो । मेरो स्वतन्त्रताको नियम आजकाल मौन छ र कसैले बुझाइरहेको छ ।
मामाघर जाँदा भद्रपुर विमानस्थलको बाटो मामाघरको आकाशबाट हुने भएकाले घण्टा घण्टामा विमानको आवाज मेरो कानमा पर्दथ्यो । चैतको बिदामा मेरो बास प्रायः आधा घरमा र आधा मामाघरमा हुने भएकाले मेरो विमान मोह मामाघरको आकाशले उब्जाएको हो । मलाई चैतको चर्को घामले आकाशतिर हेर्न कसैगरे रोक्दैन थियो । नरिवलको छहारीमा बसेर आकाशमा उड्ने विमानलाई हेर्नु मेरो बेतलबी जागिर बन्दथ्यो ।
राजधानीमा नजिकैबाट मैले विमान देखे पनि गाउँमा साथीहरूले नजिकैबाट विमान देखेका थिएनन् । घर गएको बेला मैले उनीहरूलाई प्लेनको चाहिनेभन्दा बढी गफ दिएँ । उनीहरुले पत्याए । पत्याउनु उनीहरुको बाध्यता थियो ।
विमान उडाउन जति संवेदनशील हुन्छ उसको उपचार गर्नु पनि उति नै हुन्छ भन्ने नर्थन लाइटले नै मलाई बुझाएको हो ।
मैले भद्रपुरमा प्लेन हुन्छ भनिदिएँ । घरबाट अठार किलोमिटरको बाटो उनीहरु साइकल पेलेरै जाने सोच बनाए । उनीहरु गए तर म गइनँ किनकि भद्रपुरमा आउने प्लेनभन्दा ठूलो प्लेन मैले काठमाडौँमा देखेको थिएँ । उनीहरुसँग प्लेन हेर्न जाने हैसियत मिल्दैन जस्तो लाग्यो । तर अठार किलोमिटर साइकल पेलेर प्लेन हेर्न जाने साथी आजकाल मभन्दा धेरै प्लेन चडेको छ । उसले हैसियत खाजेको भए कथा अर्कै हुने थियो । तर समय न हो । कहाँ बच्चा, कहाँ पक्का ।
नर्थन लाइट एभिएसन एकेडेमीमा मैले विमानलाई अझ नजिकबाट बुझेको हुँ । विमान उडाउन जति संवेदनशील हुन्छ उसको उपचार गर्नु पनि उति नै हुन्छ भन्ने नर्थन लाइटले नै मलाई बुझाएको हो ।
राजधानीको आकाशमा नजिकैबाट आजकाल विमान उड्दा कुन मोडलको रहेछ भनेर हेर्न मन लाग्छ । पहिला विमान हेर्न मन लागेर आकाश हेर्थेँ । आजकाल विमान बुझेर आकाश हेर्छु । कुनै भीडमा कसैलाई एकोहोरो माथि हेरेको देख्नुभयो भने बुझ्नुहोला, त्यो म हुनेछु ।
हरि ॐ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










